रुखले एकसाथ जोगायो १४ जनाको ज्यान
हेटौंडा। राजपथनजिक रोपिएको सल्लाको रुखले मंगलबार एकसाथ १४ जनाको ज्यान जोगाएको छ । रुखमा गाडी अड्किँदा मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा १४ जनाको ज्यान जोगिएको हो । मंगलबार दिउँसो करिब १ बजे भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैंसठ्ठी मोडमा विंगर गाडी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले […]


हेटौंडा।
राजपथनजिक रोपिएको सल्लाको रुखले मंगलबार एकसाथ १४ जनाको ज्यान जोगाएको छ । रुखमा गाडी अड्किँदा मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा १४ जनाको ज्यान जोगिएको हो ।
मंगलबार दिउँसो करिब १ बजे भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैंसठ्ठी मोडमा विंगर गाडी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुरको चित्लाङबाट सर्लाहीको लालबन्दीका लागि आउँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बर विंगर गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार भीरमा पुगेको गाडी सल्लाको रुखमा अड्किएर यात्रीहरुको ज्यान जोगिएको थियो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी भैंसे तथा सीमभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले तुरुन्त उद्धार कार्य थालेर सबै घाइतेलाई हेटौंडा ल्याएको छ ।
दुर्घटनामा एकै गाउँका ८ महिला र ६ पुरुष घाइते भएका छन् । गम्भीर घाइते हुनेमा लालबन्दी नगरपालिका–१६ का करिब ५१ वर्षीय राजाराम बस्नेत र ३० वर्षीया शान्ता विश्वकर्मा तथा लालबन्दी–१, नवलपुरका वर्ष ५६ का कमल थापा छन् । टाउको, छाति, घाँटी र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर बनेका उनीहरुलाई उपचारार्थ मकवानपुर सहकारी अस्पताल ल्याइएको छ ।
मध्यम घाइतेहरुमा लालबन्दी–१५, परवानीपुर बस्ने वर्ष २८ की अम्बरी लोलामा, लालबन्दी–१६, भोलोना बस्ने वर्ष ३६ की रीतिक राई र सोही ठाउँ बस्ने वर्ष ४५ का पदमबहादुर श्रेष्ठ छन् । उनीहरुको पनि सहकारी अस्पतालमा उपचार जारी छ । गाडीचालकसहित घाइते ८ जनालाई उपचारार्थ हेटौंडा अस्पताल ल्याइएको छ ।
गाडीचालक लालबन्दी–४ बस्ने वर्ष ४० का सरोजकुमार चौधरी, लालबन्दी–१५ बस्ने वर्ष २७ कि निर्मला विश्वकर्मा, वर्ष २२ की सीमा घलान र निलिमा खड्का, लालबन्दी–५ बस्ने वर्ष ५० का समीर सुबेदी, लालबन्दी–१६ बस्ने वर्ष २७ की कल्पना विश्वकर्मा, वर्ष २५ की सुष्मा विश्वकर्मा र वर्ष ३२ की पवित्रा घिसिङको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उद्वार कार्यमा इलाका प्रहरी कार्यालय पालुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षकको कमान्डमा २५ जना प्रहरी परिचालन भएको जनाइएको छ । गाडीको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ । गाडीमा चालकसहित १४ जना सवार थिए । दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
What's Your Reaction?






