के तेस्रो विश्वयुद्ध सुरु भइसक्यो ?

युक्रेनमा रुसको करिब ३ वर्ष पुरानो युद्धसँगै मध्यपूर्वका धेरै मोर्चामा भड्किएको आगो, पूर्वी एसियामा बढ्दै गएको तनाव, एकपटक विच्छिन्न भइसकेको ठानिएका र फर्किएर आएका द्वन्द्व तेस्रो विश्वयुद्धका सुरुवाती गोलाबारी हुन सक्छन् ।

Dec 21, 2024 - 04:35
 0
के तेस्रो विश्वयुद्ध सुरु भइसक्यो ?

सिरियाली विद्रोही दमास्कस नजिक पुग्न लाग्दा रुसी विदेशमन्त्री सेर्गेई लाभारोभले मस्कोको मुख्य अरब सहयोगी बसर अल असदको पतनलाई वैश्विक सङ्घर्षको एक सानो घटनाका रुपमा खारेज गर्न चाहे ।

लाभारोभले भनेका थिए -पश्चिमा पतन हुँदै गएको अमेरिकी वर्चश्वसँग टाँसिएको छ । तर, ‘स्वतन्त्र संसार’मा अकल्पनीय रुपमा आफ्नो मैदान गुमाउँदैछ ।

उनले सङ्केत गर्न खोजेको ‘स्वतन्त्र संसार’ रुस, चीन, उत्तर कोरिया र इरानी नेतृत्वको अधिनायकवादी धुरी हो । कतारको एक सम्मेलनमा लाभारोभले भनेका थिए -यी दुई संसारको लडाइँमा एउटा ‘फेज आउट’ र अर्को उदीयमान छ । यीबीच द्वन्द्व नभई संसार चल्दैन ।

पश्चिमा नेताहरूले सिरियामा मस्कोको भूराजनीतिक धक्कालाई कम पार्ने, लाभारोभ प्रयासलाई खिल्ली उडाउन सक्लान् तर, तिनीहरु विश्व व्यापकरूपमा दुई प्रतिद्वन्द्वी शिविरमा विभाजित हुँदै गएको दृष्टिकोणसँग सहमत छन् ।

युक्रेनमा रुसको करिब ३ वर्ष पुरानो युद्धसँगै मध्यपूर्वका धेरै मोर्चामा भड्किएको आगो, पूर्वी एसियामा बढ्दै गएको तनाव, एकपटक विच्छिन्न भइसकेको ठानिएका र फर्किएर आएका द्वन्द्व तेस्रो विश्वयुद्धका सुरुवाती गोलाबारी हुन सक्छन् ।

चेक रिपब्लिकका विदेशमन्त्री जान लिपाभस्की भन्छन् – यो विश्वव्यापी टकरावको युग हो । विश्वमा अहिले भइरहेको हिंसाले एउटा कुरा प्रमाणित गर्दछ कि हामीसँग अब एकअर्काबाट अलगअलग भएका छुट्टाछुट्टै व्यवस्थापन गर्न सकिने द्वन्द्व छैन । विश्व व्यवस्थालाई ध्वस्त पार्ने साझा प्रयास छ । त्यसलाई रोक्न हामीले सबैथोक गर्न आवश्यक छ ।

एक दशक अघिको मात्रै कुरा हो – इरान र उत्तर कोरियाको कुख्यात शासन नियन्त्रण गर्न रुस र चीनले अमेरिका र पश्चिमा देशसँग मिलेर सन् २०१५ मा तेहरानको आणविक कार्यक्रम र सन् २०१७ मा प्योङयाङविरुद्ध प्रतिबन्ध लगाउने राष्ट्र सङ्घीय सुरक्षा परिषद्‌को प्रस्तावमा मतदान गरेका थिए । त्यसयता ४ वटै देश पश्चिमसँगको भिन्नाभिन्नै द्वन्द्वको कारण एकसाथ हुँदै गएका छन् ।

अधिनायकवादी धुरी

यी अधिनायकवादी देश नजिक हुने एउटा मोड सन् २०१४ मा आयो, जब पश्चिमले युक्रेनमाथि रुसीको पहिलो आक्रमणको हल्का प्रतिबन्धद्वारा प्रतिक्रिया दियो । त्यसले पुटिनलाई लोकतन्त्रका कमजोरीबारे आश्वस्त बनायो ।

