सरकार ढल्ने आधारहीन प्रचारमा प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्ति वा अन्तर्वार्तामा अचेल एउटा शब्द बारम्बार दोहोरिन्छ –‘यो सरकार छिट्टै ढल्छ ।’ काङ्ग्रेस एमाले गठबन्धन सरकारपछि प्रतिपक्षी कित्तामा पुगेका प्रचण्डले ०८४ सालसम्म माओवादी सरकारमा नजाने प्रतिबद्धता व्यक्त गरेका थिए । झापाबाट जनतासँग जोडिने अभियान सुरु गर्दा पनि उनले यो प्रतिबद्धता दोहोर्‍याएका थिए । काङ्ग्रेस र एमालेसँग […]

Apr 18, 2025 - 16:20
 0
सरकार ढल्ने आधारहीन प्रचारमा प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्ति वा अन्तर्वार्तामा अचेल एउटा शब्द बारम्बार दोहोरिन्छ –‘यो सरकार छिट्टै ढल्छ ।’

काङ्ग्रेस एमाले गठबन्धन सरकारपछि प्रतिपक्षी कित्तामा पुगेका प्रचण्डले ०८४ सालसम्म माओवादी सरकारमा नजाने प्रतिबद्धता व्यक्त गरेका थिए । झापाबाट जनतासँग जोडिने अभियान सुरु गर्दा पनि उनले यो प्रतिबद्धता दोहोर्‍याएका थिए । काङ्ग्रेस र एमालेसँग मिसिँदा माओवादी बिग्रिएकाले उनीहरूसँग नमिसिने अभिव्यक्ति दिँदै थिए ।

पछिल्लो समय सत्ता साझेदार नेपाली काङ्ग्रेसबाटै सरकारको आलोचना बढ्दै थियो । सडकमा पनि शिक्षक, लघुवित्त पीडित, सहकारी पीडित, चिकित्सकहरूको आन्दोलन अघि बढिरहेको पृष्ठभूमि छ । चैतको उत्तरार्धमा इमेज टेलिभिजनमा जगदीश खरेलसँग कुराकानी गर्दै प्रचण्डले सरकारमा जान माओवादीलाई हतार नरहेको आफ्नै भनाइको परस्पर विरोधी अभिव्यक्ति दिए । त्यस कार्यक्रमबाट उनले काङ्ग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनका निम्ति माओवादी केन्द्रले सरकारमा गएर वा, बाहिरबाटै समर्थन दिन तयार रहेको उल्लेख गरे ।

काङ्ग्रेस एमालेको समझदारी अनुसार प्रधानमन्त्रीमा केपी ओलीको अझै एक वर्ष कार्यकाल छ । उनले ०८३ असारमा देउवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ । प्रचण्डले ओलीले बाँकी एक वर्ष सरकार चलाउन नपाउने बताए । ‘एमालेभित्र पनि काङ्ग्रेसभित्र पनि असन्तुष्टि चुलिँदै गएको छ । काङ्ग्रेसले चाहेमा माओवादी केन्द्र सरकार बाहिर रहेर वा, सरकारमै सहभागी भएर साथ दिन तयार छ । सरकार परिवर्तन कुनै पनि बेला हुनसक्छ । समय तोक्नु त उचित हुँदैन, तर केपी ओलीले बाँकी कार्यकाल पूरा गर्नुहुन्छ जस्तो मलाई लाग्दैन ।’

वैशाख १ मा चितवन पुगेर  प्रचण्डले नयाँ सरकार बन्ने परिस्थिति सिर्जना भएको र नयाँ वर्षमा नयाँ सरकार बन्ने अभिव्यक्ति दिए । बारम्बार सरकार ढल्छ भन्ने अभिव्यक्ति दिइरहेका प्रचण्डले एमालेलाई छोडेर नयाँ समीकरणका लागि काङ्ग्रेसलाई प्रस्ताव गरेपछि एमाले सशंकित बन्यो । उसले  सचिवालय बैठकमार्फत प्रचण्डको अभिव्यक्ति खण्डन गर्‍यो । सरकारबारे प्रचण्डले भ्रम सिर्जना गरिरहेको भन्दै एमाले सचिवालये भन्यो, ‘यस्तो अभिव्यक्तिको कुनै सान्दर्भिकता छैन । सरकार परिवर्तन गर्नुपर्छ भन्नु सत्ताप्रतिको आशक्ति हो ।’

