राज्यमन्त्रीको कन्ट्रक्सनले काम नगर्दा वीरेन्द्रनगरका सडकको अवस्था बेहाल

सुर्खेत । निर्माण व्यवसायीसमेत रहेका रामेछापबाट निर्वाचित कांग्रेस सांसद तथा हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को निर्माण कम्पनीले वीरेन्द्रनगर बजारका केही रणनीतिक सडकहरु अलपत्र पारेका छन् । राज्यमन्त्री तामाङको निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले वीरेन्द्रनगरका १५ वटा सडकको निर्माण ठेक्का पाएको भएपनि निर्माण कार्य सम्झौता अनुसार गर्न सकेको छैन । मन्त्री तामाङको […]

Nov 16, 2024 - 08:29
 0
राज्यमन्त्रीको कन्ट्रक्सनले काम नगर्दा वीरेन्द्रनगरका सडकको अवस्था बेहाल

सुर्खेत । निर्माण व्यवसायीसमेत रहेका रामेछापबाट निर्वाचित कांग्रेस सांसद तथा हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को निर्माण कम्पनीले वीरेन्द्रनगर बजारका केही रणनीतिक सडकहरु अलपत्र पारेका छन् ।

राज्यमन्त्री तामाङको निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले वीरेन्द्रनगरका १५ वटा सडकको निर्माण ठेक्का पाएको भएपनि निर्माण कार्य सम्झौता अनुसार गर्न सकेको छैन ।

मन्त्री तामाङको निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले वीरेन्द्रनगरस्थित १५ वटा सहरी सडक निर्माणका लागि १२ करोड ९४ लाखमा कालोपत्रे गर्ने ठेक्का पाएको थियो ।

तीमध्ये एउटाको कालोपत्रे गर्ने काम गरेको छ, खजुरा भित्री मोडेल कलेजदेखि उत्तरपश्चिम सडक–७३६ मिटरको उक्त सडकमा भने कालोपत्रे भएको छ । त्यसको रंगरोगन गर्ने काम बाँकी रहेको कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए ।

मन्त्री तामाङले पाएका १५ वटा सडकका ठेक्कामध्ये ६ वटाको त कामै नै सुरु नभएको निर्देशनालयका सूचना अधिकारी शाहीले जानकारी दिए ।

‘वीरेन्द्रनगर बजार क्षेत्रको सडक अपग्रडिङको ठेक्का पाएका थिए । उनले निर्माण कम्पनी १७ भदौ २०७८ मा पहिलो पटक सम्झौता गरेर निर्माण गरेनन् । हालसम्म पनि ठेक्का पाएको काम निर्माण नगरेका कारणले उनको कम्पनीले पाएको निर्माणको काम २०८१ मंसिर २० पहिलो म्याद थपसहित सकिदैँछ,’ उनले भने,‘निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा.लि. मैजुबहाल, काठमाडौं अहिलेसम्म पनि काम गर्न नसकेको कारणले निर्देशनालयले अन्तिम पटक चेतावनीसहित निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएको हो ।’

१७ भदौ ०७८ मा ठेक्का सम्झौता भए पनि निर्माण पूरा नगरी त्यसै छाड्दा सर्वसाधारणलाई आउजाउ गर्न समस्या भएपछि कम्पनीलाई सचेत गराइएको सूचना अधिकारीले बताए ।

‘कुनै सडकको नाला मात्र निर्माण भएको छ । कुनै सडकमा ग्राभेल हालेर त्यसै छाडिएको छ । कतै कालोपत्रे गर्न तयारी गरेर अलपत्र पारिएको छ,’ शाहीले भने, ‘यसले गर्दा हामीले पटक–पटक ताकेता गर्दा पनि उहाँहरु सम्पर्कमा आउनुभएको छैन ।’

