लुम्बिनीका महिला उद्यमशीलतामा पहिलादेखि कृषकका गह्रा, सधैँ हराभरासम्म

बुटवल । लुम्बिनी सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेशसभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । २०४ बुँदे नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि लगायत क्षेत्रका १३ नारा समावेश छन् । लुम्बिनी सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा लुम्बिनी प्रदेशको समृद्धिको मुख्य […]

May 19, 2025 - 14:33
 0
लुम्बिनीका महिला उद्यमशीलतामा पहिलादेखि कृषकका गह्रा, सधैँ हराभरासम्म

बुटवल । लुम्बिनी सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेशसभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । २०४ बुँदे नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि लगायत क्षेत्रका १३ नारा समावेश छन् ।

लुम्बिनी सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा लुम्बिनी प्रदेशको समृद्धिको मुख्य आधार कृषिलाई मान्ने उल्लेख छ । नीति तथा कार्यक्रममा प्रदेश गौरवका आयोजनाहरूलाई सम्पन्न गर्ने, विपन्न नागरिकका लागि मेडिकल कलेज तथा अस्पतालमा निःशुल्क सेवा उपलब्ध गराउने, सर्पदंश उपचार विस्तार तथा विद्यालय–समुदायमा स्वास्थ्य कार्यक्रम विस्तार गर्ने योजना  समावेश छन् । यस्तै, अधुरा आयोजनालाई सम्पन्न गर्ने, आयोजना बैंकको अवधारणा लागू गर्ने, एक जिल्ला एक नमूना बस्ती निर्माण गर्ने तथा रामपुर–चापाकोट सहर विकास जस्ता योजना पनि नीति तथा कार्यक्रममा उल्लेख छन् ।

कृषिमा उत्पादकत्व वृद्धिः लुम्बिनी प्रदेशको समृद्धि

नीति तथा कार्यक्रममा कृषिमा उत्पादकत्व वृद्धिः लुम्बिनी प्रदेशको समृद्धि आत्मसात् गरी आधारभूत कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै खाद्य सुरक्षा, खाद्य सम्प्रभुता तथा पोषणको सुनिश्चितता गरिने उल्लेख छ ।  कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायीकरण तथा बजारीकरणमार्फत् तुलनात्मक लाभ एवम् प्रतिष्पर्धात्मक क्षमताका बालीवस्तुको उत्पादनमा वृद्धि गर्ने भनिएको छ ।

 मेरो मातृभूमिः मेरो दायित्व

यस अभियान अन्तर्गत  विदेशबाट फर्केका युवाहरुसँग रहेको पूँजी र सीपलाई कृषि व्यवसायमा आकर्षित गर्न बाँझो जमिनको उपयोग गरी उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्ने भनिएको छ ।  यसका लागि सिँचाइ, उन्नत प्रविधि र प्राविधिक सेवा सहित विशेष अनुदानको एकीकृत प्याकेज उपलब्ध गराउने कार्यक्रमको शुरुवात गरिनेछ। करार खेती कार्यक्रमलाई विस्तार गर्ने प्रदेश सरकारको नीति छ ।

घरदैलोमा प्राविधिक सेवा, व्यावसायिक कृषिजन्य उत्पादनमा टेवा

कृषि उत्पादकत्व बढाउन घरदैलोमा प्राविधिक सेवा विस्तार गर्ने नीति सरकारले लिएको छ । व्यावसायिक कृषकको फर्ममै पुगी घुम्ती प्राविधिक परामर्श तथा उपचारको विशेषज्ञ सेवा प्रदान गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।  बालीनाली र पशुपन्छीमा लाग्ने रोगको नमूना परीक्षण र रोग निदान सेवालाई प्रभावकारी बनाउन प्रयोगशाला तथा भेटेरिनरी अस्पतालहरुको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना सरकारले अघि बढाएको छ ।

स्वदेशी उत्पादनको उपयोग, समृद्ध प्रदेश निर्माणमा सहयोग

प्रदेशमा उत्पादन भएका वस्तुहरुको प्रयोग बढाउँदै जाने र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापनामा विशेष छुट एवम् सुविधा उपलब्ध गराइने सरकारको नीति छ । यस्ता उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको आपूर्तिमा प्रदेश सरकारले सहजीकरण गर्नेछ ।

मोबाइल हातमा, यातायातको सेवा साथमा

सरकारले सवारी चालक अनुमतिपत्र नवीकरण, साधन दर्ता लगायतका काम अनलाइनमार्फत गर्ने नीति लिएको छ । सेवाग्राहीहरूले राजस्व, दण्ड जरिवाना तथा सवारी धनी एवम् चालकका लागि दिनुपर्ने सूचना र सवारी साधनको विवरण अनलाइन पद्धतिबाट प्राप्त हुने व्यवस्था गर्ने सरकारको योजना छ ।