एमाले सचिवालयको खण्डनले प्रचण्ड रोकिने कुरा भएन । त्यसपछिका हरेक अभिव्यक्तिमा उनले सरकार ढल्ने कुरा बोल्न छाडेनन् । वैशाख ४ मा रुपन्देही पुगेका प्रचण्डले  नेपाली काङ्ग्रेस र एमालेसँगका नेतासँगको कुराकानी आधारमा आफूले केपी ओली नेतृत्वको सरकारले ०८२ नकट्ने निष्कर्ष निकालेको बताए । ‘यो सरकार २०८२ कट्ने आधार छैन र कट्दैन भनेर राजनीतिक विश्लेषणका आधारमा भनेको हो’, प्रचण्डले भने, ‘नेपाली काङ्ग्रेस र एमालेका कैयौँ नेतासँग भएका संवादका आधारमा यो सरकार लामो समय जाने स्थिति छैन भनेको हो ।’

प्रचण्डको सरकार ढल्ने अभिव्यक्ति गणना गरेर बसेका रहेछन् एमाले उपमहासचिव प्रदीप ज्ञवाली । वैशाख ४ मा फेसबुकमा स्टाटस लेख्दै सरकार ढल्ने प्रचण्डको अभिव्यक्तिको सातौँ संस्करण सार्वजनिक भएको टिप्पणी उनले गरे । प्रचण्डको अभिव्यक्तिलाई उनले सत्ता अधीरता भनिदिए । ‘कामरेड ‘प्रचण्ड‘ को सत्ता अधीरता अचम्म लाग्दो छ । एकातिर कार्यकर्ताका बीचमा अहिले त हामीलाई सरकारतिर हेर्ने फुर्सद पनि छैन भन्नुहुन्छ । अर्कातिर हप्तैपिच्छे, सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी पनि गर्न छाड्नु हुन्न ।’

ज्ञवालीले माओवादीको लोकप्रियता साँच्चिकै बढेको हो भने मध्यावधि चुनावको माग गर्न पनि प्रचण्डलाई चुनौती दिए । ‘आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरूले ‘अर्ली चुनाव’ माग्छन्, कति बेला सरकार ढल्ला र कुदिहालौँ भन्दैनन्,’ ज्ञवालीले टिप्पणी गरेका छन् ।

अब चर्चा गरौँ, सरकार अहिले नै नढल्ने आधारबारे । सत्ता साझेदार काङ्ग्रेसभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा समन्वय नगरेको नियुक्तिका एकलौटी गरेको र कार्यशैली सुधार नगरेको विषयमा असन्तुष्टि चुलिँदै गएको थियो । राजनीतिक नियुक्तिमा सन्तुलन र समन्वय आवश्यक रहेको कुरा काङ्ग्रेस पार्टीभित्र बढ्दै गएको थियो । गभर्नरसहित अन्य राजनीतिक नियुक्तिमा दुई दलबीच कुरा मिलिरहेको थिएन । तर बुधवार अबेरसम्म बालुवाटारमा छलफल गरेर प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति देउवाले प्याकेजमा सहमति गरे ।

काङ्ग्रेसभित्र एमालेको भागमा अर्थमन्त्री रहेकाले गभर्नर काङ्ग्रेसले पाउनुपर्ने मत बलियो थियो । बुधवार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका ओली र देउवाबीच लामै कुराकानी हुँदा त्यहाँ उनले गभर्नर बनाउन चाहेका व्यक्तिको नाम खुलाए । उक्त बैठकमा ओलीले सशर्त गभर्नर दिन तयार भए । गभर्नर लिने भए सिद्धिविक्रम शाहीलाई एआईजी बढुवा गर्नुपर्ने अडान छोड्नुपर्ने ओलीको प्रस्ताव थियो । देउवा त्यसमा तयार भए ।

