सोलार बत्तीका साथ जलालको उज्यालो यात्रा, सौर्यको आईपीओबाट नयाँ सम्भावना

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ स्थित जलाल गाउँसँग सोलार बत्तिका धेरै सम्झनाहरू जोडिएका छन् । परिवर्तित समयलाई अङ्गीकार गरेका गाउँलेहरूले भर्खरै मात्र विद्युत्‌को उज्यालो छहारी पाएका छन् । करिब ४५ घरधुरी रहेको सो बस्ती अझै पनि सोलार बत्तीको झिलिमिलीले बल्ने गर्दछ । स्थानीय प्रेमकुमार पौडेल भन्छन्, “सबैको घरमा बत्ती भनेको उही सोलार नै त थियो […]

Feb 22, 2025 - 11:59
 0
सोलार बत्तीका साथ जलालको उज्यालो यात्रा, सौर्यको आईपीओबाट नयाँ सम्भावना

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ स्थित जलाल गाउँसँग सोलार बत्तिका धेरै सम्झनाहरू जोडिएका छन् ।

परिवर्तित समयलाई अङ्गीकार गरेका गाउँलेहरूले भर्खरै मात्र विद्युत्‌को उज्यालो छहारी पाएका छन् । करिब ४५ घरधुरी रहेको सो बस्ती अझै पनि सोलार बत्तीको झिलिमिलीले बल्ने गर्दछ । स्थानीय प्रेमकुमार पौडेल भन्छन्, “सबैको घरमा बत्ती भनेको उही सोलार नै त थियो ।”

उनी नगरपालिकाले नै बस्तीका सबै घरमा पाँच वाट सोलार बाँडेको सम्झन्छन् । सोही गाउँका युवा प्रवीण माझी सोलार बत्तीसँगै हुर्किएको आफ्नो बाल्यकाल सुनाउँछन् ।

“बत्ती बाल्न त भइहाल्थ्यो घरमा, सानोमा मोबाइल चार्ज गर्न त्यो सोलारको ब्याट्री नै बोकेर गाउँतिर हिँड्थ्यौँ, त्यो चाहिँ खुब याद आउँछ ।” उनले भने ।

उनकाअनुसार उनीहरूले तिहारमा देउसी भैलो खेल्न तथा सांस्कृतिक कार्यक्रम हिँडाउँदा साइकलमा सोलारको १०० वाटको ब्याट्री र साेलार प्यानल बोकेर हिँड्ने गर्दथे ।

उनी हाँस्दै भन्छन्, “हामीले तिहारमा नाचेर उठेको पैसाबाट १०० वाटको सामुदायिक सोलार बत्ती जोडेका थियौँ । अनि कतै सांस्कृतिक कार्यक्रम हुँदा त्यही बोकेर गइन्थ्यो ।”

यो त एउटा प्रतिनिधिमूलक गाउँ मात्र हो । नेपालका यस्ता धेरै ग्रामीण भेग छन् । जहाँका मानिसहरूको सोलार बत्तीसँग नजिकको सम्बन्ध छ ।

लाइन पुगे पनि सोलारको बत्ती बाल्छन् जलालबासिन्दा

जलालका हरेक व्यक्तिसँग सोलारको मिठो किस्सा जोडिएको छ । प्रेम कुमार पौडेलकाअनुसार अहिले विद्युत् पुगिसकेपनि गाउँलेहरूले अझै सोलार बत्तीको प्रयोग गर्ने गर्दैछन् । जसबाट पैसा पनि कम उठ्ने र सहज पनि हुने उनको धारणा छ ।

स्वयं प्रेम कुमारको घरमा नै ४० वाट, २० वाट र पाँच वाट गरी तीन वटा सोलार बत्ती रहेको छ । उनले ती सोलारको बत्तीहरूलाई घर वरपर मात्र नभएर आफ्नो खेतबारीतिर पनि राखेका छन् । घरमा लाइन आएपनि आफूहरूले बत्ती बाल्न भने सोलारको नै प्रयोग गर्ने उनी बताउँछन् ।

