नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

काठमाडौँ । गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिएसँगै बाँसको नाङ्लो बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ । लहान-१७ वलानसेरका सदाय समुदायको दिनचर्या बिहान झिसमिसेदेखि साँझ झमक्क हुँदासम्मको बाँसका सामग्री बनाउँदै बित्छ । ‘कात्तिक लाग्नेबित्तिकै बिहानदेखि बेलुकासम्म नाङ्ला बनाउँदै दिन बित्छ । यतिबेला बजारमा नाङ्लाको माग बढी भएकाले आम्दानी पनि […]

Oct 25, 2024 - 07:01
 0
नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

काठमाडौँ । गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिएसँगै बाँसको नाङ्लो बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ । लहान-१७ वलानसेरका सदाय समुदायको दिनचर्या बिहान झिसमिसेदेखि साँझ झमक्क हुँदासम्मको बाँसका सामग्री बनाउँदै बित्छ ।

‘कात्तिक लाग्नेबित्तिकै बिहानदेखि बेलुकासम्म नाङ्ला बनाउँदै दिन बित्छ । यतिबेला बजारमा नाङ्लाको माग बढी भएकाले आम्दानी पनि हुन्छ’, नाङ्लो बुन्दै गरेका छोटकुन सदायले भने, ‘यो उल्लासको समय होे । जीवनका हरेक दु:ख बिर्सेर मिठोमसिनो खाने र राम्रो लगाउने पर्व हो । त्यसका लागि पैसाको जोहो गर्नुपर्यो ।’

बाँसका सामग्री बेचेर परिवारको जोहो टरेको उनले बताएका छन् । छोटकुनका अनुसार पाँच दिनमा झण्डै १८ वटा नाङ्लो तयार हुन्छ । उमेरले ४५ वर्ष टेकेका उनी यही पेसामा रमाइरहेका छन् । उनले भने, ‘बाउबाजेले यही काम गर्दै आएकाले आफूलाई पनि यही काम सजिलो लाग्छ । विदेशमा पसिना बगाउनुभन्दा परिवारसँगै बसेर काम गर्दाको मज्जा अर्कै हुन्छ । परिवारका सबै सदस्यले मिलेर काम गर्दा काम गरेको पनि महसुस नभई नाङ्लो तयार हुन्छ ।’

सोही ठाउँका सियादेवी सदायको पनि दिनचर्या उस्तै छ । ‘बाहिर अन्य काम नपाउँदा नाङ्ला बेचेर घरको जोहो टारेका छन् । वर्षभरि अन्य महिनामा नाङ्लोको व्यापार कम भए पनि छठमा नाङ्लाको व्यापार गरेर केही महिनालाई गुजारा गर्न पुग्छ । यतिबेला बनाउँदै बेच्दै फुर्सद छैन’, सियादेवीले भने । एउटा बाँसबाट सात वटासम्म नाङ्लो तयार गर्न सकिने सियादेवीले जनाए। नाङ्लो बनाउने बाँस सप्तरीको सिसवारबाट प्रतिघना रु दुई सय ५० का दरले ल्याउनुपर्ने र नाङ्लो बाँध्न बेत पनि बाहिरबाट नै ल्याउनुपरेकाले नाङ्लाको मूल्य बढी पर्न गएको पनि उनले जानकारी दिएका छन् ।

त्यस्तै, आफ्नो सीप र कलाको प्रयोग गरेर आकर्षक सामग्री बनाउने त्यहाँका सदय परिवारको यस परम्परागत पेसाको प्रवर्द्धनका लागि अहिलेसम्म कसैले पनि कुनै प्रकारको सहयोग नगरेको गुनासो छ । लहानको गुदीगाँउ, भदैया, खेस्राहालगायत ठाउँमा नाङ्लो बनाएर बेच्ने व्यवसाय उल्लेख्य मात्रामा छ । अन्य समयमा एउटा नाङ्लो रु दुई सय २० मा बिक्री हुने नाङ्लो चाडपर्वमा रु चार सयसम्म घरैमा आएर व्यापारीले लैजाने गरेका छोटकनले जनाए ।

छठपर्वमा पूजाका सामग्री राख्न बाँसको सामग्रीमा राखेर पूजा गर्दा शुद्ध हुने मान्यता भएको हुँदा छठपर्वमा यसको माग बढी भएको स्थानीय बताउँछन् । अन्य समयमा बजारमा लगेर सस्तो दाममा बेच्नुपर्ने तर छठपवका बेला व्यापारी टोलमा नै आएर किनेर लग्ने गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register