वैकल्पिक राजनीतिको गोलचक्कर

नेपाली समाजको अहिलेको आकाङ्क्षा र सङ्कटलाई कांग्रेस, एमाले, माओवादी, राप्रपा जस्ता दलले पार लगाउन सक्ने छैनन् । वैकल्पिक पार्टीका लागि उर्वर पृष्ठभूमि भए पनि जनताले खोजेको विकल्प दिन कुनै पनि नयाँ पार्टीले सकेका छैनन् । नेपाली मतदाता फेरि अर्को वैकल्पिक पार्टी पर्खिरहेका छन् ।

Dec 18, 2024 - 11:31
 0
वैकल्पिक राजनीतिको गोलचक्कर

०६२-६३ को जनआन्दोलनपछि नेपालमा वैकल्पिक राजनीति र वैकल्पिक राजनीतिक पार्टीको बहस तथा विभिन्न खाले अभ्यास सुरु भयो । तर, यो साढे दुई दशकमा जसरी मूलधारे राजनीति अक्षमताको गोलचक्रमा घुमिरहेको छ, वैकल्पिक राजनीति पनि समानान्तर रुपमा यही गोलचक्रमा घुमिरहेको छ । आन्दोलनको उठान-अवसान, पार्टीहरूको गठन, विभाजन, विलय आदिको चक्र निरन्तर कायम छ । वैकल्पिक राजनीतिका नाममा केही पुरानै अनुहारले नयाँ भाषण दिइरहेका छन् भने नयाँ पार्टीहरू पुरानो राजनीतिको रोगले ग्रसित भइरहेका छन् । तर, वैकल्पिक राजनीतिको नाराको लोकप्रियता भने घटेको छैन ।

२१औं शताब्दी संसारभरि वैकल्पिक राजनीतिको बहसको युग भएकाले नेपालको राजनीतिलाई पहिले वैश्विक परिदृश्यमा बुझ्न आवश्यक छ । संसारमा परम्परागत राजनीतिक पार्टीहरूको इतिहास हेर्दा ‘विचारधारा’का आधारमा खडा भएको देखिन्छ । पश्चिममा वामपन्थी, प्रगतिशील, परम्परावादी, उदारवादी, मार्क्सवादी आदि विभिन्न विचारधारामा पार्टीहरू गठन भएका थिए ।

दलहरूबीच आवधिक निर्वाचनको व्यवस्था भएका पश्चिमा मुलुकमा परम्परावादी र उदारवादी वा वामपन्थी पार्टीले लामो समयदेखि राज गरिरहेका छन् । अमेरिकामा डेमोक्रेटिक पार्टीले उदारवाद र रिपब्लिकन पार्टीले परम्परावादको प्रतिनिधित्व गर्छन् भने बेलायतमा कन्जरभेटिभ पार्टी नामअनुसारको परम्परावादी विचारधाराको जगमा उभिएको छ भने लेबर पार्टीले वामपन्थी विचारधारा बोक्छ ।

औपनिवेशिक मुलुकमा धेरैजसो पार्टीको गठन उपनिवेशविरुद्धको सङ्घर्षको दौरान वा मुक्तिपश्चात भएको छ । बिसौँ शताब्दीको यो समय उदारवादी र समाजवादी ध्रुवबीच सङ्घर्षको समय भएकाले यसबीच गठन भएका अधिकांश पार्टीले यी दुईमध्ये एक विचारधारा अँगालेका छन् । केही पार्टीहरू सामाजिक लोकतन्त्र जस्ता मध्यमार्गी विचारधारा बोकेर खडा भएका छन् । त्यसैले, यी पार्टीहरू विचारधारालाई मुख्य अवयव ठान्छन् ।

