‘राजाहरूका राजा’ गद्दाफी : लिबियालाई धनी बनाउँदै गर्दा ‘अरब स्प्रिङ’को शिकार बने

सन् १९७० जनवरी १६ मा लिबियाको प्रधानमन्त्री बनेका मुअम्मर गद्दाफीले आफ्नो शासन ४२ वर्षसम्म चल्छ र त्यसको नतिजा कस्तो हुन्छ भन्ने कल्पना पनि गरेका थिएनन् । सत्तामा रहँदा उनले आफ्नोविरूद्धका कुनै पनि प्रकारको विरोधलाई क्रूरतापूर्वक कुल्चिए । सायद यही कारणले गर्दा उनको अगाडि अरू कुनै नेतृत्वमा आउन सकेनन् । तर, सन् २०११ मा ट्युनिसियाबाट सुरु […]

Jan 18, 2025 - 08:18
 0
‘राजाहरूका राजा’ गद्दाफी : लिबियालाई धनी बनाउँदै गर्दा ‘अरब स्प्रिङ’को शिकार बने

सन् १९७० जनवरी १६ मा लिबियाको प्रधानमन्त्री बनेका मुअम्मर गद्दाफीले आफ्नो शासन ४२ वर्षसम्म चल्छ र त्यसको नतिजा कस्तो हुन्छ भन्ने कल्पना पनि गरेका थिएनन् ।

सत्तामा रहँदा उनले आफ्नोविरूद्धका कुनै पनि प्रकारको विरोधलाई क्रूरतापूर्वक कुल्चिए । सायद यही कारणले गर्दा उनको अगाडि अरू कुनै नेतृत्वमा आउन सकेनन् ।

तर, सन् २०११ मा ट्युनिसियाबाट सुरु भएको अरब स्प्रिङको बाढीले ‘कर्नेल’ गद्दाफीलाई पनि बगायो ।

२० अक्टोबर २०११ मा विद्रोहीद्वारा मारिएका गद्दाफी बेदुइन जनजातिका किसानका छोरा थिए । गाउँबाट सुरु गरेर उनी कसरी अरब संसारको प्रभावशाली नेता बने ? त्यसबारे विस्तृतमा जानौँ –

बाल्यकाल

इन्साइक्लोपीडिया ब्रिटानिकाकाअनुसार गद्दाफीको जन्म सन् १९४२ मा भएको थियो । उनका बुवा बेदुइन किसान थिए ।

आफ्नो विद्यालय शिक्षा पूरा गरेपछि गद्दाफी विश्वविद्यालय शिक्षा हासिल गर्न बेनगाजी शहर पुगे ।

सन् १९६१ मा राजनीतिक झुकाव र विचारधाराका कारण उनी विश्वविद्यालयबाट निष्कासन हुनुपरेको थियो ।

पछि गद्दाफीले लिबिया विश्वविद्यालयबाट कानूनमा डिग्री प्राप्त गरे । त्यहाँ उनले लिबियाको सेनामा भर्ती हुने मौका पनि पाए ।

त्यतिबेला सेनामा काम गरेर राम्रो शिक्षा प्राप्त गर्न सकिन्छ । साथै, सेनालाई राम्रो आर्थिक विकल्पको रूपमा हेरिन्थ्यो ।

त्यसैले होला उच्च शिक्षा पूरा गर्नुअघि नै उनी सेनामा भर्ना भएका थिए । उनको निर्णयले एक दिन सत्ताको नजिक पुर्‍यायो ।

युवावस्थामा गद्दाफी इजिप्टका गमाल अब्दुल नासेर र उनको नीतिको प्रशंसक थिए ।

सन् १९५६ मा इजिप्टले स्वेज नहरमाथि कब्जा जमाएपछि बेलायत, फ्रान्स र इजरायलले गरेको आक्रमणको विरोधमा अरब संसारमा सुरु भएको प्रदर्शनमा गद्दाफीले पनि भाग लिएका थिए ।

