कसैलाई साङ्गठनिक चटारो, कसैलाई ०८४ को हतारो

काठमाडौं । सत्तारुढ र प्रतिपक्षी अधिकांश दल अहिले राजनीतिक अभियानका सक्रिय देखिन्छन् । उनीहरू सङ्गठन चलायमान बनाउनेदेखि २०८४ को निर्वाचन केन्द्रित अभियान लिएर जिल्ला-जिल्लामा पुगेका छन् । महाधिवेशन मिति टुङ्गो नभएको ठूलो दल काङ्ग्रेसले सङ्गठन चलायमान बनाउन भन्दै सय दिने अभियान सकेको छ । नेताहरू अझै पनि जिल्ला-जिल्ला पुगिरहेका छन् । नेकपा एमाले ‘जरा अभियान’सहित […]

Feb 26, 2025 - 09:01
 0
कसैलाई साङ्गठनिक चटारो, कसैलाई ०८४ को हतारो

काठमाडौं । सत्तारुढ र प्रतिपक्षी अधिकांश दल अहिले राजनीतिक अभियानका सक्रिय देखिन्छन् । उनीहरू सङ्गठन चलायमान बनाउनेदेखि २०८४ को निर्वाचन केन्द्रित अभियान लिएर जिल्ला-जिल्लामा पुगेका छन् ।

महाधिवेशन मिति टुङ्गो नभएको ठूलो दल काङ्ग्रेसले सङ्गठन चलायमान बनाउन भन्दै सय दिने अभियान सकेको छ । नेताहरू अझै पनि जिल्ला-जिल्ला पुगिरहेका छन् ।

नेकपा एमाले ‘जरा अभियान’सहित तल्लो तहसम्म पुगिरहेको छ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले तराई-मधेस जागरण अभियानसहित हुलाकी मार्ग केन्द्रित पूर्व पश्चिम यात्रा गरिरहेको छ ।

रास्वपाले पनि कार्यकर्ता प्रशिक्षण कार्यक्रम चलाइरहेको छ भने एकीकृत समाजवादीले पनि मध्य पहाडी लोकमार्ग केन्द्रित अभियानको तयारी गरिरहेको छ । मधेस केन्द्रित दलले पनि अभियान चलाउने सोच बनाइरहेका छन् ।

काङ्ग्रेसको एउटा सकियो, अर्कोको तयारी

नेपाली काङ्ग्रेसले साङ्गठनिक समस्या समाधानका लागि भन्दै चलाएको सय दिने अभियान सकिसकेको छ । सदस्यता वितरण, नवीकरणका काम सक्न र साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउन काङ्ग्रेसले अभियान चलाएको थियो । असोज ७ गतेदेखि पुस १६ सम्म अभियान घोषणा गरेको काङ्ग्रेसले पछि एक महिना थप गरेको थियो । यसको विस्तृत प्रतिवेदन भने केन्द्रमा प्राप्त हुन अझै बाँकी छ ।

प्रतिवेदनमा आएका सुझावका आधारमा पार्टीले जनतामाझ जान अझै विस्तृत अभियान सञ्चालन गर्ने काङ्ग्रेस सहमहामन्त्री जीवन परियारले बताए । “हामीले तल्लो तहसम्म पुगेर पार्टीका सङ्गठनात्मक समस्यादेखि जनताका समस्या बुझ्ने काम गर्‍यौँ । यो अभियान पार्टीको सङ्गठनलाई चलायमान बनाउनका लागि निकै लाभदायक भयो । अभियानको एकीकृत प्रतिवेदन केन्द्रमा प्राप्त हुन अझै बाँकी छ । त्यसको अध्ययन गरेर आवश्यकता र प्राथमिकताका आधारमा कार्यक्रम तयार गर्दै पार्टीले अर्को अभियान अघि बढाउनेछ,” उनले भने ।

काङ्ग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको विश्लेषणात्मक प्रतिवेदन पार्टीको आगामी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पेस हुने र त्यसको आधारमा थप कार्यक्रम तय गर्ने बताए । “पार्टीलाई  गतिशील र प्रभावकारी बनाउने सन्दर्भमा ७७ जिल्लाबाट पेस भएका प्रतिवेदनका विश्लेषणात्मक प्रस्तुतिपछि थप कार्ययोजना बनाउने तयारी छ,” उनले भने ।