नेपालमा राणाविरोधी सङ्घर्षको समयमा गठन भएको नेपाली काङ्ग्रेसले मध्यमार्गी धारको प्रजातान्त्रिक समाजवादको विचार अङ्गाल्यो भने नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी विचारधाराको जगमा बनेको थियो । त्यसैले, परम्परागत दलका समर्थक वा पक्षधरले वैकल्पिक राजनीतिको दाबी गर्दै गठन भएका नयाँ पार्टीलाई ‘विचारविहीन’ भएको आरोप लगाउने गरेका छन् । आफूलाई वैकल्पिक दाबी गर्ने यी पार्टीहरूको विचारधाराबारे म यो लेखमा पछाडि चर्चा गर्ने छु । त्यो भन्दा पहिले वैकल्पिक राजनीति नै के हो भन्ने विषयबाट सुरु गर्नु उपयुक्त हुन्छ ।

बिसौँ शताब्दीको पूर्वार्धमा मार्क्सवादी विचारधारा बोक्ने कम्युनिष्ट पार्टीका नेताहरूलाई संसारका सबै समस्याको हल श्रमिक वर्गमा आधारित कम्युनिष्ट पार्टीले निकाल्ने छ भन्ने थियो भने पश्चिमा उदारवादी विचारधारा अङ्गाल्ने पार्टीहरू खुला बजारमा आधारित उदार लोकतन्त्रभित्रै सम्पूर्ण समस्याको हल छ भन्नेमा विश्वस्त थिए । दुबै शिविरमा एकपछि अर्को आर्थिक/राजनीतिक सङ्कट आइलागे पनि बिसौँ शताब्दीको अन्त्यसम्म यी दुबै आआफ्नो विश्वासमा अडिग थिए ।

अमेरिकाको एकल वर्चश्वको दोस्रो दशकमा पश्चिमा विश्वले अभूतपूर्व आर्थिक सङ्कट झेल्नु पर्‍यो । यसबीचमा अन्तर्राष्ट्रिय आतंकवाद, दक्षिणपन्थी उभार, पर्यावरणिय सङ्कट र पहिचानको राजनीति आदि नयाँ आयाम विश्वराजनीतिको मञ्चमा देखापरे । आर्थिक असमानता चुलिँदै गयो । इन्टरनेट र कम्प्युटर प्रविधिको गठजोडले मानिसको हात-हातमा पुर्याइदिएको डिजिटल सञ्चार र सामाजिक सञ्जाल विश्व राजनीतिमा हस्तक्षेप गर्ने नयाँ आयामका रुपमा देखा पर्‍यो ।

सन् १९९१ मा सोभियत सङ्घको विघटनले दुई ध्रुवबीचको शीतयुद्ध अन्त्यमात्रै गरेन, मार्क्सवादी कित्तालाई रक्षात्मक स्थितिमा पुऱ्यायो । यसपछि, उदारवादी लोकतन्त्रको पहरेदार मानिएको अमेरिका विश्वको एक्लो ‘सुपर पावर’ बन्यो, जसले बिना ठूलो अवरोध खुला बजार र उदारवादी लोकतन्त्रलाई ‘तेस्रो विश्व’मा फैलाउन थाल्यो । त्यतिबेला उदारवादी विचारक अब यही प्रणालीले संसारका मुख्य चुनौती समाधान गर्छ भन्नेमा पूर्णत विश्वस्त भएका थिए । यही कुरालाई सैद्धान्तिकरण गर्दै अमेरिकी राजनीतिशास्त्री फ्रान्सीस फुकुयामाले सन् १९९२मा ‘इन्ड अफ दी हिस्ट्री एन्ड दी लास्ट म्यान’ नामक किताब प्रकाशित गरे । यो किताबमार्फत् फुकुयामाले दाबी गरेका छन्- शितयुद्धको अन्त्य र सोभियत सङ्घको विघटनपछि मानवता युद्धउप्रान्तको नयाँ चरणमा प्रवेश मात्रै गरेको छैन बरु इतिहासकै अन्त्य भएको छ । यसको तात्पर्य विचारधारात्मक उद्विकास अन्तिम चरणमा पुगेको छ र पश्चिमा उदारवादी लोकतन्त्र मानव-शासन प्रणालीको उच्चतम अवस्था हो भन्ने पुष्टी भएको छ ।

