झौखेलमा राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ३१ रोपनी जग्गा

भक्तपुर ।  लामो समयदेखि ‘जग्गाको अभाव’ले भक्तपुर अस्पतालको नजिकै सानो ठाउँबाट सञ्चालन भइरहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जग्गाको अभावलाई बहाना मात्र बनाएको पाइएको छ । चाँगुनारायण नगरपालिकाको ३ नं वडाका वडाध्यक्ष श्याम सुन्दर धिमालले अस्पतालकै नाममा जग्गा हुँदै गर्दा पनि भवन निर्माण गर्न आनाकानी भइरहेको बताए ।  प्रत्यारोपण केन्द्रले विभिन्न स्थानको जग्गा अवलोकन गरिसकेपछि […]

Jan 16, 2025 - 06:37
 0
झौखेलमा राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ३१ रोपनी जग्गा

भक्तपुर । 

लामो समयदेखि ‘जग्गाको अभाव’ले भक्तपुर अस्पतालको नजिकै सानो ठाउँबाट सञ्चालन भइरहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जग्गाको अभावलाई बहाना मात्र बनाएको पाइएको छ । चाँगुनारायण नगरपालिकाको ३ नं वडाका वडाध्यक्ष श्याम सुन्दर धिमालले अस्पतालकै नाममा जग्गा हुँदै गर्दा पनि भवन निर्माण गर्न आनाकानी भइरहेको बताए । 

प्रत्यारोपण केन्द्रले विभिन्न स्थानको जग्गा अवलोकन गरिसकेपछि अन्तिममा गएर चाँगुनारायण नगरपालिका ३ झौखेलमा रहेको थानाको पाखा भन्ने स्थानको जग्गामा आवश्यक पूर्वाधार निर्माणका लागि चयन गरेको थियो । उक्त स्थान नै अस्पताल बनाउनका लागि भौगोलिक रुपमा योग्य ठहर भएपछि अस्पतालले २०७७ साल असोज २१ गते सो जग्गा प्राप्तिका लागि चाँगुनारायण नगरपालिकासँग माग गरेको थियो । नगरपालिका कार्यपालिकाले अस्पतालको माग बमोजिम असोज २५ गते नै उक्त जग्गा नेपाल सरकारको प्रचलित कानुन बमोजिम प्राप्त गर्न सिफारिस गर्ने निर्णयसहित अस्पताललाई पत्राचारसमेत गरेको वडाध्यक्ष धिमालले जानकारी दिए । 

अस्पतालले त्यसको ३ दिनपछि अर्थात् २८ गते नै उक्त जग्गा प्राप्तिका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग गरेको थियो । अस्पताललाई जग्गाको आवश्यकता रहेको बुझेर स्वास्थ्य मन्त्रालयले कात्तिक ५ गते नै सचिवस्तरीय निर्णय गरेर माग गरिएको जग्गाका लागि अनुमतिसमेत दिइसकेको थियो । 
अस्पतालले त्यसलगत्तै लिजमा जग्गा उपलब्ध गराउनका लागि स्थानीय सिफारिस समितिबाट सिफारिस गरिपाऊँ भनेर जिल्ला प्रशासन कार्यालय भक्तपुरसँग माग गरेको थियो । उक्त मागका आधारमा तत्कालीन प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको वैठकले वार्षिक न्यूनतम ३ लाख ३१ हजार ९८० रुपैयाँ राजस्व तिरेर ३१ रोपनी ७ आना जग्गा लिजमा उपलब्ध गराउन नेपाल सरकार भूमि व्यवस्था मन्त्रालयलाई सिफारिससमेत गरिसकेको थियो । 
मन्त्रालयले उक्त जग्गा अस्पताललाई उपलब्ध गराउन मंसिर १७ गते मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको थियो । पछि २०७८ साल जेठ १३ गते बसेको मन्त्रिपरिषद् वैठकबाटै सो जग्गा अस्पताललाई उपलब्ध गराउने निर्णय भएपछि मालपोत कार्यालय र अस्पतालबीच जेठ १८ बाट नै जग्गा अस्पतालको नाममा लिजमा दिने सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

जग्गाधनी प्रमाणपत्र अस्पतालले आफ्नै नाममा लिएर पनि जग्गाको अभावलाई अस्पताल विस्तारको बाधाका रुपमा देखाइरहेको चाँगुनारायण ३ का वडाध्यक्ष धिमालको आरोप छ । जग्गा प्राप्त गरी प्रारम्भिक स्थलगत नापी कार्यसमेत सकेपछि अस्पतालले निर्माण कार्य भने सुरु नगरेको उनले बताए । अस्पताललाई निर्माण कार्य सुरु गर्नका लागि धेरैपटक अनुरोध गर्दापनि वेवास्ता गरिरहेको उनको भनाइ छ । 

४०० शैयामा अस्पताललाई विस्तार गर्नका लागि भनी लिइएको जग्गामा आवश्यक सबै सहयोग आफूहरुले गर्ने प्रतिबद्धता गरेको भएतापनि अस्पताल प्रशासन इच्छुक नदेखिएको वडाध्यक्ष धिमालले आक्षेप लगाए । अस्पतालले पनि निर्माण कार्य अगाडि बढाउन कुनै योजना नबनएको र मानव अंग प्रत्यारोपण केन्द्रको नाममा उक्त जग्गा रहेका कारण त्यहाँ अन्य केही सञ्चालन गर्न नपाएको गुनासो वडा अध्यक्ष घिमालको रहेको छ । 

खेल उद्यान र जेष्ठ नागरिकका लागि पार्क बनाउने योजना बनाइएको उक्त स्थानमा देशभरका नागरिकलाई सेवा दिने अस्पताल बन्दा सबैका लागि सहज हुने सोचेर अस्पताललाई जग्गा उपलब्ध गराएको वडा कार्यालयको भनाई छ ।तर, प्रत्यारोपण केन्द्रले रोकेका कारण उक्त जग्गामा केही पनि गर्न नपाएको र अस्पताल बनाउनका लागि सक्दो सहयोग गर्ने भन्दै गर्दा पनि अस्पतालले निर्माण कार्य अगाडि नबढाउँदा उक्त जग्गा त्यतिकै खाली रहेकामा समेत वडा अध्यक्षको असन्तुष्टि रहेको छ । 

अस्पताल प्रशासनले जग्गा अभाव भएको बताउने र भएको जग्गा पनि भिरालो रहेको भन्ने धारणा दिँदै आएकोमा पनि वडाध्यक्षको असन्तुष्टि रहेको छ । ‘त्यस समयमा नै अस्पतालका डाक्टर, शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले निरीक्षण गरेर योग्य छ भनेको जग्गा अहिले आएर कसरी भिरालो भयो ?’– उनले प्रश्न गरे ।  

स्थानीय भागतराम गेलालले यो बिषयलाई राजनीति गर्ने भाँडो नबनाउन र यथाशीघ्र केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
उता शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भने सरकारले जग्गा उपलब्ध गराएको खण्डमा ६ महिनाभित्रैमा आफ्नै कमाईबाट अस्पतालको भवन निर्माण गर्ने दाबी गर्दै आएको छ । मानव अंग प्रत्यारोपण केन्द्रले हाल भक्तपुरको दूधपाटीस्थित भक्तपुर अस्पतालका लागि निर्माण गरिएको साँघुरो भवनबाट सेवा दिँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register