यी मुख्य १३ घटना, जसले भारत–पाकिस्तान तनावका ऐतिहासिक नालीबेली बताउँछन्

काठमाडौं । अप्रिल २२ तारिख जम्मू–कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा २६ जना निर्दोष पर्यटकको ज्यान जाने गरी भएको आतंकवादी हमलाको ठीक २ हप्तापछि बुधबार बिहान सबेरैबाट भारतले पाकिस्तानका ‘संदिग्ध आतंकवादी ठेगाना’मा हवाई आक्रमण गरेपछि दुई आणविक शक्तिसम्पन्न छिमेकीबीचको तनाव उच्च स्तरमा पुगेको छ । यसले एकअर्को युद्धको रुपको रुप लिने त होइन भन्ने विश्वव्यापी चिन्ता छाएको […]

May 8, 2025 - 11:51
 0
यी मुख्य १३ घटना, जसले भारत–पाकिस्तान तनावका ऐतिहासिक नालीबेली बताउँछन्

काठमाडौं । अप्रिल २२ तारिख जम्मू–कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा २६ जना निर्दोष पर्यटकको ज्यान जाने गरी भएको आतंकवादी हमलाको ठीक २ हप्तापछि बुधबार बिहान सबेरैबाट भारतले पाकिस्तानका ‘संदिग्ध आतंकवादी ठेगाना’मा हवाई आक्रमण गरेपछि दुई आणविक शक्तिसम्पन्न छिमेकीबीचको तनाव उच्च स्तरमा पुगेको छ ।

यसले एकअर्को युद्धको रुपको रुप लिने त होइन भन्ने विश्वव्यापी चिन्ता छाएको छ । युक्रेन–रुस र इजरायल–हमास युद्धले विथोलिएको विश्वशान्ति सम्भावित भारत–पाक युद्धको कारण थप नाजुक हुन सक्ने विश्लेषण गरिँदैछ ।

तर, ‘अप्रेसन् सिन्दुर’ नाम दिइएको भारतीय सैन्य करबाहीलाई अहिले नै ‘भारत–पाक युद्ध’ भनिहाल्न हतारो हुन्छ । किनकी भारतले यसलाई पाकिस्तानविरुद्धको युद्ध नभएर ‘सीमापार आतंकवाद’ विरुद्धको एक विशेष कारबाहीका रुपमा लिएको छ ।

आक्रमणको पहिलो दिन नै भारतले ९ वटा ‘आतंकवादी ठेगानामा’ हमला गरी तिनका अखडा ध्वस्त पारेको दाबी गरेको छ । भारतीय सैन्य नेतृत्वका अनुसार पाकिस्तानको पञ्जाव प्रान्तको अहमदपुर शार्किया, शकरगढ, मुरिदके, सियालकोट, पाकिस्तान अधिनस्थ कश्मीरको मुज्जाफरावाद, कोटलीलगायतका स्थानमा आक्रमण गरेको हो ।

आक्रमणबाट पाकिस्तानमा अहिलेसम्म ३६ जना मारिएको र ५७ घाइते भएको पाकिस्तानको भनाइ छ । पाकिस्तानले केही भारतीय जहाज र ड्रोन खसालेको दाबी गरे पनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन ।

भारतले यस्तो सैन्य कारबाहीलाई ‘प्रतिरक्षाको अधिकार’ भनेको छ भने पाकिस्तानले भारतीय कारबाहीप्रति आपत्ति जनाएको छ । पाकिस्तानको दाबी छ– उसको सीमाभित्र कुनै आतंकवादी अखडा छैनन् र पाकिस्तानले सीमापार आतंकवादलाई सहयोग गरेको छैन ।

तर, तथ्यहरुले के देखाउँछ भने भारततर्फ बारम्बार हुने आतंकवादी हमला सीमापार संगठित भएर योजना बनाएका समूहले घटित गराउने गरेका छन् । पाकिस्तान यस्ता विषयलाई भारतको ‘आन्तरिक मामिला’ भनेर पन्छिन खोज्छ ।

