‘भोला थापा नै उपकुलपति नियुक्ति गरिनु पर्छ’– संयोजक शर्मा

मेरिटका आधारमा तीन जनाको नाम भित्र निवर्तमान उपकुलपति प्रा.डा.भोला थापाको नाम नअटेपछि उपकुलपति सिफारिस गर्न गठित समितिका संयोजक डा.सुरेशराज शर्माले थापाको नाम जसरी पनि राख्न खोजे पछि समितिमा रहेका दुई सदस्यले राजीनामा दिने चेतावनी दिएका छन् ।  काभ्रे।  काठमाडौँ विश्वविद्यालयमा उपकुलपति छनौटका लागि गठन गरिएको सिफारिस समितिमा एकमत नहुँदा मापदण्डले तय गरेका नामहरु सिफारिसमा ढिलाई […]

Feb 25, 2025 - 11:19
 0
‘भोला थापा नै उपकुलपति नियुक्ति गरिनु पर्छ’– संयोजक शर्मा

मेरिटका आधारमा तीन जनाको नाम भित्र निवर्तमान उपकुलपति प्रा.डा.भोला थापाको नाम नअटेपछि उपकुलपति सिफारिस गर्न गठित समितिका संयोजक डा.सुरेशराज शर्माले थापाको नाम जसरी पनि राख्न खोजे पछि समितिमा रहेका दुई सदस्यले राजीनामा दिने चेतावनी दिएका छन् । 

काभ्रे। 

काठमाडौँ विश्वविद्यालयमा उपकुलपति छनौटका लागि गठन गरिएको सिफारिस समितिमा एकमत नहुँदा मापदण्डले तय गरेका नामहरु सिफारिसमा ढिलाई भएको छ । माघ ७ गते देखि काठमाडौँ विश्वविद्यालय रजिस्ट्रार समेत रहेका कामु उपकुलपति डा.अच्युत वाग्लेको जिम्मेवारी छ । 

एक संचारमाध्यमलाई अन्तर्वार्ता दिदै संयोजक डा. सुरेशराज शर्माले पूर्व उपकुलपति डा.भोला थापालाई नियुक्ति गर्नुको विकल्प नभएको बताएका छन् । थापा मेरिटमा नै नपरे पनि उनलाई नै नियुक्ति गर्नुको विकल्प नभएको बताएका छन् । शर्माको उक्त भनाई प्रति असहमति राख्दै उम्मेदवारहरुले कुलपतिको ध्यानाकर्षण गराएका छन् ।

 उम्मेदवार मध्येका एक प्रा.डा विभुतिरञ्जन झाले डा.सुरेशराज शर्मालाई आफू मेरिट भित्र नपरे पनि मेरिटका आधारमा छनौट भएका भन्दा बाहिरका व्यक्तिलाई सिफारिस नगर्न चेतावनी दिएका छन् । संस्थाको हित भन्दा तजबिजी मूल्याङ्कनलाई प्राथमिकता दिएपछि डा.झाले सामाजिक सञ्जाल मार्फत योग्यता, अनुभव, प्रकाशन, प्रस्तुति, अन्तर्वार्ता सबैमा अंकभार खुलाई कार्यविधिमा नै उल्लेख गरेर उपकुलपति सिफारिस गर्ने भनेपछि त्यो विपरीत जाने नियत छर्लङ्ग भएको बताएका छन् । ‘डा.शर्माको नियत र स्वार्थको पोको हो’–डा.झाले भनेका छन् ।

 समिति गठन भएको साढे २ महिना बितिसकेको छ । समितिका संयोजक डा.सुरेशराज शर्माले आफ्नो आशय फरक परेकाले सिफारिस हुन नसकेको बताए । समितिका दुई सदस्य र आफ्नो मत फरक फरक भएकाले सिफारिस नभएको संयोजक शर्माले बताए । संयोजक शर्माले लामो समय काठमाडौं विश्वविद्यालयमा कार्यरत उपकुलपति भइसकेका डा.भोला थापाकै नियुक्ति हुनु पर्ने स्पष्ट बताएका छन् । 

संयोजक समेत रहेका संस्थापक उपकुलपति डा.सुरेशराश शर्माले समितिमा मापदण्ड भन्दा बाहिर परेका उम्मेदवारको नाम अनिवार्य सिफारिस गर्नु पर्ने अडान लिए पछि दुई सदस्य जनार्दन नेपाल र डा.अर्जुन कार्कीले असहमति राखेपछि समितिले नाम सिफारिस गर्न नसकेको बताए । समितिले म्याद सकिनु अगावै उपकुलपति छनौट गरी कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउनु पर्ने भए पनि सुरुमै मापदण्डमा चिकित्सक डाक्टरहरुलाई आवेदन दिन नै नसक्ने गरी छुटाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मापदण्ड संशोधन गरी पुनः आवेदन माग गर्न विश्वविद्यालय सभाबाट निर्णय गराए पछि संयोजक डा.सुरेशराज शर्माले उपकुलपति डा.भोला थापालाई नै निमित्त उपकुलपति नियुक्ति गर्न कुलपति ओलीलाई पत्र लेखेका थिए । जुन विश्वविद्यालय ऐन विपरीत थियो । त्यही  पत्रबाट डा.शर्मा उपकुलपतिमा डा.थापालाई नै नियुक्ति गराउन चाहन्छन् भन्ने खुलासा भएको थियो । 

मापदण्ड संशोधनपछि थपिएका उम्मेदवार सहितको अन्तर्वार्ता सकिएको लामो समय बितिसक्दा समेत समितिले उपकुलपति सिफारिस गर्न सकेन । समितिले तोकेको आवश्यक मापदण्ड अनुसार डा.शर्माले चाहेका उम्मेदवार डा.भोला थापा चौथो नम्वरमा पुगे । समितिले तीन जनाको नाम मात्रै सिफारिस गर्न सक्छ । २०८१ फागुन ९ गते शुक्रवार सम्पूर्ण प्रक्रिया सकिएर मेरिटका आधारमा तीन जनाको नाम कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गर्नुपर्ने थियो । मेरिटका आधारमा डा.बालचन्द्र लुइँटेल, अच्युत वाग्ले र डा.सुबोध शर्मा छानिए । तर, संयोजक शर्माले चाहेका थापा मेरिटमै नपरेपछि प्रक्रिया रोकिएको सदस्य डा.अर्जुन कार्कीले बताए । समितिमा सदस्यद्धयले मेरिट भन्दा बाहिर गई निर्णय गरेमा विरोधमा उत्रिने चेतावनी पछि संयोजक शर्माले निर्णय सिफारिस रोकेर उपकुलपति डा.थापालाई शक्तिकेन्द्रमा धाउन पठाउन लगाएका छन् । संयोजक शर्मा समितिका दुई सदस्यको हस्ताक्षर बेगर थापाको नाम एक नम्बरमा राखेर प्रधानमन्त्रीसमक्ष लैजाने तयारीमा छन् । समितिको निर्णय बेगर एकल सिफारिस गरेमा राजीनामा दिने तयारीमा दुई सदस्य रहेको उनीहरूले बताए । 

उपकुलपति भएका बखत डा.थापाले आफू र आफन्त निकटका व्यक्तिहरू मार्फत विश्वविद्यालयलाई आर्थिक रूपले कमजोर बनाउन भूमिका खेलेको, विश्वविद्यालयमा सधै लाभको जिम्मेवारीमा रहेको, धुलिखेल अस्पतालसँगको सम्बन्ध भत्काएको तथा विश्वविद्यालयलाई कमजोर बनाएको आरोप छ । तर थापाले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register