नेताजी सुवासचन्द्र बोसको अष्ट्रियामा गोप्य विवाह, कहाँ छिन् छोरी अनिता ?

स्वतन्त्रतापछि बोसलाई भारतमा महान नायकका रुपमा सम्मान गर्न थालियो । वैवाहिक जीवनजस्तै जहाज दुर्घटनामा उनको मृत्युको समाचार समेत धेरैले विश्वास गर्दैनन् ।

Feb 1, 2025 - 07:10
 0
नेताजी सुवासचन्द्र बोसको अष्ट्रियामा गोप्य विवाह, कहाँ छिन् छोरी अनिता ?

काठमाडौं । भारतीय स्वतन्त्रता सङ्ग्रामका महान् नेता सुवासचन्द्र बोसको नाम संसारमा धेरैले सुनेका छन् । तर, तीमध्ये कमैलाई यो थाहा होला कि उनकी एक छोरी पनि छन्, जो अहिले ८२ वर्षकी भइन् ।

बोसकी छोरी अर्थात् अनिता बोस शेंन्कल फाफ । उनी कहाँ छिन् ? के गर्दैछिन् ? ‘अविवाहित’ भनिएका नेताजीकी छोरी कसरी भइन् ? यो रहस्यको पछाडि रोचक इतिहास लुकेको छ ।

नेताजी बोसले आफ्नो प्रेम, यौनजीवन र विवाहबारे सार्वजनिक रुपमा कहिल्यै चर्चा गरेनन् । तसर्थ, धेरैजसो भारतीय आफ्ना स्वतन्त्रता सङ्ग्रामका योद्धा नेताजी बोस अविवाहित थिए भन्ने विश्वास गर्दछन् । बोसकी पत्नी, छोरी र मृत्युबारे भारतीयलाई विश्वास नै हुँदैन ।

विश्वास होस् पनि कसरी ? उनको विवाह भारतमा हैन, जर्मनीमा भएको थियो । त्यो पनि कुनै ठूलो हल्लीखल्ली बिना, चुपचाप, गोप्य । भारतमा बोसले आफ्नो विवाहको खुलासा कहिल्यै गरेनन् । अष्ट्रियाली मूलकी जर्मन नागरिक बोसपत्नी एमिली शेंन्कल कहिल्यै भारत आइनन् ।

भारत नै नआई सन् १९९६ मा उनको भियनामा ८६ वर्षको उमेरमा निधन भयो । शेंन्कल नेताजी बोसभन्दा १३ वर्ष कान्छी थिइन् । छोरी अनिता बोस शेंन्कल पिता नेताजी बोसले छोडेर हिँड्दा ४ महिनाकी मात्र थिइन् ।

रोचक इतिहास 

बङ्गाली मूलको परिवारमा उडिसाको कटाक गाउँमा जन्मिएका सुवासचन्द्र बोस सन् १९२० पश्चात स्वतन्त्रता पक्षधर युवा नेताकारूपमा भारतभरि चर्चित भइसकेका थिए । उनी जहाँ जान्थे, हजारौँ मानिस उनको कुरा सुन्न आउँथे । उनी ब्रिटिश शासनप्रति आक्रामक निडर र निर्भिक भाषण गर्थे ।

बोस महात्मा गान्धी र पण्डित जवाहरलाल नेहरूको नजिकका थिए । सन् १९२८ मा उनी काङ्ग्रेसको अध्यक्ष भए । ठीक यही बेला भियनाको एक प्रकाशन गृहले बोसलाई भारतीय स्वतन्त्रता सङ्घर्षबारे किताब लेख्न प्रस्ताव गर्‍यो ।

सन् १९३४ को जुनमा भियना पुगेका बोसले एमिली शेंन्कललाई निजी सेक्रेटरी र टाइपिस्टका रुपमा भेटेका थिए । यो भेट भियनामा बस्ने भारतीय मूलका चिकित्सक डा. माथुरले गराएका थिए । बोसले बोलेका कुरा एमिलीले कागजमा उतार्थिन्, लेखेका सामग्री टाइप गर्थिन् । यसबापत बोसले एमिलीलाई तलब दिन्थे । र, त्यो पैसा बोसले प्रकाशन गृहबाट पाउँथे ।

यो अवधिमा किताब ‘द इन्डियन स्ट्रगल’को पहिलो खण्ड लेखेर बोस भारत फर्किए । पुस्तक सन् १९२०–१९३४ बीचको स्वतन्त्रता अन्दोलनको इतिहास थियो, जो ब्रिटिश सरकारले भारतमा प्रतिबन्ध गर्‍यो ।

