जीबी राई नदिएर मलेसियाले माला भेल्लोको बदला लिन खोजेकै हो ?

मलेसियाकी एक महिलाले नेपालमा १० वर्ष यौन र श्रम शोषण झेलेकी थिइन । कठिन संघर्षपछि स्वदेश फर्कन खोज्दा नेपालले उनलाई उद्धारको साटो जेल हाल्यो । मलेसियाले फिर्ता गर्न आग्रह गर्दा बेवास्ता गर्यो, जेलमै सडाएर राख्यो । अहिले जीबी राईलाई नफर्काएर मलेसियाले सोही घटनाको बदला त लिएको होइन ?

Oct 29, 2024 - 13:07
 0
जीबी राई नदिएर मलेसियाले माला भेल्लोको बदला लिन खोजेकै हो ?

काठमाडौं । सातवटा सहकारी ठगेर फरार रहेका गीतेन्द्रबाबु ऊर्फ जीबी राईलाई प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा खोजी जारी राखेको छ । उनी मलेसियामा रहेको भन्ने केही आधार र प्रमाण फेला परे पनि प्रहरीले पक्राउ गर्न भने सकेको छैन ।

आफूविरुद्ध सहकारीमा बचतकर्ताले राखेको करिब सवा अर्ब रुपैयाँ हिनामिना गरेको भन्दै जाहेरी परेपछि राई भारत हुँदै मलेसिया पुगेको भनिएको छ । गृहमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले जीबी मलेसियामा रहेको बताउँदै आएका छन् ।

राईलाई नेपाल ल्याउन भन्दै सरकारले गरिरहेको अनेकन् प्रयास असफल भइरहेका छन् । अघिल्लो महिना नेपाल प्रहरीले मलेसिया प्रहरीसँग समन्वय गर्न एसपी नरहरि रेग्मीलाई त्यता पठाएको थियो । तर, मलेसियाले चासो देखाएन ।

दुई देशका गृहमन्त्रीस्तरमा सम्पर्क हुँदा र नेपाली प्रहरी पुग्दासमेत मलेसियाले जीबीलाई नेपाल फर्काउन त्यति तदारुकता देखाएको छैन । यसलाई कतिपयले जीबीलाई नेपाल नपठाएर मलेसियाले ‘सबक सिकाउन’ चाहेको रूपमा पनि अर्थ्याएका छन् । त्यसो त यसअघि नेपालमा मलेसियाकी महिलाले चरम अत्याचार भोगेकी थिइन्, जसलाई नेपालले बेवास्ता गरेको थियो ।

बदलामा जीबीलाई जिम्मा नलगाएर मलेसियाले बदला लिन चाहेको रूपमा अर्थ्याइन थालिएको छ । त्यसोभए, के थियो त्यो घटना ? आउनुहोस् जानौँ—

***

१२ वर्षअघि, २०६८ सालमा मिर्चैयाका विश्वेश्वर महरा वैदेशिक रोजगारीका लागि मलेसियाको पोर्ट डिक्सनमा पुगे । होटलमा काम गर्ने महराको त्यहाँ सफाइकर्मी माला भेल्लोसँग चिनजान भयो ।

त्यो बेला ४४ वर्षीया माला भेल्लालाई महराले मन पराए । तर, उनले गरिब देश नेपालबाट आएको मजदुर भन्दै महरालाई मन पराइनन् ।

महराले नेपालमा आफू धनी परिवारबाट आएको र अभिभावकको पैसा खर्च नगर्ने भएकाले कामका लागि आएको भन्दै झुटो बोले । महराको विश्वासमा परेर माला मायामा परिन् । बिस्तारै उनीहरूबीच घनिष्ठता बढ्यो ।

माला एक छोरीकी आमा थिइन् । छोरी ठूली भइसकेकी थिइन् । उनले पति छाडेर बसेकी थिइन् । महराको अनेकन् आश्वासन र मायाजालमा परिन् । अन्ततः माला आफ्नो देशै छोडेर नयाँ जीवन सुरु गर्न नेपाल आउन राजी भइन् ।

