भारतको तेलंगाना औषधि कारखानामा विस्फोट: ३४ को मृत्यु, ३० भन्दा बढी घाइते

संगारेड्डी, तेलंगाना भारत, एजेन्सी भारतको तेलंगाना राज्यको संगारेड्डी जिल्लास्थित एक औषधि कारखानामा सोमबार बिहान भएको भीषण विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।सिगाची इन्डस्ट्रीज नामक फार्मा कम्पनीको प्लान्टमा भएको विस्फोटपछि उद्धारकार्य जारी छ भने घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।पशामिलाराम औद्योगिक क्षेत्रभित्र रहेको सिगाची इन्डस्ट्रीज फार्मा प्लान्टमा सोमबार बिहान ८ः१५ देखि ०ः३५ […]

Jul 1, 2025 - 12:26
 0
भारतको तेलंगाना औषधि कारखानामा विस्फोट: ३४ को मृत्यु, ३० भन्दा बढी घाइते

संगारेड्डी, तेलंगाना भारत, एजेन्सी

भारतको तेलंगाना राज्यको संगारेड्डी जिल्लास्थित एक औषधि कारखानामा सोमबार बिहान भएको भीषण विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
सिगाची इन्डस्ट्रीज नामक फार्मा कम्पनीको प्लान्टमा भएको विस्फोटपछि उद्धारकार्य जारी छ भने घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पशामिलाराम औद्योगिक क्षेत्रभित्र रहेको सिगाची इन्डस्ट्रीज फार्मा प्लान्टमा सोमबार बिहान ८ः१५ देखि ०ः३५ बजेको बीचमा रिएक्टरभित्र रासायनिक प्रतिक्रिया भएर विस्फोट भएको आशंका गरिएको छ ।

विस्फोट यति शक्तिशाली थियो कि यसले कारखानाको औद्योगिक शेड नै उडाएको थियो । ड्युटीमा रहेका कामदारहरू सोही शेडभित्र च्यापिएका थिए ।
विस्फोटपछि आगलागी समेत भएको थियो, जसले उद्धारमा थप चुनौती सिर्जना गर्यो ।

उद्धार कार्यस रोबोटसम्म प्रयोग

घटनापछि राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया बल (एसडीआर), अग्निनियन्त्रक टोली र प्रहरीहरू घटनास्थलमा खटिएका थिए ।
आगलागी नियन्त्रणका लागि २ वटा अग्नि नियन्त्रण रोबोट समेत प्रयोग गरिएको बताइएको छ ।

संगारेड्डीका प्रहरी प्रमुख परितोष पंकजका अनुसार, “उद्धारकर्मीहरूले भग्नावशेषबाट ३१ जनाको शव फेला पारेका छन्। बाँकी तीन जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।”

उनले थपे, “उद्धार कार्य अन्तिम चरणमा पुगेको छ, अझै केही खोजी कार्य जारी छ ।”

घटनामा ३० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अनुसन्धान सुरु

तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डीले मंगलबार घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्यमन्त्री सी दामोदर राजनरसिंहले घटनालाई गम्भीरताका साथ लिएको र सबै आवश्यक स्रोत र जनशक्ति परिचालन गरिएको बताएका छन्।

राज्य सरकारले पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको छ, जसले विस्फोटको कारण पत्ता लगाउने, सुरक्षामा देखिएको कमजोरीको अध्ययन गर्ने, र भविष्यमा यस्ता दुर्घटना रोक्न उपाय निकाल्नेछ । सिगाची इन्डस्ट्रीज लिमिटेडले कारखानाको संरचनामा व्यापक क्षति पुगेको भन्दै ९० दिनका लागि संगारेड्डी प्लान्ट बन्द गर्ने निर्णय गरेको छ ।
कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार, उक्त प्लान्टले सक्रिय औषधि सामग्री (एपीआई), मध्यवर्ती र सहायक रसायन, तथा सञ्चालन र व्यवस्थापन सेवा उत्पादन तथा आपूर्ति गर्दै आएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। । उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार राहतस्वरूप प्रदान गरिने घोषणा गरेका छन्। । ट्विटरमार्फत् मोदीले लेखेका छन, “तेलंगानामा भएको कारखाना विस्फोट अत्यन्त दुःखद छ । पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

यस घटनाले भारतमा औद्योगिक सुरक्षा सम्बन्धी मापदण्ड कति कमजोर छन् भन्ने स्पष्ट पारेको छ । नियमित सुरक्षा अडिट, कर्मचारी तालिम, र आपतकालीन पूर्वतयारीको अभावले यस्तो दुर्घटना निम्त्याएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको गम्भीरता हेर्दा, राज्य र केन्द्र सरकार दुबैले दीर्घकालीन सुरक्षामूलक रणनीति अपनाउनु जरुरी देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register