मेरो सम्झनामा कार्टर र उनका विशिष्ट योगदान

कार्टर ह्वाइट हाउसमा बसेको जम्मा ४ वर्ष हो तर, उनी अमेरिकी विदेश नीतिको ४० वर्षलाई आकार दिन सफल भए । उनका नीतिगत विरासत अहिले पनि मध्यपूर्व, बेइजिङ र मस्कोबारेका नीतिमा देख्न सकिन्छ तर, यो यतिमै सीमित छैन ।

Jan 1, 2025 - 08:47
 0
मेरो सम्झनामा कार्टर र उनका विशिष्ट योगदान

सन् २०१० को नोभेम्बरमा पूर्वराष्ट्रपति जिम्मी कार्टर ह्वाइटहाउसस्थित मेरो कार्यालयमा आए । त्यहाँ मैले भर्खरै राष्ट्रिय सुरक्षा सल्लाहकारको पद सम्हालेको थिएँ ।

यो एक प्रकारको पुनर्मिलन थियो । करिअरमा मैले २२ वर्षको उमेरदेखि कार्टरका लागि काम गर्न थालेको थिएँ । तर, त्यतिखेर म अन्तर्राष्ट्रिय मामिलाबाट टाढा थिएँ । ह्वाइट हाउसको संसदीय सम्बन्ध कार्यालयको कर्मचारीका रूपमा काम गर्थेँ ।

म सन् १९८० को डेमोक्र्याटिक नेशनल कन्भेन्सनको व्यवस्थापन गर्न गएँ । त्यहाँ कार्टरले सिनेटर टेड केनेडीको चुनौती सामना गरेका थिए । त्यसपछिको चुनावमा उनको हार भयो । राष्ट्रपति पदबाट पतनपछि जर्जियाको एटलान्टामा निजी जीवनमा सङ्घर्ष गर्न मैले उनलाई मद्दत गरेको थिएँ ।

तीन दशकपछि मेरो कार्यालयमा कार्टरसँग छलफल हुँदा म यसर्थ छक्क परेँ कि हामीले छलफल गरेका धेरै चुनौती उनको राष्ट्रपतीय कार्यकालमा जस्तै – मध्यपूर्व, चीन र रुससँग सम्बन्धित थिए । यी प्रत्येक क्षेत्रमा अमेरिकी हितलाई उन्नत बनाउन कार्टरका योगदान सम्झेर पनि म चकित भएँ ।

कार्टरले इजरायललाई बलियो बनाएर यो क्षेत्रसँग जोडेका थिए । उनले ताइवान र चीनबीच शान्तिका लागि नापितुली सन्तुलन कायम गरे । उनले सोभियत सङ्घसँग अमेरिकी प्रतिस्पर्धाको निर्णायक चरणको तयारीका लागि आधार तयार गरे ।

यी सबै ‘निर्माण ब्लक’ टिकाउ साबित भएका छन् । आजका नीतिनिर्माता कार्टरले बनाएका तिनै आधारमा उभिएका छन् । तर, यी यथार्थलाई अक्सर बेवास्ता गरिन्छ ।

कार्टरको एक मात्र कार्यकालको सार्वजनिक स्मृतिलाई बिरलै विदेश नीति सम्बन्धसँग जोड्ने गरिन्छ । धेरैको दिमागमा आर्थिक असहजता नै आउँछ । तसर्थ मानिसहरू कार्टर विदेश नीतिमा पनि असफल थिए भन्ने ठान्दछन् ।

तर, म सरकारमा हुँदा होस् वा त्यसयता मैले कार्टरको विदेश नीतिमा आधारभूत चरित्र पाएको छु । यही डिसेम्बर २९ मा १०० वर्षको उमेरमा उनको मृत्यु, जर्जियाको आफ्नो समुदायदेखि धर्तीको कुनाकुनासम्म फैलिएको जीवनभरिको सेवाको प्रशंसा र पुनर्मूल्याङ्कनका लागि यो उचित क्षण हो । 