महरा २०६८ फागुन ३० (१३ जनवरी २०१२ मा) गते स्वदेश आए, सँगै माला भेल्लो पनि आइन । मालाले भिजिट भिसामा नेपाल प्रवेश पाएकी थिइन् । उनको भिजिट भिसाको अवधि १३ फेब्रुअरीसम्म थियो ।

आवरण भिजिट भिसा भए पनि उनी नेपाल आउनुको उद्देश्य भने नयाँ जीवन सुरु गर्नु थियो । महराले उनलाई बिहे गर्ने आश्वासन दिएका थिए । तर, पछि विवाह दर्ता गरेनन् ।

मलेसियादेखि नेपाल आइपुगेकी मालालाई नयाँ ठाउँ बस्न सजिलो थिएन । भाषादेखि संस्कृति फरक थिए । तर, देशै छाडेर आइसकेकी उनलाई सकसपूर्ण परिवेशलाई सामान्य बनाएर बस्नुबाहेक अर्को विकल्प थिएन ।

मलेसियाबाट फर्किएका महराले मालालाई दुई वर्षसम्म काठमाडौंमा सँगै राखेका थिए । पछि सिरहा गाउँमा लगेर राखे । करिब दुई वर्षसम्म २०७१ वैशाखसम्म महरा मालासँगै बसे । तर, महराले न परम्पराअनुसार बिहे गरे, न त बिहे दर्ता नै गराइदिए ।

माला भेल्लो । फोटो- न्यु स्ट्रेट्स टाइम्स ।

बिहे दर्ता नभएपछि मालाले आफू प्रयोग मात्रै भइरहेको महसुस गरिन् । उनी पहिल्यै मलेसिया फर्कने निर्णयमा पुगेकी थिइन् । तर, मालाको पासपोर्ट महरा आफैँले खोसेर राखेका थिए ।

दिनहरू बित्दै गए । अन्तमा माला भेल्लोलाई महराले बेवारिसे बनाएर छाडे । उनी फेरि वैदेशिक रोजगारीको लागि दुबई उडे । यता मालासँग मलेसिया फर्किने अवस्था पनि थिएन । त्यसपछि माला एक्लै रहेको गृह मन्त्रालयले गरेको पछिल्लो अनुसन्धानले देखाएको छ ।

माला मिर्चैयामा एक्लै परिन् । आफूलाई बेवारिसे छाडेर गएको महराले सम्पर्क गर्न छोडे । परिवारले उनलाई काम मात्रै लगाउँथ्यो । खान-सुत्नको ठेगाना थिएन । महराको साथबिनाको बसाइ उनका लागि पीडादायक थियो । त्यसमा परिवारका अन्य सदस्यले पनि राम्रो व्यवहार गरेनन् । उनी घरेलु हिंसा सरेर बसिरहेकी थिइन् ।

महरा फर्किएपछि राम्रो दिन आउला कि भन्ने सोचेर माला बसेकी थिइन् । दुबई पुगेका महरा २०७२ तिर नेपाल फर्किए । तर, उनी आएपछि पनि मालाका राम्रा दिन आएनन् ।

महराले आफ्नो घर छाडेर नहिँडेको भन्दै हिंसा गर्न थाले । तर, देश र परिवार छाडेर आएकी माला निरीह थिइन् । जाने कतै ठाउँ थिएन । त्यसैले केही समय हिंसा सहेरै बसिन् । अन्तमा मालाले घर नछाडेपछि महराले अरू युवा प्रयोग गरेर बलात्कार गर्नसमेत लगाए ।

अन्तमा दानवीय व्यवहार सहन नसकेपछि माला महराको घर छोड्न बाध्य भइन् । उनी सिरहा मिर्चैयाबाट काठमाडौं आइन् ।

भिजिट भिसामा नेपाल आएकी मालाको ‘ओभर स्टे’का कारण नेपालको बसाइ अवैध भइसकेको थियो । उनले काठमाडौंका गल्ली-गल्ली लुकेर घरेलु श्रमिकको काम गर्दै जीवन गुजारिन् ।

