काेरियमा नेपाली आमाकाे संघर्ष र सफलता

हेटौंडा । अभाव र संघर्षको छायाबाट हुर्किएकी सरस्वती पुडासैनी हाल दक्षिण कोरियामा सामाजिक सेवा, शैक्षिक नेतृत्व र मातृत्वको उदाहरण बन्दै अघि बढिरहेकी छन् । मकवानपुरमा जन्मिएकी उनको संघर्ष एउटा साधारण नेपाली चेलीले कसरी असाधारण बाटो समात्दै आफ्नो पहिचान स्थापित गराउन सक्छिन् भन्ने प्रेरणादायी दस्ताबेज हो । सामान्य परिवारमा जन्मेकी उनको बाल्यकाल गरिबी, अभाव र संघर्षको […]

May 7, 2025 - 08:35
 0
काेरियमा नेपाली आमाकाे संघर्ष र सफलता

हेटौंडा ।

अभाव र संघर्षको छायाबाट हुर्किएकी सरस्वती पुडासैनी हाल दक्षिण कोरियामा सामाजिक सेवा, शैक्षिक नेतृत्व र मातृत्वको उदाहरण बन्दै अघि बढिरहेकी छन् ।

मकवानपुरमा जन्मिएकी उनको संघर्ष एउटा साधारण नेपाली चेलीले कसरी असाधारण बाटो समात्दै आफ्नो पहिचान स्थापित गराउन सक्छिन् भन्ने प्रेरणादायी दस्ताबेज हो । सामान्य परिवारमा जन्मेकी उनको बाल्यकाल गरिबी, अभाव र संघर्षको छायामा बित्यो । बाबु भरतप्रसाद र आमा जानुकाको कोखबाट जन्मिएकी उनी सन् २०१० मा भानु माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्दा शैक्षिक उत्कृष्टताको उदाहरण बनिसकेकी थिइन् ।

कक्षा–१ देखि नै उनले सधैं प्रथम वा दोस्रो स्थानमा नाम राखिन् । पढाइसँगै गायन, साहित्यलगायत अतिरिक्त क्रियाकलापमा समेत रुचि राख्ने उनी आफ्नै समूहमा नेतृत्व गर्न चाहने स्वभावकी थिइन् । हेटौंडा–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसबाट कक्षा–१२ पास गरेपछि उनी सामाजिक कार्यप्रति झन् बढी समर्पित बनिन् । उनले विभिन्न युवाक्लब तथा संघसंस्थामार्फत युवाहरुमा नैतिक शिक्षा, आत्मनिर्भरता, नेतृत्व विकासलगायत कार्यक्रमको नेतृत्व गरिन् । समाजमा सकारात्मक सोच र योगदान दिने विचार बोकेर उनले युवाहरुलाई जोड्ने प्रयत्न गरिन् ।

निरन्तर प्रयास, लगनशीलता र शैक्षिक क्षमताका कारण थप अध्ययनका लागि उनले दक्षिण कोरियाको आसानस्थित सनमुन विश्वविद्यालयबाट शतप्रतिशत छात्रवृत्ति प्राप्त गरिन् । एक वर्ष कोरियन भाषा अध्ययन गरेपछि उनले स्नातक तहमा अंग्रेजी भाषा तथा साहित्य विषयमा उत्कृष्ट नतिजा ल्याएर विश्वविद्यालयको विश्वास जितिन् । सनमुनबाट उनले एसियाका विभिन्न देशहरुमा नेतृत्व विकाससम्बन्धी तालिममा सहभागी हुने मौका पाइन् । सोही अवधिमा उनले कोरियाका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई नेपालमा लगेर त्यहाँको शिक्षा, सँस्कृति तथा पर्यटन प्रवद्र्धनका लागिसमेत महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

