यसकारण खतरनाक छ प्यालेस्टिनीलाई गाजाबाट धपाउने ट्रम्पको सोच

ट्रम्पको सोच ताजा हैन, आफ्नै विश्वसनीयता र अमेरिकी हितको वास्ता नगरीकन अघि सारिएको ताजा बेतुकी हो । यो यस्तो सोच हो जसले इजरायललाई मृत्यु, इरानलाई जीवन र प्रत्येक अमेरिकी साझेदारलाई अस्थिरता दिन्छ ।

Feb 15, 2025 - 09:03
 0
यसकारण खतरनाक छ प्यालेस्टिनीलाई गाजाबाट धपाउने ट्रम्पको सोच

गाजा कब्जा गर्ने, त्यहाँ बसोबास गर्ने २० लाख प्यालेस्टिनीलाई धपाउने र त्यो समुद्र तटलाई रिसोर्टले भरिएको मोजमस्ती केन्द्रमा बदल्ने ट्रम्पको योजनाले एउटै कुरा सावित गर्दछ– ‘आउट अफ बक्स’ ( सृजनशील ) र ‘आउट अफ माइन्ड’ ( मूढतापूर्ण ) सोच बीच कति थोरै दूरी हुन्छ ।

ट्रम्पको प्रस्ताव आजसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले मध्यपूर्व शान्ति स्थापना पहलका लागि अघि सारेकामध्ये सबैभन्दा बेतुक र खतरनाक सोच हो ।

अझ डरलाग्दो कुरा– ट्रम्पको गाजा प्रस्तावबारे उनका सहयोगी र क्याबिनेट सदस्यलाई कुनै अग्रिम जानकारी समेत दिइएको छैन । तिनको सहमति खेलौनाको टाउको हल्लाएजस्तो मात्रै हो ।

यो मध्यपूर्वको कुरा मात्र हैन, एक देशका रुपमा अमेरिकाले सामना गरिरहेको समस्याको सूक्ष्मतम रूप हो । ट्रम्पको पहिलो कार्यकालमा उनको वरिपरि चारैतर्फ मध्यवर्ती क्षेत्रजस्तो बन्न सक्ने सहयोगी, मन्त्री, जर्नेलहरू थिए जसले कयौँपटक उनलाई गलत आवेगबाट रोकछेक गरे । तर, अहिले उनको वरिपरि त्यस्ता मान्छे छैनन् ।

अहिले ट्रम्प उनकै कुरालाई बढाईचढाई गर्ने सहयोगी, मन्त्री, सिनेटर र सांसदद्वारा घेरिएका छन् । ती सबै निर्धारित सीमाभन्दा बाहिर गएर बोले एलन मस्कबाट तयार अनलाइन भीडतन्त्रको धावामा परिने चिन्ताले भयभीत छन् ।

ट्रम्प र मस्कोको संयोजन बेलगाम छ । यिनका हर्कतले सरकार र व्यावसायिक संस्थापन पक्षका धेरैजसो मान्छे एक्समा कसैले केही पोष्ट गर्देला र अवगाल पर्ला भनेर त्रस्त रहन्छन् । ट्रम्पको कार्यसञ्चालन तरिका राष्ट्रपतिको भन्दा बढी ‘गडफादर’को जस्तो छ ।

जहाँ राम्रा साना भूभाग छन्, ट्रम्प त्यहाँ पुग्न चाहिरहेका छन्, भलै कि त्यहाँ कुनै लज्जाजनक नराम्रो अवस्था उत्पन्न किन नहोस् । जस्तो कि, ग्रीनल्याण्ड, पनामा, गाजा, जोर्डन, इजिप्ट ।

यस्ता कुराले सिनेमामा गर्ला, वास्तविक जीवनमा काम गर्दैन । यदि ट्रम्प प्रशासनले साँच्चै गाजाका प्यालेस्टिनीलाई स्वीकार गर्न जोर्डन, इजिप्ट वा अन्य कुनै अरब देशलाई बाध्य गर्ने प्रयास गर्दछ र इजरायली सेनाद्वारा घेरेर तिनलाई खेदिन्छ भने गाजामा मात्र हैन, जोर्डन, इजिप्ट पश्चिमी किनारा, प्यालेस्टाइन र यहाँसम्मकी इजरायलमा समेत जनसाङ्ख्यिक अस्थिरता उत्पन्न हुनेछ ।

यद्यपि, ट्रम्प यो भन्दैछन् कि गाजाको समस्या समाधान गर्न अमेरिकी करदाताको पैसा खर्च गरिने छैन र त्यहाँ अमेरिकी सेना तैनाथ पनि गरिने छैन । तर, के ट्रम्पको चाहनाअनुरूप इजरायली सेना गाजाबाट प्यालेस्टाइनी नागरिकलाई जबर्जस्त खेद्न तयार होला ?

