के बहुदल र दलतन्त्र एउटै हो ?

दलतन्त्रको विरोध गर्दा मान्छेहरू प्रश्न गर्छन्, के त्यसो भए निर्दल नै ठीक हो त ? यसो भन्नेहरू ठान्दछन्- दलतन्त्रको विरोध गर्नु निर्दलवादी हुनु हो । अथवा, हुनु हो लोकतन्त्र विरोधी । उनीहरूलाई लाग्छ, बहुदल भन्नु र दलतन्त्र भन्नु एउटै कुरा हो । यसै गरी, जब हामी नेतातन्त्रको विरोध गर्दछौँ, केही मान्छेहरू ठान्दछन्, नेता भनेकै शक्तिको […]

May 2, 2025 - 03:49
 0
के बहुदल र दलतन्त्र एउटै हो ?

दलतन्त्रको विरोध गर्दा मान्छेहरू प्रश्न गर्छन्, के त्यसो भए निर्दल नै ठीक हो त ? यसो भन्नेहरू ठान्दछन्- दलतन्त्रको विरोध गर्नु निर्दलवादी हुनु हो । अथवा, हुनु हो लोकतन्त्र विरोधी । उनीहरूलाई लाग्छ, बहुदल भन्नु र दलतन्त्र भन्नु एउटै कुरा हो ।

यसै गरी, जब हामी नेतातन्त्रको विरोध गर्दछौँ, केही मान्छेहरू ठान्दछन्, नेता भनेकै शक्तिको प्रतीक हो । नेता शक्तिशाली हुनु कुन ठूलो कुरा भयो । उनीहरूलाई लाग्छ, नेतातन्त्रको विरोध गर्नु शक्ति सम्बन्ध नबुझ्नु हो । र, त्योभन्दा अझ अगाडि बढेर उनीहरू तर्क गर्छन्- अहिलेका मुख्य नेताको विरोध गर्नु राजावादीलाई सहयोग गर्नु हो ।

के कुरा त्यस्तै हो त ? विचार गरौँ त, के दलतन्त्रको विरोध गर्नु निर्दलवादी हुनु हो ? अथवा, के नेतातन्त्रको विरोध गर्दा राजतन्त्रको समर्थन हुन्छ ? बहुदल र निर्दलमा के फरक छ ? बहुदल र दलतन्त्रमा के फरक छ ? यी प्रश्नहरू आजको नेपाली राजनीतिमा छलफल गर्न योग्य प्रश्न हुन् । अतः आजको लेख यिनै प्रश्नहरूमा केन्द्रित छ ।

सर्वप्रथम केही राजनीतिक शब्दावली लिऊँ । जस्तो, राजतन्त्र, दलतन्त्र, लोकतन्त्र, निर्दल र बहुदल । अब विचार गरौँ, यिनीहरूको राजनीतिक अर्थ के हो ? र, हाम्रो अनुभवले के भन्छ ? राजतन्त्रको अर्थ हो, राजाको शासन । यस्तो शासन, जहाँ राजा सबैभन्दा माथि हुन्छन् । जहाँ राजालाई संविधान र कानुन लाग्दैन । राजा ईश्वरका अवतार हुन्छन् । र, उनी हुन्छन् सारा जगतका ख्वामित, परमपिता र पालन हार ।

हाम्रो आफ्नै अनुभवका आधारमा भन्न सकिन्छ- राजतन्त्र यस्तो शासन व्यवस्था हो, जहाँ देश, राज्य, सरकार र नागरिक सबै राजाका हुन्छन् । राजा सर्वोच्च हुन्छन् र हुन्छन् भाग्य विधाता । राजतन्त्रमा राज्यको सार्वभौमिकता र राज्य शक्तिको श्रोत निहित हुन्छ- राजामा । राजतन्त्र यस्तो व्यवस्था हो, जहाँ शाही सर्वोच्चता हरदम दरबारको सिंहासनमा विराजमान हुन्छ । र, नागरिक सर्वोच्चता बस्छ प्रवास, जेल, नेल र हत्कडीमा ।