त्यसको अर्को वर्ष सिरियामा बसर अल असदको शासन पतन हुनुबाट जोगाउन रुस र इरानले हात मिलाए । रुसले केही पश्चिमा प्रविधि कटौती गर्‍यो र चीनमा निर्भर हुँदै गयो ।

यी ४ देशबीचको बन्धन सन् २०२२ को युक्रेन आक्रमणबाट थप कसिलो भयो । रुसले चिनियाँ समर्थन र इरान–उत्तर कोरियाका हातहतियारले यो युद्ध लडिरहेको छ । गत मार्चमा रुसले उत्तर कोरियामा संयुक्त राष्ट्र सङ्घीय प्रतिबन्ध कार्यान्वयनलाई आधारभूत रुपमा अन्त्य गर्‍यो, जुन एकपटक रुस आफैँले समर्थन गरेको थियो ।

त्यसको केही महिनापछि यी दुई देशले पारस्परिक रक्षा सन्धीमा हस्ताक्षर गरे । मस्को र तेहरानबीच रक्षा सहयोग समावेश गर्ने ‘वृहत् सन्धी’ अन्तिम स्पर्शको पर्खाइमा छ, जसले इरान र रुसबीचको सम्बन्धलाई थप रणनीतिक बनाउँछ ।

पश्चिमी प्रतिक्रियाको राजनीतिक अवरोध र चिन्ता शिथिल हुँदै जाँदा यो धुरीका सदस्यले एकअर्काका रणनीतिक सक्षमतामा भएका खाडल भर्न परिष्कृत सैन्य प्रविधि साझेदारी गर्न थालेका छन् । उनीहरूका यस्ता प्रत्येक चालले ति आफ्नै छिमेकीका लागि खतरनाक भएका छन् ।

चिनियाँ सरकारका पूर्वसल्लाहकार तथा बेइजिङस्थित चीन र भूमण्डलीकरण अध्ययन थिङ्क ट्याङ्कका अध्यक्ष वाङ हुईआयो भन्छन्–ठूला शक्तिको प्रतिद्वन्द्विताले विश्व विभाजनलाई गति दिइरहेको छ । हामी सम्भवत: तेस्रो विश्व युद्धको सङ्घारमा छौँ । एकातिर युक्रेन–रुस युद्ध पोखिँदो छ, अर्कोतिर गाजा युद्ध, भर्खरै सिरिया अर्को युद्ध क्षेत्र बन्यो । यस्ता युद्ध क्षेत्र अझै नबढुन् भनेर हामी साँच्चै सावधान हुनुपर्ने समय आएको छ ।

विभाजित लोकतन्त्र

आज रुस र चीन ऐतिहासिक गौरवको सपना देखिरहेका संशोधनवादी शक्ति हुन् । ती आफ्नो प्रभाव क्षेत्र निर्माण वा पुनर्स्थापना चाहन्छन् । उनीहरुले युक्रेन र ताइवान गुमाउनुलाई ऐतिहासिक अन्यायका रुपमा बुझेका छन् । र, ती समस्या समाधान गर्न चाहन्छन् ।

यस धुरीका लागि बेलारुसदेखि भेनेजुयलासम्म साना ग्राहक छन् । तथाकथित ‘विधिआधारित अन्तर्राष्ट्रिय व्यवस्था’ अमेरिकी प्रभुत्व ढाकछोप गर्ने बर्को मात्र भएको छ । तिनीहरु विश्वास गर्दछन् कि पश्चिमा राजनीतिक–आर्थिक प्रभाव र उदार लोकतन्त्रजस्ता पश्चिम प्रवर्द्धित मापदण्ड फिर्ता हुनु स्वाभाविक छ । तर, विश्व अर्थतन्त्र र जनसङ्ख्यामा पश्चिमा लोकतन्त्रको अंश घट्दै गएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्दैछन् । उनले युक्रेन युद्ध अन्त्य गर्ने र विश्वमा अन्यत्र चीनजस्ता प्रतिद्वन्द्वीलाई ‘सबलताद्वारा शान्ति’ लाद्ने वाचा गरेका छन् । उत्तर कोरियासँग सम्झौता गर्ने ट्रम्पको पहिलो कार्यकालको प्रयास विफलतामा समाप्त भएको थियो । ट्रम्पले मस्कोसँग साझा आधार फेला पार्ने अहिलेसम्म निश्चितता छैन ।