इजरायलीले हमासलाई जतिसुकै घृणा किन नगरून्, चरम दक्षिणपन्थभित्रकै धेरै सेनाले त्यस्तो कारबाहीमा भाग लिन अस्वीकार गर्ने छन् । त्यस्तो कारबाही दोस्रो विश्वयुद्धको दौरान यहुदीमाथिको घेराबन्दी र खेदाइसँग तुलनीय हुनेछ । र, धेरै ठूलो जातीय नरसंहार सावित हुनेछ ।

जस्तो कि इजरायलको समाचारपत्र हारेत्जले भनेको छ– रातारात द्वन्द्व अन्त्यको कुनै जादुगरी समाधान छैन । ट्रम्पले प्रस्तुत गर्न खोजको समाधान इजरायल र प्यालेस्टाइन दुवैका लागि अपमानजनक हो । जबर्जस्त बेदखली, जातीय सफाया र युद्ध अपराध हो ।

गाजामा समुद्रतटीय रिसोर्ट र मस्तीकेन्द्र बनाउने ट्रम्पको सनकी सोचले अरब मुस्लिम जगतमा अमेरिकी हितविरुद्ध तीव्र प्रतिक्रिया पैदा गर्नेछ । धेरै मुस्लिम युरोपका सडकमा निस्कने छन् । प्यालेस्टिनीलाई उनीहरूको मातृभूमिबाट खेद्ने सोचको एसिया, मध्यपूर्व र अन्यत्र पनि प्रतिरोध हुनेछ । ट्रम्प त गाजालाई आफ्नो बनाउन र नागरिकलाई फर्किने अधिकारसमेत नदिन चाहन्छन् ।

यसबाट कसैलाई फाइदा हुन्छ भने इरानलाई मात्र हुन्छ, जो अमेरिका समर्थक सुन्नी देशलाई अङ्गालो हालेर मध्यपूर्वमा फिर्ता पस्न चाहन्छ ।

म्याकडोनाल्डस्टारबक्सजस्ता अमेरिकी कम्पनी जो गाजा युद्धमा अमेरिकी सैन्य सहायताबाटै बहिष्कारको सामना गर्दैछन्, तिनीहरूमाथिको हथौडा प्रहार अझ कडा हुनेछ ।

ट्रम्प ठीकै भन्दैछन् कि हमास एक विकृत सङ्गठन हो, जसले सन् २०२३ को अक्टोबर ७ मा १२०० इजरायलीको हत्या, २५० अपहरण र बन्धक बनाउने गरी युद्ध सुरु गर्यो । गाजा र हमासमाथि इजरायली आक्रमण निम्त्याउने मुख्य घटना यही थियो । हमास गाजामा भूमिगत वर्चश्व बनाएर बसेको थियो ।

हमासले गाजाका वासिन्दाको स्थिति के हुन्छ भनेर कहिल्यै सोचेन, कुनै मतलब नै गरेन । यसले प्यालेस्टिनी नागरिकलाई मानव बलिदानका रुपमा प्रयोग गर्‍यो । गाजावासीलाई बलीको बोका बनायो । इजरायललाई विश्वभरि अवैधानिक युद्ध हर्कत गरिरहेको देखाएर बदनाम गर्न आफ्नै जनतालाई बलिबेदीमा धकेल्यो ।

ट्रम्पले यो पनि ठीकै भनेका हुन् कि परिणामस्वरूप गाजा अब नर्कतुल्य भएको छ । उनको अर्को यो कुरा पनि सही हो कि अरब जगत, इजरायल र असक्षम प्यालेस्टिनी नेताले धेरै लामो समयदेखि प्यालेस्टाइनी शरणार्थी समस्यालाई जीवित राखेका छन् ।

अक्टोबर ७ पछि कुनै प्रकारको शान्तिप्रक्रियामा फर्किन सजिलो छैन । यो धारणा सबैतिर बढ्दै गइरहेको छ कि अब अरु कुनै उपाय रहेन । प्यालेस्टिनीको जातीय नरसंहार गलत हो, तर, इजरायली दक्षिणपन्थ र हमास यही चाहन्छन् ।

ट्रम्प समूहको सबैभन्दा ठूलो समस्या यो हो – उनीहरु मध्यपूर्वलाई इजरायली चरम दक्षिणपन्थ र एभान्जेलिकल क्रिश्चियनको चश्मा लगाएर हेर्दछन् ।

अरब जगतबारे ट्रम्प समूहमा भएका मान्छेको ज्ञान नै निक्कै कम छ । यिनले अरब जगतलाई पर्सियन खाडी लगानीकर्ता समुदायको माध्यमबाट जान्न खोज्दछन् । तसर्थ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तिनलाई मूर्ख बनाउनसक्ने पूर्ण सुविधा र क्षमतामा छन् ।

उदाहरणका लागि ट्रम्पका विदेशमन्त्री मार्को रुबियो भन्दैछन्– ‘हमासले अब कहिल्यै इजरायललाई धम्क्याउन र गाजामा शासन गर्न सक्ने छैन ।’ तर, उनलाई नेतन्याहु नै ती नेता थिए, जसले कतारमार्फत् गाजामा सुरुङ बनाउन र हतियार उत्पादन कार्यक्रम चलाउन लाखौं डलर दिएका थिए भन्ने ज्ञान नै छैन ।