भारत–पाकिस्तान विभाजन दक्षिण एशियाली राजनीतिको टार्न नसकिएको यथार्थ हो । यो सत्यलाई दुवै देशले ऐतिहासिक नियतिका रुपमा स्वीकार गरेका छन् । यी दुई देशबीचको सम्बन्ध सुधार बिना दक्षिण एशियामा शान्ति, सन््तुलन, समृद्धि र प्रगति सम्भव हुँदैन । तसर्थ, भारतविरुद्ध आफ्नो भूमि पाकिस्तानले प्रयोग हुन नदिनु नै यसको मुख्य समाधान हो । पाकिस्तानले साँचो मनले यस्तो नीति अबलम्बन गर्ने हो भने दुई देशबीच सम्बन्ध सुधार हुन कठिन हुँदैन ।

भारत–पाकिस्तान तनाव रातारात उत्पन्न भएको होइन । यसको लामो ऐतिहासिक कारण छ । यो भारत र पाकिस्तान बन्नुभन्दा अघिदेखिको बारम्बार बल्झिने घाउ हो । बुझौं निम्न १३ समयक्रम र घटनामा तनावको कारण र निरन्तरता –

१ . सन् १९०६ मा अल इन्डिया मुस्लिम लिगको गठन

सन् १९४७ मा भारत र पाकिस्तान अंग्रेज शासन्बाट मुक्त हुनुभन्दा करिब ४ दशकअघि दक्षिण एशियामा मुस्लिम समुदायको राजनीतिक हितलाई नेतृत्व गर्ने उद्देश्यले ढाकामा अल इन्डिया मुस्लिम लिगको गठन भएको थियो ।

यसले मुस्लिम समुदायलाई एक भिन्नै राष्ट्रका रुपमा चित्रण गर्दथ्यो । सन्् १९१३ देखि यस संगठनका नेता मोहम्मद अली जिन्ना बने । उनी दक्षिण एशियामा मुस्लिम समुदायका लागि भिन्नै राज्य स्थापना गर्न चाहन्थे । त्यतिखेरैबाट हिन्दुस्तान– पाकिस्तानबीच राजनीतिक तथा मनोवैज्ञानिक विभाजनको बिउ रोपिएको थियो ।

२ . सन् १९४७ को विभाजन

भारत–पाकिस्तानबीच तनावको बिजारोपण यी दुई राज्यको जन्म हुनुभन्दा अघि नै भइसकेको थियो । भारतीय स्वतन्त्रता आन्दोलनको चरमोत्कर्षमा सन् १९४७ को अगस्ट १५ मा अंग्रेजी साम्राज्यवाद मुक्त एक साथ दुई देश जन्मिए । स्वतन्त्रता आन्दोलनका नेता महात्मा गान्धी यस्तो विभाजन चाहँदैनथे ।

तर, मुस्लिम लिगका नेता मोहम्मद अली जिन्नाको आह्वानमा भिन्नै मुस्लिम राज्यको माग गरियो । यस क्रममा भड्किएको दंगामा १० लाख बढीको मृत्यु भएपछि महात्मा गान्धी, जवाहरलाल नेहरु, सरदार बल्लभभाई पटेललगायतका नेता विभाजन स्वीकार गर्न बाध्य भए ।

देशको विभाजन स्वीकार गरेको आरोपमा सन् १९४८ को जनवरी ३० मा नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरे ।

३ . सन् १९४९ को युद्धविराम रेखा

भारत–पाक विभाजनको घाउमा जम्मू–कश्मीर थप पेचिलो मुद्दा बन्न पुग्यो । कश्मीर त्यतिन्जेल एक भिन्नै राजतन्त्रात्मक मुलुक थियो । अन्ततः यो तीन देशमा विभक्त भयो । ५५ प्रतिशत भूभाग भारतमा पर्‍यो भने पाकिस्तानले नियन्त्रणमा लिएको भागलाई ‘पाकिस्तान अधिनस्थ कश्मीर’ मा ३० प्रतिशत भूभाग पर्दछ । बाँकी १५ प्रतिशत अक्साई चीन क्षेत्र चीनमा गाभिएको छ ।

भारत–पाक विभाजनपछि पाकिस्तानी सेनाले जम्मू–कश्मीरमा आक्रमण गर्‍यो । कश्मीरका हिन्दु राजा हरि सिंह भिन्नै राज्यका रुपमा स्वतन्त्र र सार्वभौम रहन सम्भव नभएपछि कश्मीरलाई भारतमा गाभ्ने पक्षमा देखिए । उनले पाकिस्तानी सेनालाई धपाउन भारतीय सेनालाई आमन्त्रण गरे । यसरी कश्मीरमा भारत–पाक युद्ध भयो ।