लिबियामा सैन्य तालिम पूरा गरेपछि गद्दाफीलाई सन् १९६५ मा प्रशिक्षणका लागि बेलायत पठाइएको थियो ।

लिबियाको सेनामा गद्दाफी असाधारण रूपमा माथिल्लो ओहोदामा पुगे र शाही परिवारविरुद्ध विद्रोहको योजना बनाउन थाले ।

लिबियामा राजतन्त्रविरुद्ध विद्रोहको योजना सैन्य प्रशिक्षण दिनदेखि नै गद्दाफीको दिमागमा थियो ।

अन्ततः सन् १९६९ मा बेलायतबाट तालिम लिएर फर्किएका उनले बेनगाजी शहरलाई केन्द्रमा राखेर सैन्य विद्रोह सुरु गरे । यस विद्रोहको अन्त्यमा उनी लिबियाको शासकको रूपमा देखा परे ।

विद्रोह र तेल

सेप्टेम्बर १, १९६९ मा कर्नेल गद्दाफीको नेतृत्वमा त्यहाँको सेनाले राजालाई अपदस्थ गर्‍यो ।

गद्दाफी आफैँ सेनाको कमाण्डर इन चीफ बने र एकै समयमा क्रान्तिकारी परिषद्‌को नयाँ अध्यक्षको रूपमा राज्य प्रमुख पनि बने । तर, उनले कर्णेल पद भने कायम राखे ।

गद्दाफी सत्तामा आएसँगै उनले अमेरिकी र बेलायती सैन्य अड्डाहरू ध्वस्त पारे र सन् १९७० मा इटालियन र यहूदीहरूलाई देशबाट निकाले ।

सन् १९७३ मा गद्दाफीले देशका सबै तेल केन्द्र राष्ट्रिय अधिग्रहण गरे । उनले देशमा मदिरा र जुवा खेल्न पनि प्रतिबन्ध लगाए ।

यसक्रममा उनले अन्तर्राष्ट्रिय तेल कम्पनीका अधिकारीलाई चुनौती दिँदै भनेका थिए – पाँच हजार वर्षसम्म तेल बिना बाँचेकाहरू आफ्नो अधिकारका लागि लड्न अझै केही वर्ष बाँच्न सक्छन् ।

उनले दिएको यो चुनौतीले काम गर्‍यो र लिबिया आफ्नो तेल उत्पादनको ठूलो हिस्सा प्राप्त गर्ने विकासशील देशहरूमध्ये पहिलो देश बन्यो ।

अन्य अरब देशले चाँडै यो उदाहरणबाट पाठ सिके र अरब पेट्रोल बूम अर्थात् १९७० को दशकमा अरबमा तेल क्रान्तिको जग बसाल्यो ।

यसरी हेर्दा लिबिया तेल अर्थात् ‘कालो सुन’बाट लाभान्वित हुने स्थितिमा थियो किनभने यहाँको तेल उत्पादन खाडी मुलुक जत्तिकै थियो तर, अफ्रिकाको यो देशको कुल जनसङ्ख्या ३० लाख मात्रै थियो । यसरी तेलले लिबियालाई चाँडै नै धनी बनायो ।

गद्दाफी इजरायलको कट्टर विरोधी थिए र यही कारणले उनी अरब संसारमा एक नेताको रूपमा उभिए, जसले इजिप्ट र इजरायलबीचको शान्ति सम्झौतालाई पनि अस्वीकार गरेका थिए ।

गद्दाफीको दृष्टिकोण

सन् १९७० को सुरुमा गद्दाफीले ‘ग्रिन बुक’ नामक पुस्तकमार्फत आफ्नो राजनीतिक विचार प्रस्तुत गरेका थिए । यसअन्तर्गत इस्लामिक समाजवादलाई प्राथमिकता दिँदै आर्थिक संस्थाहरूलाई राष्ट्रिय कब्जामा लिने घोषणा गरिएको थियो ।

