छिङहाइको छेउबाट चीनलाई चियाउँदा

यो हामीले सोचेको जस्तो पूर्ण समानतामा आधारित समाज व्यवस्थाचाहिँ हैन । तर, मार्क्सका सिद्धान्तहरूको आधारमा भन्दा समाजवादको प्रारम्भिक अवस्थाचाहिँ हो भन्न सकिन्छ । सहरको छेउछाउ र ग्रामीण भेगमा भिन्न-भिन्न वर्गको अवस्थिति भने प्रष्ट अनुभव हुन्छ ।

Oct 11, 2024 - 10:05
 0
छिङहाइको छेउबाट चीनलाई चियाउँदा

भर्खर पन्ध्र पुगेर सोह्रौं वर्षमा हिँड्दै गरेको म २०३५/३६ सालको विद्यार्थी आन्दोलनमा उत्सुकतावश सामेल भएको थिएँ । आन्दोलन सकिँदा-नसकिँदै म झापाली समूह भनिने तत्कालीन नेकपा मालेको सम्पर्कमा पुगेँ । झापालीहरूको पहिलो साहित्य पढेको मुक्ति मोर्चा र वर्ग सङ्घर्षका अङ्कहरू हुन्, जसमा कमरेड रत्नकुमार बान्तवाको हत्या र त्यससँग जोडिएका कथा थिए, सँगै नेकपा माले स्थापनाका विवरण पनि ।

यो समूह चीनलाई विश्व क्रान्तिको केन्द्र मान्ने र माओ विचारधारालाई तत्कालीन समयको मार्क्सवादका रूपमा बुझ्ने मजस्तै अल्लारे विचारको प्रभावमा थियो । पक्का अल्लारे किशोर अवस्थामा साम्यवादी आन्दोलनसँग जोडिएर समाज र विश्वलाई परख गर्न र विश्वदृष्टि निर्माण गर्न थालियो ।

आरम्भमा हामीले जानेकोचाहिँ सोभियत सत्ता समाजवादका नाममा साम्राज्यवाद अभ्यास गरिरहेको मुलुक हो । अमेरिका विश्वको नम्बर एक दुश्मन हो । पुँजीवाद सबै खराबीहरूको मुहान हो । राजतन्त्र र सामन्तवाद कुहेर सड्न लागेको लास हो । र, चीनचाहिँ हाम्रो आशा भरोसाको केन्द्र ।

त्यही बुझाइको समयमा हो, २०३६ मंसिर (नोभेम्बर १९७९) मा चिनियाँ विदेशमन्त्री ह्वाङ हो पोखरा भ्रमणमा आएको बेला हामी वामपन्थी विद्यार्थी उनलाई स्वागत गर्न एयरपोर्ट पुगेका थियौँ । हामीलाई स्वागतमा सामेल नगराइएको रिसमा एयरपोर्टदेखि क्याम्पससम्म हामीले मार्क्सवाद, लेनिनवाद, माओ विचारधाराको समर्थन, नयाँ जनवादी क्रान्तिको पक्षमा र राजतन्त्रको विरोधमा अमेरिका, रुस र भारतका विरोधमा नाराबाजी गरेका थियौँ ।

त्यतिबेला सांस्कृतिक क्रान्तिको प्रभावले हाम्रो आन्दोलनलाई मज्जाले गाँजेको थियो । उता चीनमा हुवा क्वो फङ पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपनि तङ स्याओ फङको उदय भइसकेको थियो, जसको दूरगामी राजनीतिक प्रभावको हामीलाई पटक्कै आकलन थिएन ।

हामी सांस्कृतिक क्रान्ति, माओका विचार र चीनलाई विश्व क्रान्तिको केन्द्र मान्ने विचारले लट्ठ भइरहेको बेला चीनमा भने अर्कै अर्थराजनीतिक अभ्यास सुरु भइसकेको थियो । चार वर्ष पहिले नै (सेप्टेम्बर १९७६) मा माओको निधन भइसकेको थियो । सांस्कृतिक क्रान्तिको कार्यदिशा खारेज भएको थियो, माओकी पत्नी चियाङ छिङसहित चारजनाको गुटका सबै पक्राउ परेर जेलमा थिए ।

तङको नेतृत्वमा चीनले आर्थिक सुधार र बजार समाजवादको बाटो समातेको थियो । विश्वका अरु देशमा क्रान्ति र विचारधारा निर्यात गर्ने माओकालीन विदेश नीति सच्याइएको थियो । निजी क्षेत्रको उल्लेख्य भूमिकासहित समाजवादको पहिलो चरण निर्माणमा लाग्ने बुझाइसहितको अर्थतन्त्र निर्माणमा उनीहरू सक्रिय भएका थिए ।

खुलापन र वार्षिक हजारौं लाखौंको सङ्ख्यामा विद्यार्थी अमेरिका र युरोप पठाउने नीतिले चीन समाजवादमै अडिन्छ भन्नेमा मलाई पनि कहिले कहिले शङ्का लाग्थ्यो । मोहनविक्रम समूह र उनको स्कूल चीनलाई समाजवादी क्रान्तिप्रति गद्दारी गरेको भन्ने प्रचार गर्थ्यो ।

२०३७ (सन् १९८०) मा मालेका नेताहरू सिपी मैनाली र ईश्वर पोख्रेल चीन पुगेर फर्केपछि भने मालेले चीनको कम्युनिष्ट पार्टीले जे नीति लिन्छ, त्यसैलाई समर्थन गर्ने नीति अङ्गीकार गर्न थालेको थियो । चीन समाजवादी हो कि पुँजीवादी भइसक्यो भनेर यताका कम्युनिष्टबीच चर्को बहस र आरोप-प्रत्यारोप चलिरहेको थियो ।

खुलापन र वार्षिक हजारौं लाखौंको सङ्ख्यामा विद्यार्थी अमेरिका र युरोप पठाउने नीतिले चीन समाजवादमै अडिन्छ भन्नेमा मलाई पनि कहिले कहिले शङ्का लाग्थ्यो । मोहनविक्रम समूह र उनको स्कूल चीनलाई समाजवादी क्रान्तिप्रति गद्दारी गरेको भन्ने प्रचार गर्थ्यो । मालेनिकट सङ्कल्पका मञ्जुलहरू चीन समाजवादी नै हो, पुँजीवादी हैन भन्ने गीत गाउँथे । यसरी चीन हाम्रो वैचारिकता निर्माणको आरम्भिक कालमा सधैँ बहसको केन्द्रमा थियो ।

विद्यालय पढ्दाका सचित्र चीनका गातामा देखिने रङ्गीन चीन अब विस्तारै परखको विषय बन्दै गयो । थाहा भयो चीन त विकसित देश नभएर आधा अर्बभन्दा बढी गरिब मान्छे बस्ने हाम्रो जस्तै विकासोन्मुख देश रहेछ । त्यस क्रममा मैले चीनको आर्थिक, राजनीतिक तथा सामाजिक सांस्कृतिक विषयमा जानकारी दिने ‘साप्ताहिक बेइजिङ रिभ्यु’का सन् १९७९ अगस्टदेखि १९८९ मेसम्मका लगभग सबैजसो अङ्क पढेको थिएँ । चिनियाँ साहित्य पढियो । चिनियाँ कम्युनिष्ट पार्टीका हरेक महाधिवेशनका डकुमेन्ट पढियो । माओका रचना, हुनान किसान आन्दोलनको जाँचपड्तालदेखि सैनिक रचनासम्म पढियो ।

