फाइनलमा पुग्न सुदूरपश्चिम र जनकपुरबीच ‘महाभिडन्त’, यी हुन् दुवै टोलीका मुख्य हतियार

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुग्न आज (बुधबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टबीच ‘महाभिडन्त’ हुँदैछ । यी दुई टोली जारी एनपीएलमा उच्च लयमा देखिएकाले यसलाई ‘महाभिडन्त’ भनिएको हो । दिउँसो सुरु १ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यस खेलका लागि क्रिकेट समर्थक व्यग्र प्रतीक्षा गरिरहेका छन् । लिग चरणमा पहिलो […]

Dec 18, 2024 - 02:19
 0
फाइनलमा पुग्न सुदूरपश्चिम र जनकपुरबीच ‘महाभिडन्त’, यी हुन् दुवै टोलीका मुख्य हतियार

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुग्न आज (बुधबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टबीच ‘महाभिडन्त’ हुँदैछ । यी दुई टोली जारी एनपीएलमा उच्च लयमा देखिएकाले यसलाई ‘महाभिडन्त’ भनिएको हो ।

दिउँसो सुरु १ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यस खेलका लागि क्रिकेट समर्थक व्यग्र प्रतीक्षा गरिरहेका छन् । लिग चरणमा पहिलो र दोस्रो स्थान प्राप्त गरेकाले यी दुई टोलीले क्यालिफायर–१ खेल्ने अवसर पाएका हुन् । लिग चरणमा ७ मध्ये ६ खेल जित्दै सुदूपश्चिम शीर्ष स्थानमा रहेको थियो भने ५ खेल जितेको जनकपुर दोस्रोमा रह्यो ।

जित्ने टोली सिधै फाइनलमा पुग्ने भएकाले बलिया मानिएका दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने विश्वास गरिएको छ । यी दुई टोली समूह चरणदेखि नै प्रतिद्वन्द्वीता चलिरहेको छ । विशेषगरी समर्थकबीच । लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई हराएपछि त्रिवि मैदानमा समर्थकबीच तनावको वातावरणसमेत सिर्जना भएको थियो । यसर्थ यी दुई टोलीबीचको भिडन्तलाई ‘क्लासिको’को संज्ञा दिइएको छ । यसमा पराजित टोलीले एलिमिनेटरको विजेता टोलीसँग फेरि फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ ।

आजै हुने पहिलो प्लेअफ खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । प्लेअफमा पुगेका ४ टोलीमध्ये तेस्रो र चौथोमा स्थान बनाएपछि चितवन र कर्णाली आज एलिमिनेटरमा प्रतिस्पर्धी भएका हुन् । लिग चरणमा चितवन तेस्रो तथा कर्णाली चौथो भएका थिए ।

क्यालिफायर–२ मा स्थान बनाउन भइरहेको यो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । आजको खेलमा पराजित टोली बाहिरिने छ । जित्ने टोलीले क्वालिफायर– १ मा पराजित टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।

कुन टोली कस्ता ?

सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिम रोयल्स एनपीएलको सबैभन्दा बलियो टोली हो । उसले लिग चरणमा ७ मध्ये ६ खेल जितेको छ । यसर्थ सुदूरपश्चिम समूह विजेता बन्दै प्लेअफमा पुगेको हो । यो टोली चितवन राइनोजसँग मात्र पराजित भएको थियो ।

बलियो अलराउन्डर लाइनअफ रहेको सुदूरपश्चिम एनपीएलको उपाधि उचाल्ने बलियो सम्भावना भएको टोली हो ।

सुदूरपश्चिमको टप अर्डर र मिडिल अर्डर निकै बलियो छ । ओपनर सैफ जैबले गतिलो ब्याटिङ गरेका छन् । उनले लुम्बिनी लायन्सविरुद्ध ९० रनको इनिङ्स खेलेका थिए । उनले कुल १७५ रन बनाएका छन् ।

टोलीलाई गतिलो सुरुवात दिन उनको महत्वपूर्ण भूमिका छ । उनलाई ओपनिङ साथ दिने विनोद भण्डारीले भने मध्यम प्रदर्शन गर्दै आएका छन् ।
तेस्रो नम्बरमा आउने विदेशी खेलाडी ब्राण्डन म्याकमुलनले अलराउन्डर प्रदर्शन गर्दै आइरहेका छन् । उनले काठमान्डु गुर्खाजविरुद्ध ५३ रनको अर्धशतकीय पारी खेलेका छन् । साथै, उनले ५ विकेट पनि लिएका छन् ।

