दुई बीस पाँचका कुरा

सानो छँदा ५० वर्षको गन्तिलाई गाउंघरमा दुई बीसे पाँच वर्ष भनेको सम्झना ताजै छ । हामीहरु जसरी झिंगटीको घरबाट टिनको घरमा बसाई सरयौं, टिनको घरबाट ढलान घरमा सरयौ बोली भाषाले लय फेरयो । आधा शताब्दी भन्नेहरु पनि छन्, अंकमा ५० भन्नेहरु पनि छन् तर सबैका आ–आफ्नै अनुभव छन् होला । मेरो ५० वर्ष—समयको मात्र गणना […]

Mar 29, 2025 - 09:27
 0
दुई बीस पाँचका कुरा

सानो छँदा ५० वर्षको गन्तिलाई गाउंघरमा दुई बीसे पाँच वर्ष भनेको सम्झना ताजै छ । हामीहरु जसरी झिंगटीको घरबाट टिनको घरमा बसाई सरयौं, टिनको घरबाट ढलान घरमा सरयौ बोली भाषाले लय फेरयो । आधा शताब्दी भन्नेहरु पनि छन्, अंकमा ५० भन्नेहरु पनि छन् तर सबैका आ–आफ्नै अनुभव छन् होला । मेरो ५० वर्ष—समयको मात्र गणना होइन, संघर्ष, बलिदान, र अनुभवहरूको सङ्गालो हो । यो त्यो मोड हो, जहाँ अघिल्लो जीवनको यात्राअंशलाई फर्केर हेर्ने र बुझ्ने मौका मिल्दछ ।

विशेषगरी, जन्मभूमिबाट टाढा आफ्ना बूढा आमाबुबालाई छोडेर आफ्ना सन्तानका लागि राम्रो भविष्य बनाउने ध्येयले बिताएका वर्षहरूको मूल्य यति गहिरो हुन्छ कि शब्दहरूले त्यसलाई पूर्ण रूपमा व्यक्त गर्न सकिंदैन । गरियो भने पनि त्यो एक असफल प्रयास हुनेछ, अपूरो कथा हुनेछ । यो एउटा यस्तो कथा हो, जहाँ परिश्रम, धैर्य र अरूका लागि बाँच्दाबाँच्दै आफ्नै जीवन कतै हराएको अनुभूति दिन्छ ।

देश छोड्ने निर्णय सधैं सजिलो कहां हुन्छ र ? आउने उज्यालो भविष्यको खाका, सुरक्षित जीवन, र घर सन्तानलाई राम्रो अवसर दिन सकिन्छ भन्ने द्रविलो आशाले विदेश जाने निर्णय लिइन्छ । तर यसको मूल्य चुकाउनै पर्छ—सबैभन्दा ठूलो मूल्य भनेको आफ्ना बूढा आमाबुवाको साथ छुट्नु हो, परिवारका अग्रजहरुको छाँयामा बस्न नपाउनु हो । त्यो छाँयाको उपज बनेर हामीले जन्म लियौँ तर छहारीमा हरियाली ओत हराउँदै गएपछि सन्तानको कर्तव्य पुरा गर्न नपाँउदाको थकथकीले करुणा भरिएर आउँछ ।

हिजो जसले हाम्रो हात समातेर हिँडाउन सिकाए, नाच्न सिकाए र बाँच्न सिकाए । जसले हाम्रो पहिलो शब्द सुनेर हर्ष माने, तिनै परमप्यारा आमाबुबा अहिले बिस्तारै बुढ्यौलीले थिचिँदै गएका छन् । उनीहरूका गला कमजोर भइसकेका छन्, आँखाहरू धमिलो भई धरमराएका छन्, हिँड्ने गोडा गलिसकेका छन्, सहारामा उठ्ने हातहरुले सहयोगको पुकारा गरिरहेका छन् तर हामी सन्तानले टाढाबाट केवल फोनमा सान्त्वना दिन सकेका छौँ । वर्षदिनमा उल्लास बोकि आउने चाडपर्व, जन्मदिनका अवसरहरुदेखि अन्य ससाना खुसीका क्षणहरू सबै मोबाइलको पर्दामा मात्र सीमित भएका छन् ।