अमेरिकाका युरोपेली साझेदारमा यो कुराको चिन्ता बढ्दो छ कि रुससँग कुनै ठूलो सम्झौतामा पुग्ने ट्रम्पको प्रयास उनीहरुकै सुरक्षाको मूल्यमा भारी सावित हुन्छ कि । अमेरिकाका युरोपली साझेदारमा ट्रम्पको शुल्क वृद्धिको घोषणाले आफ्नो अर्थतन्त्रलाई गम्भीर हानि पुर्‍याउने चिन्ता पनि उत्तिकै बढ्दो छ ।

नेदरल्याण्डका प्रतिरक्षा प्रमुख जर्नेल ओनो इचेल्सियम भन्छन् – यो क्षण लोकतन्त्रहरूको एकताभन्दा अधिनायकहरूको एकता बलियो छ । लोकतन्त्र र निरङ्कुशताबीच सङ्घर्ष चलिरहेको छ र निरङ्कुशताहरूको हात जित्न सक्ने खालको छ ।

गत अक्टोबरमा रुसी शहर कजानमा भएको भेटघाटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी समकक्षी पुटिनलाई दोस्रो विश्व युद्धपछिको विश्व व्यवस्था पतन भएको प्रकाश पारेका थिए । सीले भनेका थिए -विश्वले आज एक शताब्दीमा नदेखिएका महत्त्वपूर्ण परिवर्तनको सामना गरिरहेको छ ।

क्रेमलिनलाई अगलावमा पार्ने पश्चिमी प्रयत्नका बावजुद त्यो शिखर सम्मेलनमा विश्वका धेरै नेताहरू र संयुक्त राष्ट्र सङ्घका महासचिवले समेत भाग लिएका थिए ।

शीतयुद्धमा लागू हुने केही मापदण्ड भङ्ग भइसकेका छन् । एक विश्व शक्तिको भूभागमा अर्को विश्व शक्तिले उपलब्ध गराएको क्षेप्यास्त्रबाट प्रहार भइसकेको छ । हालैका महिना युक्रेनमाथि उत्तर कोरिया र इरानी तोप, ड्रोन र मिसाइलबाट भएका रुसी प्रहारलाई पछाडि धकेल्न बारम्बार अमेरिकी एटीएसीमएस क्षेप्यास्त्र रुसी सैन्य प्रतिष्ठानमा प्रहार भएका छन् ।

पुटिनले युक्रेनलाई सहयोग गर्ने अमेरिका र त्यसका साझेदार देशलाई धम्की दिन आणविक हतियार प्रयोग गर्ने ब्लाकमेलिङको सहारा लिएका छन् । रुसी एजेन्ट युरोपमा हिंसाको द्रुत विस्तार अभियानमा संलग्न छन् । सैन्य उद्योग र सञ्चार पूर्वाधार आक्रमण अभूतपूर्व हुन थालेको पश्चिमाको भनाइ छ ।

नवप्रवर्तन, हाइब्रिड र साइबर धम्कीबारे नाटो उपमहासचिव जेम्स अप्पाथुराई भन्छन् –नाटो देशभित्र अस्थिरता सृजना गर्ने रुसी आक्रमण तोडफोड, हत्या षडयन्त्र, आगजनी आदि यसअघि कहिल्यै नदेखेको स्तरमा छ, कम्तीमा शीतयुद्धपछि । ती साइबर आक्रमण र कम्प्यूटर प्रणाली हमालजस्ता नयाँ उपकरण प्रयोग गर्न बढी प्रभावकारी देखिएका छन् ।