सँगै चीनबारे लेखिएका सामग्री भएका न्यूजवीक, दि इकोनोमिष्ट, फार इष्टर्न इकोनोमिक रिभ्यू, एसियावीक र टाइम्सजस्ता पत्रपत्रिका पनि लगातार पढ्न थालियो । सुरुमा बनेको चीनको छवि परिवर्तन हुँदै गयो । सकेसम्म यथार्थवादी बन्ने प्रयास गरियो ।

यता नेपालमा सन् नब्बेको परिवर्तन भयो । नेकपा माले एमालेमा परिवर्तन भयो, गाउँले शहर घेर्दै नयाँ जनवादी क्रान्ति गर्न हिँडेको नेकपा माले जनताको बहुदलीय जनवादका नाममा उदारवादी राजनीतिक खेमाकै एउटा शक्तिमा बदलियो । उता चीनले सन् १९७८ को सुधार अभियानपछि आर्थिक, सामरिक, सामाजिक क्षेत्रमा तरक्की गर्दै गयो । पहिलो विश्वको कारखाना बन्यो । अनि प्रविधिमा गरेको उन्नतिसँगै उच्च प्रविधि आधारित वस्तु उत्पादन र व्यापारबाट नाफा लिँदै गयो । अब चीन विश्वको नम्बर दुई अर्थतन्त्र, नम्बर दुई सामरिक शक्ति र समग्रमा अमेरिकालाई टक्कर दिने विश्व शक्तिका रूपमा विकास भएको छ ।

उसको उन्नति र चर्चाले आफैँमा एउटा ‘सफ्टपावर’का रूपमा काम गरिरहेको छ । त्यसको अर्थराजनीतिक व्यवस्था कति समाजवादी हो या होइन भन्ने बहस पनि जारी छन् । मलाई भने कतै न कतै चिनियाँँ व्यवस्था र चिनियाँ समाजका प्रति एक प्रकारको आकर्षणले छाडेको छैन ।

चीनको स्थलगत अध्ययन गर्ने अवसर जुटेको थिएन । यसपाली हामी १० जना लेखक पत्रकारको समूह छिङहाई प्रदेश सरकारको विदेश मामिला विभागको निम्तोमा भ्रमणमा गयौँ । जम्मा जम्मी ९ दिन छिङहाई घुमेर फर्कँदा कम विकसित क्षेत्र मानिने तिब्बेतियन उच्च पठारको हिस्साबाट चीनलाई चियाउने अवसर मिल्यो ।

अर्थराजनीति र चिनियाँ साहित्यको पनि विद्यार्थी भएकोले मेरो घुमफिर चिनियाँ समाजलाई नजिकबाट चिन्न र त्यहाँको सरकार या राज्यका भुँइतहका आधार र संस्थाहरू बुझ्नमा केन्द्रित रह्यो । मेरो जिज्ञासा के चीनले अहिले अभ्यास गरिरहेको आर्थिक राजनीतिक प्रणाली लामो समय टिक्ला भन्नेमा पनि थियो ।

छिङहाईमा

सिमसिम पानी परिरहेको सेप्टेम्बर महिनाको साँझ हामी छिङहाईको राजधानी सिनइङ पुगेका थियौँ । यो मझौला खाले शहरमा पर्छ । सरदर २ हजार २५० मिटर उचाइमा पर्ने यो शहरमा जम्माजम्मी २४ लाख जति जनसङ्ख्या छ । हाइराइजिङ भवन र चिल्ला सडक । हामीलाई रात्रिकालीन भव्यता देखिने शहरको सम्भ्रान्त इलाकामा एउटा चहलपहलयुक्त रेष्टुराँमा पुर्‍याइयो, जहाँबाट हेर्दा यो कुनै ठूला शहरको उत्तरआधुनिक आर्किटेक्ट र जीवनशैलीयुक्त देखिन्थ्यो । आफ्नो आनुभवमा यो हङकङ या बैंककका कुनै भव्य केन्द्र जस्तो लाग्थ्यो ।

हामीले मिन्चु विश्वविद्यालय, तिब्बतियन औषधि विश्वविद्यालय र म्युजियम, संसारको सबैभन्दा ठूलो सौर्य प्यानल उत्पादन गर्ने तृना सोलार कम्पनी, वर्षको पचास हजार स्कायर मिटर तिब्बतियन हाते गलैँचा उत्पादन गर्ने शेङयुआन गलैँचा कारखाना, संसारको सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादन गर्ने फोटोभोल्टाइक केन्द्र, त्यहाँका केही प्रसिद्ध बौद्ध गुम्बा, अल्पसङ्ख्यक सलार मुसलमान मस्जिद र वस्ती, अल्पसङ्ख्यक भाषामा श्रव्यदृश्य सामग्री उत्पादन र डबिङ गर्ने सांस्कृतिक केन्द्र, २०१० मा भूकम्पले ध्वस्त पारेर पुर्ननिर्माण भएको युसु जिल्लाका केही नगर र गाउँहरू, एलो नदी किनारको एउटा कृषि उपज फर्म, कृषि प्रशोधन केन्द्र, हस्तकला केन्द्रहरू, गरिबी निवारणको नमूना गाउँ र छिङहाई ताल वरपर जलाधार तथा वन्यजन्तु संरक्षण क्षेत्रको भ्रमण गरेका थियौँ ।

साथै केही ऐतिहासिक जीवित सङ्ग्रहालय र पाँचवटा धर्मावलम्बी मिलेर बसेको पाँच धर्म सडक, सलार जातिको मुस्लिम वस्ती र अरु धेरै ठाउँ अवलोकन गरेका थियौँ । तिब्बतीयन स्वायत्त जिल्ला युसुमा एउटा पर्यटकीय गाउँ र सिनइङमा नै एउटा वडास्तरको समुदायमा उनीहरूको कामबारे विस्तारमा बुझ्ने अवसर पनि पाएका थियौँ ।

यिनै अवलोकनका आधारमा मैले चीनको राजनीतिक तथा आर्थिक सामरिक केन्द्रभन्दा कैयन् किमि टाढाबाट चीनलाई बुझ्ने प्रयास गरेको थिएँ ।

कानून र प्रविधिको संयुक्त शासन

एक अर्ब ४४ करोड जनसङ्ख्या भएको चीनले मानिसलाई कसरी अनुशासनमा राख्न सकेको होला ? के राज्यका अङ्ग र प्रहरी या कानूनले मात्र यति विशाल जनसङ्ख्या नियन्त्रण गर्न सम्भव छ ? चीनको शासन प्रणाली एकदलीय प्रकारको छ । यताको उदारवादमा जस्तो खुलापन छैन । तर, कसैको आदेशले मात्रै त कुनै पनि समाज नियन्त्रणमा बसिरहँदैन ।

