पाँच रसियन आरोहीको शव काठमाडौं पठाइयो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौं लगिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत् काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा […]

Oct 16, 2024 - 10:17
 0
पाँच रसियन आरोहीको शव काठमाडौं पठाइयो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौं लगिएको छ ।

सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत् काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । इटली आधार शिविरबाट शवलाई काठमाडौंस्थित त्रिविवि शिक्षण अस्पतालमा पठाएको प्रनाउ श्रेष्ठले बताए ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ता हेलिकोप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।

आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुई जनाले सफल आरोहण गरेका थिए । सात जना पर्वतारोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकोप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register