यता, कप्तान दीपेन्द्रसिंह ऐरीले पनि टोलीलाई बलियो स्थितिमा उभ्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । उनले विराटनगरविरुद्ध ५७ रनको विस्फोटक पारी खेलेका थिए । साथै, ५ विकेट लिएका छन् । उनी १९८ रनसहित धेरै रन बनाउनेको सूचीमा पाँचौं स्थानमा छन् ।

स्कट कुगलेइनले बलिङमा लिड गरिरहेका छन् र फिनिसिङको भूमिका दिइएकोमा केही ठूला शट पनि खेल्ने गरेका छन् ।

कुगलेइनले १५ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन् । जैबले ९ विकेट लिएका छन् । नरेन साउदले ६ विकेट लिएका छन् ।

जनकपुर बोल्ट्स

एनपीएल उपाधिको दाबेदार टोलीमध्ये एक हो, जनकपुर । लिग चरणमा लगातार सानदार प्रदर्शन गरेको टोलीले ७ खेलमा ५ खेल जितेको छ भने चितवन र सुदूरपश्चिमसँग हार व्यहोर्यो ।

स्पीनर र मिडल अर्डर बलियो रहेको यस टोलीले जुनसुकै बेलामा पनि विपक्षीलाई हराउन सक्ने क्षमता राख्दछ ।

ओपनर एवं कप्तान अनिलकुमार साहले प्रदर्शनमा एकरुपता छैन । तर, टोलीलाई आवश्यक पर्दा उनी राम्रो खेलिरहेका थिए । उनले कर्णालीविरुद्ध ६२ र लुम्बिनीविरुद्ध ४५ रनको महत्वपूर्ण पारी खेलेका छन् ।

दुर्भाग्यवश जनकपुरका कप्तान अनिल घाइते भएका छन् । यसर्थ उनले आज नखेल्ने सम्भावना बढी छ । उनले नखेलेको खण्डमा अर्का ओपनर आसिफ शेखले कप्तानी गर्नेछन् । जारी एनपीएलमा आसिफको ब्याट भने त्यति चलिरहेको छैन । राष्ट्रिय टोलीबाट राम्रै प्रदर्शन गर्ने उनको एनपीएलमा प्रदर्शन त्यति गतिलो छैन । उनी पहिलो खेलमा विराटनगरविरुद्ध शून्य रनमै आउट भएका थिए । उनले त्यसपछिका खेलमा ३६, ३३, १६, ४, २ र २३ रन बनाएका छन् ।

तेस्रो नम्बरमा ब्याटिङ सम्हाल्न आउने लाहिरू मिलान्था भरपर्दो ब्याटर हुन् । उनले उद्घाटन खेलमै विराटनगरविरुद्ध ७५ रनको यादगार इनिङ्स खेलेका थिए । उनले पछि २४, ४५, २४, ७, १६ र १ रन बनाएका छन् । उनी टोलीबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत हुन् ।

अर्का अलराउन्डर हुन्, हर्ष थाकेर । उनी टोलीको आवश्यकताअनुसार मिडल अर्डरमा समेत ब्याट गर्न आउँछन् । तर, उनको ब्याट भन्दा पनि बल बढी चम्किरहेको छ । उनले १० विकेट लिएका छन् ।

न्युजील्याण्डका खेलाडी जेम्स निशमले पनि विस्फोटक ब्याटिङ गर्दछन् । उनी एनपीएलकै छिटो अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । उनले चितवनविरुद्ध १८ बलमा अर्धशतक बनाएका थिए । त्यस खेलमा उनले ६५ रन बनाए ।

टोलीको बलियो पक्ष हो, स्पीनर । स्पिनर ललित राजवंशीले १३ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिनेको सूचीमा दोस्रो स्थानमा छन् । यस्तै, तीव्र गतिका बलर किशोर महतोले १० विकेट लिएका छन् ।

क्यालिफायर–२ मा स्थान बनाउन चितवन र कर्णालीबीच भिडन्त हुँदै, कुन टोली कति बलिया ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register