मानवताको भविष्य विद्वान फुकुयामाको बालसुलभ निर्दोष दृष्टीले हेरेको जस्तो सरल थिएन । यो सङ्कट र संघर्षहरूको अनेकौं आयाममा जेलिएको थियो । अमेरिकाको एकल वर्चश्वको दोस्रो दशकमा पश्चिमा विश्वले अभूतपूर्व आर्थिक सङ्कट झेल्नु पर्‍यो । यसबीचमा अन्तर्राष्ट्रिय आतंकवाद, दक्षिणपन्थी उभार, पर्यावरणिय सङ्कट र पहिचानको राजनीति आदि नयाँ आयाम विश्वराजनीतिको मञ्चमा देखापरे । आर्थिक असमानता चुलिँदै गयो । इन्टरनेट र कम्प्युटर प्रविधिको गठजोडले मानिसको हात-हातमा पुर्याइदिएको डिजिटल सञ्चार र सामाजिक सञ्जाल विश्व राजनीतिमा हस्तक्षेप गर्ने नयाँ आयामका रुपमा देखा पर्‍यो ।

सामाजिक सञ्जाल, नागरिक समाजका समूहको सक्रियता आदि विभिन्न अवयवका आधारमा संसारमा यसअघि अनुमान नगरिएका अरब स्प्रिङ, पूर्वी युरोपका रङ्गिन क्रान्तिहरु, अमेरिकामा अक्कुपाइ वालस्ट्रिट लगायतमा नयाँ तरङ्ग सिर्जना हुन थाले । भारतमा अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलन यही मेसोमा देखापर्छ (अरब स्प्रिङ र रङ्गिन क्रान्तिमा अमेरिकाको भूमिका र हजारेको आन्दोलनमा भाजपाको भूमिका अलग छलफलको विषय हो) । चुलिँदा नविन सङ्कट र नविन राजनीतिक घटनाक्रमले पश्चिमका केही मानिसलाई लाग्छ- अब परम्परागत दलहरू दुनियाँको नेतृत्व गर्न र यी गम्भीर सङ्कट सम्बोधन गर्न सक्षम छैनन् । त्यसैले, हामीलाई नयाँ दलको आवश्यकता छ । २१औं शताब्दीको वैकल्पिक राजनीतिको लहर यही पृष्ठभूमिमा उठेको थियो ।

पश्चिमी दुनियाँमा वैकल्पिक पार्टी बनाउने विभिन्न प्रयास सन् १९७०को दशकदेखि नै सुरु भएको थियो । १९७०को दशकमा पश्चिम जर्मनीमा भएका विभिन्न सामाजिक आन्दोलनहरूको जगमा १९८० मा जर्मन ‘ग्रिन’ नामको पार्टी गठन भएको थियो । न्युक्लियर हतियारको विरोध र वातावरणीय संरक्षणलाई मूल मुद्दा बनाएको यो पार्टी सन् १९९८देखि २००५ सम्म जर्मनीको सरकारमा सामेल थियो । सामाजिक आन्दोलनहरूको जगमा नै स्पेनमा पोडेमस र फ्रान्समा ला फ्रान्स इन्समिजजस्ता पार्टीहरूले वैकल्पिक राजनीतिक दलको दायरालाई बलियो बनाउँदै लगे । सन् १९८४मा अमेरिकामा ग्रिन पार्टी स्थापना भयो । भर्खरै भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले सात लाख ८२ हजार दुई सय भोट पाएकी थिइन् ।

