एमाले धनुषा जिल्ला नेतृत्वका लागि आज मतदान, सुरक्षा व्यवस्था कडा

जनकपुरधाम । नेकपा एमाले धनुषा जिल्ला नेतृत्वका लागि आज मतदान हुँदैछ । महेन्द्रनारायण निधि मिथिला भवनमा मतदान हुने एमालेका नेताहरूले जानकारी दिएका छन् । गत हप्ता मतदान सुरु हुनुअगावै दुई पक्षबीच कुटाकुट भएपछि मतदान स्थगित गरिएको थियो । धनुषा जिल्ला अध्यक्ष पदका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ […]

May 21, 2025 - 03:35
 0
एमाले धनुषा जिल्ला नेतृत्वका लागि आज मतदान, सुरक्षा व्यवस्था कडा

जनकपुरधाम । नेकपा एमाले धनुषा जिल्ला नेतृत्वका लागि आज मतदान हुँदैछ । महेन्द्रनारायण निधि मिथिला भवनमा मतदान हुने एमालेका नेताहरूले जानकारी दिएका छन् । गत हप्ता मतदान सुरु हुनुअगावै दुई पक्षबीच कुटाकुट भएपछि मतदान स्थगित गरिएको थियो ।

धनुषा जिल्ला अध्यक्ष पदका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ समूहबाट भोला यादव र एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगडियाको समूहबाट लक्ष्मीनारायण यादव अध्यक्ष पदका उम्मेदवार हुन् । यसअघि, मतदान हुनुअघि मध्यरातमा उम्मेदवारको नाममा हेरफेर गरिएको आरोप लगाउँदै दुई पक्षबीच झडप भएको थियो । धनुषाको एमाले निर्वाचनलाई केन्द्रीय नेताहरूले आफ्नो प्रतिष्ठासँग जोडेका छन् ।

निर्वाचन समितिले धनुषामा ६२८ जना मतदाता रहेको जनाएको छ । मतदाताहरूका लागि नयाँ परिचय पत्र जारी गरिएको छ । अध्यक्ष राजकिशोर यादवले हस्ताक्षर गरेको मतदाता परिचय पत्र खारेज गरिएको छ । मतदाता परिचय पत्र स्वयंले बुझ्नुपर्ने र त्यसका लागि नागरिकता प्रमाणपत्र, लाइसेन्स अथवा मतदाता परिचय पत्र अनिवार्य रूपमा देखाउनुपर्ने प्रावधान राखिएको छ । मंगलबार राति करिब साढे ७ बजेबाट परिचय पत्र वितरण सुरु गरिएको थियो भने बुधबार बिहान ८ बजेसम्म मतदाताहरूले लिन पाउने व्यवस्था मिलाइएको छ । तर, त्यसका लागि सम्बन्धित मतदाता स्वयं नै उपस्थित हुनुपर्ने प्रावधान राखिएको छ ।

यसअघि रहेको निर्वाचन समितिका ३ जना केन्द्रीय प्रतिनिधिलाई कायम राखी ४ जना केन्द्रीय प्रतिनिधि थप गरी ७ सदस्यीय निर्वाचन समिति बनाइएको छ । सो समितिमा धनुषाका कसैलाई पनि राखिएको छैन । नेताहरूका अनुसार दुवै समूहका प्रायः सबै मतदाताहरूलाई जनकपुरधामका होटलहरूमा राखिएको छ । मतदाताहरूलाई प्रभावित हुन नदिन नेताहरूले कडा निगरानी गरिरहेका छन् । महासेठ समूहबाट अन्तरघात हुने सम्भावना बढेपछि मतदाताहरूलाई अत्यन्त कडा सुरक्षामा राखिएको एक नेताले बताए । मतदाताहरूसँग सबैले भेट्न नपाउने गरी व्यवस्थापन गरिएको छ ।

नेकपा एमालेको धनुषा निर्वाचनलाई केन्द्रीय नेताहरूले समेत प्रतिष्ठाको विषय बनाएकाले चुनावमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । महासेठ पक्षधर भोला यादव निवर्तमान उपाध्यक्ष हुन् भने लक्ष्मीनारायण यादव मधेश प्रदेशको लेखा समिति संयोजक हुन् । एमालेमा दुवै जना पुराना नेता हुन् ।

लक्ष्मीनारायण यादवप्रति सहानुभूति बढिरहे पनि महासेठ समूहले मतदाताहरूलाई कडाई गरेकाले स्थिति बिथोलिएको जस्तो हाल नरहेको बताइन्छ । मतदान बिथोलिएको दिन आधा दर्जनभन्दा बढी नेताहरू घाइते भएका थिए । दुई जनाको टाउको फुटेको थियो भने कयौंलाई चोटपटक लागेको थियो । त्यो स्थिति दोहोरिन नदिन केन्द्रीय नेताहरूले धनुषाका दुवै पक्षलाई सचेत गराएका छन् ।

भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदान स्थलमा मतदाता बाहेक कसैलाई पनि प्रवेश नदिने बताइएको छ । दुवै समूहको तयारी सशक्त रहेकोले कुनै बेला झडप हुन सक्ने आशंका गरिएको छ । नेताहरू स्वयम्ले पनि अप्रिय स्थिति सिर्जना हुन सक्ने सम्भावना टरिनसकेको बताउँछन् ।

धनुषाको चुनावमा मतदाताहरूलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार फोन गरेपछि केही मतदाताहरू परिवर्तन भएका छन् । परिवर्तनको मुड बनाएका केही नेता र मतदाताहरू स्थिर भएको बताइन्छ । दुवै पक्षले सबै प्रकारको तयारी गरेकाले अप्रिय स्थिति सिर्जना हुने सम्भावनासमेत बलियो रहेको छ । मतदातालाई महासेठ समूहले पूर्ण रूपमा नियन्त्रणमा लिइसकेको बताइएको छ, तर अरगडिया पक्षले भने आफ्नो जीत सुनिश्चित भएको विश्वास व्यक्त गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register