‘पार्टी’

हालै एक स्कुले मित्रको पारिवारिक जमघटको निम्तो मान्न पुगेको थिएँ  । दुई-चार जना हल्का-फुल्का चिनजानका केही व्यक्तिहरूसँग एउटा कुनामा उभिएर कुरा गर्दै थिएँ, मित्र पनि आइपुगे । उनले केही प्रश्न भटाभट सोधे — ‘पार्टी कस्तो लाग्दै छ ? पार्टी (दल)हरूको बारेमा, उनीहरूले गरिरहेको कामको बारेमा,  तिम्रो धारणा के छ ? हालैका घटना, वर्तमान सामाजिक/ राजनीतिक […]

Apr 28, 2025 - 06:20
 0
‘पार्टी’

हालै एक स्कुले मित्रको पारिवारिक जमघटको निम्तो मान्न पुगेको थिएँ  । दुई-चार जना हल्का-फुल्का चिनजानका केही व्यक्तिहरूसँग एउटा कुनामा उभिएर कुरा गर्दै थिएँ, मित्र पनि आइपुगे । उनले केही प्रश्न भटाभट सोधे — ‘पार्टी कस्तो लाग्दै छ ? पार्टी (दल)हरूको बारेमा, उनीहरूले गरिरहेको कामको बारेमा,  तिम्रो धारणा के छ ? हालैका घटना, वर्तमान सामाजिक/ राजनीतिक विषयहरूमा तिम्रो पार्टी (पक्ष) के हो ?’

‘पार्टी राम्रै दिएका छौ, एन्जोय नै गर्दै छु,’ भन्नु बाहेक खासै अरू विषयमा प्रवेश गर्न अलि समय र स्थान उपयुक्त होइन कि झैँ लाग्यो । मित्रले भने सजिलै छाडेनन् । ‘तिमीहरू लेख्छौ किन ? लेखेर के हुन्छ ? लेखेर समाज नै बदल्न खोजे झैँ पो गर्छौ ?’ जस्ता प्रश्नको बर्सात् नै गरे । उनको भनाइ मिडियामा छापिने विचार/लेखहरू तिर लक्षित थियो भन्ने सजिलै बुझिन्थ्यो । ‘समाज र आम नागरिकसँग पूर्णतः वियोजित तिमीहरूका उपदेशात्मक लेखाइको के मतलब छ ?’ अझ थपे, ‘डोन्ट माइन्ड है, तर उही दल र नेताका बारेमा उही थोत्रा कुरा पढ्छ चाहिँ कसले ?’

तुरुन्तै के प्रतिक्रिया दिने भन्ने आएन । बरु अचानक गोविन्द निहलानीको ‘पार्टी’ सिनेमाको सम्झना आयो  । एक साँझमै सकिने यो सिनेमामा लेखक/ कलाकारहरू एउटा पार्टीका लागि जम्मा भएका हुन्छन् । सिनेमा अन्त्यतिर पुग्दै जाँदा विमर्श कला र सामाजिक जिम्मेवारीका बारेमा गहन हुँदै जान्छ । अनि, कुराकानी कला, साहित्य र लेखनको कुनै ‘पक्ष’ हुनुहुन्छ वा हुँदैन भन्नेतिर मोडिन्छ । निहलानीले बडो चलाखीपूर्ण र कलात्मक तरीकाले सहरी बौद्धिकहरूको पाखण्डमाथि गहिरो कटाक्ष गरेका छन् — कि कसरी ‘एलिट’ बुद्धिजीवीहरू आम जनताका, सीमान्तकृतका मुद्दाहरूका बारेमा निरपेक्ष भएर अत्यन्त आत्म केन्द्रित बौद्धिक बहस गर्छन् ।

मेरा मित्रलाई ‘मैले लेखेरै समाज बदल्छु भन्ने भ्रममा त म छैन’ चाहिँ भनेँ, अरू केही भन्नुभन्दा पहिला नै विषयान्तर पनि भइहाल्यो ।

‘पार्टी’ सिनेमाको एउटा दृश्यमा एक पत्रकारको भनाइ — ‘कविता, नाटक, उपन्यास, वा सिनेमा पनि, जसको माध्यमबाट जनतासँग विचारको सतहमा जोडिन सकिन्छ, त्यो सामाजिक र राजनितिक सङ्घर्षमा एक हतियार हो’ — दिमागमा भने घुमिरह्यो । सायद मेरो मित्रको प्रश्न पनि त्यही सेरोफेरोमा पो थियो कि — लेखन जनतासँग जोडिन सकेको छ कि छैन ?