मन्त्री तामाङको निर्माण कम्पनीले मंसिर २० गतेपछि काम गर्न चाहेमा नेपाल सरकारको खरीद नियमावली अनुसार २०० दिनसम्म थप म्याद सम्झौता हुने व्यवस्था रहेको छ । तर, ठेक्का पाएको कुल कबुल अंकको दैनिक ० दशमलव ०५ प्रतिशतका दरले दैनिक जरिवाना तिर्नुपर्ने हुन्छ । तर, त्यो तिर्नका लागि उनको कम्पनी तयार हुने अवस्था छैन ।

निर्देशनालयको अन्तिम चेतावनी

तामाङसँग प्रदेश सरकारले ठेक्का लिएका सडकको सम्झौता अनुसार काम गर्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअर्न्तगतको पूर्वाधार विकास निर्देशनालयले वीरेन्द्रनगरको गुरुयोजनाका सडक समयसिमामा नै काम सक्न निर्देशन दिएको हो ।

बिहीबार सूचना प्रकाशित गरेर निर्देशनालयले ठेक्कासँग सम्बन्धित निर्माण कम्पनीले सम्झौता अनुसारको निर्माण कार्य सम्पन्न नगरी सम्पर्क विहिन रहेको र लामो समयदेखि निर्माणस्थलमा कुनै पनि निर्माण कार्य गरिरहेको नपाइएको सन्दर्भमा निर्देशनालयद्वारा विभिन्न मितिमा म्यादभित्र कार्य सम्पन्न गर्न पटक–पटक मौखिक तथा लिखित रुपमा जानकारी गराउँदा समेत कार्य सम्पन्न गर्न अटेरी गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको निर्देशनालयको जनाएको छ ।

सम्झौता अनुसारको कार्य सम्पन्न गर्न निर्माण कम्पनीले आफैले पेश गरेको कार्यतालिका अनुसारको प्रगति हासिल नगरेको, निर्माण कार्य अलपत्र पारी चरम लापरवाही गरेको र कार्य सम्पन्न गर्न आवश्यक अग्रसरता र चासो नदेखाएको हुँदा सम्बन्धित निर्माण कम्पनीलाई तुरुन्त कार्य शुरु गरी म्यादभित्र कार्य सम्पन्न गर्नुका पटक पटक सूचना जारी गरेको पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी शाहीले बताए ।

‘यसभन्दा पहिला पनि अन्य ठाउँका यो निर्माण कम्पनी कालोसूचीका परेको छ,’ उनले भने,‘अब उहाँ नेपाल सरकारको खरीद सम्झौता अनुसार काम गर्न आउनुहोला जस्तो मलाई लाग्दैन ।’

यो सूचनालाई बेवास्ता गरी कार्य सम्पन्न नगरेको अवस्थामा ठेक्का सम्झौताका शर्तहरु र प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरा यसै सूचनामार्फत जानकारी गराइएको छ ।

मन्त्री तामाङले वीरेन्द्रनगर बजार क्षेत्रको सडक अपग्रडिङको ठेक्का पाएका थिए । उनले निर्माण कम्पनी २०७८ साल भदौ १७ गते पहिलो पटक सम्झौता गरेर निर्माण गरेनन् । हालसम्म पनि ठेक्का पाएको काम निर्माण नगरेका कारणले उनको कम्पनीले पाएको निर्माणको काम २०८१ मंसिर २० पहिलो म्याद थपसहिथ सकिदैँछ ।

त्यस्तै, कुइने, जामु, बाबियाचौर र जंगलघाटसम्मको सडकको निर्माणको ठेक्का पाएको जलजला निर्माण सेवा, घोराही–११, दाङसँग पहिलो पटक २०७८ साल मंसिर २२ गते सम्झौता भएको र दोस्रो पटक २०८१ साल चैत्र २५ भित्र काम सक्न निर्देशन दिएको हो ।

