रास्वपाले गृहमन्त्रीको राजीनामा खोज्यो, कांग्रेसले रविको नैतिकता सोध्यो

काठमाडौं । संसद्‌मा आइतबार नैतिककता र राजीनामाको खाेजी भयो । राजीनामा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खोज्यो, नैतिकता सत्तारुढ दल कांग्रेसले खोज्यो । तर, होहल्ला र वेल घेराउ हुँदा पनि प्रतिनिधिसभाको बैठक भने अगाडि बढ्यो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति बन्नुपर्ने भन्दै  रास्वपाले आइतबार प्रतिनिधिसभाको बैठकमा वेल […]

Jun 15, 2025 - 09:44
 0
रास्वपाले गृहमन्त्रीको राजीनामा खोज्यो, कांग्रेसले रविको नैतिकता सोध्यो

काठमाडौं । संसद्‌मा आइतबार नैतिककता र राजीनामाको खाेजी भयो । राजीनामा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खोज्यो, नैतिकता सत्तारुढ दल कांग्रेसले खोज्यो । तर, होहल्ला र वेल घेराउ हुँदा पनि प्रतिनिधिसभाको बैठक भने अगाडि बढ्यो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति बन्नुपर्ने भन्दै  रास्वपाले आइतबार प्रतिनिधिसभाको बैठकमा वेल घेराउ गरेको हो।

आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको बैठकमा रास्वपाले सुरुदेखि नै आसनबाट उठेर विरोध जनाए पनि सभामुख देवराज घिमिरेले आकस्मिक समय दिएर कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न दिए ।

यसरी विरोधका बीच घिमिरेलाई बोल्न दिएपछि रास्वपा सांसदहरूले वेल घेराउ मात्र गरेनन्, गृहमन्त्रीको राजीमा माग्दै नारावाजी पनि गरे । उनीहरूको नारावाजीकै बीचमा आकस्मिक समयमा बोल्न पाएका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे भने रास्वपामाथि खनिए ।

रास्वपाले नैतिकताका आधारमा गृहमन्त्री लेखकको राजीनामा मागेको उल्लेख गर्दै रास्वपाको नैतिककतामाथि उल्टै प्रश्न गरे । उनले भने, ‘एउटा सहसचिवमाथि अख्तियारले छानबिन प्रारम्भ गरेको विषयलाई आधार मानी नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै संसद् अवरोध र होहल्ला गर्दै आउनु भएको छ । नैतिकताका आधारमा राजीनामा माग्ने साथीहरूले पाँचपाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापति पदमा विराजमान गराइराख्न कुन नैतिकताले दियो ।’ उनी यतिमै राकिएनन् । अहिले पनि निर्वाचन आयोगको अभिलेखमा रास्वपाको सभापतिमा रवि लामिछाने रहेको उल्लेख गर्दै त्यस्तो पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ कि मिल्दैन भनी प्रश्न गरे ।

उनले भने, ‘अरुबाट नैतिकता खोज्ने साथीहरूले सबैभन्दा पहिला आफैँबाट नैतिकता देखाउन आग्रह गर्दछु ।’ उनले रास्वपाले संसदीय दलको नेता परिवर्तनसमेत नगरेको र सांसदबाट निलम्बित लामिछानेलाई आफ्नो संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरुलाई नैतिकताको पाठ सिकाउन कति जायज हो भनी प्रश्न गरे । घिमिरेले यसरी आफ्नो पार्टी सभापति लामिछानेको विषय कोट्याउँदा वेलमा रास्वपाका सांसदहरूले भने गृहमन्त्री लेखकको राजीनामा मागी नारावाजी गरिरहेका थिए ।

रास्वपालाई प्रश्न गर्ने मौका कांग्रेस सांसद नगिना यादवले पनि पाइन् । सभामुख घिमिरेले पनि उनलाई आकस्मिक समयमा बोल्न लागि समय दिएका थिए । उनले संसद् अवरोध हुँदा आफूहरूले जनताको विषयमा कुरा राख्न नपाएको उल्लेख गरिन् । उनले रास्वपा सभापति लामिछाने सहकारी प्रकरणमा मात्र नभई राहदानीमा पनि मुछिएको भन्दै सो पार्टीका सांसदहरूले अरुलाई प्रश्न गरेको बताइन् । आफू कस्तो पार्टीको सांसद हो भनी नखोज्ने तर अरुलाई भने नैतिकता सिकाएको भन्दै उनले प्रश्न गरिन् ।

रास्वपा, कांग्रेस, गृहमन्त्री लेखक र रास्वपा सभापति लामिछानेबीच एक संयोग छ । लामिछाने गृहमन्त्री हुँदा कांग्रेसले सहकारी प्रकरण उचालेर उनको राजीनामा मात्र मागेको थिएन, संसदीय छानबिन समिति बनाउन पनि बाध्य पारेको थियो । त्यसबेला कांग्रेस सांसदहरूको अगुवाइ तत्कालीन प्रमुख सचेतक रमेश लेखकले गरेका थिए । अहिले उनै लेखक गृहमन्त्री छन् । उनीमाथि भिजिट भिसा प्रकरण्मा प्रश्न उठेका छन् । र, रास्वपाले उनको राजीनामा मागिरहेको छ । तर, कांग्रेसले भने ‘नैतिकता नभएको पार्टीले नैतिकताका आधारमा राजीनामा दिनु नपर्ने’ भन्ने तर्क गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register