एमालेको जरा अभियान   

एमाले अहिले जरा अभियानमार्फत तल्लो तहसम्म पुगिरहेको छ । ०८४ को आमचुनावलाई केन्द्रित गर्दै यसअघि त्यस पार्टीले मिसन ग्रासरूट, सङ्कल्प यात्रा र एक वर्षे शुद्धीकरण अभियान सञ्चालन गरिसकेको छ । मिसन ग्रासरूटको सुझावका आधार एमालेले अहिले जरा अभियान चलाइरहेको हो । यो अभियानमा एमालेले वडा र पालिकालाई प्रमुख प्राथमिकतामा राखेको छ ।

यसअघिका अभियान कमिटी परिचालनका लागि भए पनि अहिले जनतासँग जोडिने गरी अघि बढेको एमालेका नेताहरू बताउँछन् । अभियानलाई एमालेले ०८४ को चुनावसँग पनि जोडेको छ । यद्यपि, यो अभियान सम्पूर्ण रूपमा चुनावमा मात्रै केन्द्रित नरहेको पार्टीका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी बताउँछन् ।

“एमालेलाई राष्ट्रिय रूपमा निर्णायक शक्ति बनाउने लक्ष्य राखेको यो अभियानलाई चुनावसँग पनि जोडेर हेरिएको छ । तर, यो पूर्ण रूपमा चुनाव केन्द्रित अभियान मात्रै होइन,” उनले भने ।

अधिकारीकाअनुसार एमालेलाई जग देखि नै बलियो बनाउनका लागि यो अभियान सञ्चालन गरिएको हो ।  “वैज्ञानिक समाजवादमार्फत मुलुकलाई समृद्ध बनाउने एमालेको योजना छ । त्यसका लागि एमाले आफैँ सुदृढ र बलियो हुनुपर्छ,” अधिकारीले भने, “आगामी २५ वर्षमा मुलुकलाई समृद्ध बनाउने लक्ष्य प्राप्तिका लागि पार्टीलाई तयार गर्ने अभियानको आरम्भका रूपमा यसलाई बुझ्नुपर्छ ।”

जरा अभियान सञ्चालन भएको डेढ महिना भइसकेको छ । अभियानले पार्टी पङ्क्तिमा उत्साह थपेको उनको भनाइ छ । यो अभियान सम्पन्न भएपछि एमाले सुदृढ र नयाँ ढङ्गबाट अघि बढ्ने अधिकारीले जिकिर गरे ।

माओवादी मधेस जागरणमा 

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र पनि राजनीतिक अभियानमा केन्द्रित छ । पूर्वको झापाबाट पार्टीले तराई-मधेस जागरण अभियान सुरु गरेर अहिले अघि बढाइरहेको छ ।

करिब एक महिना लामो अभियान उसले सुदूरपश्चिमको कञ्चनपुर पुगेर टुङ्ग्याउनेछ । यसलाई माओवादीले चुनावमा साख फर्काउने अभियानका रूपमा लिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६४ को स्थितिमा माओवादीलाई पुर्‍याउन अपिल गरिरहेका छन् ।

कमीकमजोरी सच्याउँदै अब पूर्णरूपमा उत्पीडित वर्ग र समुदायमा पार्टीलाई केन्द्रित बनाउने भन्दै उनले जानेर वा नजानेर जनताका एजेन्डा छोडेकोमा आत्मालोचना गरेका छन् ।

०८४ को निर्वाचनमा कसैसँग माओवादीले गठबन्धन नगर्ने र आफ्नै बलमा चुनाव लड्ने जिकिर गर्दै प्रचण्डले पार्टीलाई बलियो बनाउन सहयोग मागिरहेका छन् ।

“काङ्ग्रेससँग सहकार्य गर्दा पनि एमालेसँग सहकार्य गर्दा पनि माओवादी नै कमजोर भयो । अब माओवादी आफ्नै बलमा चुनाव लड्छ कसैसँग पनि सहकार्य गर्दैन । हामी बलियो हुँदा मात्रै उत्पीडित समुदाय र वर्गका माग सम्बोधन हुन्छन्,” प्रचण्डले चुनावी अभियानका कार्यक्रममा भनेका छन् ।