यसै गरी, दलतन्त्रमा राज्यसत्ताको शिरमा हुन्छन् दलहरू । उनीहरू संविधान, कानुन र राज्य अङ्गमाथि यसरी गजधम्म बस्छन्, मानौँ यी सबैका स्वामी उनीहरू नै हुन् । उनीहरू आफूमा राज्यसत्ता र राज्य शक्तिको श्रोत निहित छ भन्ने ठान्दछन् । त्यसैले दलका मान्छेहरू जनताका अगाडि यसरी प्रस्तुत हुन्छन् मानौँ, उनीहरू नै सत्ता हुन् । उनीहरू नै सरकार हुन् । र, उनीहरू नै राज्य हुन् ।

यसरी हेर्दा स्पष्ट हुन्छ, दलतन्त्रको अर्थ हो, दलीय सर्वोच्चता ।

प्रश्न आउँछ, त्यसो भए बहुदल र दलतन्त्रमा के फरक छ ? कुरा सरल छ । जस्तो, बहुदल भनेको दलहरूको राजनीतिक उपस्थिति स्वीकार गर्नु हो । अर्थात्, मान्छेका फरक-फरक राजनीतिक आस्थाहरूलाई स्वीकार गर्नु हो । तर दलतन्त्र हो, दलहरूको शासकीय प्रभुत्व, राज्यको दलीयकरण र हस्तक्षेप ।

बहुदलको अर्थ हो, समाजमा एकभन्दा धेरै दलहरूको राजनीतिक अस्तित्व स्वीकार गर्नु । उनीहरूको स्वतन्त्र र स्वच्छ प्रतिस्पर्धालाई स्वीकार गर्नु । उनीहरूका फरक-फरक दर्शन, विचार र मुद्दाहरूलाई स्वीकार गर्नु । जहाँ नागरिक आ-आफ्ना छनोटका आधारमा सङ्गठित हुन्छन् र आफ्नो राजनीतिक अधिकार प्रयोग गर्दछन् ।

यो अर्थमा दलहरू नागरिकका राजनीतिक प्रतिनिधि हुन् । दलहरू आफ्ना उम्मेदवारमार्फत निर्वाचनमा उभिन्छन् । मतदाताहरू दलका विचार, एजेन्डा र उम्मेदवार हेरेर भोट हाल्दछन् । र, विजेताले नागरिकको प्रतिनिधि भई काम गर्छ ।

त्यसैले स्पष्ट छ, दल (बहुदल) लोकतान्त्रिक राज्य र राजनीतिका चालक तत्त्वहरू हुन् । उनीहरू हुन्छन् र नै लोकतन्त्र जीवन्त हुन्छ । र, नागरिक सर्वोच्चता प्रखर बन्छ ।

तर यहाँनेर विचार गर्नुपर्ने के छ भने, दलहरूको अस्तित्व स्वीकार गर्नू र दलतन्त्रलाई स्वीकार गर्नु फरक कुरा हो । बहुदलले नागरिकको ‘राजनीतिक’ अधिकारको प्रत्याभूति दिन्छ । तर दलतन्त्रको अर्थ हुन्छ दलहरूको ‘शासकीय’ (राजकीय) प्रभुत्व र दलीय सर्वोच्चता ।

जगजाहेर छ, दलहरूको राजनीतिक उपस्थिति र दलहरूको शासकीय उपस्थिति नितान्त फरक कुरा हुन् । दलहरूको राजनीतिक उपस्थितिले नागरिकको लोकतान्त्रिक अधिकारको प्रत्याभूति गर्छ । दलहरूको शासकीय उपस्थितिले राज्यलाई दलीयकरणतिर लैजान्छ । र, त्यसपछि नागरिकका लोकतान्त्रिक अधिकारहरू कुण्ठित हुन्छन् ।

