भागेर विश्वविद्यालय चल्छ ?

–वार्ताबाट समस्या समाधान गर्न पूर्वउपकुलपतिको जोड–फास्ट ट्रयाकको परिभाषा प्रस्ट भएन, हचुवामा नियुक्ति गर्न खोजेको आरोप काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा खड्ग केसीलाई दम्भ छ– ताला लगाउने विद्यार्थी र प्राध्यापकलाई पेलेरै तह लगाउँछु । प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिएपछि विद्यार्थीमाथि कारबाही हुन्छ अनि डराएर ताला खोल्छन् ।स्वायत्त निकाय त्रिभुवन विश्वविद्यालयको काम कर्तव्य र अधिकार […]

Jun 18, 2025 - 02:55
 0
भागेर विश्वविद्यालय चल्छ ?

–वार्ताबाट समस्या समाधान गर्न पूर्वउपकुलपतिको जोड
–फास्ट ट्रयाकको परिभाषा प्रस्ट भएन, हचुवामा नियुक्ति गर्न खोजेको आरोप


काठमाडौं ।


त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा खड्ग केसीलाई दम्भ छ– ताला लगाउने विद्यार्थी र प्राध्यापकलाई पेलेरै तह लगाउँछु । प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिएपछि विद्यार्थीमाथि कारबाही हुन्छ अनि डराएर ताला खोल्छन् ।स्वायत्त निकाय त्रिभुवन विश्वविद्यालयको काम कर्तव्य र अधिकार बिर्सेर कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली गुहारेर विश्वविद्यालय सञ्चालन गर्न सजिलो पर्छ भन्ने सोचाइमा देखेका उपकुलपति केसीले तीनमहिने उपकुलपतिको कुर्सी सम्हाल्दा खासै काम गर्न सक्नुभएको छैन ।

त्यतिमात्र होइन विद्यार्थीसँग वार्ता गर्ने उहाँको चाहना छैन । आफ्नो मातहत कार्यालयका ३ सय जना कर्मचारी कामविहीन हुँदा समस्या समाधान गर्ने उपाय सोच्नुभएकै छैन । आंशिक प्राध्यापक, प्राध्यापक संघ, संगठनलगायत निकायसँग कुराकानी गरी समस्या समाधान गर्ने उहाँले सोच्नुभएको छैन ।

केवल सोच्नुभएको छ– कुलपतिले आदेश दिनुभएको छ सोही अनुसार चलाउँछु । हुन त तीन महिनापछि फेरि उपकुलपतिको दौडमा रहनुभएका केसीले बारम्बार कुलपतिसँग भेटिरहनुभएको छ । रेक्टर नियुक्ति हुँदा आफू कुनै पार्टी निकट नभएको र काम गर्नकै लागि नियुक्ति भएको बताउने उहाँ पछिल्लो समय उपकुलपतिको लिगलिगे दौडमा हुनुहुन्छ ।

वैशाख २ गतेबाट ३ महिने उपकुलपतिको बागडोर सम्हाल्नुभएका प्राडा केसी जेठ १४ गतेबाट विश्वविद्यालय टेक्नुभएको छैन । त्रिविका तीनैजना पदाधिकारी र त्रिवि सेवा आयोग र १० वटा निकायमा काम ठप्प हुँदा उहाँलाई मतलब छैन । उहाँको एउटै धारणा छ वार्ता गर्दिनँ, पेलेरै समस्या समाधान गर्नेछु । उपकुलपतिसहित तीन पदाधिकारीको कहिलेकाहीँबाहेक खासै भेट हुँदैन । पछिल्लो समय तालाबन्दी भएपछि एकै ठाउँमा देखिन थालेका छन् ।

उपकुलपतिले वार्ता गर्दिनँ भन्ने आशय व्यक्त गरेपछि त्यसलाई काट्न दुई पदाधिकारी असफल भएका छन् । अधिकांश कर्मचारी र शिक्षकका चाहना लामो समयदेखि तालबन्दी विश्वविद्यालय वार्ताबाट समस्या समाधान गरिनुपर्छ । विद्यार्थीले पछि समस्याबाट भाग्ने भन्दा पनि वार्ताबाट समस्या समाधान गर्नुपर्ने बताइरहेका छन् ।

तर उपकुलपति केसी वार्ता गरेर समस्या समाधान गर्नुभन्दा पछि बाहिरै बसेर काम गर्न रुचाएजस्तो देखिन्छ । यस विषयमा कुरा गर्न उपकुलपति केसीसँग सम्पर्क गर्दा म्यासेजमा पछि कल गर्छु भन्नुभयो तर कल गर्नुभएन । स्रोतका अनुसार उहाँ सोमबार दिनभरजसो सिंहदरबार हुनुहन्थ्यो । अरू बेला कहिले पुल्चोक त कहिले जनप्रशासन र बल्खुमा बसेर कार्यालय चलाइरहनुभएको छ । उहाँमात्र होइन प्रायः तीनैजना पदाधिकारीहरू एकै स्थानमा बस्ने गरेका छन् ।