त्यो हो भने त मुद्दा त ठीकै पनि हो ।

मात्र बुद्धि विलासका लागि लेखिने लेखाइहरू जब आम मानिसका भावनासँग मेल नै खाँदैनन् वा, उनीहरूको भावना प्रतिबिम्बित गर्दैनन् भने त्यसको के नै अर्थ रह्यो ? देशमा समस्या छन् भनेर नेताहरू पनि भनिरहेका छन्, लेखकहरू पनि भनिरहेका छन् । रोजगारी सिर्जना गर्नुपर्छ, अर्थतन्त्र सुधार गर्नुपर्छ भनेर नेताहरू पनि दिनदिनै बोलिरहेका छन् । लेखकहरू पनि त्यही लेखिरहेका छन् । नेताहरू भन्छन्, उनीहरू ‘जनता’का लागि बोलिरहेका छन् । लेखकहरू पनि ‘जनता’कै लागि कलम चलाइ रहेको भन्छन् । तर, साँचीकै जनता छन् त ती भाषण र लेखनमा ?

नेपाली नेताहरूलाई खासमा उनीहरूले गर्नुपर्ने के हो भन्ने थाहा नभएको पक्कै पनि होइन होला । सङ्घर्षको तापमा खारिएर आएका र सत्ता सञ्चालनमा वर्षौँ ‘अभ्यस्त’ भइसकेका नेताहरूलाई ‘देश र समाज बनाउन’ के र कसो गर्नुपर्छ भन्ने थाहा नभएको पनि पक्कै होइन होला । र, विज्ञहरूको सर-सल्लाह, अनेक किसिमका आयोग र प्रतिवेदनहरू त बाह्रैमास चली नै रहेको हुन्छ फेरी  ।

एउटा भनाइ छ — बुद्धिमानलाई सल्लाह चाहिँदैन, मूर्खले सुन्दैन । नेपाली नेताहरू कुन वर्गमा पर्छन् ठम्याउने जिम्मा पाठकहरूकै  ।

जहाँसम्म लेखनको कुरा छ, प्रश्न के पनि छ भने ‘पार्टी’ सिनेमाको पत्रकारले भने झैँ हरेक लेखक/ कलाकारमा एक खालको आग्रह सधैँ नै जरुरी छ ?

सिनेमामा यही प्रसङ्गमा एक पात्र भन्छन्, ‘कलाकार कुनै पनि राजनीतिक विचारधारामा विश्वास राख्छ वा कुनै राजनीतिक दलको सदस्य नै हुन्छ भने यो उसको निजी फैसला हो, उसको व्यक्तिगत छनौट हो । तर, श्रेष्ठ कला र साहित्य कुनै न कुनै किसिमको विद्रोह — राजनीतिक , सामाजिक वा आध्यात्मिक — बाटै जन्मिएका हुन् । कुनै पनि राजनैतिक व्यवस्था होस्, अन्याय र दमनविरुद्ध आवाज उठाउनु कुनै पनि कलाकारको अहम् जिम्मेवारी हो ।’

नयाँ पुस्ता कुनै पनि लोकतान्त्रिक आन्दोलनमा भाग लिएकै छैन भने पनि वर्तमान व्यवस्थाको हालको नेतृत्वसँग ‘डेलिभरी’को माग राख्ने, चिन्ता गर्ने र रुष्ट हुने अधिकार उत्तिकै राख्छ । जति दल, नेता र विचारकहरूले राख्छन् । फेरी इतिहास थाहा नपाउनु भन्नुको अर्थ ‘स्टेटस को’लाई, अहिलेको विफलतालाई, स्वीकार्नु नै पनि त होइन ।

संवाद गहिरो हुँदै गएपछि अलि भारी पनि भए झैँ लाग्छ । तर सबै भन्दा महत्त्वपूर्ण कुरा चाहिँ के भने, हामीले जुन काम रोजेको छौँ, त्यो पूर्ण इमानदारीका साथ गरेका छौँ कि छैनौँ ? हाम्रो वरिपरि जुन अन्याय भइरहेको छ त्यसको बारेमा नैतिक अडान लिइरहेका छौँ कि छैनौँ ? र, आम नागरिक, जनता र तिनका सरोकार केन्द्रबिन्दुमा छन् किन छैनन् ? उनीहरूका मुद्दा लेखनमा सम्बोधन भएका छन् कि छैनन् ? लेखक एक्टिभिस्ट नै हुनुपर्छ भन्ने नै होइन । तर, लेखकको सामीप्यता दल र नेतासँग बढी अनि आम मानिससँग कम हुन थाल्यो भने यो कुराले पक्कै पनि महत्त्व त राख्छ नै ।