अतः बहुदल भनेको राजनीतिक कुरा हो । तर, दलतन्त्र भनेको दलहरूको शासकीय प्रभुत्व र हस्तक्षेपको कुरा हो । जब दलहरू आफ्ना राजनीतिक सीमा नाघेर राज्यसत्तामाथि सिधा हस्तक्षेप सुरु गर्छन् त्यसपछि दलतन्त्र प्रारम्भ हुन्छ ।

त्यसैले भन्न सकिन्छ, दलतन्त्र हो दलीय सर्वसत्तावाद । र, बहुदल हो, नागरिक अधिकार ।

दलहरूको राजनीतिक अस्तित्व स्वीकार गर्नू बहुदल स्वीकार गर्नू हो । तर दलहरू जब आफ्नो राजनीतिक भूमिकाभन्दा माथि गएर शासकीय (राजकीय) हस्तक्षेपको भूमिकामा देखा पर्छन्, तब दलतन्त्र सुरु हुन्छ । यसर्थ, दलतन्त्रलाई अस्वीकार गर्नु भनेको दलहरूको शासकीय हस्तक्षेपलाई अस्वीकार गर्नु र निर्वाचित जनप्रतिनिधिहरूको सार्वभौमिकतालाई स्वीकार गर्नु हो ।

यहाँनेर, दलहरूको राजनीतिक अस्तित्व स्वीकार गर्नू बहुदल स्वीकार गर्नू हो । तर दलहरू जब आफ्नो राजनीतिक भूमिकाभन्दा माथि गएर शासकीय (राजकीय) हस्तक्षेपको भूमिकामा देखा पर्छन्, तब दलतन्त्र सुरु हुन्छ । यसर्थ, दलतन्त्रलाई अस्वीकार गर्नु भनेको दलहरूको शासकीय हस्तक्षेपलाई अस्वीकार गर्नु र निर्वाचित जनप्रतिनिधिहरूको सार्वभौमिकतालाई स्वीकार गर्नु हो ।

अवश्य नै, लोकतन्त्रमा दलहरूको राजनीतिक उपस्थिति अनिवार्य हुन्छ, तर शासकीय हस्तक्षेप स्वीकार्य हुँदैन । किनभने, लोकतन्त्रमा शासकीय (राजकीय) सत्ता भने निर्वाचित जनप्रतिनिधिको (मार्फत नागरिकको) हातमा हुनपर्छ, दलहरूको हातमा होइन । यही नै बहुदल, लोकतन्त्र र दलतन्त्रका सीमाहरू हुन् ।

नियालेर हेर्दा, दलतन्त्रले मुख्यतः पाँचवटा राजनीतिक तथा शासकीय सङ्कट सृजना गर्दछ ।

पहिलो, दलतन्त्रमा निर्वाचित जनप्रतिनिधिलाई जनमतले होइन, पार्टी निर्णयले निर्देशित गर्छ ।

दोस्रो, दलतन्त्रमा, सरकारलाई जनप्रतिनिधिले होइन, पार्टी संयन्त्रले निर्देशित गर्छ ।

तेस्रो, दलतन्त्रमा सरकारको नीतिभन्दा प्रभावशाली हुन्छ पार्टी नीति ।

चौथो, दलतन्त्रमा पार्टी निर्णय, निर्वाचित जनप्रतिनिधिको निर्णयभन्दा प्रभावकारी भएर देखा पर्दछ ।

र, पाँचौँ, दलतन्त्रमा राज्यका अङ्गहरू दलको नियन्त्रणमा हुन्छन् ।

दलतन्त्र लोकतन्त्रको यस्तो विकृत अवस्था हो, जहाँ पार्टीको सिफारिसमा न्यायाधीश नियुक्त हुन्छन् र संवैधानिक अङ्गको पजनी गर्छ पार्टी संयन्त्रले । दलतन्त्रमा मतदाताको अर्थ फगत एक भोट मात्र हुन्छ । र, जनप्रतिनिधिहरू मतदाताप्रति नभई आ-आफ्नो दलप्रति उत्तरदायी हुन्छन् । जहाँ नागरिकभन्दा शक्तिशाली हुन्छन् दलका सदस्य वा कार्यकर्ताहरू ।