यो युद्धमा करिब ६ हजार पाकिस्तानी र करिब १ हजार भारतीय सेना मारिएका थिए । अन्ततः संयुक्त राष्ट्र संघको मध्यस्थतामा युद्ध विराम रेखा कायम गरी युद्ध रोकिएको थियो । यसलाई भारत–पाक पहिलो युद्ध पनि भनिन्छ ।

४ . सन् १९६५ को युद्धः

सन् १९६२ मा चीनले भारतमाथि आक्रमण गरेपछि पाकिस्तानले यसलाई कश्मीर कब्जा गर्ने अवसरका रुपमा लियो । सन्् १९६५ मा कश्मीरमा ‘अप्रेसन् जिब्राल्टर’ शुरु गर्‍यो । यसलाई दोस्रो कश्मीर युद्ध भनिन्छ । यसपटक पाकिस्तानी सेनाले युद्धविराम रेखा भंग गरेर अघि बढेको थियो । यो युद्ध अगष्ट र सेप्टेम्बारका दुई महिना चल्यो । अन्ततः पाकिस्तान असफल भएर पछि हट्न बाध्य भयो । यो युद्धमा दुबैतिर गरी करिब ५ हजार मारिएका थिए ।

५ . सन् १९६६ को तासकन्द घोषणा

सन् १९६६ को जनवरीमा भारत र पाकिस्तानबीच तासकन्द घोषणा भयो । यो सम्झौता सोभियत संघको मध्यस्थतामा भएको थियो । भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्री र पाकिस्तानका राष्ट्रपति कश्मीरबाट सेना फिर्ता गर्न राजी भएका थिए । तर, यही क्रममा भारतका दोस्रो प्रधानमन्त्री शास्त्रीको तासकन्दमै रहस्यमय मृत्यु भएको थियो ।

६ . सन् १९७१ को तेस्रो युद्ध र बंगलादेशको जन्म

सन् १९७१ मा पूर्वी पाकिस्तान पाकिस्तानबाट विभाजित भई भिन्नै देश बंगलादेश बन्यो । यो मुद्दालाई बंगलादेश स्वतन्त्रता युद्ध वा भारत–पाक तेस्रो युद्ध पनि भनिन्छ । बंगलादेशको स्वतन्त्रता संग्रामलाई भारतले समर्थन र सहयोग गरेको थियो । यस समयमा भारतमा प्रधानमन्त्री इन्दिरा गान्धी थिइन । यो युद्ध भने मूलतः पूर्वी किल्लामा भएको थियो । यो युद्ध र स्वतन्त्रताको क्रममा ३ लाख बढी मानिस मारिएका थिए ।

७‍‍. सन् १९७२ को सिमला सम्झौता

सन् १९७२ मा भारत र पाकिस्तान हिमाञ्चल प्रदेशको सिमलामा कश्मीरको विषयमा एक नयाँ सम्झौतामा पुग्न राजी भए । यसमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानी प्रधानमन्त्री जुल्फिकार अली भुट्टोले हस्ताक्षर गरेका थिए ।

बंगलादेशलाई मान्यता दिने र भारत–पाक सम्बन्ध सामान्यीकरण गर्ने कैयौं विषय यसमा सामेल थिए । कश्मीर मामिलामा यो सम्झौतामार्फत सन् १९४९ को ‘युद्ध–विराम रेखा’ लाई स्वीकार गर्दै दुबै देश त्यसैलाई ‘नियन्त्रण–रेखा’ (एलओसी) मान्न सहमत भएका थिए ।

८. सन् १९८९ मा पुन: सशस्त्रीकरण

सन् १९८७ मा जम्मू–कश्मीरमा पुनः हिंसात्मक घटना भएका थिए । पाकिस्तान आधार भएका कैयौं इस्लामिक आतंकवादी समूहको उदय भयो । ती संगठनले सम्पूर्ण कश्मीरलाई पाकिस्तानमा गाभ्नका लागि भन्दै हिंसात्मक संघर्ष गर्न थाले । कतिपय संगठनले भिन्नै स्वतन्त्र कश्मीरको मुद्दा पनि उठाउने गरेका थिए । सिमला सम्झौतापछि शान्त बनेको बातावरण पुनः बिथोलिन थाल्यो । यो स्थितिपछि सीमापार आतंकवादको प्रश्न गम्भीर भएर आयो ।