हालैका दिनहरूमा ‘जेन जी’ लाई ‘पढाइएन’, ‘भनिएन’ त्यही भएर उनीहरू ‘नोस्टाल्जिक’ हुन्छन्, अनि राजावादी आन्दोलनमा पनि देखिन्छन् भन्ने एउटा ‘न्यारेटिभ’ बलियो रूपमा अगाडी आएको छ । कतिपय नेता, मिडिया र विचारकहरूले निर्माण गरेको यो ‘न्यारेटिभ’ अत्यन्त ‘पेट्रोनाइजिङ्ग’ मात्र छैन, यसले नयाँ पुस्तालाई ‘नजानेको र नबुझेको’ कित्तामा राख्न खोज्छ ।

‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र’ भन्ने ‘रेटोरिक’ भन्दा माथि उठेर नेता र विचारकहरूले अरू कुनै बलियो र सृजनशील तर्क प्रस्तुत नगर्ने, अनि नयाँ पुस्तालाई ठाडै ‘अबुझ’ भन्नु दोहोरो चरित्रको प्रदर्शन हो । कतिपय नेपालका मिडिया र विचारकहरू अहिले पनि राजनीति, समाज, समाज विज्ञान जस्ता यावत विषयलाई आफ्नो एकाधिकार ठान्छन्  । नयाँ पुस्ताले राजनीतिक/सामाजिक विषयमा के सोचेको छ भन्ने बहस नगर्ने अनि उनीहरूलाई ‘टिकटक’, खाना, नयाँ फेशन र आधुनिक ‘ट्रेन्ड’ मै सीमित गरिदिनु एक किसिमको पाखण्ड नै हो ।

नयाँ पुस्ताले खोजेको विस्मृतिमा गइसकेको व्यवस्था होइन, उनीहरूले खोजेको त चलायमान वर्तमान र आशालाग्दो भविष्य हो भन्ने कुराको चर्चा र सम्बोधन पनि उत्तिकै आवश्यक छ । नयाँ पुस्ताले पुरानो व्यवस्थाको खराबी थाहै पाएको छैन भनेर सरासर दोषी करार गरिदिनु भनेको हालको नेतृत्व वर्गलाई उनीहरूको असफलताका लागि जबाफदेही बनाउनबाट भाग्नु हो । र, त्यो गर्नु भनेको लेखकहरू आफ्नो जिम्मेवारी बाट चुक्नु हो ।

नयाँ पुस्ता कुनै पनि लोकतान्त्रिक आन्दोलनमा भाग लिएकै छैन भने पनि वर्तमान व्यवस्थाको हालको नेतृत्वसँग ‘डेलिभरी’को माग राख्ने, चिन्ता गर्ने र रुष्ट हुने अधिकार उत्तिकै राख्छ । जति दल, नेता र विचारकहरूले राख्छन् । फेरी इतिहास थाहा नपाउनु भन्नुको अर्थ ‘स्टेटस को’लाई, अहिलेको विफलतालाई, स्वीकार्नु नै पनि त होइन ।

नेपालमा ‘पेट्रोनाइजिङ्ग’ लोकतन्त्रको अर्को उदाहरण के पनि हो भने नेता र दलहरू ‘हामीले ल्याइदिएको व्यवस्था’ भन्दै जनता उनीहरूप्रति कृतज्ञ भइदिउन् भन्ने चाहन्छन् । यो अनौठो लोकतान्त्रिक चरित्र विकास भएको छ । अझ त्यसमा पनि अलिकति फरक विचार राख्नेलाई कतिपय विचारकहरू पनि घुमाउरो तरीकाले नेताले गलत त गरेका होलान्, तर पनि कृतज्ञ भइदिनुपर्छ भन्ने भावका लेख प्रस्तुत गर्छन् भने त्यो लेखकीय प्रतिबद्धताबाट मात्र होइन, सामाजिक जिम्मेवारीबाट पनि विमुख हुनु हो ।

लेखकले के चाहिँ लेख्नुपर्छ (वा पर्दैन) भन्ने आग्रह राख्नु त अत्यन्त पूर्वाग्रही होला । तर, एउटा स्पष्ट कुरा चाहिँ के हो भने- जनताको पीडा, भावना र भोगाइ  लेखनमा समेटिएन भने, त्यसले नयाँ दृष्टि दिएन भने त्यसले के र कति महत्त्व र अर्थ राख्छ ।

जे हामी लेखिरहेका छौँ त्यो केवल चर्चाका लागि हो ? कि त्यो कुनै जिम्मेवारी बोधको अभिव्यक्ति पनि हो ?

अन्ततः प्रश्न केवल लेख्नुपर्ने हो कि होइन भन्ने होइन — प्रश्न हो, जुन समाजको हामी हिस्सा र साक्षी हौँ त्यसको वजन, भाव र बहाव हामीले महसुस गरिरहेका छौँ कि छैनौँ ? के हामी उनीहरूको पक्षमा उभिन इच्छुक छौँ, जसको आवाज सङ्कीर्ण राजनीतिक विवादको हल्लामा हराइरहेको छ ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register