क्यानाडामा जातीय विभेद मुक्त विश्व सम्मेलन सुरु

टोरन्टो– क्यानडामा दर्ता भएको गैर सरकारी संस्था सहयात्रा–क्यानाडा तथा दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूद्वारा संयुक्तरुपमा आयोजित पहिलो ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’ सुरु भएको छ । टोरन्टो ब्राम्प्टनस्थित क्यानाडा कन्भेन्सन सेन्टरमा आइतबार अपरान्ह आयोजित सम्मेलनको क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल, नेपालको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा तथा […]

May 27, 2025 - 09:45
 0
क्यानाडामा जातीय विभेद मुक्त विश्व सम्मेलन सुरु

टोरन्टो– क्यानडामा दर्ता भएको गैर सरकारी संस्था सहयात्रा–क्यानाडा तथा दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूद्वारा संयुक्तरुपमा आयोजित पहिलो ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’ सुरु भएको छ ।

टोरन्टो ब्राम्प्टनस्थित क्यानाडा कन्भेन्सन सेन्टरमा आइतबार अपरान्ह आयोजित सम्मेलनको क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल, नेपालको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा तथा अल्पसंख्यक मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघका पूर्व प्रतिवेदक फर्ना डे वारेंले पानसमा बत्ती बाली समुद्घाटन गरे ।

आनी छोइंग ड्रोल्माले शान्ति प्रार्थना गरिन् भने गृष्मा सुनार, सोनिया परियार, सोफिया बराइली तथा सदीक्षा बराइलीले क्यानाडाको राष्ट्रिय गान गाएका थिए । आरजु विश्वकर्माले सबै सहभागीलाई स्वागत गरिन्।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले दलितको हक अधिकार प्रवद्र्धन गर्न काम गरिरहेको बताए । उनले नेपालको संविधान २०७२ ले दलित समुदायको हितका लागि थुप्रै प्रावधानहरु राखेको भएता पनि कतिपय कार्यान्वयन हुन नसकेको जनाए । उनले जातीय विभेदका कारण सम्बन्धित समुदायले विभेद भोग्नु परेको मात्रै नभई देशको सामाजिक तथा आर्थिक उन्नतिमा पनि ठूलो अवरोध उत्पन्न उत्पन्न भै रहेकाले जातीय विभेद मुक्त समाज निर्माणका लागि सबैले सहकार्य गर्नुपर्ने जनाए।

सम्मेलनलाई सम्बोधन गर्दै क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले नेपालले जातीय भेदभाव अन्त्य गर्ने दिशामा उल्लेख्य प्रगति गरेको बताए । उनले राजनीतिक प्रक्रियामा दलित समुदायको सहभागिता बढाउन विभिन्न प्रावधानहरु राखिएको र राज्यले सबै खाले भेदभाव अन्त्य गर्न प्रतिबद्धता जनाएको बताए ।

अल्पसंख्यक मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघका पूर्व प्रतिवेदक फर्ना डे वारेंले मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रले सबै मानिसहरु जन्मिँदा स्वतन्त्र र समान भएको जनाएपनि व्यवहारमा भने त्यस्तो नरहेको बताए।

उनले दलितहरु विरुद्ध हिंसा र भेदभाव कायमै रहेको भन्दै दलितहरुको अधिकार सुनिश्चित नहुँदासम्म मानव अधिकार सुनिश्चित हुन नसक्ने बताए । उनले बहुपक्षीय तथा राष्ट्रिय कानूनी संरचनाको कार्यान्वयन गरेर मात्रै जातीय निर्माण गर्न सकिने बताए ।

बुद्धिष्ट सोसाइटी अफ इन्डियाका अध्यक्ष डा राजारत्न अशोक अम्बेडकरले जाति व्यवस्थाले लाखौं मानिसलाई जन्मको आधारमा अमानवीय व्यवहार भोग्न वाध्य बनाएको भन्दै जातीय भेदभाव अन्त्य गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक रहेको जनाए।

भारतीय संविधानका मस्यौदाकार डा भिमराव रामजी अम्बेडकरले जातीय आधारमा हुने सबै खाले भेदभाव मुक्त समाजको परिकल्पना गरिएपनि अहिले पनि भारतमा २० करोड भन्दा बढी दलित समुदायले संरचनागत बहिष्करण भोग्नु परिरहेको जनाए ।

डा अम्बेडकरले कानूनी सुधार मात्रै नभएर सामाजिक क्रान्तिका लागि आह्वान गरेको स्मरण गर्दै जातीय विभेद मुक्त विश्वका लागि वकालत, शिक्षा, आर्थिक सशक्तिकरण तथा डिजिटल सक्रियताको माध्यमबाट सहकार्य गर्न आह्वान गरे ।

कार्यक्रममा ब्रिटिश कोलम्बिया विश्वविद्यालयका डा करुण कार्की, सोही विश्वविद्यालयकी डा एन मर्फी, अमेरिकास्थित वेक फरेस्ट्स विश्वविद्यालयका डा स्टिभ फोल्मर, दलित अभियन्ता पल दिवाकर नमला, डा बिष्णुमाया परियार, फेमिनिष्ट दलित अर्गनिजेशन नेपालकी अध्यक्ष दुर्गा शोब, समता फाउन्डेशन नेपालका अध्यक्ष डा मदन परियार लगायतले प्रस्तुति दिएका थिए।

त्यस्तै चेतना एसोसिएशन अफ क्यानडाका जय बिर्दी, इन्टरन्याशनल दलित डेभलपमेन्ट फोरम नेपालका ओम प्रकाश बिके गहतराज, अल इन्डिया फेडरेशन अफ एससी-एसटी अर्गनिजेशन्सका महासचिव किरण पाल चौधरी, नेटिभ आर्टस एण्ड हेरिटेज एकेडेमी काठमाडौँका डा मान विश्वकर्मा, दलित एनजीओ फेडरेशन अफ नेपालका पूर्व अध्यक्ष गजाधर सुनार, नेपाल अमेरिका सोसल अर्गनाइजेशनका अध्यक्ष रविलाल सुनार, पूर्व अध्यक्ष धरम विश्वकर्मा, ग्लोवल फोरम फर एलिमिनेशन अफ कास्ट डिसक्रिमिनेशनका अध्यक्ष पदम विश्वकर्मा लगायतले शुभकामना दिएका थिए। उद्घाटन समारोहमा कलाकारहरु स्मृति शाही र मान सिंह खड्काले पनि प्रस्तुति गरेका थिए।

यसैगरी क्यानाडामा उल्लेखनीय सामाजिक सेवा गर्ने रियल्टर मदन केसी, अधिवक्ता अतुल सुवेदी तथा समाजसेवी अनिता रसाइलीलाई विशेष सम्मान गरिएको थियो ।

तीन दिने उक्त विश्व सम्मेलन टोरन्टो घोषणा पत्र जारी गर्दै मंगलबार सम्पन्न हुने आयोजकले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register