यी हुन् वीरेन्द्रनगरमा मन्त्री तामाङले अलपत्र पारेको सडक

१. सुर्खेतको वीरेन्द्रनगर डिभिजन वन कार्यालय अगाडिको सडक– १८१ मिटर सडक बनाउनुपर्नेमा अहिलेसम्म नाला र सब बेसको काम भएको छ भने बेस राख्ने र कालोपत्रे गर्ने काम पूरै बाँकी ।
२. खारखोली टेलिकम सडक– २२५ मिटरको उक्त सडक अहिलेसम्म नाला र सब बेसको काम भएको छ भने बेस राखेर कालोपत्रे गर्ने काम अहिलेसम्म सुरु भएको छैन ।
३. खारखोली हटलाइन सडक–३३४ मिटरको उक्त सडकको पनि बेस राखेर कालोपत्रे गर्न बाँकी ।
४. इत्रामखोलादेखि जिल्ला प्रहरी कार्यालय अगाडिको सडक–४०० मिटरको उक्त सडकको दायाँतर्फ २०७ मिटर र बायाँतर्फ २९७ मिटर नालाको काम भएको छ । यस्तै १५० मिटर जति सब बेसको काम भएको छ भने बेस राखेर कालोपत्रे गर्न बाँकी रहेको छ । यो सडकको १५० मिटर सब बेसको कामको भुक्तानी भएको छैन ।
५. जिल्ला अदालत–मुख्यमन्त्री कार्यालय–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडिको सडक– ६३५ मिटरको उक्त सडक अहिलेसम्म नाला, २०० मिटर बेस राख्ने काम भएको छ भने ३५० मिटर ग्राभेल गरिएको छ । ग्राभेल र कालोपत्रे गर्न बाँकी ।
६. पूर्वाधार विकास निर्देशनालय अगाडिको सडक–२४० मिटरको उक्त सडकमा अहिलेसम्म नाला बनाउने र सब–बेसको काम बाहेक अरू भएको छैन । बेस राखेर कालोपत्रे गर्न बाँकी ।
७. भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अगाडिको सडक–२२० मिटरको उक्त सडक नालादेखि कालोपत्रे गर्न बाँकी ।
८. बस्नेत नर्सरीदेखि पुरानो वार्ड कार्यालय सडक– ६३० मिटरको उक्त सडकको १८५ मिटर नाला दुबैतर्फ, १७६ मिटर सब–बेसको काम भएको छ भने त्यस बाहेक बेस राखेर कालोपत्रे गर्ने काम भएको छैन ।
९. डीआईजी चोकदेखि खारखोली सडक– १११ मिटरको सडकको नाला र सब–बेसको काम भएको छ भने बेस राखेर कालोपत्रे गर्ने काम अझै सुरु भएको छैन ।
१०. कालिन्चोक–मिलनचोक सडक– ३८८ मिटरको सडकमा अहिलेसम्म ३०० मिटर नाला, सब–बेस र बेस राखेर कालोपत्रे गर्न बाँकी ।
११. खजुरा भित्री मोडेल कलेजदेखि उत्तर पश्चिम सडक– ७३० मिटरको उक्त सडकमा भने कालोपत्रे भएको छ । त्यसको रंगरोगन गर्ने काम बाँकी ।
१२. गण्डकी लाइन सडक– मुख्य बजारभित्रको उक्त सडक १२० मिटरको छ । यसमा १२० मिटर नाला, सब–बेसदेखि बेस राखेर कालोपत्रे गर्ने पुरै काम बाँकी ।
१३. महिला छात्रावासदेखि दैलेख रोड सडक–४४० मिटरको सडकमा अहिलेसम्म ३६६ मिटर नालाको काम मात्रै भएको छ । बेस राखेर कालोपत्रे गर्न बाँकी ।
१४. लालुपाते उत्तर सडक– २०० मिटरको यो सडकको पनि बेस राखेर कालोपत्रे गर्न बाँकी ।
१५. कर्णाली राजमार्ग–सितलनगर सडक–१६० मिटरको यो सडकमा अहिलेसम्म नालादेखि सबै काम गर्न बाँकी।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register