चुनौतीका चाङले थिचिएको क्लब विश्वकप : रित्तो रंगशाला, असन्तुलित टिम र थाकेका खेलाडी

काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकपको सुरुवाती खेलमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी मैदानमा उत्रिँदा हजारौं समर्थक मियामीको हार्ड रक रंगशाला पुगे । उनले खेलमा गोल गर्न नसके पनि उपस्थित दर्शकहरूका लागि यो एक ऐतिहासिक क्षण रह्यो । मेसीका अलावा डेभिड बेक्ह्याम, रोनाल्डो, काका, बेबेटो, रोबर्टो बाजियो र जेभियर जानेट्टीजस्ता फुटबल दिग्गजहरू भीआईपी सिटमा थिए […]

Jun 19, 2025 - 11:38
 0
चुनौतीका चाङले थिचिएको क्लब विश्वकप : रित्तो रंगशाला, असन्तुलित टिम र थाकेका खेलाडी

काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकपको सुरुवाती खेलमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी मैदानमा उत्रिँदा हजारौं समर्थक मियामीको हार्ड रक रंगशाला पुगे । उनले खेलमा गोल गर्न नसके पनि उपस्थित दर्शकहरूका लागि यो एक ऐतिहासिक क्षण रह्यो । मेसीका अलावा डेभिड बेक्ह्याम, रोनाल्डो, काका, बेबेटो, रोबर्टो बाजियो र जेभियर जानेट्टीजस्ता फुटबल दिग्गजहरू भीआईपी सिटमा थिए ।

तर फिफा अध्यक्ष जियानी इन्फान्टिनोले ‘ऐतिहासिक सुरुवात’ भनेको क्लब विश्वकप उद्घाटनपछि विभिन्न चुनौतीमा फसेको देखिएको छ । तापक्रम, खेल तालिका, असमान प्रतिस्पर्धा र थोरै दर्शक उपस्थिति लगायतका विषयले प्रतियोगिताप्रति प्रश्न उठाएका छन् । यो प्रतियोगिता रौनक हराएकोजस्तो देखिएको कतिपय फुटबल पण्डितहरूले विश्लेषण गरेका छन् । निष्कर्षमा भन्दा क्लब विश्वकप विभिन्न चुनौतीका चाङले थिचिएको स्पष्ट देख्न सकिन्छ ।

चरम गर्मीमा खेल

कतिपय खेलहरू दिउँसो १२ बजे र ३ बजे स्थानीय समयमा निर्धारित गरिएका छन्, जसले गर्दा चर्को गर्मीमा खेलाडीहरू प्रभावित भएका छन् । पासाडिनाको रोज बाउलमा भएको पेरिस सेन्ट जर्मेन (पीएसजी) र एट्लेटिको म्याड्रिडबीचको खेलमा तापक्रम ३१ डिग्री सेल्सियस पुगेको थियो । पीएसजीका प्रशिक्षक लुइस एनरिके भन्छन्, ‘गर्मीको असर हाम्रो खेलमा देखियो ।’

थकाइ र चोटको जोखिम

नौ दिनभित्र तीन खेल खेल्नुपर्ने तालिकालाई लिएर खेलाडी संघ (फिप्रो)ले चासो व्यक्त गर्दै भन्यो, ‘खेलाडीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्ने खालको निर्णय फिफाबाट गरिएको छ ।’ संघका अनुसार लगातार घरेलु र अन्तर्राष्ट्रिय सिजन खेलेका खेलाडीहरू क्लब विश्वकप पनि खेल्नुरेपछि अत्यधिक थकित छन् ।

एकतर्फी खेल र कमजोर प्रतिस्पर्धा

जर्मन क्लब बायर्न म्युनिखले न्युजिल्यान्डको अकल्यान्ड सिटीलाई १०–० ले हराउँदै क्लब विश्वकपको इतिहासमै फराकिलो जित दर्ता गर्यो । अकल्यान्डका खेलाडीमध्ये धेरैजसो अर्ध–व्यवसायिक छन् । उनीहरू नियमित रूपमा अन्य पेशामा संलग्न छन् । अब अकल्यान्डले अझै कठिन खेल बेनफिका र बोका जुनियर्ससँग खेल्न बाँकी छ ।

रंगशालामा रित्तोपन

खेलका सुरुवाती दिनमा केही खेलहरूमा उल्लेख्य दर्शक उपस्थिति देखिए पनि अन्य खेलहरू भने रित्तो रंगशालामा सम्पन्न भएका छन् । मियामीमा भएको उद्घाटन खेलमा उल्लेख्य उपस्थिति भए पनि अटलान्टामा भएको चेल्सी र एलएएफसीबीचको खेलमा ७५ हजार क्षमताको रंगशालामा केवल २२ हजार दर्शक मात्र उपस्थित थिए ।

त्यस्तै, फिलाडेल्फियामा भएको फ्लामेन्गो र एस्पेरेन्स डी ट्युनिसबीचको खेलमा २५ हजार दर्शक मात्र पुगे । सेयाटलमा बोटाफोगो र सीएटल साउन्डर्सको खेलमा पनि केवल ४३ प्रतिशत रंगशाला भरियो । यसैगरी मेटलाइफ स्टेडियममा पामेइरास र पोर्टोबीचको खेलमा ५६ प्रतिशत मात्र दर्शक उपस्थिति थियो ।

के भविष्य होला ?

फिफाले १.५ मिलियनभन्दा बढी टिकट बिक्री भइसकेको बताएको छ । यद्यपि बाँकी ३६ मध्ये १३ खेल दिउँसो (कार्यालय समयमा) तोकिएको हुँदा दर्शक उपस्थिति अझै न्यून हुने आशंका गरिएको छ ।

फिफाले भने खेलाडी कल्याणलाई प्राथमिकतामा राखिएको बताउँदै ‘कुलिङ ब्रेक’ र अतिरिक्त प्रतिस्थापनजस्ता उपाय लागू गरिएको दाबी गरेको छ । तर यो दाबी र मैदानको वास्तविकता बीचमा गहिरो खाडल देखिएको छ । (अल जजिराबाट साभार गरिएको यो सामग्री नेपालभ्युजका लागि दीपेन्द्र सापकोटाले अनुवाद गरेका हुन् ।)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register