बर्न्टओक नेपाली समाज यूकेको दशैं तिहार कार्यक्रममा रमाए बेलायती

  लन्डन । नेपालीहरुका प्रमुख चाड दशैं तथा तिहारको अवसरमा बर्न्टओक नेपाली समाज यूकेले एक रमाइलो भेटघाट आयोजना गरेको छ। गत शनिबार एजवेयरस्थित टेरिटोरियल आर्मी सेन्टरमा आयोजित समारोहको  लन्डन बरो अफ बार्नेटका मेयर टोनी भुरोउ, सांसद डेभिड पिन्टो डसचिन्स्की, समाजका अध्यक्ष खमिरजंग गुरुङ तथा आमा समूहकी अध्यक्ष मन्जु  गुरुङले पानसमा बत्ती बाली उद्घाटन गरेका थिए। […]

Oct 8, 2024 - 19:03
 0
बर्न्टओक नेपाली समाज यूकेको दशैं तिहार कार्यक्रममा रमाए बेलायती

 


लन्डन । नेपालीहरुका प्रमुख चाड दशैं तथा तिहारको अवसरमा बर्न्टओक नेपाली समाज यूकेले एक रमाइलो भेटघाट आयोजना गरेको छ।

गत शनिबार एजवेयरस्थित टेरिटोरियल आर्मी सेन्टरमा आयोजित समारोहको  लन्डन बरो अफ बार्नेटका मेयर टोनी भुरोउ, सांसद डेभिड पिन्टो डसचिन्स्की, समाजका अध्यक्ष खमिरजंग गुरुङ तथा आमा समूहकी अध्यक्ष मन्जु  गुरुङले पानसमा बत्ती बाली उद्घाटन गरेका थिए।

कार्यक्रमको शुरुमा नेपालमा हालै आएको बाढी तथा पहिरोमा परी निधन भएका नेपालीहरुको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनट मौन धारण गरिएको थियो।  

समारोहलाई सम्बोधन गर्दै  लन्डन बरो अफ बार्नेटका मेयर टोनी भुरोउले आफ्नो जन्मभूमि भन्दा हजारौं माइल टाढा भएर पनि आफ्नो संस्कृति र रितिरिवाज कायम राखेको भन्दै बर्न्टओक नेपाली समाजलाई बधाई दिए। 

उनले बार्नेटको  नेपाली समुदाय बार्नेटको एउटा अभिन्न अंगको रुपमा रहेको भन्दै नेपाली समुदायबाट निर्वाचित दुई जना काउन्सिलरहरुले काउन्सिलको निर्णय प्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याइ रहेको बताए। 

उनले दशैंको अवसरमा सबैलाई शुभकामना पनि दिए। उनले गोर्खा वेलफेयर ट्रष्टको सहयोगार्थ १०० किमि लामो पदयात्रा गरेका वरदान गुरुङ, मिलन गुरुङ, पुजिन गुरुङ तथा अशिम गुरुङलाई प्रशंसापत्र प्रदान गरे।

हेन्डनबाट निर्वाचित सांसद डेभिड पिन्टो डसचिन्स्कीले गोर्खा सैनिकहरुको सेवा, प्रतिबद्धता, साहस र वफादारीको प्रशंसा गरे। उनले नेपाली समुदाय लगायत स्थानीय जनताको सेवामा आफु जति बेला पनि उपलब्ध हुने बताए।  “तपाईंहरुको साम्सदको रुपमा मैले जहिले पनि तपाईंहरुको चासो र चिन्तालाई प्रतिनिधित्व गर्नेछु,” उनले भने।

 समाजका अध्यक्ष खमिरजंग गुरुङले प्रवासमा बसे पनि दशैंले सबै नेपालीहरुलाई आफ्नो संस्कार, संस्कृति, मूल्यमान्यताको अभ्यास  र आफु भन्दा ठूलालाई सम्मान गर्न सिकाइ रहेको बताए। उनले समाजले आफ्ना सदस्यहरुबीच  एकता र  सहयोग अभिवृद्धि गर्नुका साथै ब्रिटिश समाजमा नेपाली समुदायको एकीकरणका लागि पनि काम गरिरहेको बताए।  उनले  बेलायतमा जन्मिएका र हुर्की रहेका नेपाली बालबालिका तथा युवालाई नेपाली भाषा तथा संस्कृति सिक्न र बहु सांस्कृतिक ब्रिटिश समाजमा योगदान पुराउन आग्रह पनि गरे। उनले कार्यक्रम सफल बनाउन खट्ने समाजका सबै सदस्य, पदाधिकारी तथा आमा समूहलाई धन्यवाद पनि दिए।

कार्यक्रमको दोश्रो चरणमा नेपाली भाषा तथा सांस्कृतिक केन्द्रद्वारा संचालित नेपाली भाषा कक्षाका विद्यार्थीहरुले नेपाल तथा ब्रिटेनको राष्ट्रिय गान प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अनमोल गुरुङ्ग, दीपंकर मानन्धर, रायन मानन्धर, मोनिमा खड्का, कवि खनाल, शयश श्रेष्ठ, ममता श्रेष्ठ, प्रज्ञा मानन्धर, ओजल महर्जन, कृतिका कार्की, रबिता गुनी, परमिता मानन्धर, क्षेतेज गुरुङ, तपस्या गौतम, देव जोशी, आरियाना महर्जन, उस्नव थापा, अमरिना महर्जन, दिया पनेरु, फ्रेडी गुरुङ, केवल गुरुङ लगायतका कलाकारले रोचक नृत्य प्रस्तुत गरेका थिए। 

त्यस्तै केरजंग गुरुङ, सन्तोष गुरुङ, प्राण गुरुङ, आभार गुरुङ, जयन गुरुङ लगायतका कलाकारले वाद्य वादन प्रस्तुति गरे भने उमेश खड्काले लोकप्रिय गीतहरु  सुनाए।  

नेपालबाट आएका लोकप्रिय कलाकारहरु कला लम्साल तथा रबिन लामिछानेले चर्चित गीतहरु गाउँदै सहभागीहरुलाई नचाएका थिए।

कार्यक्रममा मेयरेस क्यारोलाइन भुरोउ, काउन्सिलर तथा पूर्व डेपुटी मेयर लक्ष गुरुङ, काउन्सिलर कमल गुरुङ लगायतको उपस्थिति थियो। 

कार्यक्रमको पहिलो चरणको संचालन नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष भोला पनेरुले गरेका थिए भने दोश्रो चरणको कार्यक्रमको संचालन प्रतिष्ठा कार्कीले गरेकी थिइन्।   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register