स्पष्ट छ, जनप्रतिनिधिको शासन र दलको शासन भन्नु आफैँमा ठूलो भिन्नता हो । र, यही भिन्नता नै लोकतन्त्र र दलतन्त्रको भिन्नता हो ।

त्यसो भए के हो त नेतातन्त्र ? नेतातन्त्र भनेको दलतन्त्रभन्दा अझ खराब अवस्था हो । जहाँ नेता असीमित शक्तिशाली र निर्णायक हुन्छ । उसले लोकतान्त्रिक प्रक्रियाहरू अवरुद्ध गर्छ र सनै-सनै सत्तामा व्यक्तिको प्रभुत्व हाबी हुन्छ ।

नेतातन्त्रमा राजनीतिक सङ्गठन र राज्य संरचनाहरू फगत नेताको कठपुतली बन्छन् । हुन्छ के भने, नेताले आफ्नो खल्तीबाट टिकेट बाँड्न थाल्छ । खल्तीबाटै राजनीतिक नियुक्ति बाँड्न थाल्छ । खल्तीबाटै संवैधानिक नियुक्ति बाँड्न थाल्छ । त्यसपछि राज्यको अङ्ग अमुक नेताको पाउमा पर्छ र लोकतन्त्रको थाहै नपाई चीरहरण सुरु हुन्छ ।

त्यसपछि, आलोचना, प्रश्न र छलफल रोकिन्छन् र भाटगिरी मौलाउँदै जान्छ ।

यसरी, नेता तानासाही, सर्वसत्तावादी र जब्बर बनेर निस्कन्छ । उसको नागरिकसँगको सम्बन्ध टुट्छ र उ घेरिन्छ केही मुठ्ठीभर आसेपासे र बिचौलियाबाट । तिनै बिचौलियाहरूका बीचबाट नेतालाई ‘ग्लोरिफाइ’ गर्ने लम्फू र निर्लज्ज जमात प्रकट हुन्छ ।

दलतन्त्र (नेतातन्त्र) राज्य सञ्चालनको यस्तो विकृत अवस्था हो, जहाँबाट सत्ता र शक्तिको दलीयकरण र तानाशाहीकरण सुरु हुन्छ । दलहरूमार्फत नीतिगत र खुल्ला भ्रष्टाचार सुरु हुन्छ । अनि सनै-सनै, राज्य, राजनीति र प्रणाली सबै भ्रष्ट, पङ्गु र अर्थहीन बन्न पुग्छन् । र, व्यवस्था बन्छ व्यक्तिको पुजारी ।

त्यसपछि नीति र प्रणालीको बहस सकिन्छ । सुरु हुन्छ दलका मुख्य नेताहरूको अलौकिकता र चमत्कारिक व्यक्तित्वको सार्वजनिक विमर्ष । दलहरूले आफ्नो नेतालाई मान्छेबाट भगवान् बनाउन थाल्छन् र जन्म हुन्छ नेतातन्त्रको । अर्थात्, दलतन्त्र भनेको नेतातन्त्रको ब्याड हो । यस्तो ब्याड जहाँबाट कार्यकर्ता दास बनेर निस्कन्छन् र नेता तिनका ख्वामित बन्न पुग्छन् ।

प्रश्न आउँछ, त्यसो भए निर्दल भनेको के हो ? निर्दल भनेको राजनीतिको यस्तो अवस्था हो, जहाँ दलहरू हुँदैनन् । मान्छेमा राजनीतिक आस्था हुन्छ भन्ने कुरा निर्दलीय व्यवस्थामा स्वीकार गरिँदैन । निर्दलले मान्छेको राजनीतिक अधिकार सङ्कुचित गर्छ ।

