राजावादी आन्दोलन : समर्थक सुक्दै, नेतृत्व जुट्दै

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको सुमधुर सम्बन्ध गएको चार वर्षयता तिक्ततापूर्ण रहँदै आयो । त्यसको कारण थियो, २०७८ सालको मंसिरमा सम्पन्न राप्रपा नेपालको महाधिवेशन । राप्रपा र राप्रपा संयुक्तको पार्टी एकता पश्चात् सम्पन्न महाधिवेशनमा लिङदेनसँग आफू पराजित भएपछि थापाले त्यसको अपजस पूर्व राजा ज्ञानेन्द्र शाहमाथि लगाए । अध्यक्षमा विजयी […]

Apr 28, 2025 - 14:56
 0
राजावादी आन्दोलन : समर्थक सुक्दै, नेतृत्व जुट्दै

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको सुमधुर सम्बन्ध गएको चार वर्षयता तिक्ततापूर्ण रहँदै आयो । त्यसको कारण थियो, २०७८ सालको मंसिरमा सम्पन्न राप्रपा नेपालको महाधिवेशन । राप्रपा र राप्रपा संयुक्तको पार्टी एकता पश्चात् सम्पन्न महाधिवेशनमा लिङदेनसँग आफू पराजित भएपछि थापाले त्यसको अपजस पूर्व राजा ज्ञानेन्द्र शाहमाथि लगाए । अध्यक्षमा विजयी लिङदेनसँग दूरी बढाए ।

त्यसयता थापाले लिङदेनमाथि सार्वजनिक मञ्चहरूबाटै कैयौँ तीता अभिव्यक्तिहरू दिँदै आएका थिए । थापाको तुलनामा लिङदेन संयम देखिएका थिए । महाधिवेशनपछि दुई नेताबीच भेटघाट पातलो हुँदै गयो भने उस्तै-उस्तै मुद्दा बोकेर राजनीति गरिरहे पनि फरक फरक हिसाबले प्रस्तुत भइरहे । अन्य नेताहरूको प्रयत्नका बाबजुद पनि राजावादी यी दुई नेताहरूबीच सौहार्दपूर्ण सम्बन्धको ढोका खुल्न सकेको थिएन ।

सोमबार कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा यी दुवै नेताबीच २०७८ सालयता जारी उक्त तिक्तता तोडियो ।

राजधानीको शान्तिबाटीकामा आयोजित कार्यक्रममा सहभागी भएका लिङदेनले थापालाई ‘श्रद्धेय दाइ’ भनेर आदरपूर्वक सम्बोधन गरे । थापाले लिङदेनलाई ‘मेरो प्रिय भाइ राजेन्द्र लिङदेन’ भनेर प्रेमपूर्वक सम्बोधन गरे ।

पछिल्लो समय राजावादीहरू गणतन्त्रविरुद्ध उत्साहपूर्वक सडकमा ओर्लिँदा समेत एकै ठाउँमा हुन नसकेका थापा र लिङदेनबीच सोमबारको कार्यक्रममा निकै हार्दिक देखियो । तर आन्दोलन तातेका बेला छुट्टाछुट्टै अभिव्यक्ति दिएर हिँडेका उनीहरू राजावादी आन्दोलन सेलाउँदै जाँदा एक ठाउँमा उभिए ।

गत फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका समर्थक देखेर उत्साहित बनेका राजावादीहरू चैत १५ को तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनापछि सेलाउन थालेका छन् ।

चैत १५ गते तीनकुने क्षेत्रमा दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनपछि राप्रपाकै उच्च तहका नेताहरू रवीन्द्र मिश्रसहित उक्त आन्दोलनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । त्यसयता राजावादी तप्काले आन्दोलन उठाउने कोसिस गरे पनि उत्साहजनक बनाउन सकिरहेका छैनन् ।

त्यसको उदाहरण चैत २६ गते र त्यसपछि राप्रपाले आयोजना गर्दै आएका विभिन्न प्रदर्शनहरू छन् । चैत १० गते लिङदेन नेतृत्वको राप्रपाले बल्खुमा आयोजना गरेको विरोध सभामा नै प्रदर्शनकारीहरूको सङ्ख्या कम थियो । त्यसपछि वैशाख ७ गते राप्रपाले नै नेतृत्व गरेको बानेश्वर क्षेत्रमा भएको आन्दोलनको उपस्थिति पनि कमजोर रह्यो । बबरमहल-बानेश्वर क्षेत्रमा आन्दोलनकारीहरूको सङ्ख्या कम भएपछि लिङदेनसहित राप्रपाका नेताहरूले सिंहदरबारभित्रै प्ले कार्ड देखाएर गिरफ्तारी दिएका थिए ।

