ओलीको एमालेः अरिंगाल हुँदै झोले यात्रा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि एक भाषणमा भनेका थिए– म झोले हो, झोले भएकोमा गर्व गर्छु । त्यसपछि उनले सोमबारबाट फेसबुकमा ‘म झोले हो’ डिजिटल अभियान नै सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले नमस्कार गरेको तस्वीरसहित ‘म झोले हो’ उद्घोष गरिएको पोस्टरमा ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा […]

Jun 4, 2025 - 03:01
 0
ओलीको एमालेः अरिंगाल हुँदै झोले यात्रा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि एक भाषणमा भनेका थिए– म झोले हो, झोले भएकोमा गर्व गर्छु ।

त्यसपछि उनले सोमबारबाट फेसबुकमा ‘म झोले हो’ डिजिटल अभियान नै सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले नमस्कार गरेको तस्वीरसहित ‘म झोले हो’ उद्घोष गरिएको पोस्टरमा ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिड्नु कयौं गुणा उत्तम चरित्र हो’ लेखिएको छ ।

पोस्टरसँगै ओलीले प्रष्टीकरण स्टाटससमेत पोस्ट गरेका छन् । त्यसमा भनिएको छ– हिजोआज एउटालाई भगवान् बनाउनु पर्यो भने सामुहिकतामा विश्वास राख्नेहरूलाई पहिले ‘झोले’ भनेर लखेटिन्छ र समाजलाई भीडमा बद्लिन्छ । भीडसंग बल अवश्य हुुन्छ तर सत्य नहुन सक्दछ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामुहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्वलाई जोगाउन पर्दछ ।

अध्यक्ष ओलीले यसरी झोले अभियान सुरु गरेपछि एमालेका अन्य नेता उपप्रधान एवं अर्धमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णुु पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, प्रमुख सचेतक महेश बर्तौला, सचेतक सुनिता बराललगायतले पनि आफूलाई झोले अभियानामा सामेल गरेका छन् । एमाले नेता–कार्यकर्ताले ओलीको ठाउँमा आफ्नो फोटो राखेर उही व्यहोराको पोस्टर राख्ने लहर नै चलाइरहेका छन् ।

अध्यक्ष ओलीको ‘झोले अभियान’मा साथ दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लामै स्पष्टीकरण लेखेका छन् । उनले ‘झोले पोस्टर’ सेयर गर्दै फेसबुकमा स्टाटसमा लेखेका छन्– अचेल सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको एउटा जमात इमान, निष्ठा र जनसेवाको राजनीति गरिरहेको पार्टी पंक्तिलाई निरुत्साहित गर्न गालीगलौजको अभियान नै चलाइरहेको छ । भनिन्छ, जहाँ तर्क सकिन्छ, त्यहीबाट गालीगलौज सुरु हुन्छ । उनीहरू चाहन्छन्– राजनीतिक कार्यकर्ता, कुनै नेतालाई मन पराउने कलाकार या नागरिक ‘सेल्फ सेन्सर्ड’ बनुन् र बोल्न छोडुन् । यो दुषित मनसायलाई हुर्किन दिनु हुन्न । सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न केको संकोच ?’

अध्यक्ष ओली र उपमहासचिव ज्ञवालीका यी भनाइबाट प्रष्ट हुन्छ– एमाले पंक्तिले ‘म झोले हो’ अभियानलाई सकारात्मक अर्थ र संगठित प्रतिवादका रुपमा बुझेको छ । दुवै नेताले ‘झोले’को आरोप मुख्यतः राजावादीबाट आएजस्तो भान दिन खोजेका छन् । अर्थात् राजावादी आन्दोलनको दबाबलाई प्रतिवाद गर्नु एमालेको झोले अभियानको एउटा उद्देश्य हुन सक्दछ ।

उदाहरणका लागि ज्ञवालीको फेसबुक स्टाटसलाई मान्न सकिन्छ । जहाँ भनिएको छ– वंशवाद र जन्मजात श्रेष्ठताको सामान्ती मान्यता बोक्ने रैती बन्नुमा गर्व गर्ने तर प्रतिस्पर्धात्मक लोकतन्त्रका पक्षधरलाई चाहिँ झोले भन्दै खिसिट्यिुरी गर्ने ! ’