शान्ति निर्माता

क्याम्प डेविड सम्झौता र इजरायल–इजिप्ट शान्ति सन्धिले एक अमेरिकी राष्ट्रपतिका रूपमा उनको व्यक्तिगत कूटनीतिक उत्कृष्टताको उदाहरण प्रतिनिधित्व गर्दछ ।

सन् १९७७ मा कार्टर ह्वाइट हाउस प्रवेश गर्दा इजरायल युद्धको अवस्थामा थियो । इजरायलले बितेको ३० वर्षमा आफ्ना अरब छिमेकीसँग ४ वटा ठूला युद्ध लडिसकेको थियो । तीमध्ये कसैसँग पनि त्यसको कूटनीतिक सम्बन्ध थिएन ।

कार्टरले इजरायलको नाजुकतालाई स्वीकार गरे । उनका प्रत्येक सल्लाहकारले ‘मध्यपूर्वको अवस्थाबाट बाहिरै रहन’ सुझाएका थिए । तर, पद सम्हालेको पहिलो दिन नै कार्टरले सो क्षेत्रको शान्तिलाई उच्च प्राथमिकतामा राखेको घोषणा गरे ।

सन् १९७८ को सेप्टेम्बरमा कार्टरले इजरायल र इजिप्टका नेताहरूलाई मेरिल्याण्डको पहाडमा राष्ट्रपतीय रिट्रिटका लागि भेला गरे । त्यो बेला अमेरिकी अर्थतन्त्र आफैँ सङ्घर्षरत थियो । इरान क्रान्तितर्फ अघि बढिरहेको थियो । मध्यावधि निर्वाचन आइरहेको थियो । तर, कार्टरले यी सबै कुरा छोडेर क्याम्प डेविडमा १३ दिन बिताए ।

इजरायली प्रधानमन्त्री मेनाकेम बेगिन र इजिप्टका राष्ट्रपति अनवर सदात बीचको सम्झौतालाई टार्न सक्ने अवरोध हटाउन आफ्नो अधिकारभित्रका सबै उपकरण प्रयोग गरे । उनले इजरायल र इजिप्टलाई अमेरिकी सहायता गुमाउनु पर्ने धम्कीसमेत दिए । दुई नेतालाई युद्धको भयावहताबाट शान्तिको मैदानमा ल्याउन अमेरिकी शक्ति र आदर्शका सबै मान्यतासहित प्रयास गरे ।

कार्टर यस्ता काममा नितान्त व्यक्तिगत दृष्टिकोण अपनाउँथे । सदात वार्ता छोड्ने बिन्दुमा पुगेका थिए । त्यो बेला कार्टरले भनेका थिए – त्यसो गरे मेलै एउटा ठूलो चिज, बहुमूल्य सम्पत्ति गुमाउनेछु, त्यो हो–मित्रता र सम्मान ।

बेगिनसँग कार्टरले अन्तरङ्ग र भावनात्मक पारिवारिक कुरा गरेका थिए । उनले भनेका थिए – म बेगिनका नातिनातिनाका लागि एक फोटोमा हस्ताक्षर गर्न चाहन्छु, जसमा लेखिएको थियो–यो क्षण तपाईंका हजुरबा र मैले मध्यपूर्वमा शान्ति ल्याएका थियौँ ।

यो प्रस्तावले असफलताको अर्को क्षणमा वार्ता तोड्न लागेका बेगिनलाई फेरि टेबुलमा ल्यायो । अन्त्यमा सिधै वार्ता गर्न सधैँ अस्वीकार गरेका बेगिनसदात कार्टरको निजी प्रयासमा सहमतिमा आए । सन् १९७८ सेप्टेम्बर १७ मा क्याम्प डेविड सम्झौतामा हस्ताक्षर भयो ।

कार्टरको काम यतिमै रोकिएन । औपचारिक सम्झौतामा पुग्ने प्रक्रिया कठिन साबित भयो । विशेषगरी पश्चिमी किनारामा इजरायली बस्ती बसाल्ने विषयमा बेगिन र कार्टरबीच आधारभूत बिमति थिए । यस जटिलताले गर्दा केही दिनमा हुनुपर्ने काम गर्न महिनौँ लाग्यो । सन् १९७९ को मार्चमा यो गतिरोध तोड्न कार्टर सफल भए । यसका लागि सफलताको कुनै सुनिश्चितता बिना कार्टर जेरुसेलम र कायरोसँग महिनौँ व्यक्तिगत वार्तामा संलग्न रहे ।