यसरी आफ्नो कार्यालयको ताला खोल्ने विषयमा वार्ता नगरी कति दिन मुख्य कार्यालयबाट भागेर त्रिवि चलाउन सकिन्छ ? यस विषयमा त्रिविका पूर्व उपकुलपति प्राडा तीर्थ खनियाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अहिले त त्रिविको स्यायत्तताको बेहाल भएको छ । विद्यार्थीलाई सिकाउन पदाधिकारीले स्वायत्तताको परिभाषा नबुझी समस्या समाधान गरिदिन प्रधानमन्त्री एवं कुलपतिकहाँ कुदिरहनुभएको छ ।’

आफ्नै विद्यार्थी हुन्, आफ्नै क्याम्पसका आंशिक प्राध्यापक हुन् वार्ता गरेर समस्या समाधान गर्न सकिँदैन ? सधंै भागेर विभिन्न कार्यालय चहार्दै त्रिवि चलाउन सकिँदैन । तीनैजना पदाधिकारीले तत्काल तालाबन्दी हटाएर वार्ता गरी समस्या समाधान गर्नेतर्फ लाग्नुपर्छ । पूर्वउपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको भनाइ पनि त्यस्तै छ– ‘ताला खोलेर वार्ताबाट समस्या समाधान गर्नुपर्छ । सधैं विभिन्न कार्यालयमा बसेर त्रिवि चलाउन सकिँदैन ।’ उहाँले भन्नुभयो– ‘ठूलो विश्वविद्यालयमा समस्या आउनु स्वाभाविक हो तर समाधान गर्ने उपाय खोज्नुपर्छ । सबैभन्दा ठूलो विषय वार्ता हो वार्ताबाटै समस्या समाधान गर्नु उपयुक्त हुन्छ । त्यसबाट पछि हट्नु हुँदैन ।’

एकउच्च कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘हामी त त्रिविको विषयमा अन्धोजस्तो भएका छौं । उपकुलपतिले के गर्नुभयो थाहै हुँदैन । कर्मचारीको सहयोगबिना नै उहाँले एकोहोरो काम गरिरहनुभएको छ । सायय २० गते त्रिवि दिवसको दिन बजेट पारित गर्न सिनेट बस्नेछ । कुलपति एवं प्रधानमन्त्रीको विदेश भ्रमणको कारण यो वर्ष २२ गते सिनेट बस्नेछ ।
सिनेट बस्नुअघि बजेट तयार गर्नुपर्छ । तर, हालसम्म कसरी बजेट तयार गर्ने कसैलाई जानकारी छैन । स्रोतका अनुसार तालाबन्दी नखुले सुरक्षाकर्मीको घेराभित्र बजेट अधिवेशन गर्ने तयारी उपकुलपतिको छ । तर, त्यसरी बजेट पास गर्न नहुने अधिकांश कर्मचारीको धारणा छ । ‘उपकुलपतिज्यू पेलेरै त्रिवि चलाउने सोचमा देखिनुभएको छ । कर्मचारी, शिक्षक र विद्यार्थीसँगको सहकार्यबिना त्रिवि चल्नै सक्दैन । वार्ता नै समस्या समाधान गर्ने उचित विकल्प भएको हो’ –पूर्व उपकुलपतिद्वय खनियाँ र बाँस्कोटाको धारणा छ ।

उपकुलपतिको कारण ११ केन्द्रीय निकायका र त्रिवि सेवा आयोगका करिब ३ सय कर्मचारी कामविहीन भएका छन् । ती कर्मचारीले त्रिविका पदाधिकारीलाई तत्काल समस्या समाधान गर्न वार्ता टोली बनाउन दबाब दिएका छन् ।
पाँच दिनअघि फास्ट ट्रयाकबाट प्राध्यापक नियुक्ति गर्न लागेको विरोधमा आंशिक प्राध्यापकले उपकुलपति, रेक्टर कार्यालयको तालाबन्दी गरेका थिए । संघले शुक्रवार ५ सूत्रीय माग राखेर तालाबन्दी गरेको थियो । संघले तीनैजना पदाधिकारी र सेवा आयोगको कार्यालयको मूल गेटमा मागपत्र टाँसेर तालाबन्दी गरेका थिए ।

‘प्राध्यापक नियुक्ति गर्नुअघि परीक्षा लिनैपर्छ फास्ट ट्रयाक भनेको नेपालमा पढाइ हुने विषयको शिक्षकको अभाव भएपछि विदेशमा अध्यययन र अध्यापन गरिररहेका पीएचडी होल्डर प्राध्यापकलाई नेपालमा नियुक्ति दिने हो । अहिले त मनोमानी गर्न र राम्रा भन्दा पनि हाम्रालाई रोजगारी दिन उपकुलपतिले फास्ट ट्रयाकको विषय उठाइरहनुभएको छ’ –पूर्व उपकुलपतिद्वय खनियाँ र बाँस्कोटाको आरोप छ । यसैबीच फास्ट ट्रयाकबाट प्राध्यापक नियुक्ति गर्न लागेको विरोधमा अनेरास्ववियु क्रान्तिकारी त्रिवि जिल्ला समिति कीर्तिपुरले पनि ताला लगाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register