भारतमा कोभिड–१९ सङ्क्रमण फैलिँदै, नेपालमा उच्च सतर्कता आवश्यक

काठमाडौं।  छिमेकी राष्ट्र भारतमा कोभिड–१९ को नयाँ सङ्क्रमण पुनः तीव्र गतिमा फैलिन थालेसँगै नेपालमा पनि यसको जोखिम बढ्न थालेको देखिएको छ । यस अवस्थामा नेपाल सरकारले सतर्कता बढाउँदै आवश्यक तयारी थालिसकेको जनाएको छ।   इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाइसकेको जनाएको छ । महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका […]

May 26, 2025 - 17:30
 0
भारतमा कोभिड–१९ सङ्क्रमण फैलिँदै, नेपालमा उच्च सतर्कता आवश्यक

काठमाडौं। 

छिमेकी राष्ट्र भारतमा कोभिड–१९ को नयाँ सङ्क्रमण पुनः तीव्र गतिमा फैलिन थालेसँगै नेपालमा पनि यसको जोखिम बढ्न थालेको देखिएको छ । यस अवस्थामा नेपाल सरकारले सतर्कता बढाउँदै आवश्यक तयारी थालिसकेको जनाएको छ।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाइसकेको जनाएको छ । महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको नेतृत्वमा सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै उच्चस्तरीय बैठक सम्पन्न भइसकेको जनाएको छ ।

उक्त बैठकपछि निगरानी प्रणालीलाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको छ। “हालसम्म नेपालमा कोभिड–१९ को नयाँ केस देखिएको छैन, तर हामीले सतर्कता भने अपनाएका छौं,“ डा. झा भन्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई थप सक्रिय बनाउने कार्य अघि बढाइएको छ ।

महाशाखाले हालको अवस्थामा कोभिड परीक्षणका किटहरु पर्याप्त मात्रामा स्टकमा रहेको जानकारी दिएको छ । आवश्यकता अनुसार मात्र परीक्षण किटहरु वितरण गरिने र सबै नाकामा तत्कालै वितरण गर्नु आवश्यक नरहेको डा. झाले बताए । उनले जनस्वास्थ्यको दृष्टिकोणले जनचेतना अभिवृद्धिमा पनि जोड दिइएको बताए ।

कोभिड रोकथामका लागि आवश्यक औषधिजन्य सामग्रीहरूको सूची तयार पारिएको र खरिद प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । विश्व स्वास्थ्य संगठनले एक महिनाभित्र आवश्यक सबै तयारी पुरा गर्ने प्रतिबद्धता जनाएको महाशाखाले जनाएको छ ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हाल नेपालमा अत्याधिक डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । “भारतमा सङ्क्रमण फैलिँदैमा हामी हतारिएर आत्तिनुपर्ने अवस्था छैन,” उनले भने, “तर सजगता आवश्यक छ ।”

उनका अनुसार कोभिड–१९ सङ्क्रमण सर्ने खालको भाइरस भए पनि हालसम्म धेरै नै घातक देखिएको छैन । तर ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूमा यसको असर गम्भीर हुन सक्ने सम्भावना हुन्छ । त्यसैले रोकथामका उपायहरू अपनाउनु आवश्यक रहेको डा. पुनको भनाइ छ ।

डा.पुनका अनुसार नागरिकले अपनाउनु पर्ने सावधानीहरु यस प्रकार रहेका छन्। 

भीडभाडयुक्त स्थानमा जानबाट सकेसम्म टाढा रहनुपर्छ ।

मास्कको प्रयोग अनिवार्य गर्ने । 

साबुनपानी वा स्यानिटाइजरले नियमित रूपमा हात धुने ।

रुघा, खोकी, ज्वरो देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिने ।

भारत लगायत अन्य मुलुकमा कोभिड–१९ को नयाँ लहर देखा पर्न थालेको अवस्थामा नेपाल सरकारले सतर्कता अपनाउँदै प्रभावकारी निगरानी प्रणाली तयार गरिरहेको छ । सङ्क्रमण हाल नेपालमा फैलिएको नभए पनि तयारी र सजगता अनिवार्य हुनुपर्छ । जनस्तरमा सचेतना फैलाउने र आवश्यक तयारीलाई अझ बलियो बनाउनेतर्फ सरकारले प्राथमिकता दिनुपर्छ । यदि जनस्वास्थ्यलाई ध्यानमा राखी व्यापक जनचेतना अभिवृद्धि गर्न सकियो भने सम्भावित सङ्क्रमणबाट सुरक्षित रहन सकिन्छ भन्नेमा विज्ञहरू विश्वास रहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register