सन् २०१३ मा गठन भएको ‘अल्टर्नेटिभ फर जर्मनी’ जस्ता केही दक्षिणपन्थी दलहरू दर्ता भए पनि युरोपेली र अमेरिकी वैकल्पिक राजनीतिक पार्टीको मूलभूत झुकाव भने वामपन्थी नै रहेको देखिन्छ । मानिसमा भएको दक्षिणपन्थी भावनालाई प्रतिनिधित्व गर्न परम्परागत राजनीतिक दल सदैव तयार थिए । त्यसैले, यो मतलाई उनीहरूले आफूभन्दा बाहिर जान दिएनन् ।

बिसौँ शताब्दीको अन्त्यमा मानवता, वातावरण वा लैङ्गिकताजस्ता मुद्दा बोकेर नयाँ राजनीतिक दलको उदय हुने सिलसिलामा २१औं शताब्दीमा नयाँ आयाम थपियो । सन् २००६ मा पहिले स्वीडेनमा र पछि इटालीमा ‘पाइरेट’ नामको पार्टी दर्ता भयो । अहिले विभिन्न युरोपेली देशमा पाइरेट पार्टी खुलेका छन् जसको संयुक्त स्वरूपमा युरोपियन पाइरेट्स युरोपेली राजनीतिक दलका रुपमा सन् २०१४ मा दर्ता भएको छ । यो दलको मुख्य एजेन्डा मानिसले निर्वाध रुपमा डिजिटल प्लेटफर्मको उपयोग गर्न पाउनुपर्छ भन्ने हो ।

सन् २०१३ मा गठन भएको ‘अल्टर्नेटिभ फर जर्मनी’ जस्ता केही दक्षिणपन्थी दलहरू दर्ता भए पनि युरोपेली र अमेरिकी वैकल्पिक राजनीतिक पार्टीको मूलभूत झुकाव भने वामपन्थी नै रहेको देखिन्छ । मानिसमा भएको दक्षिणपन्थी भावनालाई प्रतिनिधित्व गर्न परम्परागत राजनीतिक दल सदैव तयार थिए । त्यसैले, यो मतलाई उनीहरूले आफूभन्दा बाहिर जान दिएनन् । अमेरिकाका ट्रम्प र बेलायतका बोरिस जोनसन हुन् वा ब्राजिलका बोल्सोनारो अथवा भारतका नरेन्द्र मोदी हुन्- दक्षिणपन्थका नायकहरू परम्परागत दलबाटै निस्किए । तर, व्यावहारिक सुधारका जनपक्षीय एजेन्डा कार्यान्वयन गर्न यी दल तयार थिएनन्, जसले पश्चिमी भूगोलमा वामपन्थी झुकावका नयाँ पार्टीलाई स्पेस प्रदान गरिरहेको थियो ।

दक्षिण एसियामा अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलनको जगमा बनेको अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले दिल्लीमा सरकार बनाएसँगै अर्थपूर्ण उपस्थिति जनायो । यसले सिङ्गो दक्षिण एसियालाई प्रभावित गर्‍यो । यसपछि नेपालमा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी तथा उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीले आफूलाई वैकल्पिक पार्टी दाबी गर्न थाले । भट्टराईले भ्रष्टाचारको विरोध र थापाले ‘डेलिभरी’ अर्थात राज्यले नागरिकलाई प्रदान गर्ने सेवाहरूको प्रभावकारिता र सुशासन जस्ता विषयलाई मूल मुद्दा बनाएका थिए ।

