उपनिर्वाचन : समाजवादी मोर्चासम्बद्ध दलहरूबीच चुनावी तालमेल !

कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी शक्तिहरू भएको उल्लेख गर्दै कांग्रेस नेता डा. शेखर कोइराला, गगन थापालगायतले मिलेर चुनाव लड्न नहुनेमा जोड दिएका छन् ।

Nov 12, 2024 - 11:17
 0
उपनिर्वाचन : समाजवादी मोर्चासम्बद्ध दलहरूबीच चुनावी तालमेल !

काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखसहित ४४ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचन नजिकिएसँगै प्रमुख दलहरूको भ्याई-नभ्याई छ । दलहरूले उम्मेदवार टुङ्ग्याउँदै छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलहरूले उम्मेदवार टुङ्ग्याउँदै छन् ।

सङ्घीय तथा प्रदेश सरकारहरूको नेतृत्वसमेत गरिरहेका कांग्रेस-एमाले एक्लाएक्लै चुनाव लड्ने भएका छन् । कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी शक्तिहरू भएको उल्लेख गर्दै कांग्रेस नेता डा. शेखर कोइराला, गगन थापालगायतले मिलेर चुनाव लड्न नहुनेमा जोड दिएका छन् ।

यता समाजवादी मोर्चासम्बद्ध दलहरूले भने चुनावी तालमेल गर्नेगरी छलफल अघि बढाएका छन् । मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव-गंगानारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) गरी चार दल छन् ।

यी दलहरूका बीचमा चुनावी तालमेल हुन सक्ने नेताहरूले बताएका छन् । यसमध्ये विप्लव नेतृत्वको नेकपाले उम्मेदवार नउठाउने बताइसकेको छ । नेकपा स्थायी समिति सदस्य कर्णजीत बुढाथोकीले भने, “हामीले आफ्नै उम्मेदवार उठाउँदैनौँ । त्यही निर्णय भएको छ ।”

समाजवादी मोर्चासम्बद्ध दलहरूलाई सघाउने सन्दर्भको जिज्ञासामा उनले भने, “मोर्चामा यसबारे प्रशस्तै छलफल भएको छैन । छलफल भएपछि के हुन्छ, त्यहीअनुसार गर्छौँ । तर, वैधानिक रूपमा आफ्नै उम्मेदवार हुँदैनन् ।”

तर, नेकपा नेताहरूले वामपन्थी, प्रगतिशील, देशभक्त र इमान्दार उम्मेदवारहरूलाई सघाउने बताउने गरेका छन् ।

त्यसबाहेक अन्य तीन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र नेसपाबीच भने चुनावी तालमेल नै हुने सम्भावना छ ।

माओवादी केन्द्रले समाजवादी मोर्चासम्बद्ध दलहरूबीच चुनावी तालमेल हुन सक्ने निर्णय गरिसकेको छ । अरु दलहरूले चाहे चुनावी तालमेल गरेरै अगाडि जाने नेताहरूले बताएका छन् ।

माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल भन्छिन्, “समाजवादी मोर्चाका बीचमा चुनावी तालमेल हुन सक्छ तर, कांग्रेस-एमालेसँग हुँदैन । समाजवादी मोर्चामा छलफल गर्छौँ ।”

चाँडै पार्टी एकता गर्दै गरेको यादव-श्रेष्ठ पक्षीय नेसपा त माओवादी केन्द्रसँगकै साझेदारीमा उम्मेदवार टुङ्ग्याउने पक्षमा छ ।

नेसपाका सह-अध्यक्ष गंगानारायण श्रेष्ठले भने, “माओवादी केन्द्रसँगको साझेदारीमा हामी उम्मेदवार टुङ्ग्याउने भनेर छलपल गरिरहेका छौँ । चुनावमा एक्लाएक्लै नजाने, सबै पदमा मिलाएर उम्मेदवार उठाउने गरी छलफल अगाडि बढाएका छौँ ।”

एकीकृत समाजवादीले पनि समाजवादी मोर्चासम्बद्ध दलहरूका बीचमा चुनावी तालमेल हुन सक्ने बताएको छ । महासचिव घनश्याम भुसाल भन्छन्, “चुनावी तालमेल हुन सक्छ । यसका लागि छलफल गर्छौँ ।”

खासगरी मोर्चाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने सन्दर्भ ‘कम्मन अन्डरस्ट्यान्डिङ’ भएको उल्लेख गर्दै उनले भने, “चुनावी तालमेलहरू हुन सक्छन् । समाजवादी मोर्चा पनि एउटा सहकार्य नै हो । यता पनि सहकार्य भइहाल्छ ।”

  • सम्बन्धित समाचार

उपनिर्वाचनमा माओवादी-समाजवादीको ‘कम्मन अन्डरस्ट्यान्डिङ’- तालमेल हुन सक्छ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register