भूकम्पको दशक बित्दा पनि सकिएन साततले दरबार पुनर्निर्माण

त्रिशूली–गोरखा भूकम्पको १० वर्षपछि पनि भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको दुर्गरत्न (साततले दरबार) सहित आसपासका धार्मिक एवं पुरातात्त्विक सम्पदाको पुनर्निर्माण अझै पूरा भएको छैन। पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ पक्ष कार्यक्षेत्रमा फर्कन ढिलो गरेपछि भूकम्पले क्षति पुर्‍याएको १० वर्षमा बल्लतल्ल पुनर्निर्माण अघि बढाइएको छ। नेपाल सरकारसँग भएको सम्झौताअनुसार पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ टोली यतिवेला विदुर नगरपालिका– २ मा […]

Apr 26, 2025 - 09:49
 0
भूकम्पको दशक बित्दा पनि सकिएन साततले दरबार पुनर्निर्माण

त्रिशूली–गोरखा भूकम्पको १० वर्षपछि पनि भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको दुर्गरत्न (साततले दरबार) सहित आसपासका धार्मिक एवं पुरातात्त्विक सम्पदाको पुनर्निर्माण अझै पूरा भएको छैन।

पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ पक्ष कार्यक्षेत्रमा फर्कन ढिलो गरेपछि भूकम्पले क्षति पुर्‍याएको १० वर्षमा बल्लतल्ल पुनर्निर्माण अघि बढाइएको छ। नेपाल सरकारसँग भएको सम्झौताअनुसार पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ टोली यतिवेला विदुर नगरपालिका– २ मा अवस्थित कार्यक्षेत्रमा फर्किएर पुनर्निर्माण सुरु गर्नुपूर्वको तयारीमा खटिएको छ।

साततले दरबारसहित यहाँका धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक संरचनाको प्राविधिक आवश्यकताअनुसार जीर्णोद्वार, पुनर्निर्माण, प्रबलीकरण र संरक्षणको काम अघि बढाइएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनील पाण्डेले बताए। उनका अनुसार दरबारसहितको संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकार र पुरातत्त्व विभागसँग भएको सम्झौताअनुसार चिनियाँ पक्षबाट पुनर्निर्माणपूर्वको काम भइरहेको छ।

‘दरबार पुनर्निर्माणको काममा लक्ष्यअनुसार प्रगति नभए पनि अहिले भने काम तीव्र गतिमा अघि बढाइएको छ,’ प्रमुख पाण्डेले भने, ‘गत भदौदेखि कार्यक्षेत्रमा आएको चिनियाँ प्राविधिकसहितका कामदारले काम सुरु गरेका छन्।’

भूकम्पले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणमा सहयोग पुर्‍याउने कार्यक्रमअन्तर्गत नुवाकोटको साततले दरबारसहित यहाँका धार्मिक तथा पुरातात्त्विक महत्त्वका विभिन्न आठवटा संरचनाको जीर्णोद्धार पुनर्निर्माण एवं प्रबलीकरण गर्ने जिम्मेवारी चीन सरकारले लिएको छ। चिनियाँ पक्षले दरबारको पुनर्निर्माणका लागि चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजलाई पठाएको छ।

दुई देशबिच भएको समझदारीअनुसार पुरातत्त्व विभाग र चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजबिच वि.सं. २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र काम सम्पन्न गर्ने उल्लेख थियो। नयाँ सम्झौतामार्फत पुनर्निर्माण अघि बढाउन चिनियाँ पक्ष सकारात्मक भएपछि हाल काम सुरु गरिएको हो। यद्यपि, थप अवधि उल्लेख गरिएको छैन।
पूर्ववत् समझदारीअनुसार नै काम सुरु गरेको ४५ महिनाभित्र पहिलो चरणको काम सम्पन्न गर्ने चिनियाँ पक्षले जनाएको छ।

पहिलो चरणअन्तर्गत साततले दरबार र तुलजा (तलेजु) भवानीको मन्दिरको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ। चिनियाँ प्राविधिकहरूको अध्ययनअनुसार दरबार र मन्दिर दुवैको जीर्णोद्धारमार्फत पुनर्निर्माण गर्ने तयारी छ। बाँकी अन्य गारदघर, रंगमहल, लामपाटी, शीतलपाटी, विष्णु र नारायण मन्दिरको पुनर्निर्माण, जीर्णोद्धार, प्रबलीकरण र संरक्षणका लागि प्राविधिक अध्ययनको काम भइरहेको छ।

नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले वि.सं. १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेसँगै नुवाकोटमा दुर्गरत्न (साततले दरबार) निर्माण गरेका थिए। काठमाडौं उपत्यकामा विजयी हुनुअघिसम्म पृथ्वीनारायण शाहले नुवाकोट दरबारमार्फत नै आफ्नो कामकाज सञ्चालन गर्दै आएका इतिहासमा उल्लेख छ। नुवाकोट दरबारलाई नै उनले राज्यको मुख्य प्रशासनिक केन्द्र बनाई देशको राजधानीका काम गरेको बताइन्छ।

उक्त ऐतिहासिक दरबारसहितको संरचना वि.सं. २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको थियो। दरबारसहितको संरचना पुनर्निर्माणको जिम्मा लिएको चिनियाँ पक्षले वि.सं. २०७६ असारदेखि काम सुरु गर्न कार्यक्षेत्रमा आए पनि उक्त समयमा थप क्षति हुन नदिन खट बनाई (टेको दिएर) फर्किएको थियो।
हाल नुवाकोट दरबार र दरबारसँगै रहेको लिच्छविकालीन तुलजा भवानीको मन्दिरको प्रबलीकरण अघि बढाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register