नेतन्याहु चाहन्थे– हमासले पश्चिमी किनाराको प्यालेस्टिनी प्राधिकारको साटो गाजामा शासन गरोस् ताकी प्यालेस्टाइन सधैँ विभाजित होस र ‘दुई राज्य समाधान’ को साझेदार कहिल्यै बन्न नसकोस् । जर्ज डब्लु बुस यताका सबै अमेरिकी राष्ट्रपतिको लक्ष्य ‘दुई राज्य समाधान’ नै थियो ।

नेतन्याहुलाई यो कुरा राम्रोसँग थाहा छ– भरपर्दो वैकल्पिक समाधान प्यालेस्टिनी प्राधिकारको सुधार हो । तर, यसो हुन दिने हो भने इजरायलका चरम दक्षिणपन्थीले उनलाई नेता मान्दैनन्, इजरायली शासनसत्ताबाटै हटाइदिन्छन् ।

तसर्थ नेतन्याहुका आफ्नै राजनीतिक स्वार्थ छन् । त्यही स्वार्थको कारणले जातीय सफाया दुवै पक्षको खाँटी विश्वास बनेको छ । 

यदि ट्रम्प साँच्चै कुनै क्रान्तिकारी प्रस्थानविन्दु बनाउन र मान्छेको मनमा उनले राखेको डरको फाइदा उठाउन चाहन्छन् भने यस्तो गाजा प्रस्तावले कुनै काम गर्दैन । उनको प्रस्तावले सबैलाई विरोधी बनाउने छ । नर्कतुल्य बनेको गाजामा थप चिहान खन्ने छ ।

प्यालेस्टाइन प्राधिकारलाई भन्न पर्नेछ – यदि गाजामा शासन गर्ने हो भने कुनै अभ्रष्ट र स्वच्छ नयाँ नेता नियुक्त गरोस् । प्रभावकारी प्रधानमन्त्री बनाओस् । पूर्वप्रधानमन्त्री सलाम फैयादजस्तै कोही तुरुन्तै नेतृत्वमा आओस् । गाजा क्षेत्रलाई नियन्त्रण गर्न अरब शान्ति सेना आमन्त्रण गरोस् ।

अरब शान्ति सेनाले हमास नेतृत्वलाई गायब हुन बाध्य गरोस् र गाजाको पुनर्निमाणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन सकोस् । अरब शान्ति सेनाले प्यालेस्टिनी प्राधिकारको सुरक्षा बललाई तालिम देओस् र अन्ततोगत्वा गाजामा शासन गर्न सक्नेगरी सहयोग गरोस् ।

यी प्रक्रियालाई नेतन्याहुले कुनै बाधा नपुर्‍याउन । इजरायली सेना सघन बसोबास केन्द्रभन्दा बाहिर आफ्नो सुरक्षा चासोलाई ध्यान दिएर बसोस् । पश्चिमी किनारा र गाजा मिलेर एउटै प्यालेस्टाइन राज्य बनोस् र दुई राज्य समाधान क्रियाशील होस् । यो प्रक्रियालाई साउदी अरबले सहयोग पुर्‍याउन सक्दछ ।

समस्याको साँचो समाधान यो हो । तर, ट्रम्प प्यालेस्टाइनी नागरिकलाई धपाएर गाजामा विश्वकै मोजमस्ती केन्द्र बनाउनेजस्तो बेतुकको प्रस्ताव अघि सार्दैछन्

ट्रम्पले ढिलो होस् वा चाँडो– यो बुझ्नै पर्ने छ कि अमेरिकी हित र नेतन्याहुका स्वार्थ पङ्क्तिबद्ध हैन, अलगअलग छन् । नेतन्याहुको स्वार्थ जसरी होस् इजरायलको सत्तामा बनिरहनु हो, चाहे त्यसका लागि बन्धक रिहाईमा ढिलाई, युद्ध जारी राख्नु, साउदी अरब–इजरायल बीचको ऐतिहासिक र सामान्यीकृत सम्बन्धको परित्याग नै किन गर्न नपरोस् ।

जस्तो कि नेतन्याहुले साउदी अरेबियालाई चिड्याउने गरी भनेका छन्, ‘साउदीले आफ्नै भूभागभित्र प्यालेस्टाइनी राज्य स्थापना गरोस्, साउदीसँग जमिनको कुनै कमी छैन ।’

यस्तो बेला ट्रम्पले गाजा समस्याबारे ताजा दिमागले सोच्न सक्नु पर्ने हो । तर, ट्रम्पको सोच ताजा हैन, आफ्नै विश्वसनीयता र अमेरिकी हितको वास्ता नगरीकन अघि सारिएको ताजा बेतुकी हो । यो यस्तो सोच हो जसले इजरायललाई मृत्यु, इरानलाई जीवन र प्रत्येक अमेरिकी साझेदारलाई अस्थिरता दिन्छ ।

(द न्युओर्क टाइम्सबाट अनूदित )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register