सोमबार थापा नेतृत्वको राप्रपा नेपालले शान्तिबाटीकामा आयोजना गरेको कार्यक्रममा पनि राजावादी समर्थकहरूको उत्साहपूर्ण सहभागिता देखिएन ।

राजावादी र हिन्दूवादीबीच एकताबद्ध र संगठित हुने प्रयास

राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र स्थापनाका एजेन्डा बोकेर विभिन्न समूहमा कार्यक्रम गर्दै आएका राजावादी र हिन्दूवादीहरूले सोमबारको कार्यक्रममा एकताबद्ध र संगठित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

थापा नेतृत्वको राप्रपा नेपालले शान्तिवाटीकामा आयोजना गरेको कार्यक्रम उनीहरूले राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र स्थापनाका लागि संगठित र एकताबद्ध प्रयत्नको प्रतिबद्धता जनाए ।

यसअघि राजावादी र हिन्दूवादीहरू एक-अर्काको अभियानलाई बेवास्ता गर्दै आएका थिए । राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको एजेन्डा समान भए पनि एक-अर्काको कार्यक्रममा नेताहरू अनुपस्थित हुन्थे । राप्रपा नेपालको कार्यक्रममा राप्रपाको अनुपस्थिति, राप्रपाको कार्यक्रममा राप्रपा नेपाल नपुग्ने दृश्य देखिँदै आएको थियो । समान एजेन्डाका फरक ब्यानरका अभियानमा नेताहरू उपस्थित हुँदा असन्तुष्टि र स्पष्टीकरण समेतका परिदृश्य सामान्यजस्तै थिए ।

यस्तै, राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समितिलाई दुवै पार्टीले अस्वीकार गर्दै आएको परिस्थिति थियो । राप्रपाले आफ्ना नेताहरू फरक समूह वा पार्टीका कार्यक्रममा उपस्थित भए कारबाहीको चेतावनी नै दिएको थियो । हिन्दूवादी संगठनहरू पनि विभाजित थिए ।

सोमबार भने एकै मञ्चमा उभिएर उनीहरूले आन्तरिक मतभेद अब नरहेको विश्वास दिलाउन खोजे । आफ्ना एजेन्डामा वृहत् समर्थन प्राप्तिका लागि थप संगठित हुने प्रतिबद्धता व्यक्त गरे ।  थापा र लिङदेनले मनमुटाब अन्त्य भएको सन्देश दिन खोजे ।

राप्रपा र राप्रपा संयुक्तको  एकता कार्यक्रममा २०७६ फागुन ७ मा कमल थापाले गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए । थापाले २०७८ माघ २५ मा प्रतिबद्धता विपरीत राप्रपाबाट अलग हुने घोषणा गरेका थिए । २०७८ मंसिरमा राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि उनले महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । आफूलाई हराउनका निम्ति निर्मल निवासले लिङदेनलाई अघि सारेको थापाको बुझाइ थियो । महाधिवेशनमा पराजित भएसँगै लिङदेन र थापाबीचको सम्बन्धमा सौहार्दता थिएन । सोमबार भने थापाले लिङदेन आफ्नो प्रिय भाइ रहेको भन्दै आफूहरूबीच कुनै मतभेद नै नरहेको उल्लेख गरे । ‘मेरो प्रिय भाइ राजेन्द्र लिङदेनले हामीसँगै छौँ र सँगै रहने प्रतिबद्धता व्यक्त गर्दछु भन्नुभयो म यसको स्वागत गर्न चाहन्छु ।’

राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र स्थापनाको एजेन्डामा नेतृत्व लिन  होडबाजीको परिस्थिति अन्त्य हुनुपर्ने सन्देश पनि थापाले दिएका छन् । संगठनात्मक रूपमा बलियो र संसद्मा समेत उपस्थिति भएकाले राप्रपाले नै एकताबद्ध ढंगले अभियानलाई अघि बढाउनुपर्ने उनले उल्लेख गरे । ‘राप्रपा देशको अहिले सबैभन्दा ठूलो र बलियो राष्ट्रवादी शक्ति हो । राप्रपाले नै सबैलाई समेट्ने ढंगबाट अगाडि बढ्नुपर्छ र त्यसका लागि पहलकदमी लिन म माननीय राजेन्द्र लिङदेन मेरो प्रिय भाइलाई आग्रह गर्न चाहन्छु,’ उनले भने ।

