युद्धविरामपछि भारतका ५ निष्कर्ष र पाकिस्तानका ५ रणनीति

अप्रिल २२ मा जम्मु–कश्मीरको पर्यटकीय स्थान पहलगाममा भएको आतङ्कवादी हमलामा २६ निर्दोष नागरिकको ज्यान गएको ठीक २ हप्तापछि मे ६ को मध्यरातबाट भारतले ‘अप्रेसन सिन्दुर’ सैन्य कारबाही सुरु गर्‍यो । भारत–पाकिस्तान तनाव र द्वन्द्वको पृष्ठभूमि हेर्दा लाग्थ्यो– युद्ध लामो जान सक्छ । तर, ‘अप्रेसन सिन्दुर’ जम्मा ८७ घण्टाको मात्र चल्यो । मे १० मा अमेरिकी […]

Jun 14, 2025 - 07:44
 0
युद्धविरामपछि भारतका ५ निष्कर्ष र पाकिस्तानका ५ रणनीति

अप्रिल २२ मा जम्मु–कश्मीरको पर्यटकीय स्थान पहलगाममा भएको आतङ्कवादी हमलामा २६ निर्दोष नागरिकको ज्यान गएको ठीक २ हप्तापछि मे ६ को मध्यरातबाट भारतले ‘अप्रेसन सिन्दुर’ सैन्य कारबाही सुरु गर्‍यो ।

भारत–पाकिस्तान तनाव र द्वन्द्वको पृष्ठभूमि हेर्दा लाग्थ्यो– युद्ध लामो जान सक्छ । तर, ‘अप्रेसन सिन्दुर’ जम्मा ८७ घण्टाको मात्र चल्यो । मे १० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच युद्धविराम भएको घोषण गरिदिए । दुवै देशले त्यसलाई स्वीकार र अनुमोदन गरे । ‘८७ घन्टे युद्ध’ लाई अहिले इतिहासकै एक ‘छोटो युद्ध’ भनिँदै छ । तर, यो छोटो युद्धका कतिपय प्रभाव भने दूर भागी छन् ।

कश्मीर मामिलामा भारत र पाकिस्तानका रणनीति सधैं फरक हुन्थे । भारत मामिलाको अन्तर्राष्ट्रियकरण र तेस्रो पक्षको संलग्नता चाहँदैनथ्यो । ठीक उल्टो पाकिस्तानले भने सधैं मुद्दाको अन्तर्राष्ट्रियकरण गर्थ्यो ।

८७ घन्टे छोटो युद्धलाई तत्काल युद्धविराममा पुर्‍याउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुवियोले फोन वार्ताबाटै उल्लेखनीय भूमिका खेलेको दाबी गरे । दुवै देशले यसलाई स्वीकार गरे । यद्यपि, पछि युद्धविराम कसरी भयो भन्ने विषयमा भारतीय राजनीतिज्ञहरूबाट फरक धारणाहरू पनि सार्वजनिक भएका छन् ।

युद्धविराम सुरु भएकै एक महिनाभन्दा बढी भइसकेको छ । तर, युद्धविरामपछिका प्रक्रिया भने सुचारु हुन सकिरहेको छैन । युद्धविराम अवधिमा यी दुई देशका विश्लेषण, निष्कर्ष र रणनीति के–कस्ता छन् ? यसप्रति धेरैको जिज्ञासा बढेको छ ।

युद्धविरामपछि भारतीय पक्षले ५ वटा महत्त्वपूर्ण निष्कर्ष निकालेको देखिन्छ । युद्धको प्रभावबारे भारत सन्तुष्ट रहेको दाबी गरिरहेको छ ।

पहिलो– सन् १९९९ को कार्गिल युद्धपछि पहिलोपटक भारतले पाकिस्तानलाई ‘मुहँ–तोड जवाफ’ दिएको बताइरहेको छ । यसअघि पाकिस्तान र भारतका बीचमा बेलाबेलामा केही घटना हुने गरे पनि आमनेसामने भएको देखिने थिएन । दुवै देश एक अर्काबीच असन्तुष्ट हुनु र तीव्र प्रतिक्रिया दिनुका अतिरिक्त युद्धकै स्तरमा आएका थिएनन् । यसपटक पहलागम घटनालगत्तै भारत तुरुन्तै कारबाहीमा उत्रियो ।