मैले छिङहाइको कम्युनिष्ट पार्टीका एकजना नेता तथा प्रदेश सरकारको विदेश विभाग प्रमुखसँग भेट हुँदा यस्तो जिज्ञासा राखेको थिएँ । यसैगरी चोरी, लागूऔषधको सेवनको अवस्था, घरबारविहीन मानिस र शान्ति सुरक्षाका बारेमा पनि प्रश्न गरेको थिएँ । यद्यपि, हामीले शहरमा कुनै बेघरबार या आवाराजस्तो मान्छे देखेका थिएनौँ ।

उनका अनुसार लागूऔषधको समस्या पहिले पहिले भएपनि अब नरहेको, महिला तथा केटाकेटीले रातको समयमा जहाँसुकै पनि जान सक्ने सुरक्षाको प्रत्याभूति रहेको र चोरीका समस्या नरहेको बताए । उनीसँगै रहेकी विदेश विभागकी एकजना अधिकृतले थपिन्, “तपाईंहरूको सामान बाटोमा खस्यो या छुट्यो भने पनि कसैले टिप्दैन । सार्वजनिक ठाउँ या सडकमा सिसिटिभी क्यामेरा जडान भएका छन्, जसले लियो, उसले बुझाएन भने तत्काल कारबाही हुन्छ ।”

अपराध हेरेर कारबाही पनि निकै कडा छन् । जस्तो पासपार्ट बनाउन नदिने, हवाई जहाजमा यात्रा गर्न नपाउने, बैंकबाट ऋण लिन नसक्ने या सामाजिक सेवाबापत्‌का सुविधा नपाउने हुनसक्छ । जेल बस्नु या आर्थिक दण्डभन्दा यो निकै कष्टदायक हुँदो हो ।

अपराध हेरेर कारबाही पनि निकै कडा छन् । जस्तो पासपार्ट बनाउन नदिने, हवाई जहाजमा यात्रा गर्न नपाउने, बैंकबाट ऋण लिन नसक्ने या सामाजिक सेवाबापत्‌का सुविधा नपाउने हुनसक्छ । जेल बस्नु या आर्थिक दण्डभन्दा यो निकै कष्टदायक हुँदो हो । बाटोमा प्रहरी एकाध पटक मात्र देखिए । छिटफुट मात्र ट्राफिक प्रहरी देखिए । ट्राफिक नियमन देखि व्यक्तिका सबै विवरणसम्म डिजिटलाइज भएपछि मनिटरिङ गर्न सहज हुँदो हो । ‘रुल अफ टेक्नोलोजी’भन्दा फरक नपर्ने !

पार्टी सदस्य र सरकारी कर्मचारीले पालना गर्नुपर्ने अनुशासन निकै कडा गरेको पाइयो । कर्मचारीले विदेशीसँग एक्लै भेट्न नपाउने नियम रहेछ । सरकारी भोज-भतेरमा रक्सी बर्जित छ । उपहार लिन प्रतिबन्ध छ । यसले पनि समाजलाई अनुशासनमा राख्न भूमिका खेलेको हुँदो हो ।

मान्छेमाथि नियन्त्रण प्रविधिले गर्दो रहेछ । म वाण्डाभिष्टा होटलको ४३औं तलामा बसेको थिएँ । त्यो तलामा जान लिफ्टमा आफ्नो कोठाको ढोका खोल्ने कार्डले छोएर मात्र तलाको नम्बर थिच्नुपर्ने । अर्थात् रिसेप्सनबाट विधिवत् दर्ता भएर कार्ड लिनेले मात्र कुनै पनि तलामा प्रवेश गर्न सम्भव छ ।

होटलको रेष्टुराँ या रिसेप्सनबाट कोठाहरूमा सामान या खानेकुरा लिएर स्वचालित रूपमा ‘रोबोटिक बक्स लिफ्ट’को प्रयोग गरेर आउजाउ गरिरहेको रमाइलो लाग्ने दृश्य सामान्य थियो । धेरै हदसम्म मानिसलाई प्रविधिले नियन्त्रण गरेको । अनुहारको फोटो पढेर कसैलाई पनि चिन्नसक्ने प्रविधिको प्रयोग त पहिले देखि नै थियो ।

सामाजिक अन्तरविरोध र समस्या तथा आर्थिक अवसरहरूको असमानताले सिर्जना गर्ने तनाव त यहाँ पनि अवश्य होलान् । केही वर्षयताको आर्थिक वृद्धिदर हेर्दा अवसर खुम्चिएको छ । तर, राज्य यस मामिलामा निकै सतर्क र चनाखो रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अधिवेशन र बैठकमा हुने बहस र लिइएका निर्णयमा देख्न सकिन्छ । समाजलाई तनावले जित्नु पहिले नै त्यसको समाधान खोज्न सरकार र कम्युनिष्ट पार्टीले सतर्कतापूर्वक कदम चाल्ने गरेका छन् ।

जस्तो २५ वर्षको लगातार वृद्धिपछि त्यसक्रममा उत्पन्न भएको आर्थिक विषमता र सामाजिक समस्या हल गर्न हु चीन्ताओको समयदेखि नै केही नीति बनाइएका थिए । सी चिनफिङ सत्तामा आउनासाथ नीतिगत हस्तक्षेप गरेका थिए ।

विश्वविद्यालयमा विद्यार्थी र प्राध्यापकलाई ड्रेसकोड नभएकोले स्वच्छन्दजस्ता देखिने युवायुवती निस्फिक्री कपडामा देखिन्थे । खाना खाने र आराम गर्ने समयको पनि लगभग समाजले एउटा नियमित अभ्यास गर्दोरहेछ । वैयक्तिक मामिलामा पूर्ण स्वतन्त्रता तर, सामाजिक राजनीतिक मामिलामा नियम पालना गर्न लगाएर समाजलाई सङ्गठित र अनुशासित गरेको जस्तो लाग्थ्यो ।

बलियो समुदाय

कोही घर बनाएर या किनेर बस्न नसक्ने अवस्था आयो भने त्यो समस्या समुदायले हेर्दोरहेछ । कसैले पनि सडकमा निस्कनु नपर्ने निश्चित गरिएको रहेछ । हामीलाई सिनिङ शहरकै चोङह्वा लेन समुदायमा लगिएको थियो । शासनको सबैभन्दा सानो इकाइका रूपमा रहेको ४ हजार ८१३ घर परिवारका ८ हजार ५०३ रजिस्टर्ड बासिन्दा रहेको समुदायको कार्यालयमा जाँदा स्वास्थ्य सेवा, शिक्षा, बालबालिकाको स्याहार र फरक क्षमताका बालबालिका र नागरिकका लागि आवश्यक सेवा, बिरामीलाई दिइने सेवा, ज्येष्ठ नागरिकले पाउने सेवा दिन तत्पर भएर बस्ने कर्मचारी र स्वयम्‌सेवकको व्यवस्थित उपस्थिति देखियो ।

ठूलो रोगमा बाहेक अरु उपचार स्थानीय क्लिनिकमा हुनेरहेछ । रिटायर्ड वृद्धवृद्धा नाचगान र शारीरिक अभ्याससहित आफूले जानेको सीप नयाँ पुस्तालाई सिकाउन र समुदायमा अरु सेवा गर्न तयार भएका ! हामी जाँदा मध्य शरद चाड नजिक आउँदै थियो । त्यसका लागि मुनकेक बनाउन सिकाउने, कागज काटेर विभिन्न कलात्मक सामान बनाउने र चिनियाँ लिपिको क्यालिग्राफी सिकाउने काम भइरहेको थियो ।