बहुदल भनेको राजनीतिक स्वतन्त्रताको कुरा हो । निर्दल भनेको मान्छेको राजनीतिक स्वतन्त्रता कुण्ठित गर्नू र नागरिकलाई अराजनीतिक इकाई ठान्नु हो । बहुदल यस्तो अवस्था हो, जहाँ मान्छे राजनीतिक विचार र आस्थाका आधारमा सङ्गठित हुन्छन् । निर्दल यस्तो अवस्था हो, जहाँ मान्छेका सङ्गठित हुने अधिकारहरू खोसिन्छन् ।

बहुदल भनेको राजनीतिक स्वतन्त्रताको कुरा हो । निर्दल भनेको मान्छेको राजनीतिक स्वतन्त्रता कुण्ठित गर्नू र नागरिकलाई अराजनीतिक इकाई ठान्नु हो । बहुदल यस्तो अवस्था हो, जहाँ मान्छे राजनीतिक विचार र आस्थाका आधारमा सङ्गठित हुन्छन् । निर्दल यस्तो अवस्था हो, जहाँ मान्छेका सङ्गठित हुने अधिकारहरू खोसिन्छन् ।

अब कुरा गरौँ लोकतन्त्रको । त्यसो भए लोकतन्त्र भनेको के हो ? लोकतन्त्र यस्तो उदात्त राजनीतिक र शासकीय प्रबन्धन हो, जहाँ दलहरू त हुन्छन् तर उनीहरू राज्यसत्तामा हाबी हुँदैनन् । लोकतन्त्रमा राज्यको शिखरमा हुन्छन् नागरिक र उनीहरूको सार्वभौम शक्ति नै राज्य सञ्चालनको श्रोत बन्छ ।

अर्थात्, लोकतन्त्रको अर्थ हो, लोकको सर्वोच्चता र सार्वभौमिकता ।

अतः दलतन्त्रको विरोध गर्नु, निर्दलीयताको पक्षपोषण हुँदैन । किनभने, एउटा लोकतान्त्रिक नागरिक सधैँ बहुदलको पक्षमा उभिनुपर्छ र सधैँ उभिनुपर्छ निर्दल र दलतन्त्रको विपक्षमा । किनभने, लोकतन्त्रवादी हुनु भनेको नागरिक सर्वोच्चतालाई स्वीकार गर्नू हो । लोकतन्त्र भनेको राजतन्त्र, दलतन्त्र र नेतातन्त्र होइन । यो निर्दल त झन् हुँदै होइन ।

दलतन्त्र, नेतातन्त्र र लोकतन्त्रलाई एउटै सूचकबाट हेर्दा यिनीहरूमा अत्यन्तै ठूलो फरक देखिन्छ । जस्तो शक्ति निक्षेपणको आधारमा हेर्दा, लोकतन्त्रमा राज्य शक्तिको श्रोत नागरिक हुन्छन् । दलतन्त्रमा राज्य शक्तिको श्रोत दलमा केन्द्रित हुन्छ भने नेतातन्त्रमा नेतामा ।

लोकतन्त्र विशेषतः निर्वाचित जनप्रतिनिधिहरूमार्फत नागरिकले आफ्नो सार्वभौम शक्ति अभ्यास गर्ने व्यवस्था हो । जसमार्फत नागरिकले राज्यमाथि नियन्त्रण गर्छन् । लोकतन्त्रमा, नागरिकको सार्वभौम शक्ति नै राज्य सञ्चालनको मूल श्रोत हुन्छ र उनीहरूभन्दा माथि पार्टी, नेता वा राजा कोही पनि हुँदैनन् ।

तर, दलतन्त्रमा शक्तिको श्रोत बन्छन्, दल र तिनका तहगत कार्यकर्ता । लोकतन्त्रमा राज्य नागरिकप्रति उत्तरदायी हुन्छ । दलतन्त्रमा राज्य उत्तरदायी हुन्छ दलप्रति ।

लोकतन्त्र विस्तारित हुन्छ । यो गहिरो र व्यापक हुन्छ । यो सहभागितामूलक हुन्छ । तर, दलतन्त्र हुन्छ सङ्कीर्ण । यसै गरी लोकतन्त्रमा प्रश्न र आलोचनालाई उत्प्रेरित गरिन्छ । दलतन्त्रमा आलोचनाभन्दा माथि हुन्छन् दलहरू ।

