दशैंका यी तीन मुख्य किंवदन्ती

श्रीलंका, भुटान, बर्मा, कम्बोडिया र थाइल्यान्डमा समेत दशैं मनाउने प्रचलन छ । विश्वभरि छरिएका हिन्दू र नेपालीहरूले आ-आफ्नै तरिकाले दशैं मनाउँछन् ।

Oct 12, 2024 - 01:33
 0
दशैंका यी तीन मुख्य किंवदन्ती

काठमाडौं । दशैं दक्षिण एसियाली हिन्दू समाजको सबैभन्दा ठूलो चाड हो । नेपालमा ‘बडा दशैं’ भन्ने प्रचलन छ । यसको अर्थ हुन्छ— महत्त्वपूर्ण दशमी । महान् दशौं दिन । चाडपर्वमध्ये सबैभन्दा ठूलो चाड ।

दशैं नेपालका अतिरिक्ति भारतका विभिन्न प्रदेश विशेषतः सिक्किम, पश्चिम बङ्गाल, उत्तराखण्ड, असाम र दक्षिण भारतमा धुमधामका साथ मनाइन्छ ।

श्रीलंका, भुटान, बर्मा, कम्बोडिया र थाइल्यान्डमा समेत दशैं मनाउने प्रचलन छ । विश्वभरि छरिएका हिन्दू र नेपालीहरूले आ-आफ्नै तरिकाले दशैं मनाउँछन् ।

दशैं मनाउने तरिका भने ठाउँअनुसार केही फरक छन् । नेपाल र पूर्वोत्तर भारतमा दशौं दिन मान्यजनबाट टीका-जमरा लगाएर मनाइन्छ । भारतका अन्य प्रदेशमा ‘दशहरा’ को दिन रावणको पुत्ला दहन गरिन्छ । भारतको बङ्गाली समाजमा सार्वजनिक रूपमा भव्य दुर्गा पूजा गर्ने र भेला लाग्ने प्रचलन छ ।

दशैं घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनको हुन्छ । यो निकै लामो हिन्दू समाजको सबैभन्दा लामो समय लिने चाड पनि हो ।

घटस्थापना, फूलपाती, महाअष्टमी, विजया दशमी र कोजाग्रत पूर्णिमा दशैंका मुख्य दिन हुन् । घटस्थापना दशैंको पहिलो र कोजाग्रत पूर्णिमा अन्तिम दिन हो । नेपालको पश्चिमी क्षेत्रमा भने दशमीको टीकासँगै दशैं समाप्त हुन्छ । घटस्थापनादेखि दशमीसम्म १० दिनको हुन्छ ।

दशैं किन र कहिलेदेखि मनाउन थालियो ? यसबारे मुख्य तीनवटा किंवदन्ती वा पौराणिक कथा प्रचलित छन् । पहिलो कथा, रामायणसँग जोडिएको छ । यो कथाअनुसार विजयादशमीलाई भगवान् रामले लङ्केश्वर रावणमाथि विजय हासिल गरेको दिनमा रूपमा दशैं मनाउन थालिएको विश्वास गरिन्छ ।

राम अयोध्या राजकुमार थिए । उनले मिथलापुत्री सीतासँग विवाह गरेका थिए । उनी पत्नी सीता र भाइ लक्ष्मणका साथ १४ वर्ष वनबासमा हुँदा लङ्का नरेश रावणले सीताको हरण गरे । तसर्थ, राम र रावणबीच भीषण युद्ध भयो । यो युद्धमा रामले सुग्रिबको सहयोगमा वानर सेना खडा गरी समुन्द्र पार गरे । रावणसँग युद्ध गरे ।

युद्धको अन्तिम दिन रावण पराजित भए । यसैको उपलक्ष्यमा हिन्दू समाजले विजया दशमीको उत्सव मनाउन थालेको हो ।

दोस्रो किंवदन्तीअनुसार दशैं दुर्गा भवानी कात्यायनीले महिषासुर बध गरेको दिन हो । महिषासुर ऋषि कश्यप र पत्नी दनुका नाति थिए ।

कश्यप र दनुका दुई छोरा थिए— रम्भ र करम्भ । उनीहरू ब्रह्माण्डमा दानव राज स्थापना गर्न चाहन्थे । उनीहरूले तलाउको छेउमा पञ्चाग्नी तापी घनघोर तपस्या गरे । स्वर्गका राजा इन्द्रले उनीहरूको तपस्याको मनसाय बुझी गोही रूप धारण गरी भाइ करम्भको तलाउभित्र बाट खुट्टा तानेर भक्षण गर ।

भाइको हत्याबाट क्रोधित रम्भले इन्द्रको बध गर्न खोज्दा अग्निदेवले उसलाई रोकेर बरदान माग्न भने । रम्भले आफूभन्दा बलियो र त्रिलोक जित्न सक्ने पुत्र मागे । अग्नीदेवले उनलाई बरदान दिए ।