रिटायर्ड महिलाको एउटा समूह सङ्गीतको तालमा नाच र व्यायाम गरिरहेको ! कसैले पनि समुदायको ढोकाबाट छिरेर मात्र सामाजिक सेवा र सुविधा उपभोग गर्न पाउने मिल्ने बन्दोवस्त रहेछ । समुदायमा एक आपसमा परेको बेला सहयोग गर्ने स्वयम्‌सेवाको भावना राम्रो रहेको पाइयो । स्वयम्‌सेवक समूहमार्फत जतिबेला जहाँसुकै सेवा पुर्‍याउने भन्ने मान्यता रहेछ ।

यो स्थानीय सरकारसम्बन्धी अवधारणाले अत्यन्त व्यक्तिवादी बन्दै गएको पश्चिमा समाजभन्दा भिन्नै तरिकाले चिनियाँ समाजको सङ्गठन गरिएको देखाउँछ । सम्भवतः चिनियाँ कम्युनिष्ट पार्टीले सभ्यताहरूको पहल भनेर अगाडि सारेको नीतिको आधार यो हुँदो हो । किनभने यसले चीनमा पारिवारिक सम्बन्धहरूको जालोले संस्कृति र परम्पराको रक्षा गरेको छ र समुदायको जालोको आधारमा परिवार र राज्य व्यक्ति र समाजका बीच कानूनी र भावनात्मक सम्बन्ध स्थापित गरिरहेको देखिन्छ ।

थाङ्का पेण्टिङले हजारौंलाई राेजगारी दिएकाे छ

नेता वाङ हुनिङले चीनका जस्ता सभ्यताको जग बलियो रहेको भनेर आफ्नो पुस्तक ‘अमेरिकाविरुद्ध अमेरिका’मा उल्लेख गरेका पनि छन्, जसमा उनले अत्यन्त व्यक्तिवादी भएकैले अमेरिका आफैँ समाप्त हुन्छ भन्ने भविष्यवाणी पनि गरेका छन् । उनीहरूले आफ्नो सभ्यताको आधारका रूपमा बहुसंस्कृतिका बीच एकता र समुदाय आधारित सामाजिक सङ्गठनलाई लिएको हुनुपर्छ ।

परिवारहरू पहिलेजस्तो सामूहिक रूपमा बस्ने चलन अझै कायम छ । युवामा सम्बन्धविच्छेदको दर बढ्दो क्रममा छ, सन्तान जन्माउने दर घट्दो । लामो समयसम्म एक सन्तान नीति लिएको चीनमा शहरका पर्खालतिर दुई सन्तानको हात समातेर हिँडिरहेका जोडीको चित्र बनाइएको धेरै ठाउँमा देखियो । अर्थात् अब कम्तीमा दुई सन्तान जन्माऔँ भन्न थालिएको । अहिलेसम्म उद्योगमा कामदारको अभाव भइसकेको छैन तर, विस्तारै अर्धदक्ष श्रमिक आपूर्ति कम हुने सम्भावना देखिएको छ । यसलाई रोबोट र स्वचालित यन्त्रबाट पूर्ति गर्ने क्रम पनि विस्तार भएको छ ।

सरदर आठ हजार डलरजति प्रतिव्यक्ति आय भएको सिनइङ शहरका भव्य रेष्टुराँमा खानाका विशाल टेबल वरपर परिवारका सदस्य या साथीभाइ र आफन्त अथवा व्यापारिक पार्टनरको भीडभाड जता गएपनि देखिन्थ्यो । सडकमा लाग्ने खानेकुराका पसलमा सन्ध्याकालमा खानपिन गरिरहेकाहरूको उस्तै भीडभाड थियो ।

यसैपनि चिनियाँ खाना त्यसमाथि पुगिसरी हुनेहरू । यसले त्यहाँको जीवनशैली र सम्पन्नताको झल्को दिन्थ्यो । यो उपभोगमा उच्च आय हुनेहरू र मध्यमवर्गका बीचका भिन्नता पनि अनुभव गर्न सकिन्थ्यो ।

संस्कृति, इतिहास र संस्थाहरू

हाम्रो भ्रमणका क्रममा देखाइएका संस्था र भेटिएका मानिसबाट पाइने एउटा ज्ञान चिनियाँहरूले आफ्ना परम्परागत सांस्कृतिक धार्मिक मूल्य संरक्षणमा देखाएको चासो र राज्यले गरेको लगानीको पाटो पनि खुल्यो । हामीलाई छिङहाइ जनजातीय भाषा सिनेमा तथा टेलिभिजन डबिङ केन्द्र, होङ्जुए गुम्बा, दोङगुआन मस्जिद, छिङहाइ तिब्बती सांस्कृतिक म्युजियम, गुओमारी गाउँ, पाँच धर्म सडकजस्ता ठाउँहरू लगिएको थियो ।

यसैगरी तिब्बतीहरूले अत्यन्त श्रद्धा गर्ने चिनियाँ ताङ वंशकी राजकुमारी वेनच्याङ र २२ सय माइलको दुई वर्ष लगाएर गरिएको उनको बिहे यात्राका सम्झना कुँदिएका अनेकन् धार्मिक स्थल देखाइएको थियो । होङ्जुए गुम्बा पञ्चेन लामाहरूको धर्मबिहारका रूपमा रहेको छ ।

हरिततारा (भृकुटी) काे तिनमुखे मुर्ति अगाडि प्रार्थना गरिरहेका तिब्बती मूलका चिनियाँहरु

तिब्बती बौद्ध परम्परामा यी स्थानको संरक्षणमा राज्यले निकै ध्यान दिएको पाइयो । सँगै परम्परादेखि चिनियाँ राजवंश र पछि कम्युनिष्ट शासकहरू कसरी धर्म र गुम्बासँग जोडिएका छन् भन्ने छनक पनि यहाँ देख्न पाइन्थ्यो । यी स्थल डुल्दा चीनले अल्पसङ्ख्यकको भाषा, धर्म र संस्कृतिको संरक्षण गर्दै लगेको र त्यसका लागि राज्यले पर्याप्त लगानी पनि गरिरहेको देखिन्थ्यो । राजनीतिका संवेदनशील मामिलामा भने उनीहरू नियन्त्रित न्यारेटिभ निर्माण गरिरहेका देखिन्थे ।

धर्मनिरपेक्षताको पालनालाई पनि राज्यले ध्यान दिएको देखिन्छ । पाँच धर्म सडकमा तिब्बतियन बौद्ध मठ र गुम्बा, हान चिनियाँ बौद्ध मन्दिर, हान मुस्लिम, सलाह (अरबी) मुस्लिम, ताओ धर्मावलम्बी एककआपसमा मिलेर बसेको देखियो । हरेक स-सानो चिजको संरक्षण गरेर त्यसबाट पर्यटकीय लाभ पनि लिइरहेका रहेछन् ।