एमालेले ‘झोले अभियान’मार्फत आफ्नो प्रतिवाद र आत्मरक्षालाई राजावादीप्रति लक्षित गर्न खोजे पनि स्वतन्त्र नागरिक र लोकतन्त्रवादी जमातले समेत ‘झोले’ हुनुलाई गर्व र सकारात्मक अर्थमा बुझेको पाइएन ।

नागरिक प्रथम अभियानमा प्रवक्ता प्रशान्त सिंहले भनेका छन् ‘झोले भनिराख्दा नेपालबासीले आस्था र राष्ट्रप्रति कर्तव्यनिष्ठ र इमान्दार कार्यकर्तालाई जनाएका हैनन्, आफ्ना नितान्त व्यक्तिगत स्वार्थपूर्तिका लागि राजनीतिक आस्था र राष्ट्रिय स्वार्थ दुवैलाई दाउमा राखी कुनै खास नेता/परिवार/गुटको जयजयकार गरी बस्ने निकृष्ट मान्छेलाई जनाएका हुन । झोलेहरूको आत्मस्वीकृति स्वागतयोग्य छ ।’

नेपाली राजनीतिमा ‘झोले’ शब्दले निष्ठा, सामुहिकता र इमानको होइन, दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र, अल्पतन्त्र र सिन्डिकेटतन्त्रको प्रतिरक्षा गर्ने अन्धभक्त जमात भन्ने अर्थ दिन्छ । आलोचनात्मक चेत र विवेकसम्मत विश्लेषणबिनै आफ्नो पार्टी र नेताको प्रतिरक्षा गर्ने प्रवृत्तिलाई खासमा ‘झोले’ भनिएको हो । एमालेपंक्तिले झोले अभियान सुरुवात गर्दा आमरुपमा बुझिने यो अर्थलाई उल्टाउन खोजेको छ । आममानिस वा सामाजिक सञ्जाल प्रयोगकर्ताले झोले हुनुलाई नकारात्मक अर्थमा लिन्छ, तर एमालेले भने झोले हुनु राम्रो र गर्वको विषय हो भन्ने सन्देश दिन चाहेको छ ।

एमाले पंक्तिले अध्यक्ष ओलीको सिको गर्दै ‘म झोले हो’को लहर चलाई रहँदा ‘म झोले हैन’ लेख्नेहरूको पनि प्रतिलहर नै चलेको छ । लेखक तथा स्तम्भकार डम्बर खतिवडाले लेखेका छन्– हामी रैती, प्रजा, दास, झोले, अरिङ्गाल थिएनौं, हैनौं, र हुने छैनौं । हामी सधै सार्वभौम नागरिक थियौं, सार्वभौम नागरिक हौ र हुनेछौं ।

खतिवडाले जस्तै हामी झोले वा रैती हैनौं, सार्वभौम नागरिक हौं लेख्ने प्रतिलहरले एमाले लहरलाई सामाजिक सञ्जालमा चुनौती दिइरहेको छ । जस्तो कि, विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले लेखेका छन्– म झोले, झ्याम्टे, ढोके, हुक्के, बैठके, दास, रैती, रंक हुन्नँ, म सार्वभौम र विवेकशील नागरिक हुँ ।’

आधुनिक लोकतान्त्रिक राष्ट्रिय–राज्यभित्र बसोबास र राजनीतिक, आर्थिक, सामाजिक अधिकार प्रयोग गर्ने ‘मान्छे’ खासमा को हुन ? तिनले के भनिन उचित हो ? प्राकृतिक रुपमा ‘मानव’ भनिएको प्राणीलाई राजनीतिक रुपमा कुन संज्ञा दिने ? एमालेको ‘झोले अभियान’ले यो बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ ।

राणा शासनकालमा आममानिसलाई ‘रैती’ भन्ने गरिन्थ्यो । रैतीको अर्थ कानुनी हैसियत नभएको वा कानुनी हैसियत भएको स्वामीसँगसँगै हस्तान्तरण भएर जान हुन्थ्यो । राणा शासनकालमा जमिन्दारी प्रथा थियो । जमिनको नापी र लालपूर्जा वितरण भएको थिएन । जमिन्दारले आपसमा जमिनदारी खरिद–बिक्री गर्न सक्थे । यसरी जमिन्दारी किनबेच हुँदा त्यहाँ बसेका मानिस पनि सँगसँगै किनबेच हुन्थे वा खरिद गर्ने मालिकका बन्न पुग्थे ।