सन् २०२० मा उनले दक्षिण कोरियाको थान्कुक विश्वविद्यालयबाट समाजकल्याणशास्त्रमा स्नातकोत्तर तह अध्ययन पूरा गरिन् । अध्ययनकै दौरान उनले कोरिया सरकारबाट नेपाली तथा अंग्रेजी भाषा अनुवादकका रुपमा आधिकारिक मान्यताप्राप्त गरिन् । अध्ययनसँगै भाषा समस्याले गर्दा अप्ठेरोमा परेका नेपालीहरुलाई निःशुल्क परामर्श सेवा दिइरहिन् । पुडासैनीले थुप्रै नेपाली साहित्यिक कृतिहरु पनि कोरियन भाषामा अनुवाद गरिसकेकी छन् ।

मातृत्व र परदेशी जीवन
विदेशी भूमिमा अध्ययन र रोजगारीलाई निरन्तरता दिँदै सामाजिक सेवाको कार्यमा समेत आफूलाई सक्रिय बनाउनु आफैंमा चुनौतीपूर्ण छ । तर, पुडासैनीले यससँगै मातृत्वलाई पनि उदाहरणीयढंगले निर्वाह गरिरहेकी छन् । अध्ययनकै क्रममा गोरखा स्थायी घर भएका बुद्धिप्रसाद नेपालसँग विवाह गरेकी पुडासैनी सन् २०२२ मा जुम्ल्याहा सन्तानकी आमा बनिन् । कठिन परिस्थितिबीच उनले मातृत्वलाई बाधा होइन, प्रेरणाका रुपमा स्वीकार गरिन् ।

झिसमिसेमै उनी सन्तानको स्याहारसुसारमा लाग्छिन् । विहानको समय अध्ययनमा बित्छ । दिउँसो केही घण्टा रोजगारी गर्छिन् । अध्ययनका लागि कहिलेकाँही रातभर जाग्राम बस्नुपर्ने उनी सुनाउँछिन् । उनका आँखामा केवल सन्तानको उज्यालो भविष्यमात्र होइन, आफूजस्ता संघर्षशील महिलाको प्रतिनिधित्व गर्ने सपना पनि छ । समय निकालेर उनी सामाजिक सेवामा पनि सक्रिय छिन् । परदेशमा रहेका नेपाली समुदायलाई सहयोग, परामर्श र आवश्यक सञ्जाल निर्माणमा उनले महत्वपूर्ण भूमिका खेलेकी छन् । उनका कामले थुप्रै मानिसको जीवन सहज बनाएको छ ।

उनको संघर्ष केवल व्यक्तिगत् लक्ष्यप्राप्तिका लागि होइन, समग्र नेपाली महिलाको सामथ्र्य देखाउने एउटा उदाहरण बनेको छ । मातृत्व, अध्ययन र समाजसेवालाई समायोजन गर्दै उनले देखाएको दृढता, अठोट र सकारात्मक सोच सयौं महिलाका लागि प्रेरणाको स्रोत बनेको छ । कोरियामा रहेका नेपाली कामदार, विद्यार्थी र आप्रवासी महिलाहरुलाई सहायता पु¥याउने उद्धेश्यले उनले कल सेन्टरमार्फत भाषासम्बन्धि परामर्श, काम र अध्ययनको विषयमा सेवा गर्दै आइरहेकी छन् । मकवानपुर–कोरिया मञ्चमार्फत उनले गृह जिल्ला र कोरियामा रहेका नेपालीबीच समन्वयकारी भूमिका पनि निभाइरहेकी छन् ।

आप्रवासी महिला परामर्श केन्द्रको सदस्यसमेत रहेकी उनी विशेषगरि महिला हिंसा, बहुसाँस्कृतिक परिवारमा उत्पन्न हुने समस्या समाधानका लागि निरन्तर काम गर्दै आइरहेकी छन् । उनको अथक् प्रयासको कदर गर्दै दक्षिण कोरियाको स्वास्थ्य तथा समाजकल्याण मन्त्रालयले उनलाई हालै सामाजिक अभियन्ताको मान्यता प्रदान गरेको छ । हाल उनी कोरियाको होस विश्वविद्यालयमा समाजकल्याणशास्त्रमा पीएचडी गर्दैछिन् । अध्ययनपश्चात् नेपाल फर्किएर समाजकल्याणको क्षेत्रमा काम गर्ने उनको बलियो सपना छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register