काभ्रे र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन

काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीका कारण अदलबदल भएको काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन गरिएको छ । गत असोज दोस्रो साताको भीषण वर्षाका कारण रोशी खोलाको बाढीले जमिन कटान भई सीमा अदलबदल भएको थियो । सोही समस्या समाधानका लागि दुवै जिल्लाबाट प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको हो । समितिमा सिन्धुलीका तर्फबाट प्रतिनिधिसभा […]

Jan 30, 2025 - 00:27
 0
काभ्रे र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन

काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीका कारण अदलबदल भएको काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन गरिएको छ । गत असोज दोस्रो साताको भीषण वर्षाका कारण रोशी खोलाको बाढीले जमिन कटान भई सीमा अदलबदल भएको थियो ।

सोही समस्या समाधानका लागि दुवै जिल्लाबाट प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको हो । समितिमा सिन्धुलीका तर्फबाट प्रतिनिधिसभा सदस्य राजन दाहाल तथा काभ्रेपलाञ्चोकका तर्फबाट जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमले नेतृत्व गर्नेछन् । समितिमा दुवै जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, दुई जिल्लामा तीन स्थानीय तहका र सम्बन्धित वडाका अध्यक्ष वा प्रतिनिधि रहने छन् ।

समितिले समस्या समाधानसहितको प्रतिवेदन तयार गर्ने र समितिको समयसीमा भने समिति आफैँले तोक्ने सांसद दाहालले बताए । उनले असोज १०, ११ र १२ गते रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोक र सिन्धुलीका तीन स्थानीय तहको सीमाना अदलबदल भएको थियो । काभ्रेपलाञ्चोकको तेमाल र रोशी गाउँपालिका तथा सिन्धुलीको सुनकोशी गाउँपालिकाबीच सीमानामा बाढीले समस्या भएको हो ।

दुई जिल्लाका तीन स्थानीय तहबीच विशेषगरी नेपालथोक क्षेत्रमा समस्या देखिएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख गौतमले जानकारी दिए । उनले समितिको प्रतिवेदनका आधारमा समाधानका उपाय खोजिने बताए ।

यसैबीच गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोला क्षेत्रको सीमाङ्कन कार्य सकिएको छ । करिब दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सीमाङ्कन सकिएको जनाइएको छ । बाढीपहिरोले खोलाको सीमाङ्कनसँगै व्यक्तिको घर तथा जमिनमा क्षति पुगेपछि समस्या समाधानका लागि पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रूपमा उक्त कार्य गरेका हुन् ।

नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले पनौती नगरको वडा नं १२ स्थित भूमेडाँडाबाट पनौतीको त्रिवेणीघाटसम्मको नौ किलोमिटर खोलाको सीमाङ्कन सकिएको जानकारी दिए । त्यस क्रममा व्यक्तिले भोगचलन गरिरहेका करिब ७० कित्ता जग्गाको पहिचान गरिएको उनले बताए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register