प्रेमकुमार पौडेलको घरमा राखिएको सोलार प्यानल

“मोबाइलहरू चार्ज गर्न मात्र हो लाइन प्रयोग गर्ने नत्र त हामी बत्ती सोलार को नै बाल्छौँ । पैसा पनि नउठ्ने दिनभरिमा घामबाट चार्ज भइहाल्छ । राति लाइनभन्दा चखिलो बल्छ ।” उनी सुनाउँछन् ।

सौर्य ऊर्जाको विकासक्रम

सोलार बत्तीको कुरा गरिरहँदा सौर्य ऊर्जाको विकास क्रम हेर्नुपर्ने हुन्छ । ईसा पूर्व ४७० मा दार्शनिक सुकरातले पहिलो पटक ऊर्जाका सम्बन्धमा सौर्य ऊर्जा सिद्धान्तको वर्णन गरेको पाइन्छ ।

यसको ठीक १७० बर्सपछि युनानका गणितज्ञ युकिल्डले सौर्य ऊर्जाको उपयोगितालाई बुझे र एक सिद्धान्त प्रतिपादन गरे । झन्डै २८७ वर्ष पूर्व प्रसिद्ध युनानी दार्शनिक एवं गणितज्ञ आर्किमिडिजले पहिलोपल्ट सौर्यलाई प्रयोगात्मक रूपमा उपयोग गरेका थिए ।

उनको यो प्रयास पछि नै विश्वमा सौर्य ऊर्जा अध्ययनको नवीन अध्याय सुरु भएको भनिन्छ । फेरि, आर्किमिडिजले ठूल्ठूला ऐनाबाट सूर्यको किरणलाई फर्काएर शत्रु पक्षका जहाजमेत जलाई दिएका थिए ।

यसपछि सन् १६१५ मा जल पम्पको आविष्कार भयो यो नै विश्वमा सौर्य ऊर्जाबाट चल्ने पहिलो प्रविधि थियो । सन् १७९० मा सौर्य ऊर्जा सङ्ग्रहण पद्धतिको खोज थियो । त्यसपछि सन् १८७२ मा सौर्य आसवन यन्त्रको विकास भयो ।

अध्ययन र विकासको यो क्रम सँगसँगै  सौर्य प्रकाशलाई विद्युत् ऊर्जामा परिणत गर्ने अनुसन्धानलाई पनि वैज्ञानिकहरूले निरन्तरता दिँदै गए । सन् १८८३ मा अमेरिकी वैज्ञानिक चाल्र्स फ्रिट्सले सेलेनियम वेफरको प्रयोग गरी पहिलो सौर्य सेलको आविष्कार गरे ।

यसको विद्युत् उत्पादन क्षमता अत्यन्त न्यून थियो । त्यसपछि सन् १९५७ ताका अमेरिकाको होफम्यान इलेक्ट्रोनिक्स कम्पनीले पहिलोपल्ट आठ प्रतिशत विद्युत् परिवर्तन क्षमता भएको सौर्य सेल बजारमा ल्याएको थियो ।

नेपालमा फस्टाउँदो स्वरूप

नेपालमा सौर्य ऊर्जाको प्रयोग सन् १९८० को दशकमा भएको बताइन्छ । त्यति बेला फ्रान्सको सहयोगमा नेपालका ताप्ली वासी, कोदारी, सिमिकोट र गमगढीमा सौर्य विद्युत् उत्पादन गरिएको थियो । यसको क्षमता १३० किलोवाट थियो ।

अहिले, सोलार प्यानलको प्रयोग दुर्गम स्थानहरूमा विद्युत् सेवा उपलब्ध गराउनका लागि गरिएको छ र केही स्थानमा पूर्णतः व्यावसायिक भइसकेको छ ।

