अफगानिस्तान भन्दैमा तर्सिहाल्नु पर्ने अवस्था छैन : मुख्य प्रशिक्षक गौचन

काठमाडौं । नेपालको यू–१९ र अफगनिस्तानको यू–१९ टोलीबीच तीन एकदिवसीय खेल हुँदैछ । तीनवटै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । पहिलो खेल यही फागुन १९, दोस्रो २२ र तेस्रो २४ गते हुनेछ । यी खेलले यू–१९ पुरुष विश्वकपअन्तर्गत एसिया छनोट लागि सहयोग पुर्‍याउने विश्वास गरिएको छ । अप्रिल १२ देखि २१ सम्म नेपालमा आयोजना हुने […]

Mar 7, 2025 - 08:45
 0
अफगानिस्तान भन्दैमा तर्सिहाल्नु पर्ने अवस्था छैन : मुख्य प्रशिक्षक गौचन

काठमाडौं । नेपालको यू–१९ र अफगनिस्तानको यू–१९ टोलीबीच तीन एकदिवसीय खेल हुँदैछ । तीनवटै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

पहिलो खेल यही फागुन १९, दोस्रो २२ र तेस्रो २४ गते हुनेछ । यी खेलले यू–१९ पुरुष विश्वकपअन्तर्गत एसिया छनोट लागि सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

अप्रिल १२ देखि २१ सम्म नेपालमा आयोजना हुने यू–१९ पुरुष विश्वकप एसिया छनोटको तयारीस्वरुप हाल यू–१९ टोली बन्द प्रशिक्षणमा छ । ३६ खेलाडीबाट सुरु भएको बन्द प्रशिक्षण दोस्रो चरणमा पुग्दा २४ खेलाडीमा खुम्चिएको छ । छनोटको प्रतिस्पर्धाका नेपालसहित अफगानिस्तान, ओमान, यूएई र हङकङ छन् । एसिया कप छनोटको शीर्ष स्थानमा रहने टोलीले २०२६ मा हुने यू–१९ विश्वकपमा स्थान पक्का गर्नेछन् ।

यसकारण छनोट चुनौतीपूर्ण रहेकाले आफ्नो प्रशिक्षणमा रहेको नेपाली युवा टोलीले राम्रो तयारी गरिरहेको मुख्य प्रशिक्षक शक्ति गौचनले नेपालभ्युजसँगको कुराकानीमा बताए । क्रिकेटमा बिताएको १५–२० वर्षको अनुभव बटुलेर खेलाडीलाई कसरी माझ्न सकिन्छ भनेर प्रयास गरिरहेको उनको भनाइ छ । लेभल–२ को कोचिङ पूरा गरेर यू–१९ टोलीका मुख्य प्रशिक्षक बनेका उनै गौचनसँग नेपालभ्युजकर्मी एसेन्स श्रेष्ठले गरेको कुराकानी –

यू–१९ को बन्द प्रशिक्षणमा तयारी कस्तो भइरहेको छ ?

तयारी राम्रो भइरहेको छ । १०–१२ दिन भइसक्यो । फिट्नेसको हिसाब र अन्य सीपलाई पनि ग्रुम गर्दैछौँ । अब बिस्तारै खेलहरू पनि खेलाउँछौँ । अनि अन्य मूल्याङ्कनको आधारमा फेरि १८ देखि २० जनाको स्क्वाड बनाउँछौँ । प्रतियोगिताको एक हप्ता वा १० दिन अगाडि अन्तिम टोली घोषणा गर्छौँ ।

तपाईंको विशेष ध्यान कुन पक्षमा गइरहेको छ ?

यू–१९ मा धेरै त फ्रेस युवाहरू नै छन् । प्रतिभाको हिसाबले उनीहरू पनि निकै क्षमतावान् छन् । उनीहरूको व्यक्तिगत क्षमताअनुसार कसरी ग्रुम गर्ने भनेर प्रयासमा छौँ । स्किल, फिटनेस र माइन्डसेटलाई शेप दिन खोज्दैछौँ । ४० दिनको क्याम्पमा हामी यसै विषयमा केन्द्रित भइरहेका छौँ । अनि सिक्दै आएको कुरालाई खेलाडीले कसरी खेलमा प्रदर्शन गर्छन् भन्ने कुराले तयरीलाई झल्काउने छ । त्यो तयारीबारे निर्णय गर्ने आधार हुनेछ ।

अफगानिस्तानको आगामी नेपाल भ्रमणले कतिको चुनौती बढाएको छ ?

चुनौती त हरेक टोलीसँग नै हुन्छ । अब अफगानिस्तान भन्दैमा त्यस्तो तर्सिहाल्नु पर्ने अवस्था छैन । भोलि गएर हङ्कङ र ओमान वा थाइल्यान्ड होला, त्यसमा हामीले अन्यथा सोच्नु भएन । तैपनि टेस्ट खेल्ने राष्ट्रको एउटा राम्रो टिम हो । एक हिसाबको चुनौती त हुन्छ । अब त्यो चुनौतीलाई कसरी लिने भन्ने कुरा मात्र हो ।

यस टोलीमा पूर्वखेलाडीसरह यू–१९ टोलीको ब्रान्ड बन्न सक्ने खेलाडी छन् कि छैनन् ?