क्याम्प डेविड सम्झौताको ६ महिनापछि मार्च २६ मा सदात र बेगिनले हाइट हाउसको नर्थ लनमा कार्टरसँगै उभिएर इजरायल–इजिप्ट शान्ति सम्झौतामा हस्ताक्षर गरे ।

यो सम्झौता आज पनि कायम छ । अरब–इजरायल शान्ति स्थापनाको दशकौं लामो प्रयासको सबैभन्दा महत्वपूर्ण उपलब्धि मानिन्छ । इजरायल–इजिप्ट सम्बन्ध बलियो र स्थिर रहेको छ । गाजामा जारी युद्धबाट उत्पन्न स्थितिले इजिप्टमाथि अवश्य दबाब सृजना गरेको छ । तर, सन् २०११ मा इजिप्टका शक्तिशाली नेता होस्नी मुबारकको पतन र मुस्लिम ब्रदर्सहुडको उदयले पनि त्यो सम्झौता तोड्न सकेनन् ।

शान्ति सम्झौताको एक अंश अमेरिकाले इजिप्ट र इजरायल दुवैलाई आर्थिक र सैन्य सहायता गर्ने प्रतिबद्धता थियो, यो प्रतिबद्धता अहिले पनि लागू छ । त्यसयता यी दुवै देश अमेरिकी सैन्य सहायता प्राप्त गर्ने देशको सूचीमा उच्च स्थानमा रहँदै आएका छन् ।

दुर्भाग्य वा कार्टरको सोचका लागि सबैभन्दा निराशाको कुरा शान्ति सम्झौता इजरायल–प्यालेस्टाइन बीचको मुद्दालाई सम्बोधन गर्न भने असमर्थ रह्यो, जुन अहिले पनि यस क्षेत्रको तनावको केन्द्रबिन्दुमा छ । तर, त्यसपछिका दिनमा पनि कार्टरले एक उत्तरदायी र सृजनशील समस्या समाधान प्रक्रियाका लागि प्रयत्न गरिरहे ।

सन् १९९१ को मड्रिड सम्मेलन, सन् १९९३ र १९९५ को ओस्लो सम्झौता क्याम्प डेविड सम्झौतामै आधारित थिए । तर, क्याम्प डेविडमा प्यालेस्टाइनीले भाग नलिँदा कार्टर नेतृत्वको प्रयत्न सधैँका लागि असम्भव बन्न पुग्यो । सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमण र त्यसयताको मानवीय त्रासदीले कार्टरका यी प्रयत्नको कठोर सम्झना गराउँछ ।

क्षेत्रको पुनर्निर्माण

कार्टरले रणनीतिक रूपमा मध्यपूर्वतर्फ अमेरिकी नीतिलाई पुनर्निर्देशित गरेका थिए । इरानी क्रान्तिले तेलको मूल्य अकासियो । त्यसको फाइदा सोभियत सङ्घलाई भयो । यसबाट बलियो भएका सोभियतहरूको साहसिक कार्य अफगानिस्तानतिर सोझियो । कार्टरले बढ्दो उर्जा लागत र सोभियत शक्ति विस्तारको चुनौती सामना गर्नुपर्‍यो ।

त्यसपछि उनले पर्सियन खाडीबाट तेलको स्वतन्त्र प्रवाह सुनिश्चित गर्न प्राथमिकता दिए । मध्यपूर्वलाई नियन्त्रण गर्ने शत्रु शक्तिले अमेरिका र यसका साझेदार देशको अर्थतन्त्रलाई कमजोर बनाउन सक्थ्यो । यसैले सन् १९८० को सङ्घीय सम्बोधनमा कार्टरले द्विविभाजनीय समर्थनका लागि नयाँ सीमारेखा खिचे ।