काठमाडौं उपत्यका खोपालीमा लिमिटेडले ललितपुरको थीबीनाथमा निर्माण गरेको ६० किलोवाटको सौर्य विद्युत् पहिलो पटक विद्युत् खरिद सम्झौता (पीपीए) गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो ।

ऊर्जा प्रविधिको विकास तथा विस्तार गर्न नेपाल सरकारको अगुवाइमा २०५३ साल कार्त्तिक १८ गते विकास समिति ऐन, २०१३ अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन विकास समिति अन्तर्गत रहने गरी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको स्थापना भएको थियो ।

जसबाट नवीकरणीय ऊर्जाको उत्पादन गर्दै ग्रामीण जनताको जीवनस्तरमा सुधार ल्याउने, वातावरण संरक्षण गर्ने, रोजगारीका अवसरमा वृद्धि गर्ने र नवीकरणीय ऊर्जा प्रविधिलाई व्यवसायीकरण गरी यस सम्बन्धी उद्योग धन्दाको विकास गर्ने कार्यहरू हुँदै आएका छन् ।

केन्द्रबाट लघु तथा साना जलविद्युत्, सौर्य ऊर्जा, जैविक ऊर्जा (बायो ग्यास, सुधारिएको चुलो, बायोमेट्रिक, ग्यास फायर आदि), वायु ऊर्जा, सुधारिएको पानी घट्ट, भूतापीय ऊर्जा इत्यादि कार्यक्रम सञ्चालनमा रहेका छन् ।

चर्चा गरौँ फाइदाको

सौर्य ऊर्जाको प्रयोगले विद्युत् खपतमा टेवा पुर्‍याउन सकिने विज्ञहरू बारम्बार बताउँदै आइरहेका छन् । सौर्य ऊर्जा सूर्यको किरणबाट प्राप्त हुने भएकाले यो असीमित र वातावरणमैत्री हुने गर्दछ । यसले कार्बनडाइअक्साइड जस्ता हरितगृह ग्यासहरूको उत्सर्जन नगरी ऊर्जा उत्पादन गर्छ ।

जसबाट वातावरण प्रदूषित हुनबाट जोगिने गर्दछ । सौर्य ऊर्जाको प्रयोगले बिजुलीको बिल कम गर्न सकिने स्वतन्त्र ऊर्जा प्राप्त हुने गर्दछ । पौडेल भन्छन्, “पानी पर्ने बित्तिकै लाइन जान्छ, तर पानी परे पनि नपरे पनि सोलार बत्ती जाँदैन आफ्नै तरिकाले स्वतन्त्र चलाउन सकिन्छ ।”

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की सौर्य ऊर्जा उत्पादक निजी संस्थाहरूलाई सरकारले सहज वातावरण बनाइदिनुपर्ने बताउँछन् ।

सौर्य ऊर्जा उत्पादक कम्पनी पियोर इनर्जीले आईपीओ निष्कासन गर्न लाग्नु यो क्षेत्रकै खुशीको कुरा रहेको बताउँछन् । यसका लागि उनले गोल्यान समूहलाई धन्यवाद पनि दिएका छन् ।

“सरकारले निजी क्षेत्रलाई सहज वातावरण निर्माण गरिदिने हो भने वर्षमा १ एक हजार मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ,” उनले भने । विद्युत् उत्पादनमा वृद्धि गर्न सके मुलुकले अर्को वर्षदेखि बिजुली किन्नै नपर्ने वा न्यून मात्रै किन्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

हाल नेपालमा पनि सौर्य ऊर्जा उत्पादन गर्ने धेरै कम्पनीहरू उदाइसकेका छन् । जसमा पियोर इनर्जी, वेस्ट इनर्जी, दीप ज्योती सौर्य ऊर्जा, दीप लाइट इनर्जी, जेबि इन्टरप्राइजेज, काठमाडौं पावर लगायतका धेरै सौर्य ऊर्जा उत्पादक कम्पनी रहेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म करिब १०७ मेगावाट बराबरका सौर्य ऊर्जा उत्पादक आयोजनाहरू सञ्चालनमा रहेका छन् । जसमध्ये निजी क्षेत्रले निर्माण गरेका ८२ मेगावाटका १६ आयोजना सञ्चालनमा रहेका छन् भने प्राधिकरणले नुवाकोटको त्रिशूलीमा २५ मेगावाटको आयोजना बनाएको छ ।