कृषकका गह्रा , सधै हराभरा

खेतीयोग्य जमीनमा पानीको अभाव हुन नदिनका लागि सरकारले  प्रदेशका सबै जिल्लामा कम्तीमा एउटा सिँचाइ र कृषिको एकीकृत योजना कार्यान्वयन गर्ने भएको छ ।

स्वच्छ प्रदेश, स्वस्थ प्रदेश

सरकारले  वातावरणीय प्रतिकूल असर न्यूनीकरण गर्न विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहन गरिनेछ। विद्युतीय सवारी साधनको चार्जिङ्ग स्टेशनहरू स्थापना, सञ्चालन र विस्तार गर्ने नीति लिएको छ ।  लुम्बिनीका प्रत्येक घरपरिवार उज्यालो अभियान अन्तर्गत नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा ग्रामीण विद्युतीकरण एवम् सौर्य ऊर्जाका कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । यस्तै,  लोकमार्ग तथा सहरी क्षेत्रमा सौर्य ऊर्जामा आधारित स्मार्ट पोलको प्रयोग र विस्तार कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति छ ।

मेरो विद्यालय मेरो दायित्व

सामुदायिक विद्यालयप्रति सरोकारवालाको अपनत्व बढाउन मेरो विद्यालय मेरो दायित्व अभियानलाई सबै विद्यालयमा विस्तार गर्ने भएको छ।  स्थानीय पाठ्यक्रममा सकारात्मक सोच, योग, ध्यान, मानव मूल्य तथा खुसी अभिवृद्धि गर्ने विषय समावेश गर्न प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पढ्दै, सिक्दै, कमाउँदै

लुम्बिनी प्रदेश सरकारले विद्यार्थीहरूका लागि पढ्दै, सिक्दै, कमाउँदै नीति अघि सारेको छ ।  यस अवधारणा वमोजिम प्राविधिक शिक्षालय र उच्च शिक्षा प्रदायक संस्थालाई उत्पादन इकाइको रूपमा समेत विकास गर्न स्थानीय तह, शिक्षालय तथा उच्च शिक्षा प्रदायक संस्थासँगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने नीति छ ।

शिक्षासँगै सीप पनि

यस अभियानअन्तर्गत युवा विद्यार्थीलाई उद्यमशील बनाउन र रोजगारीका अवसरहरु वृद्धि गर्न प्रत्येक विद्यार्थीले सम्बन्धित शैक्षिक संस्थामार्फत् कम्तिमा एउटा नवप्रवर्तनमा आधारित सीपमूलक तालिम लिने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 लुम्बिनीका महिला उद्यमशीलतामा पहिला

सरकारले स्थानीय तहसँगको सहकार्यमा महिला उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिनेछ उल्लेख छ ।  विकास र शासकीय संरचनाका सबै क्षेत्रमा सारभूत लैङ्गिक समानता कायम गर्न लैङ्गिक उत्तरदायी शासन पद्धतिलाई सुदृढ गर्दै मूलप्रवाहीकरण गर्ने सरकारको योजना छ ।महिला हकहितको संरक्षण, सम्बर्द्धन, विकास र सशक्तीकरणका लागि संस्थागत प्रबन्ध गर्न प्रदेश महिला विकास परिषद गठन गर्ने भएको छ ।

मानसिक स्वास्थ्यमा सुधारः स्वस्थ नागरिक लुम्बिनीको आधार

लुम्बिनी प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई पनि प्राथामिकतामा राखेको छ । मानसिक स्वास्थ्यको समस्या तथा आत्महत्याको रोकथाम र उपचारको लागि स्वास्थ्य संस्था र समुदायस्तरमा योग, ध्यान तथा मनोसामाजिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।  लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना (२०८१-२०८६) कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै, विद्यालय नर्स तथा रोभिङ नर्स कार्यक्रमलाई क्रमशः सबै स्थानीय तहसम्म विस्तार गर्ने सरकारको योजना छ ।

मोबाइल एपको प्रभावकारी प्रयोग, स्वास्थ्य सेवाको उच्चतम उपयोग

लुम्बिनी प्रदेशको प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको महिला तथा बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थाको निरन्तर निगरानीका लागि सामुदायिक स्वास्थ्य सूचना प्रणाली सरकारले विस्तार गर्ने भएको छ । जनअन्तर्गत परिवारको स्वास्थ्य विवरण त्यसमा प्रवृष्ट गरिने योजना सरकारको छ ।

विपद् उत्थानशील हाम्रा गाउँ, सुरक्षित बनाउँछौं आफ्नो ठाउँ

लुम्बिनी प्रदेश सरकारले जलवायु परिवर्तनका संकट समाधानमा पनि ध्यान दिने भएको छ । जलवायु परिवर्तनका प्रतिकूल असरहरुलाई न्यूनीकरण गर्दै विपद् उत्थानशील विकास व्यवस्थापनको अवधारणालाई कार्यान्वयन गर्ने सरकारको नीति छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register