सडक निर्माण अनुगमनमा जिसस

स्याङ्जा । जिल्लामा निर्माणाधीन रहेका सडकहरु र सिद्धार्थ राजमार्गको अनुगमन गरिएको छ । बिशेषगरी संघ र प्रदेश सरकारबाट निर्माण हुन लागेका सडकहरुको अवस्था, गुणस्तरका विषयमा जिल्ला समन्वय समितिको नेतृत्वमा अनुगमन गरिएको हो । टेन्डर भएर पनि लामो समयसम्म सडक निर्माण नगर्ने जस्ता समस्या आउन थालेपछि जिल्ला समन्वय समितिको पहलमा स्याङ्जाभित्र निर्माण गर्न लागिएका सडकको अवस्थाबारे […]

Feb 7, 2025 - 12:44
 0
सडक निर्माण अनुगमनमा जिसस

स्याङ्जा ।

जिल्लामा निर्माणाधीन रहेका सडकहरु र सिद्धार्थ राजमार्गको अनुगमन गरिएको छ । बिशेषगरी संघ र प्रदेश सरकारबाट निर्माण हुन लागेका सडकहरुको अवस्था, गुणस्तरका विषयमा जिल्ला समन्वय समितिको नेतृत्वमा अनुगमन गरिएको हो । टेन्डर भएर पनि लामो समयसम्म सडक निर्माण नगर्ने जस्ता समस्या आउन थालेपछि जिल्ला समन्वय समितिको पहलमा स्याङ्जाभित्र निर्माण गर्न लागिएका सडकको अवस्थाबारे अनुगमन गरिएको समन्वय समितिका उपप्रमुख खड्कराज सुवेदीले जानकारी दिए ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख नवराज बराल सहित निर्माणाधीन सडकको अनुगमन गर्दै सल्लाह, सुझाव र निर्देशन दिने काम भएको जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख सुवेदीले बताए । गत महिना टोलीले सिद्धार्थ राजमार्गको राम्दीदेखी कुभिण्डे सम्मको ८० किलोमिटर सडकको बृहत् अनुगमन गरेको थियो । टोलीले राम्दी र भीरकोटमा निर्मााधिन पूलको समेत अन्ुगमन सम्पन्न गरेको थियो । अनुगमनपछि सडक विभागले सिद्धार्थ राजमार्गको स्याङ्जा सडकखण्डमा विग्रेका ठाउँमा तत्काल बनाउन शुरु गरेको छ । वालिङ र भीरकोट जोड्ने आँधीखोलामा निर्माणाधीन पुल लामो समयसम्म सम्पन्न हुन नसकेपछि यो आर्थिक बर्षभित्र पुल सम्पन्न गर्नेगरी सडक विभागका प्रमुखलाई निर्देशन समेत दिइएको उपप्रमुख सुवेदीले बताए ।

त्यस्तै जिल्ला सदरमुकाम पुतलीबजारको घुम्ती चिसापानीको साढे ८ किलोमिटर सडकखण्डको पुतलीबजार कोल्मा र बिरुवा गाउँपालिका ओरष्टे खण्डमा लामो समयसम्म निर्माण कार्य नहुँदा भएको कठिनाईलाई मध्यनजर गरेर टोलीले अनुगमन गरेको छ । उक्त अनुगमनमा जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सडक डिभिजन प्रमुख नवराज बास्तोला, सडक हेर्ने इन्जिनियर, ठेकेदार कम्पनी लगायतको सहभागिता रहेको थियो । रकम अभावमा रोकिएको सडकका लागि सरकारबाट आर्थिक व्यवस्थापन गरिएपछि यो आर्थिक बर्षभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार कम्पनी र सडक विभागले जनाएका छन् ।

ठेकेदार कम्पनीले समयमै निर्माण नगरेर र सडक विभागले वेवास्था गरिदिदा जिल्लाका धेरै सडक र पुल अलपत्र अवस्थामा छन् । जिल्ला समन्वय समितिले अलपत्र परेका निर्माणाधीन सडक र पुलको अनुगमन थालेपछि यो आर्थिक बर्षको असार मसान्तसम्म धेरै सडकहरु समयमै सम्पन्न हुने विश्वास लिइएको छ । अव तीनै तहका सरकारहरुले निर्माण गरेका योजनाहरुको अनुगमनलाई तीव्रता दिने र सम्झौता अनुरुप समयमै निर्माण नगर्ने ठेकेदार कम्पनीलाई कारवाहीको दायरमा ल्याउने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register