सर्वोच्चका शाखा अधिकृतको झोँकले बिथोलिएको जनमत-नाउपा एकता सभा

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति एकताका लागि डेढ महिनादेखिको कसरतलाई बुधवार सार्थकता दिँदै थिए । वैशाख १७ मा निर्धारित एकता घोषणा सभामा नेता तथा कार्यकर्ताहरू साढे १० बजेदेखि नै  कमलादीस्थित प्रज्ञा भवनमा जम्मा भइरहेका थिए । कार्यक्रमका लागि भनिएको हल बुकिङ नभएका कारण उनीहरू हलबाहिरै बसेर प्रतीक्षा गरिरहेका थिए । एकता घोषणा सभामा […]

Apr 30, 2025 - 15:01
 0
सर्वोच्चका शाखा अधिकृतको झोँकले बिथोलिएको जनमत-नाउपा एकता सभा

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति एकताका लागि डेढ महिनादेखिको कसरतलाई बुधवार सार्थकता दिँदै थिए । वैशाख १७ मा निर्धारित एकता घोषणा सभामा नेता तथा कार्यकर्ताहरू साढे १० बजेदेखि नै  कमलादीस्थित प्रज्ञा भवनमा जम्मा भइरहेका थिए ।

कार्यक्रमका लागि भनिएको हल बुकिङ नभएका कारण उनीहरू हलबाहिरै बसेर प्रतीक्षा गरिरहेका थिए । एकता घोषणा सभामा पुगेका नाउपाका संरक्षक रेशम चौधरी पनि प्रज्ञा भवनको अति विशिष्ट कक्षको लबीमा पुगेर नेता कार्यकर्तासँग गफिँदै थिए ।

कार्यकर्ताहरूसँग गफिँदै गरेका चौधरी सादा पोसाकमा रहेका प्रहरीबाट एक्कासि गिरफ्तारीमा परे । उनको गिरफ्तारीले एकता सभा नै बिथोलियो ।

सादा पोसाकका प्रहरीले उनलाई करिब पौने १ बजे तिर गिरफ्तार गरेको थियो । गिरफ्तारको कारणबारे उनलाई डिल्लीबजार कारागार पुर्‍याएपछि मात्रै जानकारी दिइयो । रेशमसँगै रहेका उनका भाइ मिठ्ठुलाल चौधरीले कारागार पुगेपछि मात्रै सर्वोच्च प्रशासनबाट पत्र आएकाले गिरफ्तार गरिएको जानकारी पाएको बताए । ‘कुन मुद्दामा पक्राउ गरिएको हो, के हो भनेर हामीलाई भनिएको थिएन । एकै पटक कारागार पुगेपछि मात्रै सर्वोच्च प्रशासनको पत्र कार्यान्वयनका लागि गिरफ्तार गरिएको जानकारी दिइयो,’ उनले भने ।

सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टले न्यायाधीशको आदेशविनै फैसलाकै भाषामा रेशमलाललाई गिरफ्तार गर्दै कारागार चलान गर्न पत्र लेखे । आममाफी विरुद्धको रिट विचाराधीन रहे पनि उनलाई अहिले नै कारागार चलाउनु भनेर सर्वोच्चका कर्मचारी विष्टले पत्र लेखेका थिए ।  डिल्लीबजार कारागारलाई सम्बोधन गरेर लेखिएको पत्र बोकेर उनी डिल्लीबजार कारागार पुगे ।  रेशमलाई राष्ट्रपतिले दिएको आममाफी अपराधको राजनीतिकरण भएको ब्यहोरा उक्त पत्रमा थियो । उक्त पत्र लिएर उनी स्वयं प्रहरी समक्ष पुगेको खुलेको छ ।

उनले पत्रमा लेखेका थिए,  ‘मिति २०८० जेठ १४ मा दिइएको माफी यस अदालतमा मिति २०८० जेठ १६ मा दर्ता भएको मुद्दा नम्बर ०७९-Wo -१३३७ को उत्प्रेषण मुद्दामा यस अदालतको पूर्ण इजलास वा संवैधानिक वृहत् पूर्ण इजलासबाट शिग्रातीशीग्र सो आदेशमा फैसला द्वारा अनावश्यक कारबाही हुने नै हुँदा….सिधा खर्च दिई कैदमा राख्नू ।’

पत्र प्राप्त भएसँगै कारागार प्रशासन चौधरीलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुग्यो । कारागार प्रशासन पत्रसहित पुगेपछि परिसर प्रमुख एसएसपी विश्व अधिकारीले उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद तामाङलाई जानकारी गराए । तामाङले अघि बढ्ने आदेश दिएसँगै डिएसपी प्रह्लाद कार्कीको टोली चौधरी पक्राउका लागि कमलादी पुगेको थियो ।  उक्त टोलीले चौधरीलाई कमलादीबाट पक्राउ गरेपछि नेता तथा कार्यकर्ताहरूले कमलादीमा नाराबाजी समेत गरेका थिए ।