बिहीबार काङ्ग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको थियो । त्यहाँ गभर्नरको विषयमा पनि छलफल भएको थियो । उक्त बैठकमा देउवाले भनेका थिए- ‘गभर्नरमा मैले अडान लिएको छु ।  राम्रो मान्छे गभर्नर बन्छन्,’ उनले भनेका थिए ।

देउवाको सिग्नल अनुसार गभर्नर बन्नका लागि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट गुणाकर भट्टले राजीनामा दिइसकेका छन् ।

काङ्ग्रेसको बैठकमा देउवाले ओलीविरुद्ध महामन्त्रीहरूले गरिरहेको आलोचनाप्रति असन्तुष्टि समेत व्यक्त गरे । उनले प्रधानमन्त्री र सरकारका विषयमा बाहिर नबोल्न निर्देशन समेत दिएका छन् । ‘प्रधानमन्त्री र सरकारको विषयमा केही छ भने मलाई भन्नुस् । म प्रधानमन्त्रीसँग कुरा गर्छु । यो सरकारलाई सहयोग गर्ने हो,’ उनले भनेका छन् ।

महामन्त्रीहरूले नै सरकारको विरोध गरिरहँदा सरकार परिवर्तनको चर्चा बढेपछि काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सरकारबारे लाइन प्रस्ट हुनुपर्ने धारणा राखेका थिए । त्यसमा जवाफ दिँदै देउवाले भनेका छन्,‘यो सरकार ०८४ सम्मै जान्छ । हामी सात बुँदे सहमतिमा प्रतिबद्ध छौँ । सरकारलाई सहयोग गर्ने हो । दायाँबायाँ हुँदैन ।’

आफ्नो प्रस्तावका बाबजुद काङ्ग्रेस सभापति देउवाबाट ०८४ सम्मै गठबन्धन कायम रहने स्पष्ट जवाफ आउँदासम्म पनि प्रचण्डले सरकार ढल्छ भन्ने अभिव्यक्ति दिन छोडेका छैनन् । शुक्रवार कपिलवस्तु पुगेका  उनले यो सरकार आफ्नै बोझ थेग्न नसकेर ढल्ने अभिव्यक्ति पुन : दिएका छन् ।

काङ्ग्रेस भित्रैको आलोचनाले माओवादी केन्द्र निकै हौसिएको थियो । सत्ताको आलोचना गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले काङ्ग्रेस सत्ता नभएर सरकारको कार्यशैली बदल्ने अभियानमा रहेको प्रस्ट पारिसकेका छन् । यता, प्रधानमन्त्री ओलीले नियुक्तिमा भागबन्डा मिलाउँदै आन्तरिक असन्तुष्टिलाई साम्य बनाएर सत्ता संकट टारिसकेका छन् । प्रचण्डकै भाषामा राजनीतिक सहमतिमा इमानदार देउवाले ०८४ सम्म गठबन्धन कायमै रहने प्रतिबद्धता पार्टीको बैठकमा राखिसकेका छन् ।  सरकार परिवर्तन नहुनेमा यी आधार नै पर्याप्त छन् ।

सत्ता गठबन्धनभित्रको आन्तरिक किचलोमा टेकेर सरकार परिवर्तनको प्रचार गरिरहेका प्रचण्ड देउवा र महामन्त्रीद्वयको सार्वजनिक खण्डनपछि पनि रोकिएका छैनन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काङ्ग्रेस र एमालेसँगको सहकार्यले माओवादी बिरामी भएको बताइरहेछन् । सत्ता परिवर्तनको शृंखलाबद्ध खेलमा अग्रसर हुँदा क्रान्ति नायकबाट अस्थिरताका नायकको पगरी प्रचण्डको टाउकामा उसै पनि छ । एमाले सरकार ढाल्न उक्साएर काङ्ग्रेससँग मिसिँदै फेरि रोगी बन्नुभन्दा प्रचण्ड पार्टीको रोगको निदान मै लागेको बेस ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register