रास्वपाले नेतृत्व प्रशिक्षण दिँदै 

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफूलाई सुदृढ बनाउने अभियान सञ्चालनको तयारी गरिरहेको छ । पार्टीका आगामी कार्य योजना र पार्टीले हासिल गर्न चाहेको लक्ष्यबारे सदस्यहरूलाई बुझाउन उसले अभियान चलाउने तयारी गरेको हो ।

रास्वपाले वडा तहसम्म चुनावलक्षित नेतृत्व विकास कार्यक्रम सञ्चालनको तयारी गरिरहेको सह-महामन्त्री विपिनकुमार आचार्यले बताए ।

“पार्टीले के लक्ष्य हासिल गर्न खोजेको हो, कस्तो उचाइ प्राप्त गर्न लागेको हो भन्ने सन्दर्भमा तल्लो तहसम्म बुझाउनुपर्ने आवश्यकता छ । यस्तै, चुनाव लड्न इच्छुकहरूलाई प्रशिक्षणका लागि लिडरसिप एकेडेमीलाई तल्लो  तहसम्म पुर्‍याउने अभियान हामी चलाउँदै छौँ,” आचार्यले भने, “निर्वाचनमा लड्न योग्य व्यक्तिका क्षमतालाई थप विस्तार गर्न र निर्वाचनपछिका दायित्वबारे पहिले नै तयार गर्न हामीले लिडरसिप एकेडेमी सञ्चालनको तयारी गरेका हौँ ।”

पार्टीलाई गतिशील बनाउन र आफ्ना एजेन्डाबारे जनतालाई प्रस्ट पार्ने गरी सदस्यहरूलाई वृहत प्रशिक्षण कार्यक्रम छिट्टै घोषणा हुने आचार्यले जनाए ।

अन्य दल पनि तयारीमा 

एकीकृत समाजवादीले पनि आन्दोलनको कार्ययोजना तयार गर्दै जनतासँग जाने निर्णय गरेको छ । यसअघि घोषणा भएका कार्यक्रम महाधिवेशनलगायत अन्य राजनीतिक गतिविधिका कारण प्रभावित भएकाले एकीकृत समाजवादी यसपटक मध्यपहाडी क्षेत्रको यात्रामा निस्किन लागेको हो ।

दललाई प्रभावकारी र सुदृढ बनाउने र जनताका पीडा सम्बोधनका लागि दबाबको उद्देश्यले अभियान सञ्चालन गर्न लागेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए । “यसपटक कार्यकर्तालाई व्यवस्थित रूपमा प्रशिक्षण दिँदै सङ्गठन विस्तार गर्दै जनताका गुनासा सुन्न र सम्बोधनका लागि दबाब दिने उद्देश्यले हामी मध्यपहाडी क्षेत्रतिर जानेछौँ । त्यसका लागि उपयुक्त विषय वस्तुको छनोट र नारा तयारीमा हामी जुटेका छौँ,” उनले भने ।

अभियानले आगामी निर्वाचनमा समाजवादीलाई लोकप्रिय र शक्तिशाली बनाउने उद्देश्य राखेको उनको भनाइ छ ।

मधेसी मोर्चामा सङ्गठित आठ राजनीतिक शक्तिले पनि जनतामाझ जाने योजना बनाएको छ । मधेस केन्द्रित दललाई सङ्गठित गर्न नेतृत्व लिएका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले साझा एजेन्डाको निर्क्योल भएपछि त्यसलाई लिएर जनतामाझ जाने बताए ।

“पहिले मोर्चाको बैठकबाट सामूहिक एजेन्डालाई अन्तिम रूप दिन्छौँ, त्यसपछि मात्रै हामी जनतामाझ जानेछौँ,” उनले भने ।

मोर्चाको साझा एजेन्डाको मस्यौदा हाल त्यसमा सङ्गठित दलका अध्यक्षले अध्ययन गरिरहेको र छिट्टै त्यसलाई निष्कर्षमा पुर्‍याइने उनले बताए ।

राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष राजेन्द्र महतोले केही दिनअघि राजनीतिक प्रतिवेदनमार्फत मधेस केन्द्रित दल आत्मालोचना सहित जनतामाझ जानुपर्ने उल्लेख गरेका थिए । रूपमा साङ्गठनिक विस्तार र जागरण भनेपनि सारमा दलहरूको अभियान चुनाव केन्द्रित नै देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register