उनले भनेका थिए –पर्सियन खाडी क्षेत्र नियन्त्रण गर्न कुनै बाह्य शक्तिले गरेको प्रयास अमेरिकी हितमाथिको आक्रमणका रूपमा लिइने छ । यस्तो प्रयासलाई सैन्य बल आक्रमणलगायत आवश्यक सबै माध्यमद्वारा प्रतिवाद गरिने छ ।

यही प्रतिबद्धतालाई बल प्रदान गर्न कार्टरले द्रूत सैन्य बल तैनाथ गरे । जुन आज अमेरिकी केन्द्रीय कमान्डमा छ । आजसम्म मध्यपूर्व र मध्य एसियामा सेनाको प्राथमिक उपस्थितिको आधार बनेको छ । यो कुरा अब ‘कार्टर सिद्धान्त’का रूपमा मान्यता प्राप्त छ । यसले क्षेत्रीय शक्तिहरूलाई आफ्नै सुरक्षा क्षमताअनुरूप विकास गर्ने अनुमति दिँदै दशकौंदेखि अमेरिकी हितहरूको रक्षा गरेको छ ।

सन् २०१२ मा ओबामा प्रशासनका बेला हर्मुज जलडम्मरू बन्द गर्ने इरानी धम्कीलगायत धेरै अवसरमा मैले यो कुरा भन्ने गरेको छु ।

मध्यपूर्वमा कार्टरको भागमा परेका सबैभन्दा नराम्रो छविको अंश मरूभूमिमा खसालिएको विमानको भग्नावशेष हो । तेहरानमा बन्धक बनाइएका ५३ अमेरिकी बन्धकलाई मुक्त गर्ने सन् १९८० को ‘अप्रसेन इगेल क्राउ’ असफल भएको थियो ।

कार्टर प्रशासनको इरानसँगको मुठभेडको समीक्षा गर्नु पीडादायी हुन्छ । इरानी क्रान्तिको सुरुवातदेखि नै त्यहाँ अमेरिकी गुप्तचर संयन्त्र कमजोर देखिएको थियो । कूटनीतिक गल्ती र कारबाहीमा त्रुटीका कारण त्यहाँ ८ जना क्रू मेम्बरको ज्यान गएको थियो । यो असफल मिसनले अमेरिकालाई मात्र क्षति गरेन, कार्टरको राष्ट्रपति पदलाई चौपट पार्दियो ।

तर, कार्टर प्रशासनकालको यो असफल उद्धार प्रयास कारबाहीबाट अमेरिकाले धेरै अनुभव सिकेको छ । पछि पेन्टागनले त्यसो हुनुका कारणको समीक्षा गर्‍यो । सेनाका विभिन्न शाखाको एकीकृत क्षमता विकास गर्ने विशेष कारबाही तत्वको आवश्यकता उजागर गर्‍यो । सन् १९८० मा कार्टरले संयुक्त विशेष अपरेसन कमाण्ड स्थापना गरे । खतरनाक स्थानमा कारबाही गर्न गुप्तचरी, प्रशिक्षण र कार्यचतुर सेनाको संयुक्त बल निर्माण गरे ।

यसैले स्थापनाको ३० वर्षपछि ओबामा प्रशासनकालमा पाकिस्तानको अवोटावादमा ओसामा बिन लादेनलाई मारेको थियो, जसलाई ‘सिल टिम सिक्स’ भनिन्छ । यस कारबाहीका लागि ओमाबासँग सन् २०११ मा जुन सम्पत्ति उपलब्ध थियो, त्यो सन् १९८० मा कार्टरसँग थिएन ।

चीनको व्यवस्थापन

पछि कार्टर भन्थे – मेरो राष्ट्रपतिकालको सबैभन्दा महत्वपूर्ण निर्णय सन् १९७९ मा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना थियो ।

त्यसको ७ वर्षअघि नै तत्कालीन राष्ट्रपति रिचर्ड निक्सन र राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिञ्जरले सम्बन्ध सामान्यीकरण बाटोमा लगेका थिए तर, त्यो सीमित थियो ।