यही अवधिमा बोस र शेंन्कलबीच प्रेम भावना जन्मिएको थियो । भारत फर्किएर बोस सन् १९३८ को सम्मेलनबाट अखिल भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्ष भए । तर, महात्मा गान्धी र पण्डित जवाहरलाल नेहरू बोससँग असन्तुष्ट हुँदै गए । यसको कारण बोसमा देखा परेको वामपन्थी तथा कम्युनिष्ट रुझान थियो ।

उनी लेनिनलाई खुबै मन पराउँथे र भारतीय स्वतन्त्रता सङ्ग्रामलाई सोभियत सङ्घले सहयोग गर्ने धारणा राख्थे । बोसको राजनीतिक सोच आजाद हिन्द फौज गठन र सशस्त्र सङ्घर्षतिर लक्षित हुन थालेको थियो । तर, गान्धी र नेहरू अहिंसात्मक सत्याग्रहको पक्षधर थिए । तसर्थ, काङ्ग्रेस अध्यक्षका रुपमा बोसको उपस्थिति गान्धी–नेहरूका लागि असहज हुँदै गयो ।

सन् १९३९ को सम्मेलनमा गान्धी–नेहरूले अध्यक्ष पदमा बोसकाविरुद्ध भिन्नै उम्मेदवार खडा गरे । तर, पनि बोसले जिते । यसपछि भने गान्धीले बोससँग मुख खोलेर काङ्ग्रेस अध्यक्ष पदबाट राजीनामा मागे ।

गान्धीले भनेका थिए, “हेर, सुवास, तिमीप्रति मेरो हृदयमा धेरै ठूलो प्रेम छ । तर, हाम्रो राजनीतिक बाटो फरक छ । काङ्ग्रेस अहिंसात्मक आन्दोलनका लागि बनेको सङ्गठन हो । कि तिमीले यो लाइन स्वीकार गर्नुपर्छ कि राजीनामा गरेर भिन्नै सङ्गठन बनाउनुपर्छ, जो तिम्रो सोचसँग मिल्दो होस् ।”

उत्तरमा सुवासचन्द्रले भने, “यदि तपाईंको तरिकाले भारत स्वतन्त्र भए छ भने सबैभन्दा धेरै खुशी हुने र बधाई दिने पहिलो मान्छे म हुनेछु । तर, अहिलेलाई म काङ्ग्रेस अध्यक्ष पदबाट राजीनामा गर्छु ।”

त्यसपछि बोसले ‘द इन्डियन फरवार्ड ब्लक’ नामक भिन्नै सङ्गठन बनाए ।

सन् १९३९ मा दोस्रो विश्वयुद्ध भड्कियो । बोस सोभियत सङ्घ र स्टालिनको समर्थनमा आजाद हिन्द फौज गठन गरी ब्रिटिश साम्राज्यविरुद्ध लड्न चाहन्थे । यसका लागि उनलाई मस्को पुग्न र स्टालिनसँग भेट्न आवश्यक थियो ।

यही उद्देश्यले बोस सन् १९४१, जनवरी १६ को मध्यरात कोलकाताको आफ्नै घरमा नजरबन्दमा रहेको अवस्थामा भेष बदलेर भागे । उनी भागेको १० दिनसम्म केही सीमित नातेदारबाहेक कसैले थाहा पाएनन्, यहाँसम्मकी घरमै भएकी आमाले समेत पत्तो पाइनन् । बाहिर पुलिसको बलियो पहरा थियो । भित्र उनले १५ दिनको मौन व्रत लिने र कसैसँग नभेट्ने घोषणा गरेका थिए ।

कोलकाताको नजरबन्दबाट भागेर दिल्ली, पेशावर, काबुल हुँदै ब्रिटिश शासनको सीमा कट्न उनलाई १५ दिन लाग्यो । त्यो बेला अफगानिस्तान र पञ्जाब क्षेत्रमा सोभियत सङ्घ समर्थित कम्युनिष्टहरूको बलियो सङ्गठन थियो । त्यसैको सम्पर्कले काबुलको सोभियत दूतावासबाट भिसा लिएर उनी मस्को जान चाहन्थे । तर, सोभियत दूतावासले उनलाई कुनै महत्त्व दिएन ।

त्यसपछि उनले जर्मन दूतावासमा प्रयत्न गरे । त्यसबाट पनि कुनै परिणाम आएन । अन्ततः इटालीको दूतावासले उनलाई नक्कली नामको भिसा, पासपोर्ट बनाइदियो । त्यसलाई प्रयोग गरी उनी जर्मनी पुगे ।