वोन धर्मावलम्बीहरूको जस्तो हामीले यता भोटे भनेर चिन्ने गरिएका अनुहार वेनच्याङ र तिनमुखे हरितताराको मूर्ति अगाडि लम्पसार परेर दर्शन गरिरहेका, हातमा रुद्राक्षको माला लिएर ‘ओम मनि पेम्हे ओम’ जपिरहेका र बेञ्चहरूमा बसेर भलाकुसारी गरिरहेका तिब्बतियन वृद्धवृद्धाको जमात देख्दा यो समाज आधुनिकता र परम्पराको मिश्रणसँगै अघि बढिरहेको जस्तो देखिन्थ्यो । धार्मिक स्वतन्त्रता सुनिश्चित गरिएको अनुभूति हुन्थ्यो ।

अहिले गाउँको नाम बिर्सेँ । सानो उपशहरी इलाका थियो । हामी बसेको होटल नजिक हान मुस्लिमको एउटा ठूलो टोल रहेछ । हामी साँझको डिनरपछि हावा खाँदै निस्केका थियौँ । सडकका दुवै किनारमा मासुका अनेकन् परिकार पाइने खुला पसल थिए, केहीमा ग्राहक आउन छाडिसकेका थिए डिनरको समय सकिएकोले । यसले अल्पसङ्ख्यक मुस्लिम समुदायले सहज रूपमा आफ्नो खाद्य संस्कृति र परम्पराको संरक्षण गरिरहेको देखाउँथ्यो ।

अल्पसंख्यक सलार मुस्लिम समुदायको संग्रहालय

युसुमा खम्पाको वस्ती छ । यो तिब्बतियन स्वायत्त क्षेत्र हो । भाषा र परम्परागत संस्कृतिको रक्षा र विकासमा राज्यको पर्याप्त सहयोग र ध्यान पुगेको देखिन्छ । साँझ गेसार स्क्वायरमा उनीहरू जम्मा भएर अलि आधुनिक पप जस्तो लाग्ने गीत र सङ्गीतको तालमा सयौंको सङ्ख्यामा एकैपटक नाचिरहेको देख्दा एक प्रकारको आनन्द लाग्ने । एकप्रकारले तिब्बती पहिचानको शक्तिशाली विम्बजस्तो छ यो स्क्वायर ।

दुई अर्ब साना तथा ठूला ढुङ्गामा कुँदिएका मनी पेम्हेले घेरिएको गुम्बा पनि यहीँ छ । राजकुमारी वेनचेङले १३ सय वर्ष पहिले छ महिना यहाँ बस्दा पहरामा कुँद्न लगाएका शाक्यमुनी बुद्ध र उनका प्रथम चेलाहरूको मूर्तिको संरक्षण गरिएको छ ।

यसैगरी अल्पसङ्ख्यक भाषाका खासगरी तिब्बती भाषाका सिनेमा र टेलिभिजन कार्यक्रमलाई अरु भाषामा डबिङ गर्ने र अरु भाषाका त्यस्तै कार्यक्रम तिब्बतीलगायत अल्पसङ्ख्यक भाषामा डबिङ गर्ने कार्य १९८० मा स्थापित संस्थाबाट निरन्तर जारी रहेको देखिन्छ ।

मैले जान्न चाहेको थिएँ के चिनियाँ अल्पसङ्ख्यक जाति समुदायका युवा मूल प्रवाहको साहित्य, कला, सङ्गीत जस्ता क्षेत्रमा जमेका छन् ? छिङहाइको विदेश मामिला विभागकी एकजना अधिकृत मा वेन चुआनले एकजना सुन्दर उइगुर अभिनेतृको नाम लिँदै त्यस्तो भूमिकामा अल्पसङ्ख्यक समुदायको उपस्थिति रहेको बताइन् । हाम्रा एकदिने गाइड रहेका तिब्बती मूलका तेन्जिन थिन्लेले पनि यसमा हँ मा हँ मिसाएका थिए ।

राजनीतिक क्षेत्रमा अल्पसङ्ख्यकको उपस्थितिबारे त्यती बहस गरिएन । तर, युसु जिल्लाको एउटा काउण्टीमा हामीलाई स्वागत गर्ने समूहमा स्थानीय तिब्बती खम्पा समूहका नेताको उपस्थिति थियो । त्यहाँको पाथाङ स्थानीय तहको सरकार प्रमुखचाहिँ तिब्बती मूलकी एकजना ३१ वर्षे महिला इस्याङ जोङ थिइन्, जसले बेइजिङको कुनै विश्वविद्यालयबाट कानूनमा एलएलएमको डिग्री लिएपछि यता (हाम्रो गाउँपालिका अध्यक्ष जस्तो) निर्वाचित भएकी रहिछन् ।

बहुपहिचानमा एकता

चिनियाँहरूले अल्पसङ्ख्यक समुदायको भाषा, धर्म र संस्कृतिको रक्षाका लागि महत्त्वपूर्ण काम गरेको पाइयो । परम्परागत कला र धार्मिक स्थाललाई पर्यटकीय आकर्षणको केन्द्र बनाएर, परम्परागत सीप र कलालाई आधुनिक उद्योग र व्यापारसँग जोडेर त्यसैबाट समुदायको आय आर्जनको बाटो पनि बनाइएको देखियो ।

तु जातिका मानिसको बसोबास रहेको र २ हजार वर्ष जतिको इतिहास रहेको तोङरेन गाउँलाई चाहिँ यिनीहरूले जीवित सङ्ग्रहालय नै बनाएका रहेछन् । माटाको अग्ला पर्खालले घेरिएको साँघुरा सफा र ढुङ्गाले छापेका गल्लीले एक आपसमा माकुरे जालोले झैँ जोडेको यो गाउँको विशेषताचाहिँ शत्रुहरूलाई यस्ता पर्खालबाट छेकेर आफ्नो रक्षा गरेको गढीको इतिहासको जानकारी जीवित राख्नु रहेछ ।

यो गाउँका अधिकांश मानिसचाहिँ थाङ्का बनाउने काम गर्दारहेछन् । परम्परागत ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गरिएको ! अलि नजिक यो काउन्टीमा रहेको थाङ्का स्कूल र म्युजियम पनि हेरियो, जसले परम्परागत थाङ्का बनाएर बजारीकरणमा सहयोग गर्दोरहेछ । यस वरपरका ५० हजार मानिस थाङ्का बनाउने काममा लागेका रहेछन्, जसको आयस्ता अरु प्रोफेसनमा भन्दा बढी छ ।

चीनमा ५६ जात जातिका मानिस बसोबास गर्छन् । हाम्रो जस्तो सानो देशमा चाहिँ १३० जात जाति या भाषिक समुदायका मानिस छौँ । चीनको सुनहुवा गाउँमा मात्र पनि ११ भन्दा बढी जाति जनजातिका मानिस बसोबास गर्दा रहेछन् । सलार (तुर्क अरेबिक मुस्लिम), तिब्बेतियन, हुइ, हान, तु, दोङसियाङ, मङ्गोल, छियाङ, बोनान, ब्लाङ, बुयी समेत । सलार ६१ प्रतिशत छन् भने ७ वटा जातिको जनसङ्ख्या प्रत्येकको १ प्रतिशतभन्दा कम छ । यसको अर्थ यो विविधतामा एकता भएको समाज हो । सबैको भाषा, संस्कृति र परम्परालाई रक्षा गर्दै मुल चिनियाँसँग प्रवाहीकरण गरिएको र विविधितामा एकता खोजेको जस्तो देखिन्छ ।