सम्बन्धको पूर्ण सामान्यीकरण तर्फको प्रगति ताइवान, भियतनाम युद्धका त्रासदीप्रतिको विमति र रिपब्लिकन विपक्षको विरोधका कारण रोकिएको थियो । निक्सनको राजीनामा र चिनियाँ नेता माओ च तोङको निधनले यो प्रक्रियालाई प्रतिरोधमा फसाएको थियो ।

दुई देशका नेताबीच पछिल्लो भेट सन् १९७५ को डिसेम्बरमा भएको थियो, जब राष्ट्रपति जेराल्ड फोर्डले माओलाई बेइजिङमा भेटेका थिए । तर, कार्टर निक्सनले सुरु गरेको काम पूरा गर्न कटिबद्ध थिए ।

सन् १९७८ को डिसेम्बर १५ मा उनले चीनसँगको सम्बन्ध सामान्यीकरण गर्ने घोषणा गरे । कार्टर आफैँले व्यक्तिगत रूपमा विस्तृत निर्देशन दिएर दूत चीन पठाए । उनले चीनसँगको सम्बन्ध सामान्यीकरण गर्न ‘एक चीन नीति’लाई अघि बढाउन सहमति दिए ।

अर्कोतिर कार्टरले अमेरिका–ताइवान सम्बन्ध ऐनमा हस्ताक्षर गरे । यसले अमेरिका–ताइवान सम्बन्धलाई अनौपचारिक रूपमा बलियो बनाउँथ्यो । ताइवानका लागि आवश्यक प्रतिरक्षा उपलब्ध गराउने प्रतिबद्धता गर्दथ्यो ।

आज पनि यही नीति यस मामिलामा अमेरिकी नीतिका आधार बनेका छन् । यसले ताइवान र चीन दुवैसँगको सम्बन्धको जटिलता व्यवस्थापन गर्न स्थायी राजनीतिक सहमति सृजना गरेको छ ।

कार्टरले यी सम्झौता एक विशिष्ट भूराजनीतिक सन्दर्भमा हासिल गरेका हुन्, त्यो हो–शीतयुद्ध । त्यो बेला शीतयुद्धको तीव्र सघनीकरण भइरहेको थियो । चीनसँगको अमेरिकी सम्बन्धको सामान्यीकरणको महत्व एसियामा मात्र सीमित थिएन, यसले शीत युद्धकालीन सोभियत आक्रामकतालाई पनि सन्तुलन गर्दथ्यो । यसबाट दुई प्रमुख साम्यवादी देश पहिलाभन्दा धेरै विभाजित भए । साथै, सोभियत सङ्घमाथिको प्रहार बढ्यो । यहाँसम्म कि चीनले सोभियत आणविक तथा क्षेप्यास्त्र परीक्षण सुविधाहरूको निगरानी गर्न गुप्तचर केन्द्र स्थापना गर्नसमेत सहमति जनायो ।

कार्टरको यही नीतिको कारण ४० वर्षदेखि ताइवान प्रगतिमा छ । लोकतान्त्रिक अभ्यास गरिरहेको छ । विश्वकै उन्नत प्रविधिको एक उत्पादन गृह बनेको छ ।

मस्कोको सामना

हुन सक्दछ कार्टरको सबैभन्दा कम मूल्याङ्कन गरिएको विदेश नीति पहल सोभियत सङ्घको अन्तिम पतनका सुनिश्चित गर्न रहेको भूमिका हो ।

आफ्नो कार्यकालको अन्त्यतिर कार्टरले सोभियत सङ्घसँग धेरै जसो द्वन्द्वात्मक नीति अपनाए । यद्यपि उनका उत्तराधिकारी रोनाल्ड रेगनलाई शीतयुद्धको अन्त्यको श्रेय दिइन्छ तर, कार्टरले उनीपछिको कडा सोभियत नीतिका आधार तयार पारेका थिए ।

रेगन कार्यकालका सीआईएका कार्यवाहक निर्देशक गेट्सले पछि आफ्नो संस्मरणका लेखेका छन् –सोभियत उच्चताको मुखुन्डो उतार्न र सोभियत कमजोरीको वास्तविकता दोहन गर्न पहिलो कदम कार्टरले नै चालेका हुन् ।