यस पुस्तककाअनुसार समाजका समस्याको समाधान लोकतन्त्रबाहेक अन्य कुनै व्यवस्थामा हुँदैन । गद्दाफीले लोकतन्त्रलाई सबैभन्दा ठूलो पार्टीको अधिनायकवाद भनेका थिए । उनकाअनुसार सरकार सबै कुराका लागि जिम्मेवार समितिहरूद्वारा सञ्चालित हुनुपर्छ ।

सन् १९७९ मा गद्दाफीले लिबियाको औपचारिक नेतृत्व त्यागे । उनले आफू क्रान्तिकारी नेता मात्र भएको दाबी गरे । तर, सत्ता र अधिकार उनकै हातमा रह्यो ।

गद्दाफी र उनको सरकार अप्रत्याशित निर्णयका कारण अन्तर्राष्ट्रियस्तरमा चर्चित भयो ।

उनले धेरै संस्थालाई रकम दिन थाले । यसमा अमेरिकी ब्ल्याक प्यान्थर्स र नेशन अफ इस्लाम पनि समावेश थिए । गद्दाफीले उत्तरी आयरल्याण्डमा आयरिश रिपब्लिकन आर्मी (आईआरए)लाई पनि समर्थन गरे ।

लिबियाका गुप्तचर एजेन्टहरूले विदेशमा आलोचकहरूलाई लक्षित गर्न जारी राखे । त्यो अवधिमा गद्दाफी सरकारलाई धेरै घातक घटनाको आरोप पनि लगाइएको थियो । सन् १९८६ मा एउटा घटना घट्यो, जुन निकै महत्वपूर्ण घातक साबित भयो ।

यो घटना जर्मनीको राजधानी बर्लिनको एउटा क्लबमा भएको विस्फोट हो, जहाँ अमेरिकी सैनिकहरू जाने गर्दथे । यस विस्फोटको लागि लिबियाका एजेन्टहरू दोषी थिए ।

त्यसबेला अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले दुई सैनिकको मृत्युपछि राजधानी त्रिपोली र बेनगाजी शहरमा हवाई आक्रमणको आदेश थिए । यी आक्रमणमा लिबियाले ठूलो क्षति व्यहोर्‍यो र धेरै सर्वसाधारणको मृत्यु भयो ।

मारिनेमा गद्दाफीकी धर्मपुत्री पनि थिइन् तर, गद्दाफी भने जोगिएका थिए ।

यसपछि सन् १९८८ मा स्कटल्याण्डको लकरबीमा प्यान एम यात्रूवाहक विमान दुर्घटना हुँदा २७० जनाको ज्यान गएको थियो । यस दुर्घटनामा पनि लिबियालाई दोष लगाइएको थियो ।

लकरबी सम्झौता

गद्दाफीले सुरुमा दुई लकरबी बम विष्फोटका संदिग्धहरूलाई स्कटल्याण्डलाई सुम्पन अस्वीकार गरेका थिए ।

यसपछि प्रतिबन्ध र वार्ताको एक श्रृङ्खला सुरु भयो, जुन सन् १९९९ मा समाप्त भयो, जब गद्दाफीले अन्ततः दुवैलाई स्कटल्याण्डसमक्ष सुम्पिदिए ।

जसमध्ये एकलाई जन्मकैदको सजाय सुनाइएको थियो भने अर्कालाई सफाइ दिइएको थियो ।

अगस्ट २००३ मा लिबियाले संयुक्त राष्ट्र सङ्घलाई लेखेको एक पत्रमा विस्फोटको जिम्मेवारी स्वीकार गर्‍यो र घटनाबाट प्रभावितलाई क्षतिपूर्ति लगभग २.७ बिलियन डलर भुक्तानी गर्‍यो । प्रतिक्रियामा सेप्टेम्बर २००३ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्‌ले लिबियामा लगाइएको प्रतिबन्ध समाप्त गर्‍यो ।