राजकुमारी वेनच्येङले पहरामा कुँद्न लगाएका शाक्यमुनी र चेलाका १३ सय वर्ष पुराना मुर्तिहरु

जातिअनुसारका स्वायत्त क्षेत्र या गाउँ व्यवस्था गरिएको छ । यहाँ अण्डरकरेन्ट तनावहरू छन् भने पनि त्यसको अवस्थाबारे हामीले अल्पसमयमा बुझ्न सक्ने कुरा भएन ।

भाषा प्रयोगमा द्विभाषिक नीति प्रयोग गरेको पाइयो । आफ्नो मातृभाषा र चिनियाँ मण्डारिन, विद्यालयमा हुने पढाइदेखि सरकारी कामकाजको भाषासम्म । अल्पसङ्ख्यक समुदायकाहरूले आफ्नो मातृभाषा र मण्डारिन दुवै सहज रूपमा बोल्ने तर, अर्को जातिले चाहिँ उक्त समुदायको भाषा नबुझ्ने र मण्डारिनमा सम्वाद गर्ने गरेको पाइयो । अलि पुरानो पुस्ताको अल्पसङ्ख्यक समुदायको सदस्यले भने आफ्नो मातृभाषामा मात्र कुरा गर्ने गरेको देखियो ।

हामीकहाँ पनि त्रैभाषिक या द्विभाषिक नीतिको बहस चलेको हो । अझै पनि त्यो सहज रूपमा कार्यान्वयनमा आएको छैन ।

नखाँदै यो चाल, खाए कुन चाल

छिङहाइ चीनका अरु समुद्र तटीय क्षेत्रसँग तुलना गर्दा कमजोर अर्थतन्त्र भएको प्रान्त हो । यो सिन्जियाङ र तिब्बतपछि क्षेत्रफलमा तेस्रो ठूलो प्रान्त हो, जसको क्षेत्रफल नेपालको भन्दा कम्तीमा पाँच गुणा ठूलो छ तर, जनसङ्ख्या ६५ लाख जति मात्र छ ।

यो चीनको पानीको मुहान भनिने ठूला नदी प्रणालीको स्रोत रहेछ । लाञ्चाउ, ह्वाङहो (यलो) र याङ्त्से नदीको मुहान त यो हो नै, सँगै ठूला नुनिला तालको भण्डार पनि रहेछ । जलवायु परिवर्तनका असर कम गर्न अनेक प्रयास गरिएको रहेछ । पठारको उपत्यकामा सयौं किमि यात्रा गर्दा वरपर देखिने हरिया घाँसे पाखा पर्वतमा समथर मैदानमा पनि भेडा र याकका सयौं बथान देखिए । पहिले मरुभूमि रहेको ठाउँमा लगाइएको संसारको सबैभन्दा ठुलो सोलार प्लान्ट, बीसभन्दा बढी जलविद्युत् आयोजना, वायु र जिओथर्मल ऊर्जासमेत उत्पादन गरेर अरु प्रान्तमा पठाउँदो रहेछ, जसले यताको अर्थतन्त्रलाई भरथेग गरेको छ ।

संसारकै ठुलाे साेलार विद्युत उत्पादन केन्द्र

यहाँ हामी दुईवटा ठूला कारखानामा गयौँ । तृन शोलार प्लान्ट (प्यानल उत्पादन) र शेङयुन कार्पेट कारखाना । यसैगरी ह्वाङ्हो नदी किनारमा रहेको २० हजार स्क्वायर मिटरमा फैलिएको एउटा कृषि फर्म, हाइदोङमा रहेको कृषि सामग्री प्रशोधन उद्योगलगायतको भ्रमण गरिएको थियो ।

सुपरमार्केटमा अधिकांशजसो स्थानीय उत्पादन बेच्न राखेको देखियो । कृषि, वस्तु उत्पादन उद्योग (म्यानुफ्याक्चरिङ) र सेवा उद्योग (पर्यटनसँग सम्बन्धित होटल, रेष्टुराँ, टुर्स एण्ड ट्राभल्स), र व्यापार यहाँको मुख्य आर्थिक क्षेत्र रहेछन् ।

उनीहरूले भनेअनुसार उद्योगले सिधै किसानसँग उपज खरिद गर्छ, उनीहरूको खेतबारीमा पुगेर । त्यसरी खरिद गर्दा उनीहरूले बजारमा बेच्दा पाउने मूल्यभन्दा केही प्रतिशत बढी दिइँदोरहेछ । यहाँको उत्पादनचाहिँ चीनका विभिन्न शहर र युरोपमा पनि बेचिँदोरहेछ ।

स-साना कृषि फर्म या मध्यम किसान आफैँले आफ्नो उत्पादन साँझपख सडकमा राखेर बेच्न बसेको देखिन्थ्यो, अलि ग्रामीण क्षेत्रतिर । ह्वाङदोङको एउटा उपसहरी इलाकामा रहेको रेल्वे स्टेशनको केही पर सडकको दुवैतिर तरकारी र फलफूल बिक्री गर्न बसेका किसान र व्यापारी देखिन्थे । तर, समय अभावका कारण ओर्लेर उनीहरूले गर्ने उत्पादन र व्यापारबारे बुझ्न पाइएन । शहरका केही स्थानमा एक्का दुक्का डोके किसान देखिए ।  त्यहाँको विमानस्थलभन्दा अलिकति दक्षिण पश्चिममा पर्ने एउटा उपनगरीय इलाकामा कृषि उपज प्रशोधन केन्द्रको भ्रमण गराइएको थियो ।

उनीहरूले भनेअनुसार उद्योगले सिधै किसानसँग उपज खरिद गर्छ, उनीहरूको खेतबारीमा पुगेर । त्यसरी खरिद गर्दा उनीहरूले बजारमा बेच्दा पाउने मूल्यभन्दा केही प्रतिशत बढी दिइँदोरहेछ । यहाँको उत्पादनचाहिँ चीनका विभिन्न शहर र युरोपमा पनि बेचिँदोरहेछ ।

कृषि फर्ममा काम गरिरहेका ज्यालादारी मजदुर

ज्यालादारी मजदुरले दैनिक कामको न्यूनतम १२० युआन पाउँदा रहेछन् । उद्योगमा न्यूनतम ३ हजार युआनप्रति महिनाको आम्दानी रहेछ । अर्थतन्त्रमा महिलाको सक्रिय सहभागिता देखिन्थ्यो, उद्योग, व्यापार, जागिर जताततै ।

यहाँको औसत आय वार्षिक प्रतिव्यक्ति ८ हजार डलर जति रहेको छ । जुन चीनको औसतमा ४ हजार डलरभन्दा कम हो । तर, यो प्रान्तले तीव्र रूपमा आर्थिक विकास गरिरहेको यहाँ बनेका पूर्वाधार र कनेक्टीभिटीले देखाउँछन् । शिक्षा, पूर्वाधार, वातावरण संरक्षण र प्रकृति संरक्षणमा चीनले गरिरहेको लगानी र विस्तारको दर हेर्दा यो विश्वको प्राचीन सभ्यता भएको समाजको भविष्य उज्ज्वल देखिन्छ । चिनियाँहरू जे बनाउँछन्, दिल खोलेर विशाल बनाउँछन् जस्तो देखिने ।