कार्टरले सोभियत शासनको वैधतालाई सार्वजनिक रूपमा निरन्तर चुनौती दिए । उनले मस्कोले गर्ने मानव अधिकार उल्लङ्घनको आलोचना गरे । त्यसका अनगिन्ती घटनाको गवाह बने । त्यसले मस्कोको नैतिक प्राधिकारलाई चुनौती दिन्थ्यो । उनले सोभियत सङ्घबाट हुने मानव अधिकार उल्लङ्घनको प्रतिक्रिया स्वरूप केही नयाँ प्रतिबन्ध लगाए । सोभियत शासनसँग असन्तुष्ट व्यक्तित्वसँग कार्टर व्यक्तिगत रूपमै संलग्न हुन्थे । त्यसले सोभियत अधिकारीहरूलाई धेरै अप्ठ्यारोमा पार्थ्यो, एक प्रकारले विचलित बनाउँथ्यो ।

कार्टरले सोभियत सङ्घको सामना गर्न नयाँ आर्थिक तथा सैन्य क्षमता अघि बढाए । उनले अमेरिकी सेनाको व्यापक आधुनिकीकरण गरे । उनले भियतनाम युद्धपछिको अवस्थामा भएको अमेरिकी सैन्य खर्च कटौतीको निर्णय उल्टाइ दिए । त्यसले रोनाल्ड रेगनकालीन रक्षा शक्ति निर्माणको आधार बनायो ।

बार्सा प्याक्टको प्रतिवाद गर्न उनले नाटो रणनीतिलाई बलियो पारे । कार्टरले सैन्य परिचालन, सञ्चार र सैन्य रणनीतिको आधुनिकीकरण गरे । आणविक शस्त्रागार प्रणालीको नियन्त्रण र परिमार्जन गरे । लडाकु विमान प्रविधिको विकासलाई तीव्र पारे ।

पेन्टागन इतिहासकार एडवर्ड किफरकाअनुसार रेगन प्रशासनका धेरै काम कार्टरले नै सुरु गरेका थिए । कार्टरकै नेतृत्वमा ‘रेगनकालीन रक्षाक्रान्ति’ भएको हो ।

सन् १९८० को चुनावी अभियानमा रेगन कार्टरको रक्षा खर्च वृद्धि नीतिको विरोध गर्थे । पछि उनी आफैँले त्यसको प्रशंसा गर्न थाले । संसारभरि नै कार्टरले सोभियत सङ्घको सामना र प्रतिरोध गर्न कडा प्रयास गरेको देखिन्छ । विशेषगरी अफगानिस्तानमा जहाँ सोभियत सङ्घ करिब १ दशकको दलदलपछि पतन भयो ।

विरासतको लामो निरन्तरता

कार्टर ह्वाइट हाउसमा बसेको जम्मा ४ वर्ष हो तर, उनी अमेरिकी विदेश नीतिको ४० वर्षलाई आकार दिन सफल भए । उनका नीतिगत विरासत अहिले पनि मध्यपूर्व, बेइजिङ र मस्कोबारेका नीतिमा देख्न सकिन्छ तर, यो यतिमै सीमित छैन ।

उनले पश्चिमा गोलार्धसँगको सम्बन्ध गतिलो गरी स्थापित गरे । मानव अधिकारलाई अमेरिकी विदेश नीतिको एक तत्त्वका रूपमा माथि उठाए । नरसंहार विरुद्धको स्मरणका रूपमा अमेरिकी ‘होलोकस्ट म्युजियम’ बनाए । उनले अमेरिकी उर्जा सुरक्षालाई बलियो पारे ।

कार्टरले आफैँले बनाएका कतिपय सबलता, सक्षमता र दूरदर्शिताका कारण आफ्नो समयका चुनौतीलाई जितेका थिए । आफ्नो शताब्दी लामो जीवनमा उनले एक दिगो विरासत छोडेर गए ।

-द फोरेन अफेयर्सबाट अनुदित ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register