चौधरी पक्राउ लगत्तै जनमत पार्टीका अध्यक्ष सिके राउत तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले पक्राउको भर्त्सना गरे । यो पक्राउ एकता पक्रिया बिथोल्ने उद्देश्यले गरिएको उनीहरूको प्रतिक्रिया थियो ।  उनीहरूले नेता तथा कार्यकर्तालाई घर फर्किन समेत आह्वान गरेका थिए । राउतले आफ्नो फेसबुकमा लेखेका थिए,‘ एकताकै दिन पक्राउको हामी घोर भर्त्सना गर्दछौँ। यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ ।  सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौँ,’ राउतको सूचना थियो ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले पहिचानवादी शक्तिलाई एक ठाउँमा आउन नदिन षड्यन्त्र भएको प्रतिक्रिया दिएका थिए । ‘यो देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउन् भन्नका लागि रेशम चौधरीलाई पक्राउ गरेको देखिन्छ,’ उनको भनाइ थियो ।

विष्टको पत्रले उनलाई पाँच घण्टासम्म कारागारमै राख्यो । सर्वोच्चको प्रशासनले  विष्टको पत्र अनधिकृत रहेको भन्दै कारागार प्रशासनलाई अर्को पत्र पठाएसँगै रेशम रिहा भएका हुन् । रेशमलाई कारागार पठाउने विष्ट स्वयं पनि प्रहरीको हिरासतमा पुगेका छन् ।

उनले टीकापुर घटनामा मारिएकाहरूको आत्माको शान्तिका लागि आफूले यस्तो पत्र लेखेको बयान प्रहरीलाई दिएका छन् । ‘म आफैँले होसमै पत्र लेखेको हुँ । जे सजाय भोग्न पनि तयार छु । उनलाई दिइएको कैद मिनाहा नै गलत छ । पूर्ण पाठ नआई आममाफी दिइयो,’ उनले बयानमा भनेका छन्,’यसरी दिन मिल्दैन । मैले त्यसैको झोँकमा पत्र लेखेको हुँ । पत्र लिएर कारागारमा बुझाउन पनि म आफैँ गएको हुँ ।’

यद्यपि, शाखा अधिकृत विष्ट स्वयंले आफ्नै चित्तमा लागेका कारण यस्तो पत्र लेखेको स्वीकार गर्न जनमत र नागरिक उन्मुक्ति पार्टी दुवै तयार छैनन् । उनीहरूले राजनीतिक आडकै कारण अधिकृत विष्टले पत्र लेखेर प्रहरीका बुझाएको आरोप लगाएका छन् ।

सर्वोच्चको पत्रसँगै कारागारमुक्त हुने क्रममा रेशमलाललाई भेट्न पुगेका जनमतका अध्यक्ष राउतले उनलाई पक्राउ गर्ने कदम लोकतान्त्रिक नभएको र यसमा ठूलो षड्यन्त्र रहेको उल्लेख गरे । यो कदम एकता भाँड्न उत्प्रेरित भएको र यसमा कर्मचारीलाई मोहोरा बनाइएको उनको प्रतिक्रिया थियो । ‘यो घटनामा कर्मचारीलाई मोहोरा बनाइएको छ । सीमान्तकृत वर्गको हितमा सशक्त बन्न लागेको शक्तिको एकता भाँड्नका लागि यो षड्यन्त्र गरिएको हो,’ उनले भने ।

नागरिक उन्मुक्ति पार्टीका नेता लालवीर चौधरीले यसमा राजनीतिक षड्यन्त्र भएको जिकिर गरे । ‘कुनै पनि आड भरोसा नभईकन कर्मचारीले मात्रै यसो गर्न सक्दैन । कसैको आड भरोसामा कर्मचारीले यस्तो काम गरेका हुन् । हाम्रो एकता प्रक्रिया बिथोल्ने मनसायले यो काम भएको छ,’ उनको भनाइ छ ।

दुई दलले अब छिट्टै एकताको अर्को मिति घोषणा गर्ने भएका छन् । वैशाख १७ को एकता सभा बिथोलिएपछि बैठकमार्फत अर्को मिति घोषणा हुने जनमतका अध्यक्ष सिके राउतले बताए । एकीकृत पार्टीको नाम नागरिक जनमत राख्ने र चुनाव चिन्ह ढाकिया राख्ने सहमति उनीहरूबीच छ । एकीकृत पार्टीको अध्यक्षता सिके राउतले गर्ने छन् भने रन्जिता सहध्यक्ष र रेशमलाल संरक्षक बन्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register