आर्थिक समृद्धि, उद्योगको विकास, सांस्कृतिक धार्मिकस्थल र मतहरूको संरक्षणमा चिनियाँ सरकारको प्राथमिकताको छनक भने हामीले भ्रमण गरेका चार/पाँचवटा ठाउँमा केही वर्ष पहिले चिनियाँ राष्ट्रपति सीले भ्रमण गरेका र त्यसरी भ्रमण गर्दा उनले भनेका भनेर लेखेर राखिएका कोटेसन या निर्देशनले पनि झल्काउँथेँ ।

चीन बनिसकेको होइन रहेछ, बन्दै रहेछ । बनिनसक्दै यो हल्लीखल्ली छ, उसको शक्ति बनिसकेपछि यसले एकपटक विश्वलाई उछिन्छ भन्ने विश्वास जस-कसैले गर्न सक्छ । मलाई त्यता घुम्दा देखेको दृश्यले एउटा गीतको लय सम्झना भयो— काँचो सुन्तला, नखाँदै यो चाल, खाए कुन चाल ।

होटलमा बिहान ब्रेकफास्ट गर्नेबेला देखिने अनुहारहरू ९० प्रतिशत चिनियाँको नै हुन्थ्यो । भन्नुको अर्थ घुमघाम र व्यापारलगायत काम गर्न यता आउने उच्च मध्यम वर्गको चिनियाँ सङ्ख्या निकै बाक्लो छ । र, यहाँ व्यवसाय विस्तारका सम्भावना पनि धेरै छन् ।

देखेको अर्थराजनीतिक प्रणाली

रह्यो कुरा समाजवादको । मैले आरम्भमा नै भनेको छु, चीनका प्रतिको हाम्रो आकर्षणको मुख्य पक्ष उसको समाजवादी व्यवस्थासँग जोडिन्छ । माओले स्थापित गरेको नौलो जनवाद लामो समय हाम्रो मार्गदर्शक रहेको थियो । अहिले पनि नेपालका कम्युनिष्टले जनवादका शाब्दिक बहस गर्न छाडेका छैनन् । यद्यपि, समाजवादको स्वर्णिम समयको रुमानी कल्पनाबाट म धेरै टाढा पुगेको छु, बढी यथार्थवादी भएको छु तर, चीनबारे म थोरै बायस्ड या देब्रे-ढल्कुवा हुनसक्ने जोखिम छ ।

नाङ्गो आँखाले हेर्दा समाजवादी चीन कस्तो देखिन्छ त भन्ने प्रश्न मेरो मनमा गढिरहेको थियो । त्यसलाई कसरी अर्थ्याउने भन्ने समस्या पनि छ । राम्ररी भित्रैसम्म नबुझी गरिने टिप्पणी हतारको र अनर्थको पनि हुनसक्छ । हाम्रो समूहमा सामेल वामपन्थी पत्रकार तथा लेखक नरेन्द्रजङ्ग पिटरसँग पनि मैले यसमा संवाद गर्न चाहेको थिएँ । उनले चाहिँ अली दार्शनिक पाराले उत्तर खोज्ने चेष्टा गरेपछि म पछि हटेँ । मेरै आँखाले देखेको र अनुमान गरेको समाजको कुरा गरौँ ।

तङको नेतृत्वमा विकास भएको समाजवादी बजार अर्थतन्त्र अहिले पनि चिनियाँ समाजलाई निर्देशित गरिरहेको कम्युनिष्ट पार्टीको मुख्य सिद्धान्त हो । उनीहरू आर्थिक रूपमा आफ्ना जनतालाई गरिबीबाट मुक्त गर्ने पहिलो कर्तव्य पूरा गरेर सबैलाई सापेक्षित सम्पन्नता दिलाउने योजनामा छन् । जीवनस्तर उकास्नु भनेको जीवनको गुणस्तर अथवा गुणस्तरीय जीवन बिताउने अवसरको सिर्जना गर्नु पनि हो । स्वच्छ हावा, विषादीरहित खाना, सम्मानजनक वृद्धावस्था ।

यसका लागि अर्थतन्त्रमा विद्यमान साधन तथा स्रोतको उपयोग र वितरणलाई उच्च प्रतिफलयुक्त बनाउन बजारलाई महत्त्वपूर्ण स्थान दिइएको छ । तर, बजारलाई निस्फिक्री गर्न छुट दिइएको छैन । उद्योग स्थापना, स्रोतको परिचालन, ज्यालादर, व्यापार र आयात निर्यात, मौद्रिक तथा वित्तीय नीतिहरू, कर प्रणाली, एकाधिकार सिर्जना हुनबाट रोक्ने कानून, टाट उल्टाइसम्बन्धी कानूनजस्ता अनेकन् टुल्समार्फत राज्यले बजारमाथि नियन्त्रण र नियमन गरिरहेको छ ।

यो लेसेजफेयर पुँजीवाद होइन, राज्य नियन्त्रित बजार अर्थतन्त्र हो भन्ने स्थापित छ, जसलाई कसै-कसैले राज्य पुँजीवाद भन्ने गरेका छन् । चिनियाँले यसलाई चिनियाँ विशेषताअनुकूलको समाजवाद भनेर सैद्धान्तिकीकरण गरेका छन् ।

सन् १९२१ देखि १९२४ सम्म लगाएर ज्याक माको अलिबाबा समूहमाथि अडिटिङ गरियो । बजार र राज्यका नियमलाई आफूअनुकूल बनाउने अलिबाबा समूहको प्रयास कमजोर भयो । कतिसम्म भने बाह्य पर्यटनमा जाने चिनियाँहरू कुन देशमा बढी सङ्ख्यामा जान्छन् भन्ने कुरासमेत सरकारको भूराजनीतिक चलखेलका आधारमा तय हुन्छ । समुद्र तटीय क्षेत्रका विकसित सहरले छिङहाइ, सिन्चियाङजस्ता प्रान्तमा लगानी गर्नुपर्ने बाध्यतासमेत छ । यो लेसेजफेयर पुँजीवाद होइन, राज्य नियन्त्रित बजार अर्थतन्त्र हो भन्ने स्थापित छ, जसलाई कसै-कसैले राज्य पुँजीवाद भन्ने गरेका छन् । चिनियाँले यसलाई चिनियाँ विशेषताअनुकूलको समाजवाद भनेर सैद्धान्तिकीकरण गरेका छन् ।

पहिले सीमित मानिसलाई धनी हुन देऊ र पछि सबैलाई धनी बनाउ भन्ने तङको बजार समाजवादको अवधारणाले एउटा चरण पार गरेको छ । तर, समाजवादको प्रारम्भिक चरणको आधारभूत अवधारणा भनेको योग्यताअनुसारको काम र कामअनुसारको दाम हो । योग्यता र क्षमता विकासमा राज्यले सबैलाई बराबर अवसर उपलब्ध गराउने भन्ने नै हो । यस पाटोबाट हेर्दा हामीले सहरका भव्य रेष्टुराँमा डकारेर खाना खाइरहेकाहरू र त्यस्ताले अर्डर गरेर पनि खाइनसकेको खाना प्याक गरेर आवस्यक पर्नेलाई पठाइने गरेको देख्यौँ ।