प्रोक्सी वार 

युद्ध यसरी भड्किरहेकै छ तर, प्रमुख शक्तिहरू अझै एकअर्कासँग प्रत्यक्ष लडाइँमा छैनन् । ओडाहो रिपब्लिकन सिनेटर जेम्स रिच, जो आउँदो महिना सिनेट विदेश सम्बन्ध समितिको अध्यक्ष बन्दैछन्, उनी भन्छन् –यो कल्पनाको कुनै पनि आधारमा विश्वयुद्ध हैन, यो अझै प्रोक्सी युद्ध नै हो ।

सिरियामा असद अत्याचारको शानदार पतनले द्वन्द्वका विभिन्न नौटङ्कीहरू कसरी एकअर्कामा जोडिएका छन् भनेर देखाउँछ । सन् २०१५ मा रुसले सिरियामा असदको शासन जोगाउन गृहयुद्धमा प्रवेश गरायो । यसपटक सिरियाली विद्रोहीको आश्चर्यजनक आक्रमणलाई रोक्न चाहिने बल जम्मा गर्न युक्रेन युद्धको कारण रुस नसक्ने भइसकेको थियो ।

इरान र यसका प्रोक्सीले पनि असदलाई सहयोग गर्न सकेनन् । ती अमेरिका समर्थित इजरायलसँगको एक वर्षभन्दा लामो युद्धको मारमा परेका थिए ।

अब सिरियामा रहेको रुसको नौसैनिक तथा हवाई अड्डा नै अनिश्चित भएको छ, जो धेरै अफ्रिकी देशमा रुसी सैन्य कारबाहीको आधार शिविर थियो । इरानका लागि असदको पतन ‘प्रतिरोध धुरी’ को विघटन पनि हो । जो इराक, सिरिया र लेबनानको हिजबुल्लाह मिलिसियासम्म फैलिएको थियो ।

इरानी अन्तर्राष्ट्रिय सङ्कट समूह परियोजनाका निर्देशक अली भाइज भन्छन् –पहुँच बिनाको धुरी हुँदैन । आफ्ना सहयोगीलाई बचाउने विश्वसनीयता गुमाएकाले इरानको पक्षमा उभिएकामाथि थप सङ्क्रामक प्रभाव पर्दछ ।

तर, अधिनायकवादी शक्तिका लागि असदको पतन एक कार्यनीतिक क्षति मात्र हो । सबैभन्दा महत्त्वपूर्ण कुरा त युक्रेनी मोर्चामा इरान र उत्तर कोरियाले रुसलाई उपलब्ध गराएका गोला बारुद र हतियार हो । वर्षको अन्त्यतिरबाट युक्रेनी मोर्चा मस्कोको अनुकूल हुँदै गएको छ । अक्टोबर यता करिब १२ हजार उत्तर कोरियाली सेना त्यहाँ तैनाथ छन् ।

एक दक्षिण कोरियाली सैन्य अधिकारी भन्छन् -युक्रेनी मोर्चामा उत्तर कोरियाली सेनाले रुसी सेनालाई बढावा मात्र दिँदैनन्, तिनले आधुनिक अमेरिकी हतियार, युद्धकला र प्रतिरक्षा प्रणालीको सामना गर्ने पाठसमेत सक्नेछन् र त्यसबाट मध्यमकालमा दक्षिण कोरियाका लागि धेरै ठूलो खतरा सृजना हुन्छ ।

अझै पनि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ युक्रेनमा रुसी युद्धलाई चीनबाट प्राप्त भइरहेको धाप हो । चिनियाँ उइगुरी अल्पसङ्ख्यकको अधिकारका लागि अभियान चलाइरहेका हड्सन इन्स्टिच्यूटका वरिष्ठ अभियानकर्ता नुरी टुर्केल भन्छन् –चीनले रुसी अर्थतन्त्रलाई सहयोग मात्र गरिरहेको छैन, रुसी सेनाको पुनर्निर्माणमा समेत मद्धत गरिरहेको छ । रुसी सेना चिनियाँ प्राविधिक सहयोगमा झन् भन्दा झन् बढी अत्याधुनिक र उन्नत हुँदैछ । पश्चिम र अमेरिका जति उपद्रवमा फस्दछन्, रुस र चीनका लागि त्यति नै राम्रो फाइदा हुन्छ ।