वरदान पाएर घर फर्किँदै गर्दा बाटोमा रम्भले एक अतिसुन्दर भैंसी देखे । भैंसीको नाम महिषा थियो । रम्भले महिषासँग बिहे गरे । दानव रम्भ र महिषा भैंसीको समागमबाट महिषासुर जन्मियो ।

महिषासुर मानिस र भैंसी दुबै रूप लिन सक्दथ्यो । महिषासुर एक अत्यन्त दुष्ट राजा निस्कियो । महिषासुरले त्रिलोक जित्यो । पराजित देवगणले नारीशक्तिको आराधना गरे । र, दुर्गा भावनीले महिषासुर बध र देवगणको उद्धार गरिन् ।
यही दिनको सम्झनामा दशैं मनाउन थालिएको हो ।

रामायणको कथा अयोध्या, मिथिला र लङ्कासँग जोडिएको थियो । महिषासुरको कथा भने दक्षिण भारतको मैसुर क्षेत्रसँग जोडिन्छ, जो अहिले कर्नाटका राज्यमा पर्दछ । महिषासुरको नामबाट शहरको नाम मैसुर भएको विश्वास गरिन्छ । मैसुर आधुनिक भारत बन्नु एक प्रसिद्ध अधिराज्य थियो ।

देवी महात्म्यको अर्को एक कथाअनुसार दशैंको सुरुवात दुर्गा कालीले शुम्भ निशुम्भ नामक दुई दाजुभाइ दानवको बध गरेबाट सुरु भएको हो ।

एक दिन राजा शुम्भका सेना चंड-मुन्डको देवी पार्वतीसँग जम्काभेट भयो । उनी दुर्गा कालीको रूपमा थिइन् । चन्ड-मुन्ड पार्वतीको रूपबाट मोहित भए । उनीहरूले दरबारमा फर्किएर राजासामु पार्वतीको रूपको बयान गर्दै रानी हुन योग्य स्त्रीको रूपमा महिमागान गरे ।

कालीलाई राजाको प्रस्ताव स्वीकार गरेर शुम्भ निशुम्भको दरबारमा आउन र रानी हुन स्वीकार गर्न प्रस्ताव गरियो । तर, उनले यो प्रस्ताव अस्वीकार गरिन् ।

राजाले ६ हजार असुर सेनासहित धुम्रलोचन नामका योद्धालाई पार्वतीको अपहरण गरेर दरबारमा ल्याउन पठाए । दुर्गाले तिनलाई पराजित गरिन् । त्यसपछि चन्ड-मुन्ड गए । ती पनि मारिए । अब दुर्गासँग लड्न रक्तबिज गयो । उसको रगतको थोपा भुइँमा झर्नेबित्तिकै ऊ फेरि जन्मिथ्यो । तसर्थ, दुर्गाले कालरात्री रूप धारण गरी रक्तबीजको रगत भुइँमा झर्न नदिइकन पिइदिइन् ।

अन्ततः शुम्भनिशुम्भ दाजुभाइ आफैँ युद्धमा जान बाध्य भए । दुर्गाले दुबैको बध गरिन् र त्रिलोकमा शान्ति छायो ।
शुम्भनिशुम्भ बधको उपलक्ष्यमा दशैं मान्न थालियो ।

हिन्दू मिथोलजीमा भएका यी तीन कथामध्ये कुन कारणले दशैं सुरु भएको हो, कसैले दाबी गर्न सक्दैन । तर, समाजशास्त्रीहरू भने दशैंलाई शाक्त परम्परा र अनेकन् जनजातीय संस्कृतिको समिश्रणबाट विकसित हुँदै गएको एक लोकप्रिय चाड मान्दछन् ।

शरद सबैभन्दा स्वच्छ, शान्त र सुन्दर ऋतु हो । यो ऋतुमा वर्षा रोकिएको हुन्छ । आकास खुलेको हुन्छ । फूलहरू फूल्न थालेका हुन्छन् । जाडो बढिसकेको हुँदैन । मुख्य बाली धानको रोपाइँ सकिएको हुन्छ तर, धान काट्ने वा बाली भित्र्याउने बेला भएको हुँदैन ।

शक्तिपीठ र हतियारको पूजा गर्ने, बली दिने परम्पराबाट दशैं शाक्त परम्परासँग जोडिएको प्रष्ट हुन्छ । नवरात्रीमा नौं देवीहरूको पूजा गरिने हुँदा यो नारीशक्तिको आराधना वा उपासना गरिने पर्व पनि हो ।

नेपाली समाजका सबैजसो समुदायले आ-आफ्नो तरिकाले दशैं मान्दछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register