पछि लिबियाले सन् १९८९ मा ध्वस्त भएको फ्रान्सेली यात्रू जहाजका पीडित र बर्लिन क्लबलाई पनि क्षतिपूर्ति तिर्‍यो ।

लकरबी सम्झौता, जसले गद्दाफीको गोप्य आणविक र रासायनिक कार्यक्रमको स्वीकार र त्यागले लिबिया र पश्चिमी शक्तिबीचको राम्रो सम्बन्धको लागि मार्ग प्रशस्त गर्‍यो ।

अन्तर्राष्ट्रिय प्रतिबन्धको अन्त्यपछि लिबिया अन्तर्राष्ट्रिय राजनीतिमा फर्कियो ।

यसपछि बेलायती प्रधानमन्त्री टोनी ब्लेयरसहित धेरै ठूला व्यक्तित्वहरू गद्दाफीको भव्य दरबारमा उनको बेदुइन टेन्टमा देखिएका थिए ।

गद्दाफी युरोप र अमेरिकाको अन्तर्राष्ट्रिय भ्रमणमा जान्थे । त्यस अवधिमा लिबियाले युरोपेली हतियार निर्माण र तेल कम्पनीसँग धेरै व्यापार सम्झौतामा हस्ताक्षर गर्‍यो ।

अनौठो तरिका अपनाउन प्रसिद्ध गद्दाफी प्रायः टेलिभिजनमा पालमा बसेको देखिन्थे । उनका निजी सुरक्षाकर्मीमा अधिकांश महिला थिए ।

अरब संसारमा परिवर्तन

फेब्रुअरी २०११ मा ट्युनिसिया र इजिप्टमा आम जनताको प्रदर्शनले जैनुल अबेदिन र होस्नी मुबारकको लामो शासनको अन्त्य गर्‍यो, जबकि लिबियामा गद्दाफीविरूद्ध प्रदर्शनहरू सुरु भयो ।

त्यसपछिका विषय पढ्नुअघि प्रदर्शन किन सुरु भयो ? के हो ‘अरब स्प्रिङ’ जानौँ –

डिसेम्बर २०१० मा मध्य ट्युनिसियाको सिदी बौजिदको सफा शहरमा मोहम्मद बोआजीजी नामका तरकारी बिक्रेताको गाडा स्थानीय पुलिसले हटाएको थियो । उनले गाडा फिर्ता ल्याउन पुलिस स्टेशनसहित विभिन्न निकाय धाए । तर, उनले गाडा फिर्ता ल्याउन सकेनन् ।

त्यसपछि निराश भएर उनले शहरको बीचमै स्थानीय पुलिसको भ्रष्टाचार र धम्कीको विरोधमा आफैँलाई आगो लगाए । उनको सोही स्थानमा मृत्यु भयो ।

स्थानीय फलफूल बिक्रेताले बनाएको यो चुनौतीले मध्यपूर्वका लामो समय सत्तामा रहेका नेताविरूद्ध ठूलो प्रदर्शनहरू निम्त्यायो । यो प्रदर्शनलाई ‘अरब स्प्रिङ ‘ नाम दिइएको थियो ।

यसको नतिजा अचम्मको भयो । ट्युनिसियाबाट सुरु भएको विरोध प्रदर्शन इजिप्ट, बहराइन, सिरिया, लिबिया र अन्य अरब राष्ट्रमा पुग्यो । साउदी अरेबिया, युएई र इरानका सरकारहरू पनि विद्रोहबाट डराउन थाले । यो डर अझै पनि यी देशहरूले यस क्षेत्रमा लागू गर्ने नीतिहरूमा देखिन्छ ।

