प्रधानमन्त्रीलाई रुलिङ गर्न सभामुखले मानेनन्, विपक्षीले अवरोध छोडेनन्

काठमाडौं । विपक्षी दलको अवरोधका कारण बुधबारको प्रतिनिधि सभाका दुवै बैठक स्थगित भए । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयमा प्रधानमन्त्रीले संसद्‌लाई स्पष्ट जवाफ नदिएसम्म संसद् चल्न नदिने विपक्षीको अडान थियो । संसद्‌को पहिलो बैठकमा पनि सिङ्गो प्रतिपक्षी बेञ्चले उभिएर विरोध गर्‍यो । प्रतिपक्षी बेञ्चले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रमुख […]

Mar 26, 2025 - 11:08
 0
प्रधानमन्त्रीलाई रुलिङ गर्न सभामुखले मानेनन्, विपक्षीले अवरोध छोडेनन्

काठमाडौं । विपक्षी दलको अवरोधका कारण बुधबारको प्रतिनिधि सभाका दुवै बैठक स्थगित भए । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयमा प्रधानमन्त्रीले संसद्‌लाई स्पष्ट जवाफ नदिएसम्म संसद् चल्न नदिने विपक्षीको अडान थियो ।

संसद्‌को पहिलो बैठकमा पनि सिङ्गो प्रतिपक्षी बेञ्चले उभिएर विरोध गर्‍यो । प्रतिपक्षी बेञ्चले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए । सरकारले दुई तिहाइको दम्भ देखाउँदै कुशल प्रशासकलाई बर्खास्त गरेकाले आफूहरूले सदन अवरोध गर्नुपरेको जानकारी सभामुखलाई गराए । प्रधानमन्त्रीले यस विषयमा सदनमा स्पष्ट जवाफ नदिएसम्म बैठक अघि बढ्न नसक्ने  उनको भनाइ थियो । “सरकारले दुई तिहाईको सामर्थ्य राष्ट्रसेवकको मानमर्दन गर्न प्रदर्शन गरेको छ । यो प्रकरणमा के भएको हो प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिनुपर्छ । प्रधानमन्त्रीले जवाफ नदिँदासम्म प्रतिपक्षले बैठक सञ्चालन गर्न नदिने जानकारी गराउन चाहन्छु,” उनले भने ।

प्रमुख प्रतिपक्षीले धारणा राखेपछि सभामुखले बैठक सञ्चालनका लागि अवरोध हटाउन आग्रह गरे । सभामुखले गरेको बारम्बारको आग्रहलाई प्रतिपक्षी बेञ्चले स्वीकार गरेन । उठेर अवरोध जारी राखेपछि सभामुख घिमिरेले भने, “प्रतिपक्षीले अवरोध गरेको अवस्थामा बैठक सञ्चालन सम्भव पनि हुँदैन बैठक अघि बढाउन पनि सकिँदैन, त्यसैले यो बैठक आधा घण्टाका लागि स्थगित भएको जानकारी गराउँदछु ।”

आधा घण्टाको लागि स्थगित भएको पहिलो बैठक दुई घण्टासम्म चल्न सकेन । त्यसपछि नयाँ सूचना टाँस गरी बैठक तीन बजे तय गरियो । दोस्रो बैठकमा पनि प्रतिपक्षी बेञ्चले आफ्नो अडान कायमै राखे । प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक सञ्चालन गर्न नदिने भन्दै उठेर अवरोध कायमै राखे।

सभामुख घिमिरेले आसन ग्रहणको आग्रह गरिरहे । विपक्षीले उठाएको विषयमा ध्यानाकर्षण भएको बताए । अवरोध गरेर मात्रै रुलिङ पाउन सकिने मान्यता नराख्न उनले विपक्षी दलको ध्यानाकर्षण गराए । विपक्षी दलले आसन ग्रहण गर्दै रुलिङको वातावरण बनाउन सभामुखले आग्रह गरे । विपक्षीले सभामुखको आग्रहलाई बेवास्ता गर्दै अवरोध कायमै गर्‍यो । त्यसपछि सभामुखले आफ्नो निर्णय सुनाउँदै भने, “माननीय सदस्यहरूले उठाएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । अवरोध नहटिकन सभा चल्न सक्दैन । यहाँबाट रुलिङ गर्न, निर्देशन दिन पनि वातावरण चाहिन्छ । त्यसैले प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको  जानकारी गराउँछु ।”