दोस्रो– सीमापार आतङ्कवाद फैलाइरहेका लस्कर–ए–तोइवा, जैस–ए–मोहम्मद, हर्कत–उल–जिहादजस्ता संगठनका पाकिस्तान आधारित अखडा र तालिम केन्द्र ध्वस्त गरेको दाबी भारतले गरिरहेको छ । आतङ्कवादी समूह तितरवितर र विलापको अवस्थामा पुगेको भारतीय पक्षको भनाइ छ । यदि यो सत्य हो भने तिनलाई तुरुन्तै संगठित हुन र गतिविधि गर्न सजिलो हुनेछैन । कतिपय समूहका मूल नेता समेत मारिएको विषय समेत बाहिरिएकाले उनीहरू थप संकटमा परेको देखिन्छ ।

तेस्रो– पाकिस्तानले भारतलाई आणविक हतियार प्रयोगको धम्की दिँदै आएको थियो । भारतको नीति ‘आणविक हतियारको पहिलो प्रयोग नगर्ने’ थियो । पाकिस्तानले पहिलो आक्रमणमै धेरै क्षति पुर्‍याउन सक्ने भयले भारत प्रतिरक्षात्मक हुने गर्दथ्यो । भारतले यसपटक पाकिस्तानको त्यस्तो धम्कीलाई महत्त्व दिएन । आणविक हतियार प्रयोगको जोखिमबीचमै पाकिस्तानका महत्त्वपूर्ण पाकिस्तानी सैन्य अखडामा समेत आक्रमण गर्‍यो ।

चौथो– भारतले सन् २०१४ पछि विकास गरेका घरेलु युद्ध प्रविधि र विमानको सफल प्रयोग गर्‍यो । छोटो युद्ध भारतका लागि आफ्नो सैन्य प्रविधि र उत्पादन परीक्षण गर्ने अवसर बने । पाकिस्तानले प्रयोग गरेका अधिकांश लडाकु विमान, क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र अन्य सैन्य सामाग्री विदेशबाट खरिद गरिएका, विशेषतः चिनियाँ थिए । तर, भारतीय सामग्री प्रविधि सहयोगका बावजुद मूलतः स्वदेशी थिए । भारतभित्रै डिजाइन र उत्पादन गरिएका थिए ।

एक तथ्याङ्कअनुसार सन् २०१४ मा भारतको सैन्य सामग्री तथा हतियार भण्डारमा आन्तरिक उत्पादनको अनुपात ३० प्रतिशत थियो । अहिले ६५ प्रतिशत पुगेको छ । र, दशकको अन्त्यसम्म ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ ।

पाँचौं – भारतले विश्वलाई उदयमान शक्तिको सन्देश दियो । भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र र तेस्रो ठूलो सैन्य शक्ति हो । भारतले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्‌मा भिटो सदस्य राष्ट्रको दाबी गरिरहेको छ । साथै, छिट्टै तेस्रो ठूलो अर्थतन्त्र बन्ने लक्ष्य राखेको छ । भारत अहिले संसारकै उच्च आर्थिक वृद्धिदर भएको देशमध्ये पर्दछ । भारतको पछिल्लो आर्थिक वर्षको वृद्धिदर ९.२ प्रतिशत छ ।

यी ५ मुख्य कारणले ८७ घन्टे छोटो युद्धपछि भारत विजयी भावमा छ । भारतीय पक्षको भनाई छ कि पाकिस्तानसँग युद्धको अर्थ ‘सम्पूर्ण युद्ध’ होइन । पाकिस्तानलाई अब सीमापार आतंकवादलाई प्रवर्द्धन गर्ने सुविधा उससँग छैन भन्ने मात्रै बुझाउनु मात्र जरुरी थियो । भारत हिजोजस्तो प्रतिरक्षात्मक रणनीतिमा छैन । पाकिस्तानी भूमिमा आधारित भएर भारतमा आतङ्कवादी क्रियाकलाप गरिरहेका समूहलाई या त पाकिस्तानले आफै नियन्त्रण गर्नु पर्नेछ, अन्यथा त्यसको मूल्य चुकाउन तयार हुनुपर्ने भारतको बुझाइ छ ।

भारतीय पक्षको खुसीको छैटौँ कारण पनि छ । भारत पाकिस्तानलाई चीनको ‘प्यादा’ को रूपमा चित्रण गरिरहेको छ । वास्तविक युद्ध पाकिस्तानसँग नभएर चीनसँग भइरहेको, पाकिस्तान चीनको प्रोक्सी भएर युद्धमा उभिएको भारतीय पक्षको धारणा हुन्छ । युद्धले चीनसँगको सम्भावित सैन्य तनावमा क्षमता परीक्षण भएको समेत भारतीय दाबी छ ।

