टिकटकको बाटो हुँदै सपनाको गन्तव्यसम्म

मलाई सानैदेखि इन्टरटेनमेन्ट इन्डस्ट्रीमा काम गर्न पाए हुन्थ्यो भन्ने थियो । मेरो सपना नै पर्दामा देखिने भन्ने थियो । तर अगाडि बढ्न सकिरहेकी थिइन । म २०७४ सालमा एसईई दिएर बसेकी थिएँ । पहिलोपटक म्युजिक भिडियोमा काम गर्ने अवसर पाएँ । धनगढीमा सुट भएको थियो । तर त्योभन्दा अगाडि बढ्न सकेको थिएन । कोरोना महामारीको […]

Apr 21, 2025 - 05:00
 0
टिकटकको बाटो हुँदै सपनाको गन्तव्यसम्म

मलाई सानैदेखि इन्टरटेनमेन्ट इन्डस्ट्रीमा काम गर्न पाए हुन्थ्यो भन्ने थियो । मेरो सपना नै पर्दामा देखिने भन्ने थियो । तर अगाडि बढ्न सकिरहेकी थिइन ।

म २०७४ सालमा एसईई दिएर बसेकी थिएँ । पहिलोपटक म्युजिक भिडियोमा काम गर्ने अवसर पाएँ । धनगढीमा सुट भएको थियो । तर त्योभन्दा अगाडि बढ्न सकेको थिएन ।

कोरोना महामारीको समय थियो । दोस्रोपटकको लकडाउन चलिरहेको थियो । घरबाट बाहिर निस्किने अवस्था थिएन । घरमै बसिरहेको फुर्सदको समयमा मैले टिकटक बनाउन सुरु गरेँ ।

मेरा टिकटकहरू प्रायः आफ्नै स्थानीय भाषा(डोटेली)मा हुन्थे । टिकटक बनाउँदा म प्राय: ‘नमस्कार, ढोग दियाँ’ भनेर स्थानीय भाषामा अभिवावदन गर्थेँ । मेरो त्यो डोटेली लवज धेरैले रुचाउनु भयो ।

बिस्तारै टिकटकमा मेरो फ्लोअर्सको सङ्ख्या बढ्यो । फ्लोअर्सको सङ्ख्या बढ्न थालेपछि मैले टिकटकमा आफूलाई मन परेका अभिनयहरू गरेर पोस्ट गर्न थालेँ । बिस्तारै मलाई ब्रान्ड प्रमोसनका लागि अवसर आउन थाले । मैले त्यस्ता खालका टिकटक बनाउन सुरु गरेँ । यसले मलाई थप ऊर्जा दियो । किनभने, मलाई मोडलिङ गर्नु थियो । यो मेरो जीवनको सपना थियो ।

टिकटकमा मेरो फ्लोअर्स बढ्दै गएपछि मैले यसैमा काम गर्न थालेँ । वास्तवमा भन्दा टिकटक बनाएर सुरु भएको मेरो करियर आज मूलधारको इन्टरटेनमेन्ट इन्डस्ट्रीसँग जोडिन आइपुगेको छ । मैले मेरो प्रतिभा सोसल मिडियामा देखाउन नपाएको भए सायद म आज यहाँसम्म पनि पुग्न सक्ने थिइनँ ।

सामाजिक सञ्जालमा राम्रो र नराम्रो दुवै हुन्छ । कसरी प्रयोग गर्ने भन्नेमा भर पर्छ । सामाजिक सञ्जालका सबै प्लेटफर्महरूको आ–आफ्नो विशेषता छ । तर ती सबैको समान विशेषता भनेको आफूसँग भएको प्रतिभा देखाउन सकिन्छ ।

सामाजिक सञ्जालमार्फत आज धेरैले व्यापार, व्यवसाय गरिरहेका छन्, धेरै मान्छेको आर्थिक स्रोतको मुख्य बाटो बनेको छ ।

सामाजिक सञ्जालमा देखिरहेको मान्छेलाई पहिलोपटक प्रत्यक्ष भेट्दा पहिलोपटक भेटेको हो भन्ने भान हुँदैन । यसलाई मैले लामो समयदेखि चिनिरहेको छु जस्तो महसुस हुन्छ । कतिपय सन्दर्भमा सोसल मिडियाका कारण चिनेको मान्छे अपरिचितजस्तो र कहिले पनि नचिनेको मान्छे आफ्नै जस्तो पनि भइदिन्छ । यो सोसल मिडियाको गेस्ट पार्ट हो ।

हरेक कुरामा सकारात्मक र नकारात्मक दुवै पाटा हुन्छन् । मैले बनाउने कतिपय टिकटक भिडियोमा मान्छेहरू गाली गर्थे, अनि मलाइ लाग्थ्यो किन गाली गरेका होलान् ? मैले यिनीहरूको के बिगार गरेकी छु र ?

