आज चार दलीय समाजवादी मोर्चा घोषणा हुँदै , यस्ता छन् लक्ष र उद्देश्य

Jun 19, 2023 - 02:29
 0
आज चार दलीय समाजवादी मोर्चा घोषणा हुँदै , यस्ता छन् लक्ष र उद्देश्य
आज चार दलीय समाजवादी मोर्चा घोषणा हुँदै , यस्ता छन् लक्ष र उद्देश्य

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आज समाजवादी मोर्चाको घोषणा हुँदै छ । आज दिउँसो तीन बजे औपचारिक रूपमा चार दलीय मोर्चा घोषणा हुन लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबिच भएको छलफलले मोर्चाको घोषणा गर्ने सहमति गरेको थियो ।    

समाजवादी मोर्चाको साझा मुद्दाको १५ बुँदे प्रतिबद्धता तय भएको छ । सो प्रतिबद्धता आज घोषणा हुँदै छ । सुरमा प्रचण्डले गर्ने समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।  

संंघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषता पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने, वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेदहरू अन्त्य गर्ने रहेको छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले बहिष्करणमा परेका वा पारिएका मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारु, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्न वर्ग लगायतका सीमान्तकृत समुदायहरूको पहिचानको मान्यता, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने नीति मोर्चाको रहेको छ ।

नागरिक र राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसङ्गत र समावेशी समाजको निर्माण गर्ने प्रतिविद्धता पनि मोर्चाले जनाएको छ । 

वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त तथा सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्रियाशील भूमिकाका आधारमा समाजवादी अर्थ–राजनीतिक व्यवस्था अवलम्बन गर्ने नीति लिने प्रतिबद्धता जनाइएको छ ।  प्रगतिशील कर प्रणाली लागू गर्ने, देशको अर्थव्यवस्थामा नीतिगत तथा संरचनागत सुधार गरी उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने प्रतिबद्धता मोर्चाको छ । 

आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पुँजी र प्रविधिसहित फर्केका नेपालीलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने, उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने, गरिबी उन्मूलन र रोजगार प्रवर्द्धनको क्षेत्रहरूमा लगानी बढाउन तीन वटै तहको सरकारहरूलाई क्रियाशील बनाउने धारणा मोर्चाले अघि सारेको छ । 

वैज्ञानिक भू–उपयोग नीति लागू गर्दै कृषि क्रान्तिको माध्यमबाट कृषिको औद्योगिकीकरण, व्यावसायिकीकरण र आधुनिकीकरण गरी कृषिमा निर्भर श्रमजीवी जनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नत बनाउने, ऊर्जा, जलस्रोत, वन, उद्योग, वाणिज्य, पर्यटन, सूचना प्रविधि, भौतिक पूर्वाधार, यातायातलगायत क्षेत्रलाई आर्थिक समृद्धिको संवाहकका रूपमा विकास गर्ने नीति लिने प्रतिबद्धता मोर्चाको छ । 

शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रको रूपान्तरणका लागि राज्यले प्राथमिकता दिने, सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगार, सामाजिक सुरक्षा र आवासमा पहुँचको प्रत्याभूति गराउने र शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रभावकारी बनाउने प्रतिबद्धता मोर्चाले जाहेर गरेको छ । नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने, जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र प्राकृतिक विपत्का कारण उत्पन्न नकारात्मक असरलाई नियन्त्रण गर्ने, जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने मोर्चाले प्रतिबद्धता जनाएको छ । 

गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने, अनुगमन र मूल्याङ्कनका परिपाटी स्थापित गर्ने मोर्चाले जनाएको छ । शासकीय सुधार गर्ने तथा देशमा देखा परेको अनियमितता, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, कमिसन तन्त्रजस्ता अपराध र विकृतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउने पनि मोर्चाको प्रतिबद्धता छ । 

सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका सरकार बिचको क्षेत्राधिकारलाई स्पष्ट पार्ने मोर्चाले जनाएको छ । देशको राजस्व तथा स्रोतसाधनहरू सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने र राज्यका तर्फबाट प्रदान गरिने सेवा सुविधाहरू जनतामा पुर्‍याउन प्रदेश तथा स्थानीय तहलाई सक्षम बनाउँदै संघीय समाजवादी प्रणालीलाई समृद्ध गर्ने, देशको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न एवं जनताको समृद्धिका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तलाई आधार मानी स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने मोर्चाले प्रतिबद्धता जनाएको छ । 

विभिन्न दलका नेता कार्यकर्ता माथि लगाइएका मुद्दाको खारेजी र राजबन्दी रिहाइका लागि आवश्यक कानुनी र राजनीतिक पहल गर्ने, विभिन्न राजनीतिक दलहरूसँग भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने, समाजको विविधतायुक्त चरित्रअनुरूप राष्ट्रिय, लोकतान्त्रिक र वैज्ञानिक संस्कृति प्रवर्द्धन गर्ने, जाति, भाषा, धर्म तथा संस्कृतिको क्षेत्रमा रहेका सम्पूर्ण भेदभावको अन्त्य गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्ने, प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासलाई प्रोत्साहित गर्ने, समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका शोषण, उत्पीडन र विभेदहरूको अन्त्य गरी समता, स्वतन्त्रता एवम् न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने प्रतिबद्धता मोर्चाले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1