सारा विश्वले यी प्रदर्शनहरूलाई ध्यान दिए । लाखौं मानिसहरू, प्राय: युवाहरूको नेतृत्वमा लाखौं नागरिक दशकौंदेखि सत्तामा रहेका तानाशाहविरूद्ध सडकमा उत्रिए ।

ट्युनिसियाका लामो समय राष्ट्रपति रहेका जिने अल अबिदिनलाई राजीनामा दिन बाध्य पारिएको थियो । यो राजीनामासँगै सन् १९८७ देखि राष्ट्रपतिको जिम्मेवारी सम्हालेका आबेदिनको इनिङ्स सकिएको थियो ।

त्यसैगरी इजिप्टको राजधानी कायरोको तहरीर स्क्वायरमा १० लाखभन्दा बढी नागरिकले कब्जा जमाएपछि इजिप्टका लामो समयसम्म राष्ट्रपति रहेका होस्नी मुबारकले पनि पद त्यागेका थिए ।

विषयवस्तुमा फर्किँदा देशभर भइरहेको प्रदर्शनलाई सम्बोधन गर्न गद्दाफीको सरकारले बल प्रयोग गरेर रोक्न खोज्यो । प्रहरी र कानून प्रवर्तन एजेन्सीहरूले प्रदर्शनकारीमाथि गोली चलाए ।

प्रदर्शनकारीविरूद्ध लडाकु विमान र हेलिकोप्टर पनि प्रयोग गरिएको थियो । अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकार सङ्गठनहरूले लिबियाको यो कदमको निन्दा गरे ।

अर्कोतर्फ गद्दाफी सरकारका वरिष्ठ अधिकारीहरू पनि यो अवस्थाबाट आक्रोशित भए । जसका कारण कानूनमन्त्रीले राजीनामा दिए भने धेरै राजदूतले पनि सरकारको निन्दा गरे ।

२२ फेब्रुअरीमा गद्दाफीले सरकारी टिभीमा गरेको सम्बोधनमा प्रदर्शनकारीहरूलाई ‘देशद्रोही’ भन्दै राजीनामा दिन अस्वीकार गरे ।

उनले विपक्षीहरू अलकायदाको संरक्षणमा रहेको र प्रदर्शनकारीले लागूऔषध प्रयोग गरिरहेको दाबी गरे । उनले आफ्ना समर्थकलाई प्रदर्शनकारीबाट आफूलाई बचाउन आग्रह गरे ।

तर, बिस्तारै सत्तामा गद्दाफीको पकड कमजोर हुँदै गयो र फेब्रुअरीको अन्त्यसम्ममा उनका विपक्षीले लिबियाको ठूलो क्षेत्र कब्जा गरे ।

यसपछि राजधानी त्रिपोली पनि घेरिएको थियो, जहाँ गद्दाफी एक्लै थिए र उनीमाथि राजीनामाको दबाब बढ्दै गयो ।

फेब्रुअरी २८ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्‌‌ले गद्दाफीको सरकारमाथि नयाँ प्रतिबन्ध लगायो र उनको परिवारको सम्पत्ति पनि रोक्का गर्‍यो ।

फेब्रुअरी २८ मा संयुक्त राष्ट्र सङ्घले गद्दाफीको ३० अर्ब डलर बराबरको सम्पत्ति रोक्का गरिएको घोषणा गर्‍यो ।

उही दिन पश्चिमी मिडियासँगको आफ्नो अन्तर्वार्तामा गद्दाफीले दाबी गरे – मानिसहरू अझै पनि मलाई माया गर्छन् ।

उनले आफ्नो सरकारले आन्दोलनकारीविरूद्ध बल प्रयोग गरेको आरोप अस्वीकार गरे । उनले आफ्ना विरोधीले अल कायदाको संरक्षणमा काम गरिरहेको दाबी पनि दोहोर्‍याए ।

