यस्तो भयो काठमाडौंमा राप्रपाको खबरदारीसभा (तस्विरहरु)
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दूराज्यलगायतका मागका पक्षमा काठमाडौंमा बृहत खबरदारीसभा गरेको छ। काठमाडौंको बल्खु क्षेत्रमा दशौं हजारको सहभागिता रहेको सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका केन्द्रीय नेताहरुले समबोधन गरे। खबरदारीसभालाई सम्बोधन गर्ने राप्रपा नेताहरुले राजा र प्रजातन्त्रसहितको नवीन समझदारीका लागि आव्हान गरे । त्यसका लागि तयार नभए आफ्नो आन्दोलन जारी राख्दै बालुवाटारको […]

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दूराज्यलगायतका मागका पक्षमा काठमाडौंमा बृहत खबरदारीसभा गरेको छ। काठमाडौंको बल्खु क्षेत्रमा दशौं हजारको सहभागिता रहेको सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका केन्द्रीय नेताहरुले समबोधन गरे।
खबरदारीसभालाई सम्बोधन गर्ने राप्रपा नेताहरुले राजा र प्रजातन्त्रसहितको नवीन समझदारीका लागि आव्हान गरे । त्यसका लागि तयार नभए आफ्नो आन्दोलन जारी राख्दै बालुवाटारको भातपानी बन्द गर्नेदेखि देशलाई बंगलादेश र श्रीलंका बनाउनेसम्मको चेतावनी उनीहरुले दिए ।
राप्रपा नेताहरूको मुख्य आक्रोश वर्तमान सरकार तथा शीर्ष तीन दलप्रति थियो । मुख्य दलका नेताहरूको कार्यशैलीले देश बर्बाद भएको भन्दै कार्यशैली नसुधारेसम्म विश्राम नलिने उद्घोष उनीहरुले गरे । कांग्रेस, एमाले र माओवादीलगायत सबैलाई ओली, देउवा र प्रचण्डबाट अब देश नबन्ने थाहा भएकाले उनीहरूलाई जति दिन राख्यो त्यति नै देश बर्बाद हुने राप्रपा नेताहरूको भनाइ छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री निवास बालुवाटार घेरेर भातपानी बन्द गराइदिने शक्ति राप्रपासँग रहेको बताएका छन्।
’भृकुटीमण्डप छाडेर बल्खु आयो भनेर राप्रपालाई कमजोर नठानियोस्। यस्तो जुलुस चारतिर पेल्दियो भने क–कसलाई गोली हान्नुहुन्छ?,’ उनले प्रश्न गरे, ’राप्रपाले चाह्यो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिन सक्छ।’
अध्यक्ष लिङ्देनले आफ्ना नेताहरू पक्राउ परेको विषयलाई इखको रूपमा लिएको बताए। उनले उपाध्यक्ष रविन्द्र मिश्र र सांसदसमेत रहेका धवल शमशेर राणालाई पक्राउ गरेकोप्रति आपत्ति जनाए।
’चुनाव जितेका जनताका प्रतिनिधिलाई जसरी खोरमा अपमानित ढंगले राख्नुभएको छ। उपाध्यक्षलाई जसरी हतकडी लगाएर राख्नुभएको छ। त्यसलाई हामीले इखको रूपमा लिएका छौं,’ उनले भने, ’राजा चाहिन्छ भनेका कारण मान्छेलाई थुन्ने हो भने हामी लाखौं मान्छे पक्रिन तयार छौं। जेल खाली गर्नुस्। लुटतन्त्र हामीले हेरेका छौं। त्यसैले आफू जाने जेल पनि राम्रो बनाएर राख्नुस्,’ उनले भने।
राप्रपाको प्रदर्शनमा राजसंस्था पुनरस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले पनि समर्थन जनाएको थियो। राप्रपाले आयोजना गरेको जनप्रदर्शनमा सरकारले कडा सुरक्षा प्रबन्ध गरेको थियो। हजारौं संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासमा क्षेत्रमा खटिएका थिए ।
What's Your Reaction?






