बालफुटबलरको स्मृतिमा नगरस्तरीय फुटबल

हेटौंडा । हेटौंडा–१२ का बालफुटबलर अनुपम घलानको स्मृतिमा हेटौंडा नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । घलानको स्मृतिमा हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिले १६ वर्षमुनिका खेलाडीबीच फागुन ७ गतेदेखि हेटौंडा–५, क्याम्पा रंगशालामा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख र द्वितीय हुने टिमले ७० हजार राशिको पुरस्कार प्राप्त गर्नेछन् । […]

Feb 7, 2025 - 12:41
 0
बालफुटबलरको स्मृतिमा नगरस्तरीय फुटबल

हेटौंडा ।

हेटौंडा–१२ का बालफुटबलर अनुपम घलानको स्मृतिमा हेटौंडा नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

घलानको स्मृतिमा हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिले १६ वर्षमुनिका खेलाडीबीच फागुन ७ गतेदेखि हेटौंडा–५, क्याम्पा रंगशालामा प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख र द्वितीय हुने टिमले ७० हजार राशिको पुरस्कार प्राप्त गर्नेछन् । विधागत् पुरस्कारतर्फ सर्वाेत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट फरवार्डले १० हजार, उत्कृष्ट किपरले ५ हजार, उत्कृष्ट प्रशिक्षकले ५ हजार र उत्कृष्ट डिफेन्सले ५ हजार नगद राशिको पुरस्कार प्राप्त गर्ने जनाइएको छ । खेल सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले ७ लाख विनियोजन गरेको छ । खेलमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को नियमानुसार नकआउट प्रतियोगिता हुनेछ ।

खेललाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने गरी यस वर्ष सुरु गरिएको समिति अध्यक्ष रवीन्द्र घिमिरेले बताए । सहभागी हुन चाहने टिमले फागुन ४ गतेभित्र नगरपालिका खेलकुद विकास समितिमा टिम दर्ता गराउनुपर्नेछ । खेलमा १९ वटै वडाका इच्छुक खेलाडीले सहभागिता जनाउन सक्नेछन् । वडाबाट सिफारिस भएका १६ वर्ष ननाघेका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा असोज १२ र १३ गते गएको पहिरोले एन्फाद्वारा सञ्चालित वत्सलादेवी माविको प्रशिक्षण केन्द्रमा फुटबल प्रशिक्षण लिइरहेका १२ वर्षीय घलानसहित ६ बाल खेलाडीको निधन भएको थियो ।

घटनापछि हेटौंडा–११ स्थित हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयमा फुटबल एकेडेमी सञ्चालन गरिएको छ । यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र विद्यालयबीच सम्झौता भएको हो । अविरल वर्षाका कारण उत्पन्न दुःखद् घटनाका कारण त्यहाँको फुटबल कार्यक्रम स्थगन भएपछि उक्त अवसर हेटौंडा एकेडेमीलाई दिइएको हो ।

एन्फा र पीडित परिवारबीच सहमतिअनुसार सिस्नेरी एकेडेमीमा रहेका १८ जना बालखेलाडी हेटौंडा एकेडेमीको होस्टेलमा सारिएका छन् । एन्फाले सहुलियत शुल्कमा अध्ययन गराउने भएको छ । मृतक बालखेलाडीका सालिक निर्माण गर्ने र उनीहरुको नाममा प्रतियोगिता सञ्चालन गर्ने विषयमा यसअघि भएको सहमतिलाई छिटो कार्यान्वयन गर्ने एन्फाले प्रतिबद्धता गरेको छ ।

पीडित परिवारले अघिल्लो दिनदेखि वर्षा भइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा पनि बच्चाहरुलाई विद्यालयबाट सुरक्षित स्थानमा नसाररे लापरबाही भएकाले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए । उक्त माविमा एन्फाले राखेको यु–१४ क्याम्पका ४० खेलाडीमध्ये ६ जनाले पहिरोमा परेर ज्यान गुमाएका थिए ।

ती विद्यार्थी खेलाडीमा हेटौंडा–१२ का घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन, सिस्नेरीका दिवस बानियाँ, बारा निजगढका विकल रेग्मी, धादिङका रियान्स आचार्य र सर्लाहीका आदित्य बलम्पाकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register