अमेरिकी अधिकारीको अनुमान छ कि रुसी सैन्य उद्योगले प्रयोग गरिरहेका ७० प्रतिशत मेसिन तथा औजार र ९० प्रतिशत सेमीकन्डक्टर चीनबाट आइरहेका छन् । चीनले घातक हतियार सिधै दिन बन्द गरे पनि द्वैध–प्रयोग हुने सामग्रीको व्यापक आपूर्ति गरिरहेको छ ।

अमेरिका विरोधी गठबन्धन

चीनको साङ्घाई फुदान विश्वविद्यालयका निर्देशक झ्याङ वेइवेई भन्छन् – प्रतिरक्षा कारबाहीमा मस्को र बेइजिङ अमेरिका सँगको शत्रुताको कारणले नजिक भएका हुन् । निःसन्देह अमेरिकाले चीन र रुसप्रति अपनाएको आक्रामक नीतिको कारणले यी नजिक भएका हुन् । यो स्वाभाविक पनि छ । साथै, दुई देशले घरेलु नीति र अर्थतन्त्रमा समेत एकअर्कालाई सहयोग गर्दैछन् । यो कसको कारणले हो त ? पक्कै यसका लागि अमेरिका दोषी छ ।

ठीक यस्तै तर्क तेहरानका थिङ्क ट्यांक सेयेद इमामिन गर्दछन् । उनी भन्छन् –वासिङ्टनको सैन्य सुरक्षा जटिलताले तीन शक्ति इरान, चीन र रुसलाई रणनीतिक रुपमा एक अर्काको हात समात्न बाध्य बनाउँछ । किनकि, अमेरिकी आक्रामकताको नीतिले तिनको अगलाव विस्तार हुन्छ ।

यो तथ्य कि रुस, चीन, इरान र उत्तर कोरियाको राजनीतिक प्रणाली र विचारधारा फरकफरक छ, ती नाटोका औपचारिक साझेदार हैनन् भन्ने कुराले पश्चिमालाई एक प्रकारको आत्मसन्तुष्टि दिएको थियो ।

अष्ट्रेलियाका राष्ट्रिय गुप्तचर प्रमुख एन्ड्रियु सियरर भन्छन् –हामीले सायद सामूहिक रुपमा यो उदाउँदो धुरीको गुरुत्वलाई कम आँक्यौ, अहिले हामी सबैका लागि रणनीतिक प्रभाव परेको छ ।

गत महिना क्यानडाको हलिफक्स अन्तर्राष्ट्रिय सुरक्षा मञ्चमा उनले भनेका थिए –हामी प्रत्येक पक्षलाई फरकफरक गरेर हेर्ने पासोमा फसेका छौँ । उनीहरूको गहिरो सम्बन्धका कडीलाई ध्यान दिएका छैनौँ । हामीले हाम्रो मानसिकताको समायोजन गर्न सकेनौँ । तिनीहरूको रणनीतिक महत्वाकाङ्क्षाको राम्रो मापन पनि गरिरहेका छैनौँ ।

वास्तवमै पश्चिमा योजनाकारले उत्तर कोरियाली सेना, तोप, मिसाइल र गोलबारुद युरोपसम्म लैजान सम्भव बनाउने प्योङयाङदेखि रुसको युक्रेन बोर्डरसम्म रेलमार्ग चल्छ भन्ने साधारण तथ्यलाई समेत ध्यान दिएका थिएनन् ।

सियरर यो औँल्याउँछन् कि दोस्रो विश्व युद्धका धुरी शक्ति नाजी जर्मनी, इटाली र जापानका पनि मुख्य सवालमा आआफ्नै असहमति थिए । उदाहरणका लागि जापानले हिटलरको यहूदी विनाश गर्ने इच्छालाई साझा बनाएन । सोभियत सङ्घमा जर्मन आक्रमण हुँदा सामेल भएन । तैपनि यी राष्ट्र युरोप र एसियालाई पराजित गर्ने शर्तमा डरलाग्दो गरी नजिक भए । ती मुख्यतः यसकारणले पराजित भए कि अमेरिकाले धर्तीकै सबैभन्दा राम्रो सैन्य औद्योगिक आधार स्वामित्वमा राखेको थियो ।

के अमेरिका तयार छ ?