मे १० मा युद्धविराम भयो । दुई दिनपछि मे १२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै छोटो युद्धमा भारत पाकिस्तानमा भएका आतङ्कवादी संगठनका अखडा ध्वस्त पार्न सफल भएको दाबी गरे ।

उता युद्धविरामपछि पाकिस्तानी मनोविज्ञान भने अझै प्रस्ट आधारमा उभिएको छैन । युद्धअघि उत्तेजक भाषण गरेका कट्टरपन्थी सेना प्रमुख असीम मुनिर अहिले मौन छन् । कमजोर गठबन्धन सरकार चलाइरहेका प्रधानमन्त्री शहबाज सरिफ धेरै ठूलो जोखिम लिन सक्ने अवस्थामा देखिन्नन् । पाकिस्तानमा पनि भारत विरोधी बयानबाजी जारी नै छ, तर युद्धविरामपछि मूल नेतृत्व पङ्क्ति भने होसियारीपूर्वक बोलीमा लगाम लगाइरहेको छ ।

यद्यपि, पाकिस्तानले भारतीय आरोप स्वीकार गरेको छैन । भारतमा हुने आतङ्कवादी क्रियाकलाप पाकिस्तानको नजरमा भारतका आन्तरिक मामिला हुन् । पाकिस्तान आफै आतंकवादसँग लडिरहेको बताउने गरेको छ । बरु भारतले बलोचिस्तान पृथकतावादी विद्रोहलाई सहयोग गरेको गुनासो पाकिस्तानको छ ।

कश्मीरसँग सीमा जोडिएको गिल्गिट–बाल्टिस्तान क्षेत्रमा समेत पृथकतावादीलाई भारतको सहयोग र समर्थन रहेको पाकिस्तानको भनाइ हुन्छ ।

जसरी भारतमा युद्धको समयमा सबै राजनीतिक शक्ति राष्ट्रवादी भावनामा एकताबद्ध हुन्छन्, ठीक त्यसरी नै पाकिस्तानी राजनीतिक शक्ति अरू बेला जतिसुकै फरक सोच र तनावपूर्ण संघर्षमा भए पनि युद्धमा राष्ट्रवादी भावनाको प्रदर्शन गर्न चुक्दैनन् ।

यहाँसम्म कि, भ्रष्टाचारको मुद्दामा जेल जीवन बिताइरहेका पूर्वक्रिकेटर, पूर्वप्रधानमन्त्री तथा विपक्षी नेता इमरान खानसमेत भारत विरोधी भावनाको आगोमा मट्टितेल थपिरहेका हुन्छन् ।

पाकिस्तान विगत १ दशक यता ठूलो आर्थिक तथा वित्तीय संकटबाट गुज्रिरहेको छ । पाकिस्तानको सार्वजनिक ऋण जिडिपीको करिब ८७ प्रतिशत छ । त्यसमध्ये चिनियाँ बिआरआईको ३.५ प्रतिशत ब्याजदरको महंगो ऋण पनि छ । युद्धविराम भंग गरी युद्ध अघि बढाउन पाकिस्तानलाई आर्थिक कारणले पनि सहज छैन । पाकिस्तानी द्विविधाको एउटा महत्त्वपूर्ण कारण वित्तीय संकट हो ।

पाकिस्तानको अर्को ठूलो चुनौती व्यापक आन्तरिक असन्तुष्टि हो । सिन्धु र पन्जाबी मुस्लिम पाकिस्तानी राष्ट्रवादमा गर्व गर्दछन् । अन्य प्रदेश र समुदायका जनता गर्दैनन् । तिनलाई पाकिस्तानी राष्ट्रवाद ‘झुटो पहिचान’ जस्तो लाग्छ । विशेषतः बलोचमा पाकिस्तानी राष्ट्रवादप्रति रुचि र लगाव कमजोर छ । ती भारतसँग युद्ध गर्नुभन्दा मिलेर बलोच राष्ट्रको पुनरोदय होस् भन्ने चाहन्छन् ।

भारतको बढ्दो शक्ति र विश्व प्रभावबाट पाकिस्तान यसपटक डराएजस्तो देखिएको छ । पाकिस्तान चाहन्छ कि विश्वका अन्य शक्तिले भारतलाई दबाब दिएर संवादद्वारा समस्याको शान्तिपूर्ण निकासका लागि बाध्य गरुन् ।