बुधबार बिहान प्रतिपक्षी दलहरू बसेर प्रधानमन्त्रीको जवाफ नआउँदासम्म बैठक चल्न नदिने निर्णय लिएका थिए । उनीहरूले आफ्नो अडानलाई कायमै राखेका छन् । प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिए सडक आन्दोलनमा उत्रिने प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । “प्रधानमन्त्रीले आएर जवाफ नदिएसम्म हाउस चल्न सक्दैन भनेर भनिएकै छ । प्रधानमन्त्रीले यसलाई सहज किसिमले लिनुपर्ने हुन्छ । उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ,” उनले भने ।

प्रधानमन्त्रीको चित्तबुझ्दो स्पष्टीकरण नआएसम्म सदन सञ्चालन नहुने उनको भनाइ छ । स्पष्टीकरण चित्तबुझ्दो नभए सदन र सडक दुवैमा आन्दोलन अघि बढ्ने चेतावनी प्रचण्डले दिएका छन् । “स्पष्टीकरण चित्त बुझ्दो नभए हाउ चल्छ, स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलन अघि बढ्छ,” उनको चेतावनी छ ।

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि मन्त्रिपरिषद्‌बाट गरिएको निर्णयबारे प्रधानमन्त्रीले नै स्पष्ट जवाफ दिनुपर्ने प्रतिपक्षीको अडान कायमै रहेको बताए । “मन्त्रिपरिषद्‌बाट निर्णय भएकाले प्रधानमन्त्रीले सदनलाई स्पस्ट जवाफ दिनैपर्छ । उहाँले जवाफ नदिएसम्म सदनमा अवरोध नहट्ने अडान कायमै छ,” उनले भने ।

यता, प्रधानमन्त्री ओलीले भने आफ्नै पार्टीको भातृ सङ्गठनको कार्यक्रमबाट विपक्षी दललाई जवाफ दिएका छन् । एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको उनको टिप्पणी छ ।

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले भने, “प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्‍यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।”

सरकारलाई जवाफदेही बनाउन सभामुख अग्रसर नभएको विपक्षीको आरोप

आफ्नो मागबमोजिम सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेपछि प्रतिपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउने मामिलामा सभामुखले अग्रसरता नदेखाएको आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले  सरकारलाई सदनप्रति जवाफदेही बनाउनुपर्ने मुल दायित्व सभामुखको भएपनि प्रतिपक्षी दलले ध्यानाकर्षण गराउँदा समेत सभामुखले वेवास्ता गरेको बताए । “हामीले मन्त्रिपरिषद्‌बाट भएको निर्णय र त्यसको कारणबारे संसद्‌लाई स्पष्ट जवाफ दिन माग गर्‍यौँ । संसद्‌को अभिभावक सभामुख हो । सरकारलाई सदनप्रति जवाफदेही बनाउने पहिलो दायित्व उहाँको हो । सिङ्गो प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ माग गर्दा पनि उहाँले हामीलाई बस्नका लागि पटक-पटक रुलिङ गर्नुभयो । प्रधानमन्त्रीलाई रुलिङ गर्न तयार हुनुभएन,” उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक परियारले पनि सरकारलाई जवाफदेही बनाउने दायित्व सभामुखले पुरा गरेको स्थितिमा बैठक सञ्चालनको वातावरण बन्ने उल्लेख गरे । “सरकारलाई जवाफदेही बनाउने दायित्व उहाँले पूरा गर्नुभएको खण्डमा बैठक सञ्चालन हुने थियो । आजको बैठकमा उहाँले रुलिङ गर्न मान्नुभएन । भोली के हुन्छ हेरौँ,” उनले भने ।

प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक सभामुख घिमिरेले सरकारलाई जवाफदेही बनाउन नचाहेको आरोप लगाए । “सभामुखको भूमिका सदनमा तटस्थ हुन्छ । तर, उहाँले तटस्थ भूमिका निर्वाह गर्न चाहानुभएन । सरकारलाई जवाफदेही बनाउन खोज्नुभएन,” उनले भने ।

कुलमान बर्खास्त प्रकरणमा प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिँदासम्म सदन अवरोध नहट्ने विपक्षीको अडान कायमै छ । प्रतिनिधि सभाको बुधबारको दुवै बैठक विपक्षी दलको अवरोधका कारण अघि बढ्न नसकेपछि सभामुख घिमिरेले बिहिबार बिहान ११ बजे बोलाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register