यता भारतमा १० दिनपछि बोस भागेको खुलासा भयो । तर, उनी काबुल तर्ने तरखरमा थिए । ब्रिटिश सरकारले काबुलमा व्यापक गुप्तचर परिचालन गर्‍यो । पठान भेषमा लुकेर बसेका बोसलाई फेला पार्न सकेन ।

जर्मनी दोस्रो विश्व युद्धमा ‘धुरी राष्ट्र’को प्रमुख शक्ति थियो । नेताजी बोसले हिटलरलाई भेटेर यो विश्वास दिलाउन सफल भए कि भारतको स्वतन्त्रताले दोस्रो विश्व युद्धमा बेलायतको हार र धुरी राष्ट्रहरूको विजय सजिलो र सम्भव हुनेछ । हिटलरले बोसको योजनामा विश्वास गरे । उनलाई जर्मनीमा आवास, आर्थिक सहयोग र आजाद हिन्द फौज गठन गर्न सहयोग गरे । बोसले भारतबाट भागेपछिको पहिलो रेडियो सन्देश जर्मनीबाटै दिए । भारत आश्चर्यचकित भयो ।

जर्मनीको जेल र बन्दी शिविरमा भएका ब्रिटिश सेनाका भारतीय सिपाहीलाई समेटेर बोसले ५,००० को आजाद हिन्द फौजको पहिलो टुकडी घोषणा गरे । तर, यो सेनालाई कसरी भारत पुर्‍याउने ? बोस चाहन्थे कि मस्कोले अफगानिस्तानको बाटो प्रयोग गर्न देओस् ।

नेताजी बोस दोस्रो विश्व युद्धको दौरान सन् १९४१ अप्रिल ३ देखि सन् १९४३ फेब्रुअरी ८ सम्म जर्मनीमा बसेका थिए ।

यसबीच बोस र शेंन्कलको प्रेम फेरि जोडियो र झाँगियो । शेंन्कल बोसको निजी सचिव बनिन् । उनीहरू सँगै बस्न थाले । बोसले ‘द इन्डियन स्ट्रगल’ किताबको दोस्रो खण्ड लेखे । सन् १९४२ नोभेम्बर २९ मा छोरी जन्मिइन् । उनीहरूले भारतीय नाम दिए – अनिता । आमाको अष्ट्रियाली थर प्रयोग गरे – शेंन्कल

अनिता शेंन्कलको नामले उनी हुर्किइन् । पछि आफ्नो नाममा बोस थपिन् र अनिता बोस शेंन्कल बनाइन् ।

एमिलीले भारतीय परम्पराअनुसार बिहेका लागि बोसलाई दबाब दिएकी थिइन् । बोसले गोप्य स्थानमा अग्निकुन्ड बनाएर एमिलीसँग सात फेरा लगाएका थिए । 

विवाहको कारणबारे एमिलीले भनेकी थिइन्, “म तिम्री प्रेमिका मात्र हैन, पत्नी बन्न चाहन्छु ताकी हाम्रो सम्बन्ध भारत–जर्मन सम्बन्धको इतिहास बन्न सकोस् । म भारतीय स्वतन्त्रताको एक योद्धाको पत्नी हुनुको गौरवले एक्लै भए पनि बाँच्न सकुँ ।”

बोसको जर्मनी बस्ने योजनामा त्यतिखेर ठूलो व्यावधान आयो, जब हिटलरले सोभियत सङ्घमाथि आक्रमण गरे । सोभियत सङ्घ मित्र राष्ट्रसँग मिल्न गयो ।

अब जर्मनीमा बसेर स्टालिनको सहयोग प्राप्त गर्न असम्भव भयो । आजाद हिन्द फौजको सेना रुस र अफगानिस्तानको बाटो हुँदै भारत ल्याउन अब सम्भव भएन । जर्मनी अब बोसको योजनाका लागि सहयोगी हुन गाह्रो थियो । तसर्थ उनले अर्को धुरी राष्ट्र जापानको दूतावासमा सम्पर्क बनाए । जापान उनलाई सहयोग गर्न राजी भयो ।

त्यो समय इन्डोनेसिया, सिङ्गापुर र ताइवानमा जापानको नियन्त्रण थियो । सन् १९४३ फेब्रुअरी ९ मा नेताजी बोस जर्मन पानी जहाजमा अफ्रिकाको बाटो हुँदै हिँडे । अब उनलाई जापान नियन्त्रित क्षेत्रमा पुग्नु थियो ।