दुर्भाग्यवश, यी दुवै पार्टीले हाराकिरी गरे । भट्टराईले मधेसका जमिन्दारहरूसँग साँठगाँठ गर्दै नयाँ शक्तिको अवधारणालाई बिसर्जन गरे । दक्षिणपन्थी विचारधारा र दरबारिया शक्तिको प्रतिनिधित्व गर्ने रवीन्द्र मिश्रले वैकल्पिक दाबी गर्दै गठन गरेको साझा पार्टीसँगको एकताले विवेकशील आन्दोलनलाई विघटनको बाटो देखायो । हिंसात्मक सङ्घर्षबाट शान्तिपूर्ण राजनीतिमा आएका सिके राउतको जनमत पार्टीले आफूलाई वैकल्पिक दाबी गर्ने गरेको छ । एकातिर यो पार्टीले आफूलाई पुष्टि गर्न थप परीक्षा दिनु आवश्यक छ भने अर्कातिर यो मधेस प्रदेशको क्षेत्रीय पार्टीका रुपमा सीमित छ ।

परम्परागत राजनीतिक दलसँग आम मानिसको असन्तुष्टीको जगमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो आम निर्वाचनमा महत्त्वपूर्ण सफलता हासिल गरे पनि सभापति रवि लामिछानेमाथि सहकारीको बचत अपचलनको आरोप लागेसँगै यसको भविष्यमाथि पनि प्रश्न उठेको छ । लामिछानेले नेतृत्व छोडेर नयाँ नेतृत्वले पार्टी सम्हाल्ने आशा बाँकी रहेपनि यो पार्टी सञ्चारकर्मीका रुपमा लामिछानेले आर्जन गरेको लोकप्रियताको जगमा बनेको छ भन्ने सबैलाई थाहा छ ।

स्थानीय तह निर्वाचनमा काठमाडौंमा बालेन्द्र शाह, धरानमा हर्क साम्पाङ तथा धनगढीमा गोपी हमालले प्राप्त गरेको सफलता मात्रै होइन, पछिल्लो उपनिर्वाचनको मत विश्लेषणले पनि आम मतदाताले परम्परागत राजनीतिक दलको विकल्प खोजिरहेका छन् भन्ने प्रष्ट सन्देश दिएका छन् । परम्परागत दलहरू अझ अनुत्तरदायी मात्रै हुँदै छैनन्, नेपाली समाजको आकाङ्क्षा र चुनौती सम्बोधन गर्न पूर्णत अक्षम् भएको पुष्टि पनि गरिरहेका छन् । यो वैकल्पिक पार्टीका लागि उर्वर पृष्ठभूमि भए पनि जनताले खोजेको विकल्प दिन कुनै पनि नयाँ पार्टीले सकेका छैनन् ।

पश्चिमा विश्वमा वैकल्पिक पार्टी एकप्रकारले वर्तमान नवउदारवादी व्यवस्थालाई सहयोग गर्ने शक्तिका रुपमा विकास भइरहेका छन् । वामपन्थी रङ्ग देखिए पनि आधारभूत परिवर्तन माग गरिरहेका परम्परागत वामपन्थी बहसलाई खण्डित सुधारमा सीमित गरिरहेका नवउदारवाद विरोधी आन्दोलन र बहसलाई खण्डित र विभाजित गरिरहेका छन् । अन्तत: यो शक्ति नवउदारवादको सहयोगी बनिरहेको छ ।

भारतमा केजरीवाल ‘सर्भिस डेलिभरी’मा केही उदाहरणीय काम गर्न सफल भए पनि विचाराधारत्मक रुपमा दक्षिणपन्थी बाटोमा भाजपासँग काँध मिलाइरहेका छन्, जसले अन्तत: नवउदारवादकै सेवा गर्ने हो । गोलचक्करमा रूमल्लिरहेका नेपालका वैकल्पिक दाबी गर्ने दलहरू आफैँमा नवउदारवादका सेवक त हुँदै हुन्, उनीहरुले समाजमा निराशाको आगोमा इन्धन थपिरहेका छन् ।

नेपाली समाजको अहिलेको आकाङ्क्षा र सङ्कटलाई कांग्रेस, एमाले, माओवादी, राप्रपा जस्ता दलले पार लगाउन सक्ने छैनन् । नेपाली मतदाता फेरि अर्को वैकल्पिक पार्टी पर्खिरहेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register