जसबाट १० लाख ७ हजार घरधुरी लाभान्वित भएको जनाइएको छ ।

आईपीओमा सौर्य ऊर्जा कम्पनीको प्रवेश

गोल्यान ग्रुपद्वारा सञ्चालित पियोर इनर्जी लि.ले भर्खरै मात्र धितोपत्र बोर्डमार्फत आईपीओ निष्कासनको अनुमति पाएको छ । पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ ।

दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी हो । आयोजना ४३ बिगाहा क्षेत्रमा फैलिएको छ ।

बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएसँगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ ।

जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत सेयर सर्वसाधारणको लागि निष्कासन हुन लागेको हो । सेयर निष्कासनको लागि नबिल इन्भेस्टमेन्ट बिक्री प्रबन्धक रहेको छ । यो आईपीओमा जान अनुमति पाउने पहिलो सौर्य ऊर्जा उत्पादक कम्पनी हो ।

कम्पनीले भर्खरै मात्र पनि नेपालमा सौर्य ऊर्जाको माग र आवश्यकता परिपूर्ति गर्नका लागि भारतीय सबैभन्दा ठूलो  सौर्य ऊर्जा  उत्पादक कम्पनीसँग सहकार्य गर्न सम्झौता गरेको छ ।

नेपालमा भर्खरै मात्र सम्पन्न भएको प्रोजल ग्रीन इनर्जी शिखर सम्मेलनमा दुई वर्षमा पाँच सय मेगावाट भन्दा बढी सौर्य ऊर्जा उत्पादक परियोजनाहरू बनाइने बताइएको छ । जसमा नेपालको पियोर इनर्जी र भारतको सबैभन्दा ठूलो सौर्य कम्पनी प्रोजिल ग्रीन इनर्जीले संयुक्त काम गर्ने छन् ।

प्रोजिल ग्रीन इनर्जी नेपालले आगामी २४ महिनामा नेपालका विभिन्न स्थानहरूमा ५०० मेगावाट भन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू स्थापना गर्ने लक्ष्य राखेको बताएको छ ।

देशलाई स्वच्छ ऊर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रूपान्तरणकारी काम गर्ने प्रोजिल ग्रीन इनर्जी नेपालले जनाएको छ । प्रोजिल ग्रीन इनर्जीले नवीकरणीय ऊर्जा क्षेत्रमा व्यापक विशेषज्ञतालाई प्रयोगमा ल्याउँदै (इन्जिनियरिङ, खरिद र निर्माण) विकास कम्पनीको रूपमा काम गर्ने गोल्यान ग्रुपका अध्यक्ष अक्षय गोल्यानले बताउँछन् ।

उनी नेपाल विद्युत् प्राधिकरणले ९६० मेगावाटको सोलार उत्पादनमा पीपीए गर्ने सम्झौता बमोजिम प्रोजिल ग्रीन इनर्जी प्राविधिक पार्टनरका रूपमा काम गर्ने बताए । उनले प्रोजिल ग्रीन इनर्जीले उद्योगहरूमा सौर्य ऊर्जा परियोजनाहरू निर्माण गरी दिने लक्ष्य राखेको उनको भनाइ छ ।

प्रोजिल ग्रीन इनर्जीसँगको सहकार्यले नेपालको बढ्दो ऊर्जा माग पूरा गर्ने र आर्थिक वृद्धिलाई सहज बनाउन सकिने प्रोजिल ग्रीन इनर्जी नेपालका सञ्चालक प्रवीण अर्याल बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register