करिब ६ वर्ष त्यसरी जीवन गुजारेपछि माला अन्तिममा मलेसिया नै फर्किने निर्णयमा पुगिन् । उनले मलेसियामा रहेकी आफ्नी छोरी उमा संगारीलाई सम्पर्क गरिन् । आफ्नो पीडा सुनाइन् । लामो समयदेखि सम्पर्कविहीन रहेकी छोरी पनि दुखी भइन् ।

छोरीले आफ्नी आमाको फिर्ताका लागि प्रयास थालिन् । आमाको मलेसिया फिर्ताको टिकट काट्न र वातावरण बनाउन भन्दै महरालाई केही पैसा पठाइदिइन् ।

तर, महराले आफ्नो खातामा आएको पैसा आफैँले खर्च गरे । मालाको फिर्ती प्रयास गरेनन् । महराले उल्टै नेपाल छोड्न खोजे पक्राउ गराउनेदेखि सामूहिक बलात्कार गराउने भन्दै धम्की दिए ।

किनकि महराले नेपालमा ल्याएर यौनदेखि श्रम शोषण गरेका थिए । जुन पोल खुल्ने र कारबाहीमा पर्ने डर उनमा थियो । उता छोरीले सोचेको जस्तो आमा मालाको मलेसिया फिर्ती सम्भव भएन ।

नेपाल प्रवेशको ठीक दश वर्षपछि २०७८ फागुन २५ गते उनी आफैँ डिल्लीबजारस्थित अध्यागमनको शरणमा पुगिन् ।

अध्यागमन अधिकारीसँग करुणा बिसाइन्, “विवाह गरेर नेपाल आएकी हुँ । तर, पतिले विवाह दर्ता गरेनन् । हिंसा गरे । म मानव बेचबिखनमा परेँ । मलाई उद्धार गरेर स्वदेश फर्काइदिनु ।”

मालाले अध्यागमन विभागमा लिखित निवेदन पनि दिइन् । जहाँ लेखिएको छ, “म आफैँ नेपाल खुसीले आएको होइन । प्रेममा परेर विवाह गर्ने उद्देश्यले आएकी हुँ । मलाई चरम यौन शोषण र हिंसा भएका कारणले मलेसिया फिर्ता हुन खोजेकी हुँ । मलाई मलेसिया फर्काइदिन अनुरोध गर्छु ।”

अध्यागमन विभागले मानव बेचबिखन, बलात्कार, यौन तथा श्रम शोषणमा परेकी महिलाप्रति दया गरेन । उल्टै मालाको नेपाल बसाइ अवैध ठहर गर्दै भारी जरिबाना सुनायो । र, पक्राउ गर्यो ।

रकानुनी रूपमा नेपाल बसाइ, विलम्ब शुल्क गरी २०७८ फागुन २५ गते २६ लाख ३८ हजार ५१७ जरिबाना गर्‍यो ।

२०७८ फागुन २५ गते अध्यागमन विभागले माला भेल्लोलाई गरेको जरिबाना ।

मालाले आफू बेचिएको भन्दै उद्धार गर्न गुहार मागिन् । तर, सुन्न कोही तयार भएन । आफूसँग पैसा तिर्न केही नभएको उनले बताइन् । अध्यागमनलाई शुल्क बुझाउन नसकेपछि उनलाई जेल पठाइयो ।

फागुन २५ गते नै अध्यागमनले २६ लाख ३८ हजार रकम बराबरको दैनिक तीन सयका दरले कैद कट्टी हुने गरी सात वर्ष जेल सजाय तोक्यो । त्यही दिन माला सुन्धारास्थित जगन्नाथदेवल कारागार चलान भइन् ।

उद्धारसहित आफ्नो देश फर्कन पाउने आशासहित अध्यागमन पुगेकी माला जेलको कोठरीमा पुगिन् । उता उद्धार पहल गरिरहेकी छोरी उमासँग पनि सम्पर्क टुट्यो ।

नेपालबाट मलेसिया फर्काउन प्रयास गरिरहेकी छोरीले आमालाई सात वर्ष जेल सजाय भएको थाहा पाएपछि थप विक्षिप्त भइन् । आमालाई नेपाल लगेर जाने महरालाई आफूले पैसा पठाउँदासमेत फिर्ती सम्भव नभएको भन्दै नेपालस्थित मलेसियन दूतावासलाई गुहारिन् ।