गद्दाफीको सेनाले पनि आश्चर्यजनक रूपमा विद्रोहीको नियन्त्रणबाट धेरै क्षेत्र फिर्ता लिएको थियो । यस्तो अवस्थामा जब लिबियाको सेना बेनगाजीतर्फ बढिरहेको थियो, संयुक्त राष्ट्र सुरक्षा परिषद्‌ले मार्च १७ मा सैन्य हस्तक्षेपको पक्षमा मतदान गर्‍यो र ‘नाटो’बाट हवाई बमबारीले गद्दाफीको सेनालाई ठूलो नोक्सान पुर्‍यायो ।

मार्चको अन्त्यमा दुई वरिष्ठ अधिकारीहरूले वफादारी परिवर्तन गर्दा गद्दाफीको सरकारलाई ठूलो धक्का लाग्यो । तर, गद्दाफीले त्रिपोलीमा आफ्नो नियन्त्रण कायम राखे र आफूले सम्भव भएसम्म प्रतिरोध गर्ने घोषणा गरे ।

३० अप्रिलमा नाटो वायुसेनाले त्रिपोलीमा गद्दाफीको बाब अल-अजिजियामा आक्रमण गर्दा उनका कान्छो छोरा सैफ अल-अरब र तीन नातिनातिना मारिए । यस हमलामा गद्दाफीलाई निशाना बनाइएको थियो तर, उनी बाँचे ।

गद्दाफीको मृत्यु

सन् २०११ जुन २७ मा गद्दाफी उनका छोरा र गुप्तचर प्रमुखविरुद्ध गिरफ्तार गर्न वारेन्ट जारी गरिएको थियो ।

अगस्टमा विद्रोहीहरू राजधानी त्रिपोलीमा प्रवेश गरे र गद्दाफीको मुख्यालय बाब अल-अजिजिया कम्पाउन्ड कब्जा गरे । तर, गद्दाफीको बारेमा केही पत्ता लाग्न सकेन । धेरै अडि‍ओ सन्देशहरूमा उनले लिबियाली जनतालाई विद्रोहीविरूद्ध खडा हुन अपील गरे ।

विद्रोहीले गद्दाफीको बारेमा जानकारी दिनेलाई १.१७ मिलियन डलर पुरस्कारको घोषणा पनि गरे ।

यस्तो अवस्थामा सिर्ते नामक तटीय शहरलाई घेराबन्दी गरिएको थियो र केही स्रोतकाअनुसार गद्दाफी र उनका केही समर्थकले घेरा तोडेर भाग्ने प्रयास गरेका थिए ।

कारमा सवार गद्दाफी र उनका साथीहरू विपक्षी लडाकुहरूबाट बच्न खोजिरहेका थिए । गद्दाफीका सेना प्रमुख अबु बकर युनुस र छोरा मोतासिम पनि गाडीको लस्करमा सामेल थिए । सोही समयमा नाटोका लडाकु विमानले आक्रमण गरे ।

यस नाटो आक्रमणमा हतियारले सुसज्जित १५ गाडी ध्वस्त भए । तर, गद्दाफी र उनका केही साथी यस हमलामा बाँचे ।

गद्दाफी दुई ठूला ड्रेनेज पाइपमा लुकेका थिए । केही समयपछि गद्दाफीका विरोधी लडाकु पनि त्यहाँ पुगे ।

सलिम बेकर नामका लडाकुले पछि रोयटर्सलाई भनेका थिए – पहिले हामीले गद्दाफी र उनका मानिसलाई एन्टी-एयरक्राफ्ट बन्दुकले गोली हानेका थियौं, तर त्यसको कुनै फाइदा थिएन ।

त्यसपछि हामी पैदलै उनीहरूतिर गयौँ । जब हामी गद्दाफी र उनका साथीहरू लुकेको ठाउँ नजिक पुग्यौं, अचानक गद्दाफीका लडाकुमध्ये एक जना आफ्नो बन्दुक हावामा हल्लाएर बाहिर निस्के र मलाई देख्ने बित्तिकै उसले ममाथि गोली चलाउन थाल्यो ।