मलाई त आफूले गरेको काम सबै राम्रो लाग्छ । तर, मेरो काम सबै मान्छेलाई मन पर्नुपर्छ भन्ने पनि त हुँदैन । अनि बिस्तारै मलाई गाली र आलोचनाको बानी पर्दै गयो । आलोचनाले धेरै कुरा सिकाउँछ ।

सामाजिक सञ्जालमार्फत सेलिब्रेटीका व्यक्तिगत कुराहरू सार्वजनिक गरिन्छन् । यस्ता कतिपय कुराहरू सत्य नै हुँदैनन् । हुँदै नभएको कुरा भयो भनेर अफवाह फैलिँदा दुःख लाग्छ । यस्ता कुराले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा साह्रै असर गर्छ ।

म आफू मनोरञ्जन र कला क्षेत्रमा छु । यस क्षेत्रका समाचारका लागि प्रायः सामाजिक सञ्जाल नै बढी हेर्छु । राजनीतिकलगायत विषयका समाचारका लागि भने म मूलधारका अनलाइन र पत्रपत्रिकाहरू हेर्छु ।
प्लेटफर्मअनुसार प्रयोगकर्ता र तिनको व्यवहार फरकफरक हुने रहेछ । जस्तो: मेरो इन्स्टाग्राममा नकारात्मक र गालीगलौजका कमेन्ट आउँदैनन् । फेसबुकमा आफन्त, परिवार, चिनेका साथीहरू बढी हुन्छन् । तर, टिकटकतिर बढी फेक हुन्छन् । भएको नभएको कुराहरू पोस्ट गरिदिने र अनावश्यक कमेन्ट गरिदिने प्रवृत्ति टिकटकतिर देखिन्छ ।

चुनावका बेलामा मैले सागर ढकालको सपोर्टरका रूपमा कन्टेन्ट बनाएकी थिएँ । गाउँघरभन्दा बाहिरको समाज र देश देखेपछि, सुनेपछि आफ्नो समाज र देश पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ । यद्यपि, मलाई राजनीति बारे खासै ज्ञान छैन । समाजका लागि केही नयाँ गर्नुपर्छ भन्ने बुझेकी छु मैले । यही आधारमा सागर ढकाललाई सर्पोट गरेकी थिएँ ।

युवा र सृजनशील नेतृत्वको कमी छ जस्तो लाग्छ । त्यही कारणले नयाँ गर्छु भन्नेलाई साथ दिनुपर्छ भनेर चुनावका बेला मैले राजनीतिक कन्टेन्ट भएका टिकटक बनाएँ ।

आज समाज परिवर्तनका लागि सामाजिक सञ्जाल अत्यन्तै महत्त्वपूर्ण भइसकेको छ । पहिले एउटा समाचार हेर्नका लागि टेलिभिजन, रेडियो वा पत्रिका पढ्नुपर्थ्यो । वा कसैले भनिदिनु पर्थ्यो । तर आज साक्षर होस् कि निरक्षर हरेक मान्छेको हातमा मोबाइल छ । त्यो मोबाइलमा संसार छ ।

मोबाइलमा सबैले समाचार, सूचना पढ्न सकेनन् भने भिडियो हेरेर भए पनि सूचना लिने र समाचार थाह पाउन सक्छन् । टाढा रहेका मान्छेसँग सजिलै संवाद गर्न पाइएको छ । समयका हिसाबले एकदमै छिटो सूचना आदानप्रदान गर्न सकिएको छ । त्यसैले सोसल मिडिया आज निकै महत्त्वपूर्ण भएको छ । यही कारण यसको महत्त्व पनि बढेको छ ।

केही हप्ता पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले हामीलाई भेट्न बोलाउनु भयो । प्रधानमन्त्रीलाई भेट्दा सोसल मिडियासम्बन्धी विधेयकको विषय चर्चामा थियो । सोसल मिडियामा ‘हामीले बोल्न पाउनुपर्छ’ भनेर ह्यासट्याग अभियान चलिरहेको थियो । त्यस विषयमा प्रधानमन्त्रीले हामीलाई केही कुरा सुनाउनु भयो ।

प्रधानमन्त्रीले सोसल मिडियामा जति पनि नकारात्मकता छ त्यसलाई नियन्त्रण गर्ने अधिकार हामी(नेपाल)सँग पनि हुनुपर्छ भन्नुभयो । त्यसको आधिकारिकता नेपालसँग पनि भयो भने सोसल मिडियाबाट हुने हिंसा र अपराधका घटना नियन्त्रण गर्न सकिन्छ भनेर उहाँले भन्नुभयो ।