पाकिस्तानी नेताहरू अहिले विश्वका अन्य विभिन्न देशसँग भेटघाट र वार्ता गर्ने प्रयत्नमा छन् । टर्किएका राष्ट्रपति एर्दोगानलाई भेट्न प्रधानमन्त्री सरिफ र सेनापति मुनिर आफैँ पुगेका थिए ।

पाकिस्तानले अहिले पूर्व विदेशमन्त्री तथा पाकिस्तानी पिपुल्स पार्टीका अध्यक्ष बिलाबल भुट्टो जर्दारीको अध्यक्षतामा एक सर्वदलीय संसदीय प्रतिनिधि मण्डल बनाएको छ । यो प्रतिनिधि मण्डलले अमेरिका, बेलायतलगायत युरोपियन युनियनसँग वार्ता गरिरहेको छ । न्युयोर्क र लन्डन हुँदै ब्रसेल्स पुगेको छ ।

भुट्टोका अनुसार युद्धविरामपछि ‘सम्मानजनक मध्यबिन्दु’मा भारत–पाकिस्तान सम्झौताका लागि तटस्थ भूमिकाको खोजी प्रतिनिधि मण्डलको मुख्य उद्देश्य हो । उनले लन्डनमा भनेका छन्– ‘अमेरिका, बेलायत र ईयूले भारतसँगको हाम्रो समस्याको वार्ताद्वारा समाधान खोज्न सहयोग गरुन् भन्ने हाम्रो मनसाय हो ।’

त्यसो त पाकिस्तानले युद्धमा भारतका ६ लडाकु विमान खसालेको दाबी गर्दै आएको छ । सार्वजनिक भाषणबाजी र वार्तामा पाकिस्तानी आफूहरू धेरै कमजोर नभएको दाबी गर्दछन् । तर, थप युद्धको सामना गर्ने चाहना उनीहरूमा देखिँदैन । बिलाबल भुट्टोका भनाइमा पाकिस्तान अब ‘विवेकसम्मत र जिम्मेवार’ राष्ट्र बन्न चाहन्छ ।

अमेरिका भ्रमणका क्रममा पाकिस्तानी प्रतिनिधिमण्डलले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेसलाइ पनि भेटेको थियो । अर्को एक पाकिस्तानी प्रतिनिधि मण्डल जुन २–४ को बीचमा मस्को पुगेको थियो ।

ठीक यस्तै संसदीय प्रतिनिधि मण्डल भारतले पनि बनाएको छ । विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका सांसद शशी थरुरको नेतृत्वमा भारतको प्रतिनिधि मण्डल पनि विश्व भ्रमणमा छ ।

युद्धविरामपछि पाकिस्तान पनि मुख्य ५ वटा रणनीतिमा हिँडिरहेको देखिन्छ ।

एक– युद्धविरामको निरन्तरता, वार्ताबाट समाधान र भविष्यमा दिगो शान्तिका लागि तटस्थ योगदानका लागि अन्तर्राष्ट्रिय समुदायसँग कूटनीतिक पहल गर्ने ।

दुई– युद्ध सम्भावना र भारतसँग बिग्रिएको सम्बन्धको कारण राष्ट्रिय अर्थतन्त्रमा थप वित्तीय दबाब पर्न नदिने । अर्थतन्त्रलाई सामान्यीकरण गर्न प्रयास गर्ने ।

तीन– पाकिस्तानलाई आधार बनाएर क्रियाकलाप गरिरहेका आतङ्कवादी समूहलाई तत्काल चुप लगाउने र बलोच, गिल्गिट–बाल्टिस्तान लगायतका आन्तरिक विद्रोहलाई निर्ममतापूर्वक दमन गर्ने ।

चार– क्षेत्रीय अलगतावबाट आफूलाई जोगाउन दक्षिण एसिया र मध्यपूर्वका देशहरूसँग कूटनीतिक सम्बन्धमार्फत भारतको समर्थनमा मुखरित हुन नदिने ।

पाँच– सीमा क्षेत्र र सम्भावित युद्ध मोर्चामा नियमित सैन्य तैनाथीलाई बलियो बनाउने ।

यसरी हेर्दा दुवै देश तत्काल युद्धविराम तोड्ने मनस्थितिमा छैनन् । भारत स्थितिको सूक्ष्म विश्लेषण गरिरहेको छ । पाकिस्तान रणनीतिक प्रतिरक्षाको चरणबाट गुज्रिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register