जर्मनी छोड्ने बेलामा बोसले दाजु शरदचन्द्र बोसको नाममा एक चिठ्ठी लेखे । त्यसमा भनिएको थियो , “मैले यहाँ बिहे गरेकी छु । यी मेरी पत्नी हुन् । मेरी एक छोरी छन् । यिनलाई परिवारका सदस्यको मान्यता र हक दिनुहोला ।”

बोसको विश्वास थियो कि जर्मनीमा अभर परे एमिली र अनिता यो चिठ्ठी लिएर कोलकाता जाने छन् । दाइ शरदचन्द्रले उनीहरूलाई अपनाएर पारिवारिक सम्पत्तिमा अंश दिने छन् ।

तर, एमिली भारत आइनन् । न त उनले बोसको पारिवारिक सम्पत्तिमा अंश दाबी नै गरिन् । उनले टोलिफोन बुथ अपरेटरको काम गरेर छोरी अनितालाई हुर्काइन्, बढाइन् । बोसको निधनपछि एमिलीले अर्को विवाह पनि गरिनन् ।

पानी जहाजबाट सिङ्गापुर पुग्न बोसलाई करिब २ महिना लाग्यो । उनले त्यहाँ जापानी कैदमा रहेका ब्रिटिश सेनाका भारतीय सिपाहीलाई लिएर आजाद हिन्द फौजको अर्को टुकडी घोषणा गरे । सिङ्गापुरबाट उनी हवाई जहाजमा टोकियो गए । जापानी प्रधानमन्त्री हिदेकी तोजोसँग भेटेर भारतीय स्वतन्त्रतामा जापानको सहयोग र समर्थन हुने प्रतिबद्धता गराए ।

जापानी सहयोगमा बोसले आफू नेतृत्वको सेनाको प्रभाव सिङ्गापुर हुँदै बर्माको राजधानी रङ्गुन र भारतको मणिपुरसम्म पुर्‍याएका थिए । सन् १९४५ अगष्ट १८ मा सिङ्गापुरबाट ताइवान जाँदा जापानी सेनाको एक जहाज दुर्घटनामा बोसको निधन भयो ।

पिता बोसको निधन हुँदा छोरी अनिता ४ वर्षकी थिइन् । उनले आमा एमिली शेंन्कलसँगै रेडियोमा पिताको दुर्घटनाको समाचार सुनेकी थिइन् ।

स्वतन्त्रतापछि बोसलाई भारतमा महान नायकका रुपमा सम्मान गर्न थालियो । उनको वैवाहिक जीवनजस्तै जहाज दुर्घटनामा उनको मृत्युको समाचार समेत धेरैले विश्वास गर्दैनन् ।

बोस पत्नी एमिली र छोरी अनिताले भारत सरकारबाट कुनै सहयोगको अपेक्षा गरेनन् ।

सन् १९४८ मा नेताजी बोसका दाजु शरदचन्द्र बोस भियना पुगेका थिए । एमिली र अनिताले शरदचन्द्र बोससँग भेट गरेर सुवासले लेखेको चिठ्ठी देखाएका थिए ।

शरदले भनेका थिए – यदि तिमीहरू चाहन्छौँ भने कोलकाता आउन सक्छौ ।

अनिताले अर्थशास्त्र पढिन् । विश्वविद्यालयमा अर्थशास्त्रकै प्राध्यापक बनिन् । प्राध्यापक सहकर्मी मार्टिन फाफसँग बिहे गरिन् । यसरी उनको पूरा नाम– अनिता बोस शेन्कल फाफ बन्न पुग्यो ।

अनिता र उनका पति मार्टिन जर्मन सामाजिक जनवादी पार्टी (एडिपी) लाई समर्थन गर्दछन् । मार्टिन यस पार्टीको तर्फबाट सन् १९९०–२००२ बीच जर्मन संसद्‌को सदस्य थिए ।

अनिताले आफ्ना तीन सन्तानको नाममा भारतीय शब्द मिसाएकी छन् । उनका दुई छोराको नाम हो – थोमस कृष्ण फाफ र पिटर अरुण फाफ । एक छोरीको नाम हो– माया करिना फाफ

भारतीय स्वतन्त्रता सङ्ग्रामकी एक महान् नेताकी पत्नी एमिली शेंन्कलले एक टेलिफोन बुथ अपरेटरका रुपमा सामान्य जिन्दगी बिताएकी थिइन् भने छोरी अनिताले भारतीय अधिकार र पारिवारिक सम्पत्तिमा कहिल्यै कुनै दाबी गरिनन् ।

आमा एमिली शेंन्कल त कहिल्यै भारत नै आइनन् । छोरी अनिता भने बारम्बार आउने गर्छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register