मैले त्यो विधेयकका बारेमा पढेकी थिएँ । त्यसैले अहिले बनाउन लागिएको कानुन प्रधानमन्त्रीले भनेजस्तो सोसल मिडियामा फैलिने नकारात्मकता नियन्त्रण गर्नका लागि मात्र हो भन्नेमा मलाई शङ्का छ ।

सामाजिक सञ्जालमा फैलिने नकारात्मकता नियन्त्रण भन्दा बढी त्यो कानुनबाट नेताहरूको आलोचना रोक्न खोजिएको हो जस्तो देखिन्छ । यस्तो गर्नु आम मान्छेका लागि निकै खतरनाक हो ।

प्रधानमन्त्रीसँग भेट्दा मैले यो विषय पनि राखेकी थिएँ । ‘आज तपाईं प्रधानमन्त्री हुन्छ, भोली कोही अर्को व्यक्ति हुनुहोला । नेपालमा प्रधानमन्त्री कति बेला को बन्छ भन्ने नै टुङ्गो हुँदैन । प्रधानमन्त्री जो आए पनि उहाँले आफ्नो हिस्साको काम गर्नुपर्छ भन्ने हामीलाई लाग्छ,’ भनेकी थिएँ । ‘जुन सपना देखाएर, जुन एजेन्डा राखेर तपाईंहरू लडिरहनु भएको छ त्यस अनुसारको काम पनि गर्नुपर्छ,’ भनेर मैले प्रधानमन्त्रीलाई भनेँ ।

मलाई पनि सोसल मिडियाबाट अनेक थ्रेटहरू आइरहन्छन् । यस्तो देख्दा त यो सामाजिक सञ्जाल नै छाडिदिऊँ कि जस्तो पनि लाग्छ । फेरि कहिलेकाहीँ यो सबै सामान्य हो भन्ने लाग्छ । त्यसमाथि मेरो क्षेत्र नै यही सामाजिक सञ्जाल हो, मलाई ‘मिस पबी’ बनाएको पनि यसैले हो । सन् २०२० देखि म टिकटक मै सक्रिय छु । मैले मेरो प्रतिभा सोसल मिडियामा देखाउन नपाएको भए सायद आज यहाँसम्म पनि पुग्न सक्ने थिइन । त्यस कारण मलाई यो छाड्ने भन्दा पनि यसमा कसरी राम्रो गर्ने भन्ने हुटहुटी छ ।

केही समय अगाडि सरकारले टिकटक बन्द गर्‍यो । बन्द गर्नुको कारणका रूपमा सरकारले नकारात्मकता फैलिएको भनेर भन्यो । तर टिकटकमा मात्रै नकारात्मकता थियो त ? टिकटकमा जति छ त्यति अरू सोसल मिडिया प्लेटफर्महरूमा पनि भइरहेको देखिन्छ । बन्द नै गर्ने भए त ती सबै बन्द गर्नुपर्ने होला । त्यसो होइन भने सबैलाई बराबर नियम कानुन बनाएर नियमन गर्नुपर्छ । सामाजिक सञ्जाललाई बन्द गर्नेभन्दा पनि नियमन गर्नु राम्रो हो । बन्द गरेर समाधान निस्किँदैन ।

सोसल मिडिया मात्रै होइन अब एआई पनि आइसकेको छ । यद्यपि, मैले अहिलेसम्म एआई प्रयोग गरेर कन्टेन्ट बनाएकी छैन । एआईको प्रयोगले त व्यक्तिको तस्वीर, भिडियो, अडियो नै क्लोन गरेर आफू अनुकूल बनाउन सकिन्छ । यसमार्फत भ्रम र मिथ्या सूचना फैलाउन सजिलो छ । तर, त्यही एआईको प्रयोग गरेर मान्छेहरूले भिडियो बनाइरहेका छन्, सृजनशील काम गरिरहेका छन् । त्यस कारण प्रविधिको सकारात्मक प्रयोगतर्फ जोड दिनुपर्छ सरकारले ।

यस्ता प्लेटफर्मले हाम्रो जीवनशैलीलाई सहज बनाउँछन् । तर गलत काम गरियो भने त्यसले असर पनि उत्तिकै पुर्‍याउँछ । त्यसैले प्रविधि र सामाजिक सञ्जालका क्षेत्रमा सबैलाई सहज हुने गरी नियम कानुन बनाउनु पनि आवश्यक छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register