अहिले भएका सबै २४ जनामा नै त्यो क्षमता रहेका खेलाडी हुन् । अब आगामी अभ्यास खेलमा पनि उनीहरुको क्षमता मूल्याङ्कन हुन्छ । अनि बल्ल उनीहरूले आफूलाई कसरी तयार पारेका छन् भन्ने कुरा प्रस्ट हुन्छ । त्यसकै अनुसारमा अफगानिस्तानविरुद्धको खेलमा वा विश्वकप छनोटमा आफ्नो ब्रान्ड सेट गर्छन् होला ।

अब एक्स्ट्रअरडिनरी खेलाडी नै भन्नु पर्दा त नरेन भट्ट, सन्तोष यादव, अभिषेक तिवारीको नाम लिन सकिन्छ । उनीहरूले एसिया कप खेलिसकेका छन् । त्यसमा आफ्नो छाप छाडिसकेका छन् । जसरी उनीहरूले आफ्नो क्षमता देखाए, नयाँ खेलाडीले पनि यस प्लटफर्मलाई आफ्नो क्षमता देखाउने अवसरका रुपमा लिन सक्छन् । आगामी विश्वकप छनोटमा राम्रो गर्न सके भविष्यमा पनि राम्रो गर्न सक्नछन् । नयाँ खेलाडीहरूलाई पनि सोहीअनुसारले ग्रुम गर्दैछौँ ।

यही स्क्वाडबाट पनि राष्ट्रिय टोलीमा पर्न क्षमता भएका खेलाडी कति छन् ?

पक्कै पनि छन् । यू–१९ एउटा बेन्चमार्क हो, जसले सिनियर टोलीको ढोका खोल्छ । यदि कसैले अफगानिस्तानजस्तो बलियो टोलीका अगाडि प्रदर्शन गर्छ भने त्यसको भविष्यमा मूल्याङ्कन हुन सक्छ । अब कुनै पनि खेलाडीले विश्वकपमा छनोट भएर टेस्ट प्लेइिङ राष्ट्रविरुद्ध बलिङ वा ब्याटिङमा राम्रो प्रदर्शन गर्छन् भने राष्ट्रिय टोलीमा छान्ने क्रममा पक्कै मूल्याङ्कन हुनेछ ।

खेलाडीको ब्याटिङ पक्ष र फिटेनसका लागि केही विशेष गृहकार्य गरिएको छ ?

ब्याटिङतर्फ स्किलमा ध्यान दिएका छौँ । ब्याटिङलाई हामीसँग भएको सपोर्टिङ स्टाफको नै सहयोगमा कसरी राम्रो नतिजा निकाल्न सकिन्छ भनेर प्रयास गरिरहेका छौँ । अहिले नै यस्तो गरेका र्छौँ, नतिजा यस्तो हुन्छ भन्ने भन्दा पनि आउने दिनमा नतिजा पक्कै देखिनेछ । यसैका लागि काम गरिरहेका छौँ । मेहनत गरिरहेका छौँ । राम्रो नतिजा दिने विश्वास छ ।

रुपन्देहीमा ग्रासरुट खेलाडी र अहिले यू–१९ लाई प्रशिक्षण गराउँदाबीचको फरक के पाउनुभयो ?

फरकभन्दा पनि यू–१४ र यू–१२ को तयारीमा पक्कै पनि अन्तर हुन्छ । भर्खर सुरु गरेका खेलाडीलाई बेसिकबाटै सिकाउनुपर्‍यो । अब यू–१९ खेल्ने खेलाडीले कम्तीमा पनि चारदेखि ६ वर्ष क्रिकेट खेलिसकेको हुन्छ । यसकारण पनि प्रशिक्षणको क्रममा पनि गाह्रो हुँदैन । अब जिल्लामा प्रशिक्षकले कसरी प्रशिक्षण गरेको छ, कस्तो व्यक्तिगत क्षमता छ त्यसमा हामीले आफ्नो अनुभव मिसाएर सही दिशामा अगाडि बढाउन प्रयास गर्ने हो । उनीहरूको माइन्डसेट कस्तो छ । कतिको दबाब थेग्न सक्छन् । त्यसलाई ख्याल गर्नुपर्ने हुन्छ ।

यू–१९ विश्वकप छनोटमा नेपालले गृह मैदानको कति फाइदा लिन सक्ला ?

घरेलु टोलीलाई एउटा फाइदा त हुन्छ नै । तैपनि, टोलीको प्रदर्शनमा नै निर्भर हुन्छ । गृह मैदानले मात्र हुने भए त हामीले हरेक टोली आएपनि जित्थ्यौँ होला । तर, सबै गृह मैदानले मात्र निर्धारण गर्दैन । अन्तिममा बन्द प्रशिक्षणको तयारी र खेलाडीको मानसिकताले नै प्रभाव पार्ने हो । यसमा पाँच प्रतिशत फाइदा भने गृह मैदानले नै दिने गर्दछ ।

एसिया छनोटबाट केवल एउटा टोली विश्वकपमा जाने हो । यस्तोमा तपाईंलाई कतिको प्रेसर छ ?

प्रेसरभन्दा पनि एउटा च्यालेन्ज हो । त्यसलाई प्रेसरको रुपमा लियो भने आफूले गर्नुपर्ने काम फेरि बिर्सन्छ । त्यही भएर त्यही अनुसारको काम गरिरहेका छौँ । त्यो विषयमा अहिलेदेखि सोच्न थालेमा हाम्रो प्रक्रियाबाट ध्यान हट्छ जस्तो लाग्छ । जब छनोट खेल सुुरु हुन्छ, त्यसलाई कसरी ह्यान्डल गर्ने सोचौँला ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register