९ . सन् १९९९ को कार्गिल युद्ध

भारत– पाकिस्तानबीच सन् १९९९ को मे, जुन र जुलाई महिनामा लद्दाखको कार्गिल जिल्लामा युद्ध भएको थियो । यो युद्धमा भारततर्फ ५२७ र पाकिस्तानतर्फ १२०० बढी मारिएका थिए । कार्गिल युद्धमा पाकिस्तान पछि हटेको थियो ।

१० . सन् १९९९ मा इन्डियन एयरलाइन्सको जहाज अपरहण

सन् १९९९को डिसेम्बरमा हरकत–उल–मुजाहिदीन नामको इस्लामिक अतिवादी समूहले काठमाडौं–दिल्ली उडानमा रहेको उडान नम्बर ८१४ को जहाज अपहरण गरी अमृतसार हुँदै अफगानिस्तानको कान्दार पुर्‍यायो । यस संगठनले आधार–क्षेत्र पाकिस्तान नै थियो । जहाजका अपहरित बन्दी छुटाउन भारत सरकार भारतीय जेलमा रहेका आतंकवादी संगठनका नेतालाई छोड्न बाध्य भएको थियो ।

अल कायदा नेता असामा बिन लादेनसँग यो संगठनको सम्बन्ध थियो । लादेनपछि पाकिस्तान छँदै अमेरिकी आक्रमणमा मारिएका थिए । पाकिस्तानले अल कायदा, यसका सहयोगी संगठन र नेता लादेनलाई संरक्षण दिएको थियो ।

११ . सन् २००१ मा भारतीय संसद भवनमा हमला

सन् २००१, डिसेम्बर १३ मा जैस–ए– मोहम्मद र लस्कर–ए– तोइबाका ५ लडाकुले भारतको संसद भवनमा आक्रमण गरेका थिए । यो हमलामा संसद भवनको सुरक्षामा खटिएका दिल्ली प्रहरिका ६ जनासहित ९ जना मारिएका थिए । यी दुवै संगठनले पाकिस्तानमा बसेर संसद भवनमा आक्रमण गर्ने योजना बनाएको भारतको बुझाइ थियो । तर, लस्कर–ए– तोइबाले भने आरोप अस्वीकार गरेको थियो ।

१२ . सन् २००८ मा ताज होटल आक्रमण

सन् २००८ को नोबम्बर २६ मा पाकिस्तान आधारित लस्कर–ए– तोइबाले मुम्बईको ताज प्यालेस होटलमा आक्रमण गरेको थियो । यो घटनामा १७५ जना मारिएका र ३०० बढी घाइते भएका थिए ।

१३ . २०१९ को पुलुवामा आक्रमण

सन् २०१९ मा जम्मू–श्रीनगर राजमार्गको पुलुवामामा इस्लामिक आतंकवादीले आक्रमण गर्दा भारतीय शसस्त्र प्रहरी बलका ४० जना मारिएका थिए । आक्रमणको जिम्मेबारी जैस–ए–मोहम्मद नाम अतिवादी संगठनले लिएको थियो । भारतको प्रतिकारमा ६ आतंकवादी मारिएका थिए भने ७ गिरफ्तार भएका थिए ।

इतिहासका यी घटनाक्रमलाई हेर्दा पहलगाम आक्रमण र त्यसपछिको भारतीय कारबाहीले दुई मुलुकबीच ठूलो युद्ध रुप लिइहाल्ला भन्न सकिन्न । भारतको कारबाही पाकिस्तानतिर अखडा बनाएर भारततर्फ आक्रमण गर्ने अतिवादी संगठनहरुलाई ध्वस्त गर्नमा नै सीमित हुन सक्दछ ।

तर, पाकिस्तानले पुराना कुरालाई बिर्सेर सीमापार आतंकवादलाई प्रर्वद्धन नगर्ने हो भने शान्तिपूर्ण वार्ताबाटै समस्याको समाधान निस्कन सक्दछ । साथै, भारत–पाकिस्तान सम्बन्ध सामान्यीकरण भई सधैँलाई सुमधुर बन्न सम्भावना रहन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register