आठ हजार डलर सरदर आय भएको प्रदेशमा मासिक ३ हजार युआन न्यूनतम ज्याला तोकिएको थाहा पायौँ । त्यो पनि वार्षिक ६ हजार डलर जति हुन आउँछ । यस्तो सानो नापोबाट हेर्दा धनी र गरिबबीच अझै पनि निश्चित खाँडल त छ तर, कोही पनि सिमान्त हुनेगरी पछि छाडिएको पनि छैन भन्ने देखिन्छ । महिला हरेक क्षेत्रमा अगाडि छन्, देखिन्छन् ।

बालबालिका, फरक क्षमताका र वृद्धवृद्धालाई राज्यको सुरक्षा प्राप्त छ । शिक्षा र स्वास्थ्यमा न्यूनतम सुविधामाथिको पहुँच सबैका लागि उपलब्ध छ । सापेक्षित गरिबी छ । गरिबहरूले राज्यको बेवास्ताको शिकार हुनुपरेको छैन । आधारभूत तहको गरिबी समाप्त पार्ने योजनाबद्ध प्रयासबाट सबैप्रति राज्यले जिम्मेवारी लिएको देखिन्छ ।

यो हामीले सोचेको जस्तो पूर्ण समानतामा आधारित समाज व्यवस्थाचाहिँ हैन । तर, मार्क्सका सिद्धान्तहरूको आधारमा भन्दा समाजवादको प्रारम्भिक अवस्थाचाहिँ हो भन्न सकिन्छ । सहरको छेउछाउ र ग्रामीण भेगमा भिन्न-भिन्न वर्गको अवस्थिति प्रष्ट अनुभव हुन्छ । विकसित सहर र गाउँका बीच ठूलै खाँडल छ, जीवनस्तरका दृष्टिले । यद्यपि, नीतिगत हस्तक्षेपमार्फत सरकारले सामाजिक या वर्गीय खाँडलहरू घटाउने र समाजमा तानाव उत्पन्न नहोस् भनेर योजनाबद्ध प्रयास गरिरहेको बुझ्न सकिन्छ ।

कार्पेट उद्योगकाे भित्तामा ऐस्वर्या राय । सिनेमा घरमा आमिर खानकाे फाेटाे सहितको पाेष्टर टाँगिएको पनि भेटियो ।

हालै कम्युनिष्ट पार्टीको तेस्रो विस्तारित बैठकले गाउँबाट सहरमा बसाइँ सर्ने खासगरी माइग्रेट श्रमिकले लामो समयदेखि झेलिआएको विभेद हटाउन नीतिगत अवरोध हटाएको छ । अब सहरमा काम गर्न गएका गाउँलेले परिवारसहित बसाइँ सर्न र केटाकेटीको शिक्षा दीक्षा र सामाजिक सुरक्षामा सहरका रैथानेसरह अधिकार पाउनेछन् । त्यसो गर्दा पनि तिनले गाउँमा आफूले लिजमा लिएको जमिन छाड्नुपर्ने बाध्यता हुने छैन, बिक्री गर्न या अरुलाई लिजमा दिन सक्नेछन् ।

व्यक्ति र समाजको तहमा पुँजीवादी विकासले निम्त्याउने तनाव र दबाब यहाँ महसुस हुन थालेको छ । एकजना दोभाषेसँग मैले मानिसहरू गाउँबाट कतिको बसाइँ सर्छन् भनेर सोधेको थिएँ । उनले सहज रूपमा धेरैजसो मानिस सकेसम्म पढाइ सकेपछि गाउँमा फर्कन खोज्छन्, किनभने शहरको जीवनमा तनाव धेरै हुन्छ भनेर जवाफ दिएकी थिइन् । यो व्यक्तिको एलिनेशन प्रक्रियाको प्रभाव बढ्दै गएको सङ्केत हो ।

खोला किनारमा पाल टाँगेर एउटा सिङ्गो भेँडो काटेर खाँदै रात बिताउन जाने परिवारको ताँती पनि देखियो । युवाहरू बिदा र सप्ताहन्तमा प्राय: पहाडमा घुम्न निस्कने स्वतन्त्र जीवन बिताउने ‘जेन जेड’ पुस्ताको जीवनशैली र दृष्टिकोण विश्वका अरु देशमा जस्तै यता पनि प्रवृत्तिका रूपमा हुर्कँदै रहेछ । यसले चिनियाँ समाज अब दैनिक आवश्यकता पूरा गर्न मरिमेट्नुपर्ने दबाबबाट बाहिर निस्कँदै गएको र सम्पन्न विश्वसँग सांस्कृतिक रूपमा एकाकार हुँदै गएको हो कि जस्तो झल्को दिन्थ्यो ।

राजनीतिक सहभागितामा भने नियन्त्रणात्मक बन्देज छ, जसले उदारवादी राज्यव्यवस्था भएका देशको भन्दा भिन्न राज्य व्यवस्थाको सहीपना प्रमाणित गर्न प्रयास गरिरहेको छ । यो विश्व दृष्टिकोण र अरुसँग चीनको मुख्य प्रतिस्पर्धाको क्षेत्र हो ।

व्यक्तिले आफ्नो व्यक्तित्व निर्माण गर्न, शिक्षा हासिल गर्न, प्रतिभाको विकास र त्यसमार्फत समाजमा अलग पहिचान बनाउन प्रतिस्पर्धात्मक अवसर प्राप्त छ । साहित्य, सिनेमा, कला र वैज्ञानिक सोध-अनुसन्धानका क्षेत्रमा यस्तो अवसर सबैलाई छ । विचारधाराबीच समाज जीवन्त बहसमा छ । यही बहसले चिनियाँ सभ्यतालाई अगाडि बढाउन महत्त्वपूर्ण इन्जिनको काम गरिरहेको छ ।

राजनीतिक सहभागितामा भने नियन्त्रणात्मक बन्देज छ, जसले उदारवादी राज्यव्यवस्था भएका देशको भन्दा भिन्न राज्य व्यवस्थाको सहीपना प्रमाणित गर्न प्रयास गरिरहेको छ । यो विश्व दृष्टिकोण र अरुसँग चीनको मुख्य प्रतिस्पर्धाको क्षेत्र हो । चीनले निर्माण गर्न चाहेको वैकल्पिक व्यवस्था पनि हो ।

व्यक्तिको वैयक्तिक उन्नति, न्यूनतम जीविकाको स्रोतमा पहुँच, सांस्कृतिक तथा मनोरञ्जनात्मक साधन र समयमाथि पहुँच हुने अवस्थाले नै मानिसलाई समाजको दासत्व, पुँजीको दासत्व या आवश्यकताको दासत्वबाट मुक्त गर्दै लाने हो ।

अहिलेको नेतृत्वका नीति र लक्ष्य सफल भए भने चीनले समाजवाद हासिल गर्नेछ भनेर विश्वास गर्न सकिन्छ । यो छिङहाइको छेउबाट चियाउँदा देखिएको र अनुमान गरिएको चीनको चित्र हो । बेइजिङ या साङहाइजस्ता शक्ति, राजनीति र आर्थतन्त्रका केन्द्रबाट यसको चित्र के देखिन्छ त्यो भने गइएछ भने थाहा पाइएला ।

सबै तस्वीर : लेखक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register