राजनीतिक दर्शनमा ‘रैती’ को अर्थ ‘सब्जेक्ट’ लाई ‘अब्जेक्ट’जस्तो व्यवहार गर्नु वा गरिएको अवस्था भन्ने बुझिन्छ । राणाकालमा आम दुनियाँको कानुनी हैसियतलाई स्वीकार गरिएको थिएन । ती राणा, भाइभारदार, जमिन्दार र कारिन्दाहरूले शासन गर्ने ‘अब्जेक्ट’ मात्र थिए ।

संभवत् रैती शब्द आज कसैले मन पराइरहेको छैन । राजतन्त्रको पैरवी गर्ने राजावादीले समेत ‘म रैती हो, रैती भएकोमा गर्व गर्छु’ भन्दैनन् । भलैकि उनीहरूको चिन्तन प्रणाली र तर्कशास्त्रमा ‘रैतीतन्त्र’को चर्को गन्ध छ ।

राणा शासनको अन्त्यसँगै ‘रैती’ छोडेर ‘प्रजा’ भन्न थालियो । ‘प्रजा’को अर्थ रैतीको भन्दा केही फरक हुन्छ । ‘राजा’ले कानुनी स्वामित्व दिएर राखेका वा पालन गरेका अथवा राजाको राजमा आम दुनियाँको हैसियत पाएका मान्छे भन्ने अर्थमा ‘प्रजा’ शब्दको प्रयोग गर्न थालियो ।

शाह राजाहरूलाई प्रजा शब्द प्रिय थियो । उनीहरूले ‘चोवाङ’ ( चेपाङ ) जातिलाई प्रजा थर नै दिएर ‘प्रजा विकास समिति’ बनाए । उनीहरू जनतालाई ‘हाम्रा प्यारा प्रजा’ भन्थे । राजा वा राजतन्त्रवादीले ‘प्रजा’ शब्द प्रयोग गर्नु ठीकै होला ।

तर, दूर्भाग्यको कुरा– लोकतान्त्रिक आन्दोलनका दल र नेताले समेत यसको अर्थभेद गर्न चाहेनन् । ‘डेमोक्रेसी’लाई लोकतन्त्र, जनतन्त्र वा नागरिकतन्त्र भनिनु पर्नेमा नेपाली कांग्रेस र नेपाल कम्युुनिष्ट पार्टीले समेत लामो समयसम्म ‘प्रजातन्त्र’ भने ।
नेपालको पहिलो राजनीतिक दलको नाम नै ‘प्रजा परिषद्’ थियो । त्यो बेला संवैधानिक राजतन्त्र र बहुदलीय लोकतन्त्रमा विश्वास गर्ने कांग्रेसजस्ता दलले ‘प्रजातन्त्र’ भन्नु ठीकै हुन्थ्यो । किनकि तिनले राजाको अस्तित्वलाई स्वीकार गर्थे । प्रजाको हित अधिनस्थ बस्ने राजाको आर्दश कल्पना गर्थे, जो नेपालको राजनीतिक व्यवहारमा कहिल्यै सत्य सावित भएन ।

सायद यस अर्थमा २०४७ सालको संविधान क्रियाशील रहँदासम्म ‘प्रजातन्त्र’ भनिनु ठीकै थियो । तर, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि ‘प्रजा’ वा ‘प्रजातन्त्र’ शब्द असान्दर्भिक भइसकेको छ । गणतन्त्रले राजाको अस्तित्व स्वीकार नगर्ने हुँदा ‘राजा’ र ‘प्रजा’ जस्तो वर्गिकरण नै अर्थहीन हुन पुग्दछ ।

साम्यवादी दर्शनले भने लोक, जन वा नागरिकजस्ता अवधारणालाई त्यति मूर्त र प्रष्ट मान्दैन । माक्र्सवादमा विश्वास गर्नेका लागि ‘बुर्जवा’ र ‘सर्वहारा’ दुई प्रकारका मान्छे हुन्छन् । कम्युनिष्ट पार्टीको राजनीतिक कार्यभार बुर्जुवाबाट खोसेर ‘सर्वहारा वर्गको अधिनायकत्व’ भएको राज्य बनाउनु हो ।

