युरोपबाट सिधै भारत गएकी परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कंदै

काठमाडौं । भारत गएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज (सोमबार) स्वदेश फर्कँदै छिन् । राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ । ‘उहाँ बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टीएचआर)को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारतको नयाँ दिल्ली पुग्नुभएको थियो । युरोपबाटै […]

Dec 23, 2024 - 04:02
 0
युरोपबाट सिधै भारत गएकी परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कंदै

काठमाडौं । भारत गएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज (सोमबार) स्वदेश फर्कँदै छिन् ।

राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।

‘उहाँ बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टीएचआर)को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारतको नयाँ दिल्ली पुग्नुभएको थियो । युरोपबाटै त्यहाँ पुग्नुभएकी उहाँले शनिबार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । उहाँ आज साँझ स्वदेश फर्कंदै हुनुहुन्छ,’ परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले भने ।

परराष्ट्रमन्त्री राणा स्वास्थ्य परीक्षणका लागि नै नयाँ दिल्ली गएकाले यसपटक कुनै औपचारिक भेटघाटको कार्यक्रम नरहेको उनले बताए ।

यद्यपि, यसअघि परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच ‘वान टू वान’ भेटवार्ता हुने भनिएको थियो ।

शुक्रबार भने उनले भारतको नयाँ दिल्लीमा आयोजित भारत–नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स)लाई सम्बोधन गरेकी थिइन् । सो सम्बोधनमा उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको बताएकी थिइन् ।

मन्त्री राणाले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग पनि सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरहरूसँग थप उडानका लागि आग्रह पनि गरेकी थिइन् ।

उनले नेपाल–भारत आर्थिक सम्बन्धको विस्तृत चर्चा गर्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई आग्रह पनि गरेकी थिइन् ।

यसअघि मन्त्री डा राणा गत मङ्सिर २२ मा युरोपतर्फ लागेकी थिइन् । उनको यो भ्रमणको मुख्य उद्देश्य नेदरल्यान्ड्सको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय माग गर्नु रहेको थियो ।

मन्त्री डा राणाले जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट मङ्सिर २४ मा सो अदालतमा कुरा उठाएकी थिइन् ।

त्यसपछि परराष्ट्रमन्त्री डा राणाले लक्जेम्बर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेल र बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी गरेकी थिइन् ।

यरोप भ्रमणकै क्रममा उनले युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्रा र कमिसनर फर इन्टरनेसनल पार्टनरसिप जोजेफ सिकेलासँग बेल्जियमको ब्रसेल्समा भेटवार्ता गरेकी थिइन् ।

छुट्टाछुट्टै भएका ती भेटमा उनले नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध, जलवायु परिवर्तनका कारण नेपालमा परेको असर र नेपालले पाउनुपर्ने जलवायु न्यायका बारेमा कुरा राखेकी थिइन् ।

साथै उनले युरोपेली आकाशमा नेपाली वायुसेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट) सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि उनीहरूलाई आग्रह गरेकी थिइन् ।

मन्त्री डा राणाले जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा पुगेर त्यहाँका वैज्ञानिक एवं अनुसन्धानदाताहरूसँग अन्तक्र्रिया गरी जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र र समुदायमा परेको असरबारे अनुसन्धान गर्न आग्रह पनि गरेकी थिइन् ।

त्यसैगरी यही पुस २ गते परराष्ट्रमन्त्री राणाले जर्मनीको बर्लिनमा आयोजित समान अधिकारसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूह (एलजिबिटी) व्यक्तिहरूको समावेशीकरण र मानवअधिकारका पक्षमा नेपालले धेरै उपलब्धि हासिल गरेको बताएकी थिइन् । उनी बर्लिनबाट सिधै नयाँ दिल्ली प्रस्थान गरेकी थिइन् ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register