त्यसपछि काठमाडौंस्थित मलेसियाको दूतावासले मालाको रिहाइ र फिर्तीका लागि गृह मन्त्रालयदेखि परराष्ट्र मन्त्रालयसम्म औपचारिक अनौपचारिक प्रयास थाल्यो ।

माला भेल्लोलाई स्वदेश फर्काउने क्रममा काठमाडौंस्थित मलेसियन दूतावासका कर्मचारी विमानस्थलमा उनीसँग फोटो खिचाउँदै, १४ भदौमा ।

तर, दूतावासमार्फत मालालाई आफ्नो देश फर्काउने प्रयास सफल भएन । किनकि नेपालको गृह मन्त्रालयदेखि परराष्ट्र मन्त्रालयसम्म कसैले दूतावासको कुरै सुनेनन् । अन्ततः मलेसियन दूतावासले परराष्ट्र मन्त्रालय हुँदै थुनामा रहेकी मालालाई मलेसिया फर्काइदिन आग्रह गर्दै दुईपटक कूटनीतिक पत्र नै पठायो ।

तै पनि नेपाल सरकारले गम्भीर रूपमा लिएन । उता माला जेलमा सडिरहेकी थिइन् । उता मलेसियाको आग्रहमा नेपाल सरकारले कुनै जवाफ नै फर्काउन आवश्यक ठानेन ।

सन् २०२२ मै मलेसिया सरकारले भेल्लोलाई फर्काइदिन आग्रह गर्दै नेपाल सरकारलाई दुईपटक कूटनीतिक नोट पठायो । तर, नेपाल सरकारले मालाको घटनाबारे कुनै अनुसन्धान गर्न चाहेन ।

सुन्धारास्थित केन्द्रीय कारागारमा सजाय काटिरहेकी मालासँग मलेसियाको पत्रिका ‘न्यु स्ट्रेट्स टाइम्स’ले फोन गरेको थियो । त्यो बेलामा मालाले आफ्नो १२ वर्षको नेपाल बसाइ र कैदलाई पृथ्वीमा नरक’ भनेर वर्णन गरेकी थिइन् ।

अन्तमा मालाकी छोरी बाध्य भएर मलेसियामा मानव बेचबिखनसम्बन्धी काम गरिरहेकी गैरसरकारी संस्था ‘मलेसिया चीन’ नाम गरेको संस्थाको शरणमा पुगिन् ।

५७ वर्षीया माला भेल्लो एक दशकको दुर्व्यवहार र साढे २ वर्षको जेल सजायछि मलेसिया उड्नुअघि १४ भदौमा । फोटो- न्यु स्ट्रेट्स टाइम्स ।

त्यही संस्थाले चेलिबेटीसम्बन्धी काम गरिरहेको माइती नेपालको इमेलमा २०८१ जेठ २५ गते मालाको उद्धार र मलेसिया फिर्तीको सहयोगको आग्रहसहित एउटा मेल पठायो ।

मलेसियाबाट आएको त्यही मेलका आधारमा माइती नेपालले मालाको फिर्तीका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढायो ।

माइती नेपालले पनि सरकारलाई मालाको रिहाइ र स्वदेश फिर्ता पठाउन भन्यो । तर, सरकारले सुनेन । अन्तत: माइती नेपाल कानुनी उपचारका लागि सर्वोच्च अदालत गयो ।

साढे १२ वर्षपछि मलेसिया फर्किएकी माला भेल्लो छोरीसँग भेट गर्दै ।

करिब तीन महिना लामो कानुनी प्रयासपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले गएको भदौ २ गते उनको ओभर-स्टेबापत्‌को रकम मिनाहा गर्न आदेश दियो । अदालतको आदेशले न्याय दिँदै मालाको जरिबाना मिनाहा गरेको देखिन्छ ।