अर्थात् कम्युनिष्ट विचारमा आम मानिस ‘सर्वहारा’ हुन्, भलै कि कम्युनिष्ट पार्टीहरू नै आज विचारबाट टाढिएका छन् र आफूलाई लोकतान्त्रिक दल नै मान्दछन् । निजी विवेक र चेतनाको प्रयोग नगरिकन पार्टी र नेताको निर्देशन र निर्णयलाई समर्थन र प्रतिरक्षा गर्ने नेताको गुटका सदस्य वा पार्टी कार्यकर्ताको समूहलाई यहाँ ‘झोले’ भनिएको हो । यो समस्या सबैभन्दा चर्को गरी पछिल्लो समयमा अरु दलमा भन्दा एमालेमै देखा परेको थियो ।

मनमोहन अधिकारी र मदन भण्डारीको नेतृत्वकालमा एमाले लोकतान्त्रिकरणको प्रयास गरिरहेको ‘जनताको बहुदलीय जनवादी’ कम्युनिष्ट समूह मानिन्थ्यो । ‘माक्र्सवादको सृजनशील विकास र कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण’ अधिकारी–भण्डारीकालीन लोकप्रिय नारा थिए ।

केपी शर्मा ओलीको नेतृत्वकालमा एमालेको आन्तरिक लोकतान्त्रिकरणको प्रयास शिथिल मात्रै होइन, उल्टो दिशामा अघि बढेको धेरैले महसुस गर्न थाले । २०७४ को वाम गठबन्धन र त्यसपछिको कम्युनिष्ट एकताको अवधिमा अध्यक्ष ओलीले पार्टीका आलोचकविरुद्ध अरिङ्गाल भएर खन्निन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

त्यसपछि एमाले पार्टी कार्यकर्ताको एउटा चरित्र ‘अरिङ्गाल’ बन्यो । यसको अर्थ हुन्छ– विरोधी वा आलोचकमाथि एक मुख भएर खन्निनु र विषक्ता ढंगले टोक्नु । तर, यो प्रवृति एमालेमा मात्र सीमित चाँहि भएन । सहकारी ठगी प्रकरण चर्चाको पराकाष्ठामा भएको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तामा ठीक यस्तै चरित्र देखिएको थियो ।

अन्ततः रास्वपाले आफ्ना समर्थकलाई त्यस्तो प्रवृत्ति त्याग्न सार्वजनिक अपिल नै गर्न पर्यो । खासमा राजावादीहरू यतिखेर सामाजिक सञ्जालमा त्यसरी नै आक्रोशित भएका छन्, जतिले संसद् विघटनका समयमा एमाले र सहकारी ठगी प्रकरणमा रास्वपा कार्यकर्ता थिए ।

ओली नेतृत्वकालमा एमालेको लोकतान्त्रिक निष्ठाप्रति चर्को आशंका उत्पन्न भएको दुईपटकको असंवैधानिक संसद् विघटनको अवधिदेखि नै हो । आलोचकहरूले त्यसलाई ‘ओलीको प्रतिगमन’ भन्ने गरेका थिए । यही निहुँमा दुई पूर्वपार्टी प्रमुख माधवकुमार नेपाल र झलनाथ खनालसहितको प्रयासमा एमाले विभाजित भयो ।

आज एमाले मात्र होइन, सबैजसो दल ‘दलीय प्रणाली’को निष्ठा र मर्यादाबाट च्यूत भएर ‘दलतन्त्र’मा पतन भएको आम गुनासो छ । मानिसले दलीय प्रणालीमा विश्वास गर्ने वा दलको सदस्यता लिएकै कारणले ‘झोले’ संज्ञा दिएका हैनन् । खासमा यो ‘दलतन्त्र’का समर्थकप्रति प्रयोग भएको आलोचनात्मक शब्द हो । दलमा लागेका वा दलको सदस्यता लिएका सबैलाई ‘झोले’ भनिएको हैन । दल र नेताका कमजोरी, जनविरोधी निर्णय र कदम, कुशासन र भ्रष्टाचारलाई समेत दलीय स्वार्थमा अन्धभक्त पाराले समर्थन गर्ने गुटका सदस्यलाई मात्र ‘झोले’ भनिएको हो ।