अब त्यो अवस्था रहेन । चीनले आफ्नो सैन्य गुरुत्व बढाउँदै जाँदा युक्रेन र मध्यपूर्वका आफ्ना साझेदारलाई हतियार आपूर्तिको अमेरिकामाथि पहिल्यैदेखि दबाब छ । ताइवानका अर्डर ढिलो हुँदैछन् । यद्यपि सन् २०२२ मा युक्रेनमाथिको आक्रमणपछि अमेरिकी सैन्य उद्योगको उत्पादन बढेको छ । तर, खर्चको तुलनामा उत्पादन अहिले पनि धेरै पछाडि छ । त्यसमा पनि केही विशेष उत्पादनमा केन्द्रित छ जस्तो कि १५५ एमएम तोपका गोला ।

हेरिटेज फाउन्डेसनको राष्ट्रिय सुरक्षाका लागि एलिसन सेन्टरका निर्देशक र ट्रम्पकालीन ह्वाइट हाउसका एक वरिष्ठ पूर्वअधिकारी रोबर्ट ग्रिनबे भन्छन् –हामी कुनै पनि हिसाबले तयार छैनौँ । औद्योगिक दृष्टिकोणबाट वा पूर्णतः प्रभावकारी परिवर्तनका लागि अनुपस्थितिबाट । हामीले सैन्य औद्योगिक क्षमता र उत्पादनलाई राष्ट्रिय सुरक्षाको पहिलो र प्रमुख कार्यका रुपमा हेर्नुपर्दछ ।

जुलाईमा जारी राष्ट्रिय सुरक्षा रणनीति संसदीय आयोगको एक प्रतिवेदनले भन्छ –सैन्य उत्पादन र अमेरिकी रक्षा–औद्योगिक आधारमा चीनले अमेरिकालाई उछिनेको छ । अमेरिका आफ्ना सहयोगीको आवश्यकता पूरा गर्न असमर्थ देखिन्छ । अमेरिकासँग लडाइँ रोक्न वा जित्न आत्मविश्वासका लागि आवश्यक पर्ने क्षमता र सामर्थ्य दुवैको अभाव छ ।

अधिनायकवादी धुरीका ४ संशोधनवादी राष्ट्रमध्ये तीनवटा चीन, रुस र उत्तर कोरिया अहिले नै आणविक शक्ति सम्पन्न छन् । चौथो शक्ति इरान अमेरिकी अनुमानअनुसार आणविक सफलता हासिल गर्न अब केही हप्ताले मात्रै टाढा छ ।

इन्डो–प्यासिफिक कमाण्डका अमेरिकी कमान्डर एडमर स्यामुअल पापारो भन्छन् –तिनीहरूबीच निश्चित प्रकारको पारस्परिक लेनदेनको सम्बन्ध छ, जसले एकअर्काको आवश्यकतालाई पूरा गर्दछन् । हामीले तिनको बीचमा फाटो पार्न सक्नेछौँ भनेर सोच्नु स्वैरकल्पना मात्र हो ।

उनी रुसले चीनलाई प्रदान गर्ने पनडुब्बी प्रविधिले समुद्रमा अमेरिकी प्रभुत्वलाई घटाउने, उत्तर कोरियालाई दिने क्षेप्यास्त्र र पनडुब्बी प्रविधिको कारण अमेरिकी भूभागमा धम्की बढ्ने हुँदा अमेरिकी सेनाले आफ्नो रणनीतिमा पुनर्विचार गर्ने बेला भइसकेको ठान्दछन् ।

युक्रेनका उपरक्षामन्त्री सेर्गेइ बोयेभ भन्छन्–यो दुष्टताको धुरी हो, जसले लामो समयदेखि र अहिलेसम्म सँगै काम गरिरहेको छ । यो विश्वव्यापी गठबन्धनले अहिले युक्रेनविरुद्धको आक्रामकतालाई अघि बढाएको छ । तर, यी युक्रेनमा मात्रै सीमित हुँदैनन्, यिनका अरु धेरै अतिरिक्त तारोहरू छन् ।

-द वाल स्ट्रिट जर्नलबाट अनुदित ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register