नागरिक प्रथमको दाबी : न ‘राजतन्त्र’ न ‘दलतन्त्र’ अबको बाटो ‘नागरिकतन्त्र’

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध ‘राजतन्त्रवादी प्रदर्शन’ सेलाउँदै गएको बेला नागरिक प्रथम अभियानले ‘दलतन्त्र’ तथा ‘नेताराज’ को सही विकल्प राजतन्त्र नभएको र देश अब ‘नागरिकतन्त्र’ को बाटोमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । अभियानले भनेको छ– ‘पछाडि फर्किने होइन, अगाडि बढ्नुपर्दछ । राजतन्त्रबाट गणतन्त्रमा आयौं, अब दलतन्त्रबाट नागरिकतन्त्रतिर जानुपर्दछ ।’ जेठ ३०–३१ गते किरात याक्थुङ […]

Jun 17, 2025 - 06:37
 0
नागरिक प्रथमको दाबी : न ‘राजतन्त्र’ न ‘दलतन्त्र’ अबको बाटो ‘नागरिकतन्त्र’

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध ‘राजतन्त्रवादी प्रदर्शन’ सेलाउँदै गएको बेला नागरिक प्रथम अभियानले ‘दलतन्त्र’ तथा ‘नेताराज’ को सही विकल्प राजतन्त्र नभएको र देश अब ‘नागरिकतन्त्र’ को बाटोमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । अभियानले भनेको छ– ‘पछाडि फर्किने होइन, अगाडि बढ्नुपर्दछ । राजतन्त्रबाट गणतन्त्रमा आयौं, अब दलतन्त्रबाट नागरिकतन्त्रतिर जानुपर्दछ ।’

जेठ ३०–३१ गते किरात याक्थुङ चुम्लुङ भवन ललितपुरमा बसेको अभियान सञ्चालन संघीय कार्यदलको दोस्रो समीक्षा तथा कार्ययोजना बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले केही महिनायता देशमा भइरहेका राजावादी प्रदर्शन र शासक दलहरूको निरन्तरको असक्षमता, भ्रष्टाचार र कुशासन दुवै लोकतन्त्रका लागि चिन्ताको विषय भएको ठहर गरेको छ ।

साथै, राजतन्त्र, दलतन्त्र, नेतातन्त्र, अल्पतन्त्र तथा सिन्डिकेटतन्त्रजस्ता विचार र अभ्यासको विकल्पमा ‘नागरिकतन्त्रको उद्घोष’ गरेको छ । अभियानले– ‘सोच परिवर्तन अब ठोस गरौँ, नागरिकतन्त्रको उद्घोष गरौँ’ भन्ने नारा बनाएको थियो ।

बैठकमा सहभागी एक सदस्य देवराज भारद्वाजका अनुसार अभियानले ‘लोकतन्त्रको सारतत्व नागरिकतन्त्र हो, राजतन्त्र, राज्यवाद, दलतन्त्र वा नेतातन्त्र होइन । नागरिकको हित, प्रगति र समुन्नतिको बाधक बन्ने राज्यको कुनै अर्थ र औचित्य हुँदैन । त्यस्तो राज्यलाई पुनर्संरचना– पुनर्गठन गर्न आवश्यक छ’ भन्ने अवधारणा अघि सारेको छ ।

अभियानको बैठकले भिजिट भिसा तथा अध्यागमन सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र निष्पक्ष तथा तटस्थ छानबिनको माग गरेको छ ।

करिब एक दशकयताका सबै ठूला भ्रष्टाचार काण्ड, सबै प्रकारका आर्थिक अनियमिता तथा बेरुजु र अवैध सम्पत्तिको छानबिन गर्न अधिकार सम्पन्न ‘नागरिक आयोग’ गठन हुनुपर्ने अभियानको माग छ ।

भारद्वाजले भने– ‘राज्यका सबै छानबिन तथा दण्डाधिकारी निकायको विश्वासनीयता अहिले समाप्त भएको छ । अख्तियार होस् वा सीआईबी वा अन्य कुनै निकाय कुनै कारवाही अघि बढे विपक्षले राजनीतिक प्रतिशोध भयो भन्छ । रास्वपा सभापति रवि लामिछानेको सहकारी प्रकरणमा त्यही भयो । अहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मुछिएको पताञ्जली जग्गा प्रकरणमा त्यही भनिदै छ । तसर्थ हामीले निष्पक्ष, तटस्थ, उच्चस्तरीय अधिकारसम्पन्न नागरिक आयोगको माग अघि सारेका हौँ । तर, नागरिक आयोग स्थायी समाधान होइन । दीर्घकालका लागि भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई जनलोकपालको अवधारणाअनुरूप परिमार्जन गर्नुपर्दछ ।’

दलतन्त्रको अन्त्य र नागरिकतन्त्रको स्थापना भनेको के हो ? के नागरिकतन्त्रमा दल हुँदैनन् ? नेताराज हुँदैन ? के नागरिकतन्त्र निर्दलीय हुन्छ ? यी प्रश्नमा भारद्वाजले भने– ‘दलतन्त्र र नेताराजको अन्त्य भनेको दलीय प्रणालीको अन्त्य भनेको होइन । राज्य र राजनीतिक प्रक्रियामा सार्वभौम नागरिकको सर्वोच्चता र केन्द्रीयता हुने गरी दलीय प्रणालीका सुधार भनेको हो । हामीले राष्ट्रपति र निर्वाचन आयोगका प्रमुख आयुक्तलाई राजनीतिक दल तथा निर्वाचन ऐनमा सुधार गर्नुपर्ने १८ बुँदा पहिचान गरी बुझाएका छौँ । यो कार्यान्वयन हुन सके दलहरूमा नेता र गुटको मनपरी चल्न सक्दैन ।’