उनी भदौ ७ गते थुनामुक्त भइन । त्यतीबेलासम्म उनले उनले साढे २ वर्षभन्दा बढी जेल सजाय काटिसकेकी थिइन् । उनी यतिबेला ५७ वर्षकी भइसकेकी थिइन् । एकसातापछि १४ भदौमा उनलाई मलेसिया दूतावासले स्वदेश फर्कायो । माला साढे १२ वर्षपछि स्वदेश फर्कन पाइन् ।

माला भेल्लो रिहाइको मुद्दा २ भदौमा सर्वोच्च अदालतमा चढेको पेस, सोहीदिन उनलाई रिहाइको आदेश भएको थियो ।

मानव बेचबिखनको सिकार भएकी मालाले लामो समय निर्दयतामा जीवन बिताएपछि नेपाल सरकारले जेल हाल्दा मलेसिया सरकार क्रुद्ध थियो ।

तैपनि औपचारिक रूपमा भने त्यहाँका परराष्ट्रमन्त्री दातुक सेरी मोहम्मद हसनले माला ‘भेल्लोलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको सहयोग’ भन्दै व्यङ्ग्यात्मक रुपमा प्रशंसा गरे ।

मलेसियाका परराष्ट्रमन्त्री दातुक सेरी मोहम्मद हसन । फोटो- BERNAMA PIC

मलेसियाले सिकाइरहेको ‘सबक’

मलेसिया सरकारले माला फिर्ता गर्न परराष्ट्र मन्त्रालयमार्फत पहल गरेको थियो । मलेसिया प्रहरीले यो विषयलाई मानव बेचबिखनसँग जोडेको थियो ।

मालाले आफ्नो देश फर्किन खोजे पनि सरकारले उद्धारको साटो झन् जेलमा कोच्यो । मलेसिया सरकारले नेपालको परराष्ट्र मन्त्रालयमार्फत सहयोग खोजेको थियो । तर, सरकारले त्यसलाई बेवास्ता गर्‍यो । त्यही बदलास्वरूप अहिले जीबी राईलाई पनि नेपाल पठाउन आनाकानी गरेको कतिपयले विश्लेषण गरेका छन् ।

जानकारहरू भन्छन्, “जसरी आफ्नो देशको नागरिक उद्धार गर्न चाहँदा नेपाल बाधक बन्यो । फिर्ता लैजान खोज्दा दिइएको थिएन । अहिले नेपालले आग्रह गर्दा मलेसियाले नेपाललाई सबक सिकाइरहेको छ ।”

एनसिबी काठमाडौंबाट एनसिबी क्वालालम्पुरलाई बारम्बार इमेलमार्फत जीबीसम्बन्धी थप जानकारी माग गरिएको थियो । तर, कुनै जवाफ आएको थिएन ।
नेपाल प्रहरी मलेसिया जाँदा ‘कूटनीतिक तवरबाटै काम भइरहेको भन्दै’ एनसिबी क्वालालम्पुर र मलेसियन प्रहरीले जवाफ दिएको थियो ।

जीबी राई हस्तान्तरणको विषय सुरुदेखि नै राजनीतिकरण भएर गिजोलिएको पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन् । रेर्डकर्नर नोटिस बाध्यकारी पक्राउ पूर्जी जस्तो नभएको दुईदेशका प्रहरीबीचको सहकार्य र समन्वय भएको उनको भनाइ छ । पक्राउ गरेर अर्काे देश मानिस पठाउन सुपुर्दगी सन्धि हुनुपर्ने उनले बताए ।

“यो प्रहरी तहमा काम गर्न दिनुपर्ने थियो । सुरुमै गृहमन्त्रीले आफ्नो तहमा कुरा गरेकाले गिजोलिएको हुनसक्छ । सायद प्रहरी तहमै छाडिदिएको भए आपसमा सहकार्य हुन सक्थ्यो । तर, राजनीतिक नेतृत्वमा कुरा पुगेर गिजोलिएको पनि हुनसक्छ । अब नेतृतव तहमा भने मलेसियन नागरिकलाई नेपालले उता पठाउन सहयोग नगरेकाले अहिले जीबी प्रकरणमा पनि मलेसिया चुप बसेको हुनसक्छ,” मल्ल भन्छन् ।

मलेसियन पत्रिका ‘न्यु स्ट्रेट्स टाइम्स’को सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register