झोले– आफ्नै चेतना, विवेक र विश्लेषण प्रयोग नगर्ने, नेताको आदेशनिर्देश तामेली गर्न राजनीतिक स्बार्थमा कसैले भिराई दिएको विचार र एजेण्डा बोकेर हिड्ने जमातलाई भनिएको हो ।
‘सार्वभौम नागरिक’ र ‘झोले’ बीच अन्तर्यकै भिन्नता हुन्छ । ‘नागरिक’ दल र नेताभन्दा पनि माथि हुन्छ । त्यसैले ‘सार्वभौम’ भनिएको हो । नागरिकले दल, नेता, विचार, एजेण्डा, राजनीतिक स्थिति र परिवेशको आफ्नै चेतना र विवेकले समेत विवेचना र बिश्लेषण गर्दछ । निश्चित मापदंड र मूल्य प्रणालीका आधारमा ठीक–बेठीक, सत्य–असत्य, राम्रो–नराम्रो, उचित–अनुचित, न्याय–अन्याय भेद गर्दछ । सोही अनुरुप निर्णय र समर्थन गर्दछ ।

तर, ‘झोले’ मा यस्तो चिन्तन, चेतना र विवेक हुँदैन । उसले आफ्नो दल, नेता र गुटको स्बार्थ मात्र हेर्छ । देश र जनतालाई फाइदा बेफाइदा भए नभएको संग ‘झोले’ लाई कुनै मतलब हुँदैन । पार्टी जोगाउने, पार्टीभित्रको आफ्नो गुटलाई बलियो बनाउने, नेतृत्वको रक्षा गर्ने, नेताबाट आर्शिवाद र संरक्षकत्व प्राप्त गर्ने, निजी राजनीतिक करिअर सुनिश्चित गर्ने स्वार्थका लागि देश, जनता, अर्थतन्त्र, विधिको शासन र ऐतिहासको कार्यभारप्रति घात गर्न सक्ने समूह नै खासमा ‘झोले’ प्रवृति हो ।

‘म झोले हो’ भन्ने अभियान चलाएर अध्यक्ष ओली र एमाले पार्टीले आफ्ना कार्यकर्ता र समर्थकलाई यस्तै ‘झोले’ बनाउन खोजेको हो भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ ।

आधुनिक लोकतान्त्रिक राष्ट्रिय–राज्य र यसमा क्रियाशील दलहरूले मानिसलाई रैती, प्रजा, दास, झोले, अरिङ्गाल होइन, सार्वभौम ‘नागरिक’ बन्न प्रेरित गर्नु पर्ने हो । दूर्भाग्यको कुरा सत्ताको नेतृत्व गरिरहेको दल नै मान्छेलाई सार्वभौम नागरिकको साटो ‘झोले’ बन्न प्रेरित गरिरहेको छ ।

राजावादीले नागरिकलाई रैती वा प्रजाजस्तो बनाउन खोज्नु तथा दलहरूले पार्टी अनुशासनका नाममा अन्धभक्त, झोले र अरिङ्गाल बनाउन खोज्नु आधारभूत रुपमा भिन्न कुरा होइन ।

राजतन्त्र परम्परागत सामन्ती युगको ‘दासप्रथा’ हो । दलतन्त्र आधुनिक लोकतान्त्रिक युगको ‘दासप्रथा’ हो । समय र सन्दर्भ फरक हो । युुग र परिवेश फरक हो । तर, ‘दासप्रथा’ को अन्तर्य उस्तै हो । दास प्रथाको उद्धेश्य नै हो– मानिसलाई सार्वभौम, स्वतन्त्र र विवेकयुक्त हुन नदिनु ।

शक्तिसंरचनाको कुनै न कुनै कडी वा निहुँले बाँधेर मान्छेले आफ्नो सत्ता स्वार्थ, सुख र वैभवका लागि दुरुपयोग गर्नु नै दासप्रथाको सार हो ।

तसर्थ ओलीको ‘म झोले हो’ अभियानले राजावादीको ‘रैतीतन्त्र’ वा ‘प्रजाप्रथा’ लाई प्रतिवाद गर्न सक्दैन । यो अभियान प्रकारान्तरले ओली र एमालेकै लागि हानिकारक सिद्ध हुन सक्दछ । आधुनिक लोकतन्त्रका सार्वभौम नागरिकले आफूलाई ‘झोले’ ठान्दैनन् र ‘झोले’ बन्न, बनाउन पनि चाहँदैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register