बैठकका अर्का सहभागी भूपेन्द्र नेम्बाङले ‘भिजिट भिसा तथा अध्यागमन सेटिङ र असुली धन्दा प्रकरणलाई सामसुम पार्न जेठ ३० गते सत्तापक्ष र संसद्‌को प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच भएको सम्झौतालाई दलीय सिन्डिकेटतन्त्रको पछिल्लो प्रमाण’ का रूपमा चित्रण गरे ।

उनले भने– ‘देशमा अब प्रतिपक्षीय भूमिका खेल्ने विश्वासिलो र निस्कलंक राजनीतिक शक्तिकै अभाव देखिन थाल्यो । यस्तो बेला नागरिक आफैँ अगाडि बढ्नुपर्छ । तसर्थ बैठकले आम नागरिकलाई सरकारका असक्षमता, नालायकी, गलत नीति तथा कार्य र कुशासनप्रति निगरानी र खबरदारी बढाउन आह्वाान गरेको छ । नागरिक प्रथम अभियानले सडक र जनस्तरबाटै प्रतिपक्षीय भूमिकालाई तीव्र पार्ने, सबै प्रकारका बेथितिविरुद्ध जनआन्दोलनको विकास गर्ने संकल्प गरेको छ ।’

बैठकमा मुमाराम खनालले देशका राजनीतिक प्रवृतिको विश्लेषण प्रस्तुत गरेका थिए । उनले देशमा अहिले ‘राजावादी, साम्यवादी, कांग्रेस, पहिचानवादी तथा मधेशकेन्द्रित दल र वैकल्पिक वा नयाँ गरी पाँच प्रकारका वैचारिक धार र प्रवृति विद्यमान रहेको, पुरानाका असक्षमता र कमजोरीलाई पूरा गर्न भनेर नयाँ र वैकल्पिक धारको जन्म भएको भए पनि तिनमा समेत प्रियतावादी, नायकत्ववाद र अवसरवादी चरित्र देखिएको’ विश्लेषण गरे ।

बैठकले नयाँ र वैकल्पिक राजनीति नायकत्ववादी नभएर संस्थागत पद्धति, पारदर्शिता, नैतिक मूल्य प्रणालीमा विश्वास गर्ने सहभागितामुलक लोकतन्त्र, समावेशिता, सामाजिक न्यायसहितको प्रगतिशील तथा अग्रगामी हुनुपर्ने ठहर गरेको छ ।

बैठकका अर्का सहभागी राजेन्द्रराज पाण्डे भन्छन्– ‘राजनीतिक विकल्प, वैकल्पिक राजनीतिक दल र वैकल्पिक राजनीति भनेको फरक-फरक कुरा हुन् । राजनीतिक विकल्पको कुरा गर्ने हो भने अहिलेको सन्दर्भमा राप्रपा पनि विकल्प हो, तर त्यो वैकल्पिक राजनीति चाहिँ होइन । त्यसै गरी अहिले उदय भएका केही नयाँ दलले वैकल्पिक राजनीतिक दल बन्ने प्रयास गरे, तिनको बुझाइ वैकल्पिक राजनीतिसम्म नै पुगेन । नयाँ दल पुराना दलहरूको विकल्प बन्न सक्दछन् । तर, समग्र राजनीतिकै पुनर्गठन, पुनर्संरचना र चरित्र निर्माण गर्ने हो भने वैकल्पिक राजनीति चाहिन्छ, त्यो अहिलेसम्म भएकै छैन ।’

पाण्डेको विचारमा पुराना दलको ठाउँमा नयाँ दलको उदय हुनु मात्र ‘वैकल्पिक राजनीति’ होइन । वैकल्पिक राजनीतिले समग्र राजनीतिकै संस्कृति फेर्न, राज्यको शासकीय चरित्रमा उल्लेखनीय सकारात्मक बदलाव ल्याउन र लोकतन्त्रलाई परिणाममुखी बनाउन सक्नुपर्दछ ।

नागरिक प्रथम कस्तो अभियान हो ? पर्सा वीरगञ्जबाट बैठकमा भाग लिन आएका वीरेन्द्रकुमार कन्ठ भन्छन्– ‘नागरिक प्रथम अभियान कुनै सामाजिक संघसंस्था वा गैरसरकारी संस्था होइन । यो घोषित र प्रष्ट रूपमा एक राजनीतिक अभियान हो । प्रगतिशील, समावेशी, लोकतान्त्रिक र अग्रगामी राजनीतिक शक्तिको जन्म, विकास र विस्तारमा सकेको योगदान गर्नु यसको घोषित लक्ष्य तथा उद्देश्य हो । अहिले नै हामी राजनीतिक दल हैनौँ । तर, निश्चित लक्ष्य, विचार, उद्देश्य र एजेण्डासहितको राजनीतिक समूह हौँ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register