दलतन्त्रको विरोध गर्नू न त बहुदलको विरोध हुन्छ, न त निर्दलको समर्थन । खासमा, दलतन्त्रको विरोध गर्नु अझ धेरै लोकतन्त्रको खोजी हो । अझ धेरै नागरिक सर्वोच्चताको माग हो । यसै गरी, जब हामी नेतातन्त्रको विरोध गर्छौँ, त्यसको अर्थ राजावादीलाई समर्थन गर्नु हुँदैन । बरु नेतातन्त्रले जसरी लोकतन्त्रको आत्मालाई मारिरहेको छ, त्यसको पुनर्जागरण गर्नु हुन्छ । नागरिकको पक्षमा उभिनु हुन्छ । र, हुन्छ पूर्ण लोकतन्त्रको अपेक्षा ।

भनिन्छ, लोकतन्त्र स्वयं गतिशील व्यवस्था हो । किनभने, आम नागरिकको गतिशीलताले त्यसलाई ऊर्जा दिन्छ । तर, दलतन्त्रमा गतिशीलता स्वयं केही मुट्ठीभर मान्छेको स्वार्थ र सनकमा बन्दी बन्न पुग्छ । लोकतन्त्र नागरिकका सपनाहरूको उदात्त अभिव्यक्ति हो । तर दलतन्त्र हो त्यसको सङ्कुचन ।

अतः आज हामी देशमा जे भोगिरहेका छौँ, यो लोकतन्त्र होइन, यो दलतन्त्र हो र हो नेतातन्त्र । अथवा, त्यसको पनि अझ विकृत अवस्था हो । अर्थात्, हो गिरोहतन्त्र । र, यसलाई अन्त्य नगरी हामी गतिशील, सहभागितामूलक र परिणाममुखी लोकतन्त्र प्राप्त गर्न सक्दैनौँ ।

कुरा स्पष्ट छ, लोकतन्त्रमा नेता शक्तिशाली हुँदैनन्, नागरिक शक्तिशाली हुन्छन् । लोकतन्त्रमा दलीय सर्वोच्चता हुँदैन, नागरिक सर्वोच्चता हुन्छ । लोकतन्त्रमा दलको शासन हुँदैन, विधिको शासन हुन्छ । लोकतन्त्रमा पार्टी कमिटीहरू नभई राज्यका लोकतान्त्रिक संरचनाहरू प्रभावकारी हुन्छन् र विधि(प्रणाली) ले काम गर्छ ।

त्यसो हुँदा, दलतन्त्रको विरोध गर्नू न त बहुदलको विरोध हुन्छ, न त निर्दलको समर्थन । खासमा, दलतन्त्रको विरोध गर्नु अझ धेरै लोकतन्त्रको खोजी हो । अझ धेरै नागरिक सर्वोच्चताको माग हो । यसै गरी, जब हामी नेतातन्त्रको विरोध गर्छौँ, त्यसको अर्थ राजावादीलाई समर्थन गर्नु हुँदैन । बरु नेतातन्त्रले जसरी लोकतन्त्रको आत्मालाई मारिरहेको छ, त्यसको पुनर्जागरण गर्नु हुन्छ । नागरिकको पक्षमा उभिनु हुन्छ । र, हुन्छ पूर्ण लोकतन्त्रको अपेक्षा ।

अतः खुलेर दलतन्त्र वा नेतातन्त्रको विरोध गरौँ । यसो गर्दा कोही न त राजावादी हुन्छ न त निर्दलवादी । बरु, हुनेछ, सच्चा लोकतन्त्रवादी । र, अहिलेको राजनीतिक सन्दर्भमा सच्चा लोकतन्त्रवादी हुनुजती गर्वको कुरा अरू केही पनि हुँदैन ।

dahal.keshab@gmail.com

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register