ती लडाकुले मेरो मालिक यहाँ छ, मेरो मालिक यहाँ छ र उनी घाइते छन् भनेर चिच्याए । हामीले गद्दाफीलाई बाहिर निस्कन जबरजस्ती गर्यौं । त्यतिबेला के भइरहेको छ भनेर सोधेँ ।

अर्का प्रत्यक्षदर्शीले गद्दाफीलाई देख्नेबित्तिकै ९ एमएम बन्दुकले गोली हाने । यसपछि गद्दाफी गम्भीर घाइते अवस्थामा पक्राउ परेका थिए ।

कतारको अल-जजिरा टिभी च्यानलमा देखाइएको फुटेजमा गद्दाफी गम्भीर घाइते भएका थिए र उनका विपक्षी लडाकुले उनलाई त्यही अवस्थामा कुटिरहेका थिए ।

त्यसपछिका घटनाहरूको क्रम स्पष्ट छैन । तर, लिबियाको अस्थायी राष्ट्रिय परिषद्का प्रधानमन्त्री महमूद जिब्रिलले पछि पत्रकारलाई भनेका थिए – गद्दाफीको पोस्टमार्टम रिपोर्टअनुसार उनको मृत्यु बन्दुकको गोली लागेर भएको हो । गद्दाफी जिउँदै समातिए र उनले कुनै प्रतिरोध गरेनन् । उनलाई गाडीमा लगेर लैजाँदै गर्दा दुवै तर्फबाट लडाकुहरूले गरेको गोलाबारीको बीचमा गाडी आयो र गद्दाफीलाई गोली लागेको थियो ।

‘खिलाफतको सपना’

गद्दाफी एक तानाशाह थिए, जसले चार दशकसम्म लिबियामा शासन गरे । तेल र अन्य धेरै व्यवसायका कारण उनको परिवार धनी भयो । भनिन्छ – गद्दाफीको नीति बफादारी किन्न थियो, जसअन्तर्गत उनले सम्पत्ति बाँडे ।

अर्कोतर्फ गद्दाफीले धेरै परियोजना सुरु गरे, जसमध्ये एउटा देशको उत्तरमा पानी उपलब्ध गराउने थियो ।

उनी आफ्नो पहिरनका लागि मात्र होइन, आफ्नो बयानका कारण पनि चर्चित थिए । यस्तै वक्तव्यमा उनले प्यालेस्टिनी र इजरायली एउटै राज्यमा एकताबद्ध हुनुपर्ने बताएका थिए किनभने दुई छुट्टाछुट्टै राज्य बनाउन पर्याप्त जमिन थिएन ।

उनी अरब लिगको बैठकमा चुरोट पिउँथे र आफूलाई अफ्रिकाका ‘राजाहरूका राजा’ भन्थे ।

गद्दाफीको विचारधारा पनि समयसँगै परिवर्तन हुँदै गयो । सुरुमा उनले अरब राष्ट्र एकताको नारा दिए र आफूलाई जमाल अब्दुल नासेरजस्ता अरब राष्ट्रवादी नेताको रूपमा प्रस्तुत गरे ।

तर, जब उनले यो सपना साकार गर्न गाह्रो छ भन्ने महसुस गरे, अफ्रिकातिर हेर्न थाले र आफूलाई अफ्रिकाको नेताको रूपमा प्रस्तुत गर्न थाले ।

त्यसपछि एक समय यस्तो आयो, जब उनले इस्लामिक संसारमा ध्यान दिन थाले र सुन्नी र शिया बीचको मतभेद अन्त्य गर्न उत्तरी अफ्रिकामा दोस्रो फातिमी खिलाफत स्थापना गर्नुपर्ने पनि बताए ।

-बीबीसीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register