बीआरआईलाई हेर्ने नेपालको सुरक्षा दृष्टिकोण

यसमा नेपाल सरकारले भारतसँग कुरा गर्नुपर्छ र विश्वासमा लिनुपर्छ । बीआरआईअन्तर्गत बन्ने चिनियाँ रेलवे उपयोग गरेर भारतले पनि व्यापार गर्न चाह्यो भने मात्र नेपालले यो परियोजनाबाट सोचेजस्तो फाइदा उठाउन सक्छ ।

Nov 12, 2024 - 04:47
 0
बीआरआईलाई हेर्ने नेपालको सुरक्षा दृष्टिकोण

चिनियाँ राष्ट्रपति सी चिनफिङले अगाडि सारेको रणनीतिक परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ ‘बीआरआई’ यतिबेला नेपालमा महत्त्वपूर्ण विषय बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा लामो समयदेखि थाँती रहेको बीआरआई फ्रेमवर्कमा सम्झौता हुने चर्चासँगै यसले सबैको ध्यान तानेको छ ।

बीआरआई चिनियाँ कनेक्टीभिटी परियोजना हो । सुरुमा यो ओबोर (one belt one road) नामले परिचित थियो । यसलाई नयाँ सिल्क रोड पनि भनिन्छ । समुद्रमा मेरिटाईम सिल्क रोड पनि छ । यो एउटा विश्वव्यापी कनेक्टीभिटी परियोजना हो । यसले चीनलाई एसिया, युरोप र अफ्रिकासँग जोड्छ । त्यसैले यो चीनको रणनीतिक परियोजना पनि हो ।

यो रणनीतिक परियोजना भएका कारण हामीले यसको सुरक्षा पाटोलाई पनि बुझ्न जरुरी छ । सुरक्षा रणनीतिले धेरै पाटा समेटेको हुन्छ, जस्तै भौगोलिक अखण्डता र स्वतन्त्रताको सुरक्षा, जनताको सुरक्षा, आर्थिक सुरक्षा आदि ।

बीआरआईको सन्दर्भमा पनि सुरक्षा पाटो, आर्थिक पाटो, सांस्कृतिक पाटो, व्यापारिक पाटो, प्रभाव विस्तारको पाटो र अझ महत्त्वपूर्ण चीनको उदयलाई दीगो बनाउने जस्ता महत्त्वपूर्ण पाटोहरू समेटिएका छन् ।

चिनियाँ रेलवे परियोजनाले मेनल्यान्ड चाइना र तिब्बतलाई काठमाडौं, पोखरा र लुम्बिनीसँग जोड्ने योजना छ । यो कार्यान्वयन भएको खण्डमा नेपाल-भारत सीमासम्म रेलवे पुग्छ । त्यसैले यो भारतको लागि पनि सुरक्षा संवेदनशीलताको विषय हो ।

रेलवे तिब्बत भएर आउने हुनाले चीनका लागि तिब्बतको सुरक्षा संवेदनशीलता अझ बढ्ने छ । भारतले नेपालमा चिनियाँ परियोजना मात्र होइन, हरेक गतिविधिलाई सुरक्षासँग जोडेर हेर्छ । त्यसैले नेपालले पनि आफ्नो सुरक्षा संवेदनशीलता र दुवै छिमेकीको सुरक्षा संवेदनशीलतालाई गम्भीर रूपमा लिनुपर्छ । बीआरआई परियोजनाले नेपालको सुरक्षामा के-कस्तो प्रभाव पार्न सक्छ, त्यसको बेग्लै विस्तृत अध्ययन गर्नु आवश्यक छ ।

बीआरआई मिश्रित र एकीकृत परियोजना हो । झट्ट हेर्दा यो कनेक्टीभिटी, व्यापार र आर्थिक पाटोसँग सम्बन्धित देखिए पनि यसको दीर्घकालीन प्रभाव हुनेछ ।

उदाहरणको लागि भारतमा आएको ब्रिटिस ईष्ट इन्डिया व्यापारिक कम्पनी थियो । त्यस्तै बेलायतबाट अमेरिकामा गएको भर्जिनिया पनि व्यापारिक कम्पनी नै थियो । यी दुईवटा कम्पनीले पारेको दीर्घकालीन प्रभाव हेरौँ । यी दुबै कम्पनीले भारत र अमेरिकामा सदियौँसम्म राज गरे ।

ती कम्पनी फिर्ता पठाउन भारत र अमेरिकाले ठूलै सङ्घर्ष गरेका थिए । भारत पनि बीआरआईमा समावेश भएको भए नेपाललाई सजिलो हुन्थ्यो ।

अमेरिकाले बीआरआई परियोजनाले विकासोन्मुख देशमा ऋणको भार बढाउँछ र टाट पल्टाउँछ भनेको अवस्था छ । चीनले बनाएको पोखरा र भैरहवा विमानस्थलमा भारतले एअर रूट दिएको छैन । बीआरआईमा पनि भारतले त्यस्तै अनेक झमेला निकाल्न सक्छ ।

बीआरआईमा नेपालले हस्ताक्षर गरेको सात वर्ष बितिसकेको छ तर, अहिलेसम्म कार्यान्वयमा जान सकेको छैन । त्यसो हुनुमा अस्थिर आन्तरिक राजनीति र भूराजनीतिक कारण छन् । राजनीतिक सहमति नभई ‘फ्रेमवर्क एग्रीमेन्ट’ ले मात्रै आयोजना अघि बढ्ने सम्भावना देखिँदैन ।

अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)को बलियो सरकार भएकाले दुबै दलले राजनीतिक सहमति गरेको खण्डमा फ्रेमवर्क एग्रीमेन्टमा हस्ताक्षर र कार्यान्वयन हुने बलियो सम्भावना छ ।

एमसीसी पनि संसद्‌बाट बहुमतले पारित भएको हो । बीआरआईमा पनि दलहरूबीच एउटा सहमति आवश्यक छ । नेतृत्व दह्रो भएन भने सम्झौता गरे पनि त्यसलाई कार्यान्वयनमा लैजान र आर्थिक स्रोत जुटाउन कठिन हुनेछ ।

कोदारी-काठमाडौं राजमार्ग बनाउँदा पनि यसले चीनको सैन्य गतिविधि बढाउँछ, चिनियाँ सेना आउँछ भन्ने चर्चा चलेको थियो । तर, चिनियाँ सेना आजसम्म आएको छैन । त्यसैले आरोप र सत्यतामा धेरै फरक छ ।

नेपाल भूपरिवेष्ठित राष्ट्र हो । अझ भनौँ, वास्तवमा नेपाल भारतवेष्ठित छ । भारतलाई चिढ्याएर हैन, विश्वासमा लिएर मात्र बीआरआईलगायत चिनियाँ लगानी र विकास निर्माणमा चीनको सहभागितालाई अघि बढाउन सकिन्छ ।

यसमा नेपाल सरकारले भारत सरकारसँग कुरा गर्नुपर्छ र विश्वासमा लिनुपर्छ । बीआरआईअन्तर्गत बन्ने चिनियाँ रेलवेलाई उपयोग गरेर भारतले पनि व्यापार गर्न चाह्यो भने मात्र नेपालले यो परियोजनाबाट सोचेजस्तो फाइदा उठाउन सक्छ ।

भारतलाई असर पर्ने कुराको दुईवटा पाटो छ । एउटा, परसेप्सन र अर्को वास्तविकता । भारतले नेपालमा चिनियाँ रेल आउँदा खतरा देख्यो भने त्यो त उसको ‘परसेप्सन’को कुरा भयो । तर, के यसले वास्तवमै भारतलाई खतरा सिर्जना गर्छ ?

सडक कनेक्टिभिटी त अहिले पनि छ । तर, यसले भारतको सुरक्षालाई खतरा पुर्‍याएको पाइँदैन । चीनको रेल पनि  ल्याउने अनि भारतको रेल पनि ल्याउने जस्तो प्रतिस्पर्धाले उनीहरूको मात्र होइन, नेपालको सुरक्षा चिन्तालाई समेत बढावा दिने सम्भावना छ । यसको व्यवस्थापन गर्न सक्नुपर्छ ।

अहिले पनि सिमेन्टलगायतका कतिपय नेपाली वस्तु आयातमा भारतले रोक लगाएको छ । कृषिजन्य अदुवा, चिया आदिमा पनि बेलाबेलामा रोक लगाउने गर्छ । विकास निर्माणमा प्रयोग हुने विष्फोटक पदार्थ भारतले रोकेको अवस्था छ । यी समस्या हल गर्न नेपालको आर्थिक कूटनीतिको पाटो पनि सफल भएको छैन ।

हामीले लिनसक्ने फाइदा भनेको भारतबाट हुनसक्ने आर्थिक नाकाबन्दीको असरको न्यूनीकरण, आर्थिक विकास, तेश्रो देशसँग चीन हुँदै गर्ने व्यापार, पर्यटन, नेपाललाई भूजडित बनाउने, भारतको हेपाइ र थिचोमिचो कम गर्नेजस्ता रणनीतिक फाइदा छन् ।

खतराको कुरा गर्दा भारतले यसलाई गम्भीर सुरक्षा चुनौतीको रूपमा लिन सक्छ । नेपालमा उसको निर्यातमा गिरावट आउन सक्छ । त्यसबाट भारत आक्रोशित हुनसक्छ । भारत क्षेत्रीय शक्ति र उदीयमान विश्वशक्ति पनि भएकाले आफ्ना छिमेकीमाथि प्रभाव बढाउन चाहन्छ । चीनको प्रभाव घटाउन अनेकन् उपाय अपनाएर नेपालमाथि दबाब बढाउन चाहन्छ ।

बीआरआईसँग सुरक्षा संवेदनशीलता र विकासको सम्भावना दुबै जोडिएर आउँछ । यसलाई छुट्याउन वा अलग राखेर हेर्न सकिँदैन । नेपालमा राजनीतिक विचारबाट प्रभावित भएर ठूला आयोजना हेर्ने र आफ्नो पोजिशन बनाउने चलन भएकाले पक्ष-विपक्षमा व्यापक वादविवाद हुने गरेको छ ।

एमसीसीमा पनि चर्को विवाद भयो, आन्दोलन भयो र अन्तमा उनीहरूले नै मिलेर संसद्‌बाट पारित गरे । नेपालमा दीर्घकालीन भिजन र रणनीति बनाएर यस्ता आयोजना नल्याइने हुनाले समस्या आउने गरेको छ ।

(सिलवाल नेपाली सेनाका पूर्वउपरथी हुन्)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register