पूर्वपञ्च नवराज सुवेदीको अभियानमा लिङ्देनले  साथ दिइरहेका थिएनन् । सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिमा बस्न उनले अस्वीकार गर्दै आएका थिए । चैत्र १५ मा तीनकुनेको प्रदर्शन हिंसात्मक बनेसँगै प्रशासनले सुवेदीलाई बाहिर निस्किन बन्देज लगाएको थियो । त्यसपछि समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी जगमान गुरुङले सम्हालेका थिए । गुरुङले  प्रतिबद्धता सभा आयोजना गर्दा लिङदेनको उपस्थिति थिएन ।

सोमबार थापा नेतृत्वको राप्रपाको कार्यक्रममा पुगेर उनले राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र र संघीयता खारेजीको पक्षमा हुने कार्यक्रममा राप्रपाको ऐक्यबद्धता रहने उल्लेख गरे । कमल थापालाई धन्यवाद दिँदै उनले भने, ‘राजसंस्था पुनर्स्थापनाको एजेन्डामा हुने शान्तिपूर्ण कार्यक्रममा हामी साथै हुनेछौँ । श्रद्धेय कमल थापा दाइले आमन्त्रण गरेकोमा धन्यवाद । अब कुनै द्विविधा नरहोस् । राप्रपा सबैसँग काम गर्न तयार छ,’ उनले भने ।

सभामा  नेताहरूले व्यक्तिगत स्वार्थ त्यागेर एजेन्डा स्थापित गर्न सशक्त अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरे । ‘अहिले सिंगो देशले हामीलाई आशाको नजरले हेरिराखेका छन् । त्यस कारण म सबै देशभक्त शक्तिहरूलाई आग्रह गर्न चाहन्छु, सबै प्रकारका आग्रह र पूर्वाग्रह त्यागेर एक ठाउँ बसेर देशलाई निकास दिन अगाडि बढौँ । यो कार्यका लागि राप्रपा तयार छ,’ अध्यक्ष लिङ्देनले भने।

राजावादी र हिन्दूवादी शक्तिहरू एकै मञ्चमा उभिँदा टुटफुटको समस्या नरहेको र एकताबद्ध रहेको सन्देश प्रवाह भएको संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीको मत छ । एक मञ्चमा उपस्थित हुँदा एकजुट हुन थप बल मिलेको उनले बताए । ‘राजावादी र हिन्दूवादी सबै एकै हौँ । सबै जनाले आफ्नो ठाउँबाट राजसंस्थाको पुनर्स्थापना, बहुदलीय प्रजातन्त्र स्थापना र हिन्दू राष्ट्रका लागि हामी एकताबद्ध छौँ । अब बलियो रूपमा अघि बढ्नेछौँ,’ उनले भने ।

राष्ट्रिय शक्ति नेपाल अभियानका प्रमुख केशरबहादुर विष्टले पनि सबैको उपस्थितिले अभियानलाई सशक्त ढंगले अघि बढाउन बल पुर्‍याएको उल्लेख गरे । आफूले आयोजना गरेको कार्यक्रममा राजावादी र हिन्दूवादी दल र समूह सबैको सहभागितापछि हौसिएका कमल थापाले अब निर्णायक धक्का दिन उपस्थितिले प्रेरित गरेको उल्लेख गरे । राजसंस्था र हिन्दू राष्ट्रका लागि माहौल बन्दै गइरहेको छ, अब अन्तिम धक्का मात्रै आवश्यक छ । हामी एकताबद्ध ढंगले लाग्नेछौँ  र हामी एकजुट हुनुपर्छ ,’ राप्रपा नेपालका अध्यक्ष थापाले भने।

उनीहरूले चैत्र १५ को घटनापछि राप्रपाका नेता कार्यकर्तासहित राजावादी अभियन्तालाई आस्थाको बन्दी बनाएको भन्दै तत्काल रिहाको माग सरकारसँग गरेका छन् । यस्तै, धर्मनिरपेक्षता तथा गणतन्त्रको विरोधमा बन्देज गर्ने कानुन निर्माण गर्ने तयारी सरकारले गरेको भन्दै त्यसको विरोधमा मतऐक्यता प्रकट गरेका छन् । उनीहरूले तीनकुने क्षेत्रमा भएको घटनामा न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register