“अर्को साल आउँछु” भन्ने शब्दावली बारम्बार दोहोरिन्छ, तर समय बित्दै जान्छ र कतिपय सपना वर्षौवर्ष आइसक्दा पनि सधैं अधुरा नै रहन्छन्, र आउने अर्को वर्ष भन्दै सान्त्वनाका लागि सान्त्वना दिइ जान्छन् । आफ्ना सन्तानलाई राम्रो शिक्षादिक्षा, राम्रो अवसर दिन सकियोस् भनेर हरेक दिन अथक परिश्रम गरिन्छ परदेशमा । बिहान सबेरै उठेर काममा हिँड्नु, दिनको उज्यालोको भेऊ नपाउनु, राति अबेरसम्म काम गर्नु, छोराछोरी र घरपरिवारलाई कुनै अभाव नहोस् भन्ने प्रयासमा आफूले सधैं भोलिको आशामा जीवन बिताउनु—प्रायः प्रदेशीको वास्तविकता हो जस्तो मलाई लाग्छ । तर जब बच्चाहरू हुर्किन्छन्, तिनीहरू पनि विस्तारै टाढिँदै जानेछन् । फरक संस्कृतिमा हुर्किएर, फरक सोचले परिपक्व भएका सन्तानको ब्यवहार पनि उस्तै हुने नै भयो । जब उनीहरू पनि आफ्नो जीवनको यात्रामा अघि बढ्छन्, त्यसपछि साँचेको घरमा झन् सुनसान छाउंछ, निर्जन लाग्न थाल्छ ।

परिवार, सन्तान, र भविष्य बनाउने चिन्तामा आफ्ना सपना, आफ्ना इच्छाहरू हराउँदै जान्छन् । सायद यो हामी नेपालीहरुको वंशाणु रोग नै होला !

युवावस्थामा गरेका संकल्पहरू, घुम्ने रहर, नयाँ कुरा सिक्ने चाहना—सबै जिम्मेवारीको भारीले दबिन्छ । जिन्दगी हेमन्त रानाको गीत “चालिस कटेसी रमाउंला” सुनिरहे पनि जीवनको भोग अर्को स्वर्णिम दश वर्ष विलय भएको पत्तो नै भएन । परदेशी जीवनमा युवाकालिन् सपनाहरु त पूरा भए तर मन चांहि रित्तै नै रहेको आभाष भैरह्यो । हैट म त ५० वर्षमा पो हो ! कहिलेकाहीं यस्तो लाग्छ, “अब समय आयो आफूलाई दिने”, तर जब त्यो समय आउँछ, शरीर थाकिसकेको हुन्छ, मन उत्साहित हुँदैन । बाँच्ने रहर भित्रै कतै हराइसकेको हुन्छ ।

मेरो स्वभाव देखेर दाई सुमन खड्का भन्नुहुन्छ, कहिलेकाहिं आफैं पनि खुशी हुने प्रयास गर अनि आफैंलाई प्रश्न सोध्न मन लाग्छ—“मैले अरूका लागि मात्र बाँचेर आफ्नो जीवन कहिले जीउँने ?” ५० वर्षसम्मका संघर्ष, हन्डर–ठक्करले मानिसलाई बलियो बनाउँछ । अनुभवमा त म बलियो नै छु होला तर शारीरिकरुपमा कम्मरको नसा च्यापिसकेका छन्, प्रेसर, कोलेस्ट्रोल, थाइराइड आदिको आक्रमण आफ्नै तरिकाले ५० पछि झम्टने रहेछ । खानपिनको परहेज, पेयपदार्थको हर्जना पनि गतिलै हुन्छ । आफ्नै आंखा पनि धमिलिन थालिसके, स्मरणका लागि इलोन मस्कको चिप्सको पर्खाइमा छु वा अन्य प्रविधि आउला र मलाई ताजा गराउला भन्ने आस छ यो आधुनिक समयमा । सन्तानलाई राम्रो भविष्य दिएकोमा गर्व छ, परिवारलाई सुरक्षित राख्न सकियो भन्नेमा सन्तोष छ, तर अब चाहिँ स्वयंका लागि केही गर्ने समय आएको छ । अबका वर्षहरू केवल उत्तरदायित्व मै बिताउने कि अहिलेसम्म अधुरा रहँदै आएका सपना पूरा गर्ने ? निर्णय आफैंले गर्नुपर्ने भएको छ ।

जीवनको अर्थ केवल दिनु मात्र होइन, कहिलेकाहीं आफ्नै लागि पनि बाँच्नु जरूरी हुन्छ । अझै ढिला भइसकेको छैन, आफैंलाई पुनः फेला पार्ने समय आएको छ । अबका दिनहरू अरूका लागि मात्र होइन, आफैंका लागि पनि जीउने हो । यो मेरो तितो मिठो, अमिलो अनुभव हो, आफैंले आफैंलाई बाँधेर बसेको छु, ५० पछिका सपनाहरु ओथारोमा हुलेर आफैंमा फर्कन खोजिरहेको छु । अबको आउने समयमा अझ बिधायक र सन्तुलित, सुलभित भएर बिताउने आशामा छु । मानवीय चेतनालाई इन्धन भर्ने एकल तत्व आसा नै हो, त्यो नभए चेतनाको क्रान्ति सम्भव हुने थिएन, मेरो आत्मक्रन्तिको विजले टाउको उठाएको छ । स्वप्रेम र स्वधर्ममा फर्किएको छु अब । दुई बीसे पाँच वसन्तको कालखण्डमा मलाई उर्जा दिने